यसपाली जस्तो बाढी यसअघि कहिल्यै आएको थिएन गाउँमा । ... योपालीको बाढी गाउँ पसेपछि खेतका लहलहाउँदा बाला देखिएनन् पसिना बगाएको खेत देखिएन बस्ती देखिएन, घरहरु देखिएनन् बाटो देखिएन आफ्नै पदचापहरु देखिएनन् ... जताततै समयको धमिलो सागर देखियो त्यही सागरमा देखिए उत्साहले बगेका कुटिल आँखाहरु उमङ्गले बगेका हिंस्रक नंग्राहरु कुनै उत्सव मनाउन रहरले आधा डुबेका ब्राण्डेड पहिरनका ब्रण्डेर मान्छेहरु युट्युबको आहारा खोज्दै उडेका गिद्धका बथानजस्ता ड्रोन क्यामेराहरु र विरलै पाइने अवसरजस्तो बहुत जतनले कमाए जीवनको उमङ्ग । ... यसपालीको बाढीमा बग्दै गरेको बालक बन्यो टिकटकको भाइरल सिरिज डुब्दै गरेको घर बन्यो राष्ट्रिय टेलिभिजनको हाइलाइट समाचार पुरिदै गरेको खेत बन्यो सेल्फीडाँडाको नयाँ भर्जन् । ... यसपालीको बाढीमा यसरी हतारहतार निस्किए बाढीले नछोएका मान्छेहरु मानौ, गंगाजल हो यो बाढी जस्को स्पर्शले मात्र जीवनका कठीन पाप भय मुक्त हुनेछन् अर्बौंको कालो धन सेतो बन्नेछ कुख्यात डाँकु साधु बन्नेछ वर्षौंदेखिको भ्रष्टाचारी लोकप्रिया उद्धारकर्ता कहलिने छ लोकलाजले कायल भएको नेता आगामी निर्वाचनको लागि योग्य बन्नेछ । ... बस्तीमा बाढी आउनु पनि उत्सव आउनु रहेछ कसैका लागि अवसर आउनु रहेछ कसैका लागि । ... ओ जनप्रिय नेता ! ओ लोकप्रिय सामाजिक अभियन्ता ओ जनवादी कलाकार ओ चर्चित पत्रकार तिम्रो अन्तिम सेल्फी बाँकी छ आऊ, यो गाउँको भग्नावशेष थोरै बाँकी छ । (धनगढी, कैलाली)