समयक्रममा पूर्वमध्यकालीन समयको नेपाल एकीकृत र केन्द्रीकृत रूपमा एउटै राज्यको रूपमा रहन सकेन । केन्द्रीय प्रशासन कमजोर भएको मौका छोपी पश्चिम कर्णालीमा छुट्टै राज्यको रूपमा खस राज्य अस्तित्वमा आयो ।
पहिल्यैदेखि पश्चिम एशियाबाट ककेशिया मानसरोवर हुँदै खसआर्य नेपालको पश्चिम भागमा आएर बसोबास गरेका थिए । यो जाति आर्य भए पनि वैदिक आर्य नभएर मन्टो कुलदेवता मान्ने खसआर्य जाति हो । यो जातिको मुख्य बसोबासको क्षेत्र डोटी र जुम्ला आसपास भएपनि यिनीहरू नेपालको पश्चिम, गढवाल र गंगाको मैदानसम्म फैलिएका थिए ।
खसमण्डलको नामले समेत चिनिने कर्णाली प्रदेशमा नागराजले खस साम्राज्यको जग हाल्नुपूर्व पनि खसहरूले शासन गरेका थिए । ‘मल्ल, चल्ल, झल्ल, इल्ल, पाल’जस्ता थर भएका खस राजाहरूले राज्य गरेका थिए । यी राज्य कहिले विस्तारित हुन्थे कहिले खुम्चिन्थे । ती राज्यहरूका राजधानीका रूपमा सिञ्जा, दुल्लु, सुरखेत र धुलीकोट विकसित भएका थिए ।
‘लगभग पाँचौँ शताब्दीदेखि खसआर्य मूलका मानिसहरू कमाऊँबाट पश्चिम नेपाल प्रवेश गर्न थालेको अनुमान हुन्छ । बाह्रौँ शताब्दीमा खस साम्राज्य स्थापना हुनुभन्दा पहिले नै कर्णाली प्रदेशमा खसहरूको बसोबास कयम भइसकेको बुझिन्छ । पूर्व मध्यकालमा त पश्चिम नेपालको राज्यव्यवस्था र समाजमा उनीहरूको आधिपत्य र बाहुल्यता नै कायम हुन गयो ।’ (अधिकारी ः २०६७ ः २९)
नेपालको केन्द्रीय शासन कमजोर भएको समयमा वि.सं. ११५० तिर नागराजले खस राज्यको स्थापना गरे । यस राज्यको राजधानी जुम्लाको सिञ्जा उपत्यकामा थियो । यो भन्दा पहिले पनि त्यो क्षेत्रमा पालहरूले शासन गरेका थिए ।
पृथ्वी मल्लको वि.सं. १४१४ को दुल्लुको स्तम्भलेखमा नागराजलाई जावेश्वर अर्थात् जुम्लाका राजा भनिएको छ । शिलालेखबाट यी राजा खस साम्राज्यका संस्थापक मात्र नभएर समाज सुधारक पनि थिए । उक्त शिलालेख अनुसार नागराजपछि खस साम्राज्यमा क्रमशः चापराज, चापिल्ल, क्राशिचल्ल, क्राधिचल्ल लगायतले शासन गरेका थिए ।
वि.सं. १२६४ मा राजा भएका क्राचल्लको पालामा खस साम्राज्य अरु फैलियो । वि.सं. १२८० मा खस राज्यले कुमाउमाथि अधिकार कायम ग¥यो ।
उनका छोरा अशोकचल्लको पालामा त गण्डकी प्रदेश पनि खस साम्राज्यको अधिकारमा आयो । उनले खारी प्रदेश(कैलाश मानसरोवर) र केदारखण्ड(कुमाउँ र गढवाल)मा पनि अधिकार स्थापित गरे । दुल्लु र वुद्धगयाको स्पतम्भलेखमा अशोकचल्ललाई सारा राजाहरूमा श्रेष्ठ, सवालाख पर्वत खस देशका महाराजधिराज भनि प्रशंसा गरिएको छ । यी खस साम्राज्यका सबै राजाहरूमध्ये पराक्रमी राजा थिए ।
अशोकचल्लपछि उनका छोरा जितारी मल्ल राजा भए । यिनकै पालामा काठमाडौं उपत्यकामाथि तीन पल्ट आक्रमण भएको थियो । त्यसपछि क्रमशः रिपुमल्ल, आदित्य मल्ल पुण्य मल्ल पृथ्वी मल्लले राज्य गरे ।
पृथ्वी मल्लले भाषासाहित्य र कलासंस्कृतिमा उल्लेख्य काम गरेका थिए । यिनकै पालामा दुल्लु र सिञ्जाले सहरको रूपम लियो । कृषि, पशुपालन र वन्द व्यापार पनि बढ्यो । यति हुँदाहुँदे पनि पृथ्वी मल्ल धार्मिक प्रकृतिका भएकोले राज्य सञ्चलनमा भन्दा धर्मक्रममा बढी समय दिन थाले । सोजो र धार्मिक चरित्रको फाइदा उठाई वि.सं. १४०७ मा तिब्बती क्षेत्र र वि.सं. १४०९ मा डोटी खस साम्राज्यबाट अलग भए ।
यिनीपछिका राजा सूर्य मल्ल र त्यसपछि राजा भएका अभय मल्लले राज्यको अधोगतिलाई रोक्न सकेनन् । यिनकै समयमा विशाल खस साम्राज्यको पतन सुरु भयो । अभय मल्लपछि खस साम्राज्यको अधिकार वर्मा वंशीय शासक पृथ्वी मल्लका मन्त्री यशोवर्माको हातमा गयो । पहिल्यैदेखि यशोवर्माले खस दरबारमा आफ्नो प्रभाव जमाउँदै आएका थिए । अभय मल्लको उत्तरार्धमा यशोवर्माले तयार गरेको पृष्ठभूमिलाई उपयोग गरी उनकै सन्तान मलयवर्मा राज्यका हताकर्ता भए । यसरी अभयमल्लको पालामा वि.सं. १४४८ तिर आइपुग्दा खस राज्य पूर्णरूपमा विभिन्न राज्यहरूम विभक्त हुन सुरु गरेको थियो ।
अभय मल्लले विघटनको सङ्घारमा पुगेको साम्राज्यलाई जोगाउन मलयवर्मालाई सत्तामा ल्याएको देखिन्छ । मलयवर्माले पनि खस साम्राज्यलाई एकीकृत राख्न सकेनन् । गृहकलह मिलाउन छोराहरूलाई विभिन्न क्षेत्रको प्रशासक बनाएर पठाए । तर उनै झगडालु र महत्वाकांक्षी छोराहरूले आफूले प्राप्त गरेको प्रशासकीय इकाईलाई नै खस साम्राज्यबाट अलग गरी छुट्टै र स्वतन्त्र राज्यको रूपमा शासन गर्न थाले । यसरी विशाल खस साम्राज्य विभिन्न भुरेटाकुरे राज्यहरूमा विभक्त हुन गयो । यिनै ससाना राज्यहरूलाई बाइसी राज्य भन्न थालियो ।
नागराजले स्थापना गरेको राजवंश तथा उत्तराधिकारीहरू ः
(१) नागराज — (वि. सं. ११५०)
(२) चापराज
(३) चापिल्ल
(४) क्राशिचल्ल
(५) क्राधिचल्ल
(६) क्राचल्लदेव — (वि. सं. १२६४–८०)
(७) अशोकचल्ल— (वि. सं. १३१२–३५)
(८) जितारीमल्ल — (वि. सं. १३४४–५६)
(९) अक्षयमल्ल — (वि. सं. १३३७)
(१०) रिपुमल्ल — (वि. सं. १३६९–७०)
(११) आदित्यमल्ल — (वि. सं. १३७३–८५)
(१२) पुण्यमल्ल— (वि. सं. १३८५–९४)
(१३) पृथ्वीमल्ल— (वि. सं. १३९५–१४१५)
(१४) सूर्यमल्ल — (वि. सं. १४२४)
(१५) अभयमल्ल — (वि. सं. १४३३–४८)
सन्दर्भ सूचि
अधिकारी, सूर्यमणि । खश साम्राज्यको इतिहास ः भुँडीपुराण प्रकाशन, काठमाडौं, २०६७