मगघ सम्राट अजातशत्रु (४९३–४६२ इ.पू.)बाट पराजीत भएपछि बज्जि गणराज्य छिन्नभिन्न भयो । बज्जिसंघभित्रका विदेहसहित अन्य राज्यहरूको अस्तित्व पनि सकियो । विशाल वैशाली गणराज्य पनि तहसनहस भयो । वैशालीमा शासन गरिरहेका लिच्छवी र मिथिलाका ब्राह्मणहरूको भागाभाग भयो । उनीहरू भागेर नेपाल पसे । अजातशत्रुको अधिनमा पर्न गएको मिथिला त्यसपछि हर्षवर्धन र पछि हर्षवर्धनका मन्त्री अरुणाश्वको अधिन भयो । अरुणाश्वले चिनिया राजदूत वाङ हुयेन्चेको अपमान गरेकोले चिनिया, नेपाली र असमी सेनाद्वारा ध्वस्त भयो ।
यसरी ध्वस्त भएको मिथिला त्यसपछि लामो समयसम्म अस्तित्वमा आउन सकेन । वि.सं. ११५४ मा दक्षिण भारतका कर्णाटवंशी नान्यदेवले तिरहुत राज्यको स्थापना गरे । अहिलेको वीरगञ्जनजिकैको सिम्रौनगढलाई राजधानी बनाएर राज्यविस्तार गरेपछि मिथिला पनि यसै राज्यमा समाहित भयो ।
घना जङ्गलका बिचमा रहेकोले तिरहुत साम्राज्यको राजधानी सिम्रौनगढलाई पहिले सिमरा बनगढ भनिन्थ्यो । पछिमात्र यसलाई सिम्रौनगढ भन्न थालिएको हो । त्यहाँका शासकहरूलाई कर्णाटवंशी डोय भनिन्थ्यो ।
वंशावलीमा कर्णाटवंशी डोयहरूले नेपालमण्डलमा पटकपटक आक्रमण गरेको पाइन्छ । वि.सं. ११६८ मै नान्यदेवको पालामा पहिलो पल्ट नेपालमाथि चढाइ गरेको इतिहास छ । त्यसपछि वि.सं. १३०१ मा ठाकुर रामसिंहले आक्रमण गरे । तर यी दुबै आक्रमण असफल भए । यसपछि पनि पटकपटक गरी डोयहरूले नेपालमाथि पाँच पटक आक्रमण गरेका थिए ।
सुरुमा डोयहरूले आक्रमण गरेपनि पछिपछि भने राज्यसत्तामा भएको शक्तिसङ्घर्षका कारण एक राज्यले अर्को राज्यका विरुद्ध प्रयोग गर्न उनीहरूलाई आमन्त्रण गर्न थालियो । एउटा शक्तिले अर्को शक्तिलाई पराजीत गर्नका लागि डोयको सहयोग लिने परम्परा नै बसेको थियो । नेपालमण्डलका राजा अनन्त मल्लले वि.सं. १३५६ मा पहिलोपल्ट आफ्ना विरोधीलाई दमन गर्न डोयहरूलाई झिकाएका थिए । यसपछि लामो समयसम्म नेपालको अस्थिर राजनीतिका कारण डोयहरू हावी भएको पाइन्छ ।
कर्णाटवंशी नान्यदेवले वसाएको तिरहुत साम्राज्य लामो समय रहन सकेन । जम्मा २२७ वर्ष मात्र यो साम्राज्य अस्तित्वमा रह्यो । वि.सं. १३८१ मा राजा हरिसिंहदेवको पालामा दिल्लीका सुल्तान गयासुद्धिन तुगलकको आक्रमणमा परी यो साम्राज्य ध्वस्त भयो ।
मुसलमानको आक्रमणमा परेपछि हरिसिंहदेव आफ्नो परिवार र भारदारसहित नेपाल पसे । उनी सिन्धुली हुँदै आश्रयका लागि दोलखातिर जान चाहन्थे । तर बाटोमै सिन्धुलीको तिनपाटन भन्ने ठाउँमा वि.सं. १३८२ मा यिनको मृत्यु भयो । उनको मृत्युपछि विधवा रानी देवलदेवी र युवराज जगतसिंहले राजा रुद्र मल्लको भक्तपुरको दरबारमा शरण लिएर बसे ।
दरबारमा रहँदाबस्दा डोय राजकुमार जगतसिंहको रुद्रमल्लकी छोरी नायकदेवीसँग विवाह भयो । पछि यिनै जगतसिंह र नायकदेवीकी छोरी राजल्लदेवीसँग जयस्थिति मल्लको विवाह भयो । यसरी केही समयमै डोय वंशका मानिसहरू नेपालमण्डलको राज्यसत्तामा महङ्खवपूर्ण भूमिकामा पुग्न सके । यही भूमिकाका कारण डोय महारानी देवलदेवीले ल्याएको तलेजु भवानीलाई पछि मल्ल राजाहरूले आफ्नो इष्टदेवी बनाए ।