लिच्छवि सभ्यताको पतनपछिको काठमाडौं उपत्यकालाई नेपाल मण्डल भनिन्थ्यो । हुन त लिच्छवि कालको उत्तरार्धदेखि नै यसलाई नेपाल मण्डल भन्न थालिएको थियो । काठमाडौं ज्ञानेश्वरमा मन्दिर अगाडि पाइएको लिच्छवी राजा जयदेव द्वितीयको शिलालेखमा नेपालमण्डल लेखिएबाट यो कुरा प्रमाणित हुन्छ । उक्त शिलालेखमा नेपालमण्डलान्त निवासित लेखेको छ भने बलम्बुमा भेटिएको शिवदेव द्वितीयको शिलालेखमा नेपाल भुकतौ अर्थात् नेपाल राष्ट्र भनी उल्लेख गरिएको छ । त्यस्तै गोपालवंशावलीमा नेपालमण्डल र मञ्जुश्रीमूलकल्प नामको बौद्ध ग्रन्थमा ‘नेपालमण्डले ख्याते हिमाद्रे कुक्षिमाश्रिते’(हिमालको काखमा रहेको नेपालमण्डल) उल्लेख गरिएको छ । यसरी हेर्दा नेपाललाई लिच्छविकालको उत्तरार्धदेखि नै नेपालमण्डल भन्न थालिएको पाइन्छ ।
यतिखेर पनि नेपाल मण्डलको अधिकार क्षेत्र पश्चिम कालिगण्डकी, पुर्वमा कोशी, दक्षिणमा महाभारतको पहाड र उत्तरमा तिब्बतसम्म थियो ।
लिच्छवि वंशका अन्तिम राजा मानदेव तृतीयको समय वि.सं ९३४ मा ठकुरी वंशले सत्तामाथि अधिकार स्थापित गरेको देखिन्छ । वि.सं. ९३६ मा अर्कै नयाँ राजवंशका ‘राघवदेव’ नामक राजाले ‘पशुपति भट्टारक संवत्’ को नामले नयाँ संवत्को प्रचलन आरम्भ गराएको देखिन्छ । यही संवत् नै अहिले नेपाल संवत्का नामले चिनिन्छ ।
लिच्छवि शासनको अन्त्य कसरी भयो र उनलाई विस्तावित गर्ने वंश कहाँबाट कहिले आयो भन्ने भरपर्दो प्रमाण भने भेटिदैन ।
विक्रमको नवौँ शताब्दीदेखि करिब सवासय वर्षको इतिहास खासै भेटिदैन । इतिहास नभेटिएको हुँदा यो समयलाई इतिहासकारहरू अन्धकार युग भन्छन् । यसो हुनुको मुख्य कारण थियो शिलालेखको साटो ताम्रलेखहरू प्रसारित गर्ने चलन । जतिबेला इतिहास खोज्न थालियो त्यो बेलासम्म यस्ता ताम्रलेखहरू नष्ट भैसकेका थिए । दशौँ शताब्दीको अन्तिमतिरबाट भने लिपिवद्ध भएका हस्तलिखित पुस्तकका पाण्डुलिपिका कारण इतिहासको खोज र अध्ययन सहज भयो ।
त्यो समयको नेपालमण्डल कमजोर र अस्थिर हुँदै गएको थियो । राजपरिवारमा विग्रह, शत्रुता र संयुक्त शासन गर्ने परिपाटीले राज्यसत्ता कमजोर थियो । त्यसमाथि मुसलमानको आक्रमणका कारण भारतमा राजनीतिक अशान्ति फैलिएको थियो ।
वि.सं. १२५० देखि १२६० को दश वर्षमा मुसलमानी आँधीले दिल्ली, उत्तर प्रदेश, विहार र बंगालसम्म धार्मिक, राजनीतिक र समाजिक व्यवस्थालाई उलटपुलट गरिदिएको थियो । यस्तो अशान्तिबाट बच्न उत्तर भारतीय राज्यहरूबाट नेपाल ओइरिएका विभिन्न जाति र वंशका मानिसहरूका कारण पनि यहाँको सामाजिक अवस्था विथोलिएको थियो । यसरी वि.सं. १२५० मा आइपुग्दा ठकुरी राज्य निकै कमजोर भयो ।
यही अस्थिर राजनीतिक पृष्ठभूमिमा ठकुरी वंशलाई मल्ल वंशले प्रतिस्थापन गरेको थियो । शासनसत्तामा मल्ल वंशलाई स्थापित गराउने काम अरि मल्लले गरेका थिए । मल्लहरू दक्षिण भारतबाट बिहार हुँदै नेपाल आएको अनुमान गरिन्छ । वि.सं. १२५७ मा ठकुरी वंशका अन्तिम राजा विजय कामदेवलाई परास्त गरी नेपाल मण्डलको राजगद्धिमा अरि मल्ल बसेका थिए ।
उनीपछि उनका छोरा अभय मल्ल शासनसत्तामा आए । उनको पालामा पनि आन्तरिक कलह तीब्र थियो । यही समयमा वि.सं. १३०१ मा कर्नाटवंशी नान्यदेवका पनाति डोय ठाकुर रामसिंहले उपत्यकामाथि आक्रमण गरेका थिए । पहिलो आक्रमणको डेढ वर्षपछि उनले दोस्रो आक्रमण गरे । तर यसपल्ट उनी पराजित भएर फर्किनु प¥यो ।
आफ्नो राज्यकालमा अभय मल्ल पटकपटक आन्तरिक र बाह्य शत्रुसँग जुध्नु प¥यो । यिनले बाह्य आक्रमण र आन्तरिक सङ्घर्ष मात्र व्यहोर्नु परेन अनावृष्टि र भूकम्पबाट जनधनको ठूलो क्षति भएको आफ्नै आँखाले देख्नु प¥यो ।
वि.सं. १३४४ मा पश्चिम नेपालका खस राजा जितारी मल्लले नेपाल मण्डलमाथि आक्रमण गरे । यिनले उपत्यकामा तवाह मच्याई लुटेको धनसम्पत्ति बोकेर फर्किए । तर एकाध वर्षमै फेरि पनि उपत्यकामाथि आक्रमण भयो । फेरि आएको जितारी मल्लको सैनिक जत्थाले लुट मात्र मच्याएन गाउँगाउँ आगो लगाएर खाक बनायो ।
अरिमल्लको आक्रमणपछि लगत्तै वि.सं. १३४७ मा तिरहुते राजा शक्तिसिंहदेवका मन्त्री चण्डेश्वर ठाकुरले उपत्यकामाथि जोडदार हमला गरे । राजा अनन्त मल्ल चण्डेश्वर ठाकुरसँग शान्तिसम्झौता गर्न बाध्य भए ।
यतिखेर एकातिर दरबारभित्र शक्ति सङ्घर्ष चलिरहेको थियो भने अर्कोतिर बारम्बार बाह्य हस्तक्षेप भएको थियो । यो हस्तक्षेप धेरै पल्ट भयो । तर मल्ल वंशीय शासकले यस्ता आक्रमणहरूलाई रोक्न सकेनन् । वि.सं. १३७० मा दुल्लुका खस राजा रिपु मल्लले आक्रमण गरे । उनले उपत्यकामा १८ दिनसम्म लुट मच्याएर फर्किए ।
यही समयमा वि.सं. १३८२ मा तिरहुत राज्यमाथि दिल्ली दरबारका मन्त्री गयासुद्धिन तुगलकले अक्रमण गरेका थिए । आक्रमणबाट भागेका राज हरिसिंहदेव र उनका परिवार लगायत भाइभारदारहरू सिन्धुली आसपासमा आश्रय लिएर बसेका थिए । यिनताका नै पश्चिम दुल्लुका खस राजा आदित्य मल्लले उपत्यकामाथि आक्रमण गरेका थिए ।
उपत्यकामाथिको आक्रमण अझै रोकिएको थिएन । राजा राजमल्लको शासनकाल वि.सं. १४०६ मा बंगालका सुल्तान समसुद्धिन इलियासले पनि उपत्यकामाथि आक्रमण गरे । सिन्धुली हुँदै आएको उक्त आक्रमणकारी जत्थाले एक हप्तासम्म उपत्यकामा लुट मच्यायो । मन्दिर र चैत्य भत्काउने र सहर बजारमा आगजनी गर्नेदेखि सकेसम्मको लुट गरेर यो जत्था फर्कियो । त्यसपछि पनि अरु दुई पल्ट पश्चिमका खस राजाहरूले उपत्यकामाथि आक्रमण गरेको पाइन्छ । यसरी त्यो समय नेपालमाथि महाविपत्तिहरू आइलागेका थिए ।
अस्थिर र अव्यवस्थित शासनसत्ता भएको समयमा जयस्थिति मल्ल सत्तामा आए । यस्तो खिचातानी र विषम परिस्थितिमा नेपाल मण्डलको सिंहासनमा जयस्थिति मल्ल बस्न आएका थिए । जयस्थिति मल्लको वंशवृक्षबारे विवाद र मतभिन्नता रहेपनि यी राजा प्रतापि र समाज सुधारक थिए । आन्तरिक कलह र शक्तिसङ्घर्षले कमजोर बनेको नेपालको सत्तालाई बलियो बनाए ।
जयस्थिति मल्लले सामाजिक सुधारका नाममा जातव्यवस्थालाई कसिलो र कडा बनाए । यिनले जातका आधारमा मानिसहरूको श्रेणी विभाजन गरी तिनले दैनिक व्यवहारमा गर्नुपर्ने र गर्न पाउने नियम बनाएर लागु गरे । भोज, विवाह, मृत्यु संस्कारदेखि भेषभुषा, रहनसहन, घर निर्माण र सजायजस्ताा धेरै नियम कानुन बनाएर लागु गरे । यिनले आर्थिक, प्रशासनिक, धार्मिक र न्यायिक सुधार पनि गरे । यिनको समयमा कला साहित्य र भाषाको पनि विकास भयो । यिनी आफै पनि विद्वान साहित्यकार थिए । यही भएर पनि उनको दरबारमा साहित्यकारको जमघट भइनै रहन्थ्यो ।
वि.सं. १४५२ मा जयस्थिति मल्लको मृत्युपछि दरबारभित्र फेरि शक्तिसङ्घर्ष मौलायो । उनका नाति यक्ष मल्लले उक्त शक्ति सङ्घर्षलाई दबाएका थिए । यिनको पालामा राज्य सुदृढ र विस्तारित भएको थियो । नेपाल मण्डलको सिमाना पश्चिममा गोरखा, दक्षिणमा गया, पूर्वमा बंगाल र उत्तरमा तिब्बतसम्म फैलिएको थियो ।
यिनले विजय अभियानबाट देशको सीमा बढाएपनि विजित भूमिलाई केन्द्रको नियन्त्रणमा राखिराख्न सकेनन् । उनकै पालामा कैयौँ ठाउँमा स्वतन्त्र राज्य अस्तित्वमा आए । उनले ती विद्रोहलाई दबाए । बाह्य विद्रोहलाई दबाएपनि दरबारभित्रको शक्तिसङ्घर्षलाई उनले दबाउन सकेनन् । जीवनको उत्तरार्धमा उनको शासनसत्ता कमजोर हुन पुग्यो । उनका आफ्नै कमजोरी र छोराहरूको महङ्खवाकांक्षाका कारण विशाल नेपालमण्डल विभिन्न राज्यमा खण्डित हुन पुग्यो ।
नेपालमण्डलमा मल्लहरूको राज्यसत्ता वि.सं. ९३४ देखि सुरु भएर वि.सं. १५३८ सम्म कायम रह्यो । वि.सं. १५३८ यक्ष मल्लको मृत्युसँगै उनको विशाल नेपालमण्डल विभिन्न ससाना राज्यमा विभाजन भयो ।
झन्डै छ सय वर्षसम्म नेपाल मण्डलमा ठकुरी र मल्लहरूले शासन गरे । यो समयमा प्रायः दरवार र भारदारबिच शक्तिसङ्घर्ष र दरवारभित्र पारिवारिक कलह कायम रह्यो । लिच्छविकालमा स्थिर रहेको राज्यसत्ता यो समयमा अस्थिर रह्यो । यही अस्थिरतका कारण विदेशीहरूले नेपालमाथि पटकपटक आक्रमण गरे । विकासको गति धिमा रह्यो । यति हुँदाहुँदै पनि नेपालमण्डल एकीकृत र अक्षुण्ण रह्यो ।
नेपालमण्डलमा राज्य गर्ने प्रभावशाली राजाहरूमा शिवदेव, अरि मल्ल, अभय मल्ल, जयस्थिति मल्ल र यक्ष मल्लको नाम अग्रपङ्क्तिमा आउँछ ।