पस्पतेको पुरा नाम पसुपति भए पनि गाउँमा सबैलाई उसलाई “पस्पते” भनेर चिन्छन वा बोलाउँछन्।
लाऊँला खाऊँला भन्ने जिन्दगी हुँदाहुँदै पस्पते एक दिन अचानक परलोक भयो। कालले कठेलोमा समातेर टपक्कै टिपेर तेरो मिति पुग्यो भनेर पातालमा लगिहाल्यो। उसले यता घर परिवार, साथीभाइ र इस्टमित्रलाई केही भन्न वा बिदावारी गर्ने मौका नै पाएन।
धर्मराजा यमराजले पस्पतेलाई स्वर्ग पठाउनेकि नर्क पठाउने भनेर हिसाब किताब गर्न थाले। उनको निर्णय अन्तिम हुन्छ त्यसमा बादविवाद हुँदैन र रिट निबेदन लाग्दैन भन्ने थाहा थियो उसलाई। धर्म, कर्म र सत्कर्म पछि उमेर ढल्किदै गएपछि बढी गर्छु भनेर साचेँ अब हिसाब किताब के आउने हो भनेर ऊ अलि चिन्तित थियो। यमराज मर्ने पहिलो व्यक्ति नभएको भए मानब जातिले मर्नै पर्दैन थियो भनेर पस्पते रिसले बमबम पनि भएको थियो। त्यतातिर दिमाग ख्याउनु व्यर्थ छ, जे भयो भयो भनेर पस्पते चाहिं उता मर्त्यलोकमा उसको बारेमा सामाजिक संजालमा क-कसले के के लेखे वा लेखेनन् भनेर जान्न उत्सुक भयो।
पहिले पहिले शहरमा बस्ने धनीमानी मानिसहरु स्वर्गबास हुँदा परिवारका सदस्यहरुले फोटो सहित समबेदना पत्रिकामा छापेको पस्पतेले देखेको थियो। कसै कसैको भने उनीहरुको आफ्नो कम्पनी वा संगठनबाट पनि यस्तो समबेदना आउथ्यो। बिदेशी पत्रिकाको एउटा खण्डमा को कहिले बितेको भन्ने कुरा पनि छापिन्छ रे भन्ने पनि सुनेको थियो उस्ले। पस्पतेको गाउँमा भने न त्यस्तो पत्रिका थियो न त्यस्तो चलन। तेह्र दिनसम्म घरमै आएर समबेदना प्रकट गरिन्थ्यो। अँगालो हालेर रुवाबाशी गरिन्थ्यो।
फेसबुक आएयता स्थिति बदलिएको रहेछ, मर्त्यलोक बाट जाँदाजाँदै उसले अनुभब गर्ने मौका पायो।
आफुले जिब्रो टोकेको केही मिनट नबित्दै एकजना आफन्तले फेसबुकमा लेखेछन्, “हार्दिक श्रन्दान्जली पस्पते”।
हैन कति चाँडो लेख्न भ्याएको? ऊ चकित भयो। त्यसको लगत्तै एकपछि अर्को आफन्त र साथी भाइहरुले लेखेछन।
समय नबित्दै, ऊ मरेको खबर धेरै मानिसहरुबीच पुगेछ। सामाजिक संजाल मार्फत ज्यादै थोरै समयमा ज्यादै धेरै मान्छेहरुकहाँ खबर पुगेछ। आफ्नो गाउँ र नजिकका आफन्तहरुलाई मात्र मान्छे मरेको थाहा हुन्थ्यो पहिले। मौखिक रुपमा खबर हुन्थ्यो त्यो बेला। मान्छे बितेको बर्षौ बित्दा पनि थाहा हुदैन थियो कतिजनालाई। थाहा भइहाले पनि खबर आइपुग्न केही दिन, हप्ता वा महिना लाग्दथ्यो। अहिले त केही मिनटमा अथवा केही घण्टामानै थाहा हुन् थालेछ।
पहिले खबर नपुग्ने सामाजिक समुहहरुमा पनि पुग्न थालेछ त्यो दु:खद समाचार। कहिलै नचिनेको फेसबुके साथीको साथीकहाँ पनि पुगेछ। भौगोलिक धरातल पनि फराकिलो भएछ, खबर देश विदेशसम्म पुगेछ। अन्टार्टिका बाहेक अरु सबै महादेश्हरुमा छरिएछ।
ऊ अब फेसबुकका अरु पानाहरु खोतल्न थाल्यो।
एक दुई जनाले हाल्नै नपर्ने फोटो राखेछन्, भुइँमा लडिरहेको पार्थिब शरीरको। कसै कसैले राम्रो फोटो राखेछ्न्। एक दुई जनाले समय निकालेर अलि लामै लेखेछन्, धेरैले त्यस्मानै ‘कमेन्ट” गरेछन्। जस्ले राम्रै लेख्लाकि भनेर सोचेको उस्ले केही लेखेनछ, जस्ले लेख्दैन भन्ठानेको उसले राम्रै लेखेछ। बाँचुन्जेल नजिक भएको मान्छेले केही लेखेनछ, अलि टाढाको साथीले समय निकालेर लेखेछ।
हार्दिक श्रदान्जली, रेस्ट इन पिस, राम नाम सत्य हो आदि इत्यादि लेखेछन्, कमेन्ट बक्समा। कतिले कपी र पेस्ट गरेछन्, टाइप गर्ने फ़ुर्शद भएन होला। अलि धेरै हतारमा हुनेले ‘रिप” लेखेछन्।
धेरैले पस्पतेकै बारेमा लेखेछन्, ज्यादै थोरैले परिवारको बारेमा सोचेछ्न्। आफ्नो बारेमा भन्दा परिवारलाई सान्त्वना दिएको भए हुन्थ्यो भनेर मनमनै सोच्यो उस्ले।
कतिले भित्रि मनदेखि नै लेखेछन्, कतिले पस्पतेका परिवारलाई देखाउन र कसैले बाहिरी संसारलाई देखाउन लेखेछन्। दुईचार जनाले आफ्नै आत्मसन्तुष्टिका लागि पनि लेखेछन्।
कसले किन लेख्यो वा लेखेन? किन धेरै वा थोरै लेख्यो भन्ने कुरा जटिल भएको हुनाले पस्पतेले त्यो कुरा केलाउन चाहेन। ऊ हतारमा पनि थियो, यमराजले कुनै पनि बेला हिसाब किताब निकालेर घोषणा गर्न सक्ने अवस्था थियो। गलत मान्छे टिपेर ल्याएछौ, तिमि फेरी पृथ्बीमा जाऊ भनेर फिर्ता पठाउन पनि सक्छन् भन्ने झिनो आशा पनि थियो उस्लाई।
ऊ कमेन्ट पढ्दै थियो, अर्को मान्छे बितेको खबर आयो। सबै उतातिर समबेदना पोख्न र कमेन्ट गर्नपट्टि लागे। “मेरो समबेदना पाउने पालो यति चाडैं सकियो?” ऊ आश्चर्यचकित भयो।
यता यमराजले पस्पतेलाई स्वर्गमा पठाउने कि नर्कमा पठाउने भन्ने निर्णय गरिसकेछन्। दूतले बोलाइहाले। ऊ फेसबुक छोडेर निर्णय सुन्नतिर लाग्यो।
सुन्तलीले निन्द्राको सुरमा लात्तीले मजाले हानी छ, पस्पते झल्याँस्स भएर उठ्यो।
(नर्थ क्यारोलिना, अमेरिका )