विक्रम संवत २०२८ मा तनहुँको आँबुखैरेनीमा आमा दुर्गाकुमारी र बुबा दिलकुमार श्रेष्ठका ज्येष्ठ सन्तानका रूपमा जन्मेका अनिल श्रेष्ठ तनहुँको सेरोफेरोलाई आफ्नो कर्मथलो बनाइ साहित्य सिर्जना गर्ने कवि हुन् । चालिसको दशकबाट कविता लेखनको यात्रा आरम्भ गरेका श्रेष्ठले कविताका अतिरिक्त कथा, संस्मरण र निबन्धहरू लेख्दै आएका छन् । वर्तमान नेपाली कविताका फाँटमा आफ्नो छुट्टै पहिचान बनाएका अनिल प्रगतिवादी कवि हुन् ।
अनिलका अहिलेसम्म ‘प्रजातन्त्र र पागल’ (कथासङ्ग्रह २०५०), ‘राष्ट्रले शोकधुन बजाएको छ’ (कवितासङ्ग्रह २०५१), ‘मृत्युपर्व होइन मेरो देश’ (कवितासङ्ग्रह २०५५÷दो.सं. २०५७), ‘आरु फुलेको साँझ’ (कवितासङ्ग्रह २०६३), ‘मफलर युद्ध’ (कवितासङ्ग्रह २०६९÷दो.सं.२०७१), ‘अनिल श्रेष्ठका प्रतिनिधि कविता’ (कवितासङ्ग्रह २०७३), ‘मध्यरातमा मुर्कट्टा’(२०७८कवितासङ्ग्रह) प्रकाशित छन् । ‘फेरि पनि छिम्कालेकमा गुञ्जिरहन्छन् यी गीतहरू’ (२०६६÷ दो.सं.२०६७) र ‘टाइगरहिलकी पुनम’ (२०७४) यिनका निबन्ध सङ्ग्रह प्रकाशित छन् । यसै गरी समीक्षक तेजविलास अधिकारीद्वारा सम्पादित यिनका काव्यकृतिसँग सम्बन्धित विभिन्न स्रष्टा–द्रष्टाहरूका लेख–समीक्षाहरूको सङ्कलन ‘सिर्जन वैशिष्ट्यमा अनिल श्रेष्ठ’ (२०७४/दो.सं.२०७६) पनि प्रकाशित छ ।
कवि अनिलको हालै प्रकाशित ‘मध्यरातमा मुर्कट्टा’ कवितासङ्ग्रहमा पैँतीसवटा लामा–छोटा कविता समावेश छन् । सङ्कलित कविताहरु सशक्त छन्, विद्रोही चेतले युक्त छन्, परिवर्तनकामी छन् । यी कविताहरु प्रगतिवादी भावमा छन् । वास्तविक कविहरु सत्ताका प्रतिपक्ष हुन्छन्, उनीहरु समाजमा रहेका विसङ्गतिलाई हटाउन चाहन्छन् । समाजका जालझेल, तिकडम, अन्याय, अत्याचार, भ्रष्टाचारको विरोध गर्छन् र युग परिवर्तनका लागि अग्रगमन रोज्छन् ।
कलाकार, साहित्यकारहरु सत्ताको नेल, हतकडी र बन्दुकसँग डराउँदैनन् । त्यसैले त सुब्बा कृष्णलालहरु जन्मन्छन्, गोकुल जोशीहरु र कृष्ण सेन ‘इच्छुक’हरु जन्मन्छन् । उनीहरु सरकारसँग प्राणको भीख माग्दैनन्, मात्र शब्दले युद्ध गरिरहन्छन् र विजय पनि भइरहन्छन् । कवि अनिलले पनि यही बाटो पछ्याइरहेका छन् । ‘मध्यरातमा मुर्कट्टा’ त्यसैको जब्बर प्रमाण हो । विवेक सिर्जनशील प्रकाशनले प्रकाशन गरेको यस सङ्ग्रहमा पैंतिसवटा कविता छन् । कविता लामा र छोटा दुवैखाले छन् । कविताहरू हाम्रो इतिहास, राजनीति, धर्म, अर्थव्यवस्था, संस्कृति, समाज व्यवस्थाबारे रचिएका छन्, बिम्बात्मक छन् । अनिलले कवितामार्फत समाजको आमूल परिवर्तन चाहेका छन् ।
‘मध्यरातमा मुर्कट्टा’ बिम्बात्मक नाम हो । यो प्रतीकात्मक छ । यो हाम्रा अभिभावकहरुले आफ्ना बच्चाबच्चीलाई काबुमा राख्न, अनुशासित बनाउन देखाउने डर हो । अर्कोतिर यो शोषक सामन्ती, फटाहाहरुको सत्ताले निरीह जनतालाई डर देखाएर शोषण गर्ने बहाना हो । यसै गरी यो समाजमा भूतप्रेत, मसान, बोक्सी, डाइनी, झाँक्री तथा मुर्कट्टाहरुको आडमा आफ्नो रुढिवादी पश्चगामी सत्ता कायम राख्न अपनाउने जालझेल हो । मुर्कट्टालाई बिम्ब बनाएर कवि अनिलले सुन्दर र सशक्त कविता सिर्जना गरेका छन् ।
यस कवितासङ्ग्र्रहको पहिलो कविता ‘भाँचिएको सियो’मा काम गर्ने औजारको महत्वलाई दर्साइएको छ । हुलमूलमा जिउ जोगाउनु, अनिकालमा बिउ जोगाउनु भनेझैं साहिँली सुजिनीको एउटै भएको सियो भाँचिदाको दशा र समस्या यसबाट अभिव्यक्त छ । लक डाउनको बेलामा सियो भाँचिनु, पसलहरु बन्द हुनु, अर्को सियो जगेडा नहुनु पीडादायी विषय हो । विषय सानो छ र सियो पनि पनि सानै छ तर यसको महत्व कति छ भन्ने नै मुख्य कुरा हो । अर्को यसमा मान्छेले मान्छेमाथि गर्ने छोइछिटोलाई पनि सङ्केत गरिएको छ । सियोको अभावमा ब्लाउजमा टाँकघर बुन्ने र सिउने काम सक्न नपाएर आर्जन हुन नसकेको, पैंचो चामल तिर्न नपाएर दुःखी बनेकी साहिँली सुजिनीको व्यथाको प्रस्तुति छ ।
‘एकदिन’ शीर्षकको दोस्रो कवितामा वातावरण प्रदूषणको विषय छ । अब कुनै दिन मान्छेको बस्तीमा झुसिल्कीरा पस्नेछन् र पुरै मान्छे झुसिल्कीरा हुनेछन् भने झुसिल्कीरा मान्छेमा परिणत हुनेछन् । भ्रष्टहरुले जताततै फोहोर गरेका छन् । दलालहरूले देश र संसार विषाक्त पारेका छन्, प्राकृतिक सुन्दरतालाई मासेका छन् । तिनको म्याद सकिएको छ र त्यसपछि रूपान्तर भएर नयाँ मानवको विकास र विस्तार हुनेछ भन्ने भाव यसमा छ ।
तेस्रो ‘वक्त’ शीर्षकको कविता छ । कविता छोटोमीठो छ । यसमा श्रमिकको जीवन बोलेको छ । काम गर्नेलाई सत्ता साँढेरुपी सत्ताले कति छेक्दो रहेछ भन्ने भाव छ । शक्तिको प्रहसन देखाइएको छ ।
चौथो ‘आजकल सिंहदरबारमा फूलहरू फुल्दैनन्’ कवितामा कविले अचेल दानवता मौलाएका कारण जनअधिकारको हनन र मानवता ह्रास भएको कुरा उठाएका छन् । सिंहदरबारले अचेल कुनै रचनात्मक काम गर्दैन, केवल भत्ता पचाउँछ अनि जनतालाई आदेश मात्र दिन्छ भन्ने कुरा यस कवितामा प्रस्ट्याइएको छ । सिंहदरबारले श्रम र पसिनाको फूल फुलाउन सक्दैन, केवल नाफा र सुविधा मात्र कोरल्छ भनिएको छ । आफन्तका लागि हिंसा मात्र फैलाउँछ । सिंहदरबार जनताका प्रतिनिधि मस्त निदाउने अखडा बनेकामा कवि छक्क परेका छन् ।
‘एक सभासदको डायरीबाट प्रणय दिवसको कविता’ निकै महत्वपूर्ण कविता हो । जनताका प्रतिनिधिहरु के गरेर बसिरहेका छन् भन्ने प्रश्नको उत्तरमा कवि सभासदको डायरीको चर्चा गर्न विवश छन् । जनताका अधिकार सुनिश्चित गर्न सिंहदरवार छिरेका व्यक्तिहरुले प्रेमिकालाई खुसी पार्न प्रणय दिवसको शुभकामना लेखिरहेका छन् । आफ्नो जिम्मेबारी बोध नभएका कारण आज हामी सभासदका कुकृत्यहरु हेर्न विवश छौँ । निर्वाचन क्षेत्रको विकास, जनताका विभिन्न समस्या समाधानका लागि योजना बनाउनुपर्ने सभासद प्रेमपत्र लेखेर भत्ता पचाइरहेका छन् । यही विडम्बनालाई विषय बनाइएको छ यस कवितामा ।
‘तिम्रो स्मृतिमा’ कवितामा जनगायक खुशीराम पाख्रिनको सम्झना गरिएको छ । हाम्रा रेडियो, टेलिभिजन, पत्रपत्रिकाले उनका गीत गाउने र चर्चा गर्ने काम गर्दैनन् । जीवनभर दुःख पीडा खेपेर जनताको अधिकार र नागरिकको कर्तव्यप्रति सचेत हुँदै देशप्रेमका गीत गाउने गायकलाई ओझेलमा पारिएकामा यसमा चिन्ता गरिएको छ । ‘सत्ता’ शीर्षकको कविता महिला र पुरुष बीचको विभेद, मानव मानव बिचको असमानता र वर्णभेद एवम् लिङ्गभेदका विरुद्धमा रहेको छ । यो विभेद कहिलेसम्म हो ? सत्ता फेरिन नसक्ने रुढ भएकामा कविको रोष प्रकट भएको छ ।
‘विध्वंसक’ शीर्षकको कविता प्रतीकात्मक छ । यसमा मुसाहरुको खराब वृत्तिको विश्लेषण छ । कविले नेतालाई मुसामा आरोपित गरेर भ्रष्टहरुलाई विध्वंसकको संज्ञा दिएका छन् । यसमा विकृतिका कारकहरु नेतागण हुन् भनिएको छ ।
‘मध्यरातमा मुर्कट्टा’ यस सङ्ग्रहको शक्तिशाली कविता हो । अचेल शहरमा मध्यरातमा मुर्कट्टाहरु देखिन थालेका छन् । जसको शरीर छ तर शिर छैन अर्थात् दिमाग छैन, विचार छैन, चेतना छैन भन्ने कुरा यस कवितामा प्रस्तुत गरिएको छ । ती मुर्कट्टाहरु अरु कोही नभएर हाम्रै नेताहरु हुन् जसले मध्यरातमा ताण्डव नृत्य गरिरहेका छन् । हाम्रा नेताहरु हामीले चुने पनि छिमेकी राष्ट्रका गोटी भएका छन् । जनता र देशको पक्षमा निर्णय गर्न सक्दैनन् । उनीहरुलाई कुर्सी र पैसा भए पुग्छ भन्ने भाव यसमा छ । सत्ता र शक्ति त जनता तर्साउने मुर्कट्टा मात्रै हुन् त्यसैले हाम्रो देशमा मुर्कट्टाहरुले रातको समयमा जनघाती काम गरेर बसेका छन् । यिनै मुर्कट्टाहरु जो दिउँसो सिंहदरबारमा विराजमान हुन्छन् । सिङ्गो पुस्तकको शीर्षक यसैलाई बनाइएको छ ।
‘मृत्यु उत्सव’ कवितामा समयको व्याख्या छ । सिर्जना मौलाएको समय र मरुभूमिलाई तुलना गरिएको यसमा कवि श्रेष्ठ उज्यालो अर्थात् सिर्जनशील समय ल्याउन तम्सिएका छन् र खराब समयको मृत्यु उत्सव मनाउन आतुर छन् ।
‘आज पनि सहरमा लकडाउन छ’ कवितामा कोरोना कहरलाई विषय बनाइएको छ । कवितामा परिवर्तनमुखी स्वर छ । कोरोना कहरका कारण शहर बजार पुरै बन्द छ । सडक, पसल, कारोबार सबै ठप्प छन् । मान्छेहरु कुखुरा झैँ खोरमा थुनिएका छन् । सबैको दैनिकी फेरिएको छ । यो बेला घरमै बसेर पढ्न, लेख्न र वार्तालापका काम गर्न सकिन्थ्यो तर त्यो पनि कतै देखिंदैन । खाना खाने, सुत्ने बाहेक मानिसहरु मोबाइल र फेसबुकमा व्यस्त छन् । के मान्छेको कर्तव्य यति मात्र हो ?
‘लय’ कवितामा सबैको छुट्टै परिचय हुन्छ, पानीको प्रकृति बग्नु हो, बाँधेर पनि रोकिँदैन । कसैले बिजुली निकाल्छन्, पोखरी बनाउँछन् तर पानी जसरी पनि बगेको हुन्छ भन्ने भाव व्यक्त भएको पाइन्छ ।
‘संसदमा कोभिड’ शीर्षकको कवितामा कविले देशमा रोग, भोक र शोक छ तर सिंहदरवार, बालुवाटार, शीतलनिवास बेखबर छन् र त्यहाँभित्रका खेलाडीहरु कुर्सी दौड खेलमा व्यस्त छन् भन्ने विषयलाई चर्चा गरेका छन् ।
‘त्यस्तो दिनचर्या केही छैन’ कवितामा दुराचार, अन्याय र अत्याचारले सीमा नाध्दा पनि सरकारको उपस्थिति नदेखिने अवस्थाको चर्चा छ । सरकार जनताको रोदन नसुन्ने, कानमा तेल हालेर बस्ने कुराको चर्चा छ । गृहमन्त्रालयले शान्तिसुरक्षा दिने काम नगरी केवल शोक र संवेदना दिइरहेको छ । प्रधानमन्त्री उखानटुक्का हालेर रमाएका छन् । देशको हालखबर यस्तै छ भन्दै कविले व्यङ्ग्य गरेका छन् ।
‘जादुगर’ शीर्षकको कवितामा अहिले हाम्रो देशमा सरकार चलाउनेहरुले चटक देखाउने काम गर्दैछन् भनिएको छ । समृद्धिको नारा फलाकेर जादुको छडीले जस्तै जे सोच्यो त्यो हुने भनेर भाषण गरिरहेका छन्, जनतालाई ढाँटिरहेका छन् । कवि यस्ता चटके कुराबाट बच्न सबैलाई सूचित गर्छन् ।
‘ईश्वरको जन्म’ कवितामा मूर्ति पूजाको विरोध गर्ने तर नेताहरूकै मूर्ति बनाउने चलनको विरोध छ र कार्यकर्ताहरुले नेतालाई पूजा गर्न थालेकामा विरोध छ । ईश्वरको निन्दा गर्नेहरु आफै देवता बनेको यथार्थलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ ।
‘हुर्मतमा कवि गोष्ठी’ अर्को महत्वपूर्ण कविता हो । यसमा कविले वर्तमानका कविहरूको चित्र उतारेका छन् । कविहरु समाज र जनताको परिवर्तनमा हैन, सांस्कृतिक रूपान्तरणमा हैन, केवल आफ्ना कविता सुनाउन चाहन्छन् । अरूको भावना सुन्न चाहँदैनन् भन्ने भावको यथार्थ चित्र यसमा छ ।
अठारौं कविता ‘हल्लाहरु छन् र त हामी अझै जिउँदा छौं’मा भूपी शेरचनको यो हल्लैहल्लाको देश हो भन्ने भावलाई पुष्टि गर्न हल्ला हाम्रो संस्कृति भएको छ भन्दै हामीलाई हाम्रा अभिभावकले हल्लाले सुताउनुभयो, हल्लाले नै उठाउनुभयो त्यसैले यो हल्ला हाम्रो बानी हो, संस्कार र संस्कृति हो भन्ने यथार्थको प्रस्तुति छ ।
उन्नाइसौं कविता ‘गुहेँलीको फूल’मा फूलजस्तै उज्यालो समयको चाहना अभिव्यक्त छ । जनताका सपनालाई सुन्दर फूलका रुपमा साकार पार्न संसद भवन छिरेकाहरुले गालीगलौजका शब्दहरु फुलाइरहेकामा कवि चिन्तित छन् । सांसद, मन्त्री, नेताहरुका मुखबाट निम्न स्तरका शब्दहरु प्रयोग हुने गरेकामा कविलाई दुखेको छ ।
‘एक निमेष’ कवितामा मानिसले जहिले पनि उज्यालो चाहन्छ, अँध्याराबाट मुक्ति चाहन्छ भन्ने विषय छ । ‘इजलास’ कवितामा अदालतमा न्याय दिने गलत परम्पराप्रति व्यङ्ग्य छ । ‘अन्तराल’ कवितामा खोलो तरेपछि लौरो बिर्सनेहरुलाई व्यङ्ग्य गरिएको छ । यसमा सरकार र जनता बिच बढेको दुरीलाई सङ्केत गरिएको छ ।
‘छली देवता’ कवितामा हाम्रो बाटो उज्यालोतिर हो, हाम्रो यात्रा अँध्यारोतर्फ होइन, प्रगतितर्फ हो भन्ने कुरा छ । यसमा उखु किसानहरुले व्यहोर्नु परेको सास्तीलाई विषय बनाइएको छ । राज्यले किसानहरुको मर्म बुझ्न नसकेका प्रति कविको खेद छ ।
‘बोन्साइ’ यस सङ्ग्रहको चौबिसौं कविता हो । बोनसाइ सजिएको कोठामा रमाउने फूलको बिरुवा हो । सधैं हरियो रहने यो फूलले घामपानी पचाउन सक्दैन । यो देखाउनका लागि मात्र हो । अहिले हाम्रा नेताहरु पनि बोन्साइ बनेका छन्, दलालहरुले आफ्नो खुसीका लागि उनीहरुलाई सजाइरहेका छन् । कविता प्रतीकात्मक छ व्यङ्ग्यात्मक छ ।
‘विच्छेद’ कवितामा सरकार र सत्ताले प्रेम होइन चाकरी खोजिरहेको छ र जनताबाट विच्छेद भइरहेको छ भन्ने यथार्थ छ । ‘व्यर्थ हाँसो’ कवितामा मान्छेमा रहेको अहम्को चित्रण छ, देखाउनकै लागि ¥याकभरि किताब छन् तर अध्ययन गर्ने बानी छैन । पुस्तक देखाउने, फोटो खिच्ने र फेसबुकमा पोष्ट गर्नेहरु वास्तवमै अध्ययनशील नहुन पनि सक्छन् भन्ने यथार्थलाई यसमा प्रस्तुत गरिएको छ ।
कवि अनिलले ‘विमल निभा’ कवितामा अग्रजको सम्मान गरेका छन् । एउटा कवि देशका तमाम समस्यामा कलम चलाउँछ र सरकारलाई खबरदारी गरिरहन्छ भन्ने विषयको विन्यास यसमा छ । सरकार कवि कलाकारलाई फुटेको आँखाले पनि हेर्दैन । कवि सबै विकृतिलाई पन्छाउन कविता लेख्छ तर सरकार त्यस्ता कविता पचाउन सक्दैन भन्दै अनिलले यसमा विमल निभाको काव्य प्रवृत्तिको चर्चा गरेका छन् ।
‘बधशालामा देश’ कविता अनुसार यतिखेर देश बधशालामा फेरिएको छ । विज्ञहरुले देशलाई संघीय गणतान्त्रिक बनाए पनि वा समाजवाद उन्मुख बनाए पनि मान्छेका स्वतन्त्रतालाई अपहरण गरेर त्यसैलाई बेची अकुत सम्पत्ति आर्जन गरिरहेका छन् नेताहरु । यस कवितामा चराको बिम्ब मान्छेमा प्रतिबिम्बित छ । खसीको टाउको देखाएर कुकुरको मासु होइन यहाँ त मान्छेकै मासु बेचिएको छ ।
‘अनादि लय’ कवितामा मान्छेले आजसम्म गरेको यात्राको विवरण छ । बाटाघाटाहरु छन्, सुन्दर प्रकृति छ, रूखबिरुवा र चराचुरुङ्गी पनि छन्, घामछायाँ, हावा, नदी–नाला छन् । समथर फाँटमा असजिला गौँडा पनि छन् तर पनि जिन्दगी यात्रारत छ भन्दै कविले राजनीतिको बाटोबारे चर्चा गर्दै सत्ता प्राप्तिको लालसा कहिले पूरा हुँदैन भनेका छन् । यो बाटो सिंहदरबार पुगेपछि अलमल हुन्छ र हराउँछ किन ? भन्ने प्रश्न गरेका छन् ।
‘आसक्ति’ यस सङ्ग्रहको तिसौं कविता हो जसमा मान्छेका विरोधाभासपूर्ण जीवनको चित्र उतारिएको छ । यसमा आफूले सहयोग गरेको मान्छेले नै खुट्टा तान्ने गर्छन् । शत्रु र मित्र चिन्न पनि कठिन छ भनिएको छ ।
‘अगुल्टो’ कवितामा प्रतिकात्मक भाव छ । कविता छोटो भइकन पनि यसमा आगोको इतिहास समेटिएको छ । आगो क्रान्ति हो । यो भित्रभित्र सल्कन्छ । मान्छे होसियार हुनुपर्छ भन्ने भाव छ । आगो जोगाउनु आजको आवश्यकता हो । यस कविताको सार यही हो । ‘तिनाउ काटेपछि’ शीर्षकको कविता छोटो र गहिरो भावको कविता हो । यो पनि प्रतीकात्मक कविताका रुपमा छ ।
‘सेलिब्रेटी’ शीर्षकको कवितामा कवि जो आफै स्वघोषित छ, उसैको कहानी बताउँछन् । पाँच–सातवटा कविता लेखेर एकाएक प्रकाशमा आएका कविको लेखन र व्यवहार समान हुन नसकेपछि समाजमा नाङ्गिएका छन् भन्दै यस कवितामा साहित्यिक ठालुहरुप्रति व्यङ्ग्य गरिएको छ ।
‘श्रीमती भन्छिन्’ शीर्षकको कवितामा महिलाको बेरोजगारी, घरको काम लुतेधन्दाका बारेमा मर्मस्पर्शी चित्रण छ । पुरुषप्रधान समाजमा महिलाको योगदानले प्रगति भएपनि उनीहरूको नाम र कामको कदर भएको छैन । जबसम्म महिलाको श्रमको सम्मान हुँदैन तबसम्म हाम्रो सभ्यताले गति लिँदैन, समाजको विकास हुँदैन भन्ने कुरालाई कविले यस कवितामार्फत प्रस्ट्याएका छन् । यस सङ्ग्रहको अन्तिम कविता
‘अन्तिम अर्थात चौथो अनुच्छेद’ सङ्ग्रहकै सबैभन्दा लामो कविता हो । यसमा कविले यो कवितालाई अन्तिम हुनेछ भन्ने भविष्यवाणी गरेका छन् । मानव वैचारिक रुपमा स्खलित भएर नै उसको अन्त हुन्छ भन्ने कुराको पुष्टि गर्दै कविले यसपछि मानिसको नयाँ जातिको उदय हुनेछ जसले समग्र मानवीय आकाङ्क्षा पूरा गर्नेछ र मानवताको विकास, विस्तार र सभ्यताको निर्माणमा अग्रसर हुनेछ भन्ने सत्यको उद्घाटन गरेका छन्
यसरी प्रस्तुत कवितासङ्ग्रहमा कवि अनिलले लामा छोटा गरी जम्मा पैँतिसवटा कविताहरुको संकलन गरेका छन् । कवितामा इतिहास, राजनीति, व्यापार, उद्योग, पर्यटन, समाज सबै सबै क्षेत्रलाई समेटेका छन् । देश र जनतालाई केन्द्रमा राखेर खस्कँदै गएको हाम्रो राजनीतिक संस्कारप्रति व्यङ्ग्य गरेका छन् । गरिब जनताको श्रम र पसिनालाई विदेशमा बेचेर डलर कुम्ल्याएकाहरुलाइ प्रहार गरेका छन् । राज्य कुम्भकर्ण झैँ निदाएकामा कविको रोष छ । देश जल्दा निरो बाँसुरी बजाइरहेको छ भन्ने कुरा कवितामा सङ्केत गरिएको छ ।
अन्त्यमा कवि अनिल देशलाई माया गर्छन् । स्खलित राजनीतिको विरोध गर्छन् । पसिना र स्वाभिमानको गीत गाउँछन् । नैतिकताको मूल्यबोध गर्छन् । निरन्तर प्रगतिको पक्षमा लागेर लेखेका छन् । हराउँदै गएको मानवताको आफ्ना कवितामार्फत् खोजी गरेका छन् । कविता सरल छन्, छोटा छन्, सर्वसाधारण पाठकका लागि पनि बोधगम्य छन् । कवि अनिल सधैं यस्तै कविता लेख्दै निरन्तर कविता यात्रामा अगाडि बढून् । शुभकामना !
(पोखरा)