हरिबहादुर जमिनदार र रामप्रसाद मुखिया चौतारीमा बसेर गफगर्दै थिए। त्यति नै बेला मनबहादुर कटुवाल गाउँ डुलेर आफ्नो घर फर्कदै थियो । चौतारीमा मुखिया र जमिनदार देखेर मनबहादुरले आफ्नो शिर झुकाउदै जदौं हजुर नमस्कार भनेर आफ्नो बाटो लाग्यो।
मनबहादुर पर पुगेपछि मुखियाले जमिनदारलाई सोधे- “हैन साच्चै यो मनबहादुरले कस्लाई जदौं नमस्कार भन्यो हँ ? तपाईंलाई कि ? मलाई ? ”
जमिनदार हरिबहादुरले सहजै जवाफ फर्काए- “जदौं नमस्कार त मलाई गरेको हो नि तपाईंलाई किन गर्थ्यो ? मेरै जमिनको अन्न खाएर बाचेको छ। मलाई जदौं नमस्कार नगरे त्यसका बालबच्चाको मुखमा माड कसरी लाग्छ? उस्ले मलाई नै नमस्कार भनेको हो।”
मुखिया रातोपिरो हुदै जमिनदारसँग झोक्किदै कुरा गर्छन्- “म यो गाउँको मुखिया ! मलाई जदौं नमस्कार नभनी त्यो कसरी बाच्न सक्छ? त्यो मनबहादुर कटुवालले मलाई नै नमस्कार भनेको हो। बुझ्नुस् जमिनदार ।”
केहीबेर जमिनदार र मुखियाको भनाभन हुन्छ। खासगरी मनबहादुर कटुवालले कस्लाई “नमस्कार” भनेको भन्ने बिषयले ठुलै रुप लियो। आखिरमा नमस्कारको सफाई लिन मुखिया र जमिनदार मनबहादुर गएको बाटो तिर हानिए।
केही पल्तिर पुगेपछि मनबहादुर बाटोमै भेटिए। आखिर मनबहादुरले नमस्कार कस्लाई गरेको भन्ने बुझ्न पालैपालो मुखिया र जमिनदारले कटुवालसँग सोध्न थाले।
मुखिया र जमिनदारको जिज्ञासा समाधान गर्न मनबहादुरले एउटा शर्त राख्छ। मुखिया र जमिनदार कटुवालको शर्त मान्न मन्जुर हुन्छन् । त्यसका लागि मुखिया र जमिनदारले पालैपालो कथा भन्नु पर्ने हुन्छ कथाको प्रश्नको जवाफमा “हुन्छ” भनेर जबाफ दिने मुर्ख र अज्ञानी ठहरिने छ। जस्ले हुदैन भन्ने जबाफ दिन्छ ऊ ज्ञानी र विवेकी ठहरिनेछ। तपाईं दुईमध्ये जो “मुर्ख” ठहरिन्छ त्यसलाई नै मैले जदौं नमस्कार गरेको संम्झनु होला।
मनबहादुरको अनौठो कुरा सुनेर मुखिया र जमिनदार मुखामुख गर्छन् अनि कटुवाललाई झपार्छन् “यस्तो पनि हुन्छ ?”
मुखिया र जमिनदार कटुवालको कुरा सुनेर भित्रभित्रै जलिरहेका थिए। आखिर जे भएपनि कुरो को चुरो पत्तालगाउनु पर्ने भो।
मुखिया कथा शुरु गर्न थाले “हेर्नुस् हरिबहादुर जी ! मेरो हजुरबुबाको पालामा आँगनमा सारेको तुलसीको बोट यति मौलाएछ, मौलाएछ त्यही तुलसीको बोट काटेर त्यसैको काठपातले मेरो हजुरबुबाले सिंहदरबार बनाउनु भएको हो। नपत्याए इतिहासकार जो कोहीलाई सोध्नुहोस्। तपाईंलाई बिश्वास लाग्छ कि लाग्दैन भन्नुहोस् ?
मुखियाको कुरा सुनेर केहिबेर रनभुल्ल परेपछि जमिनदारले सावधानी पुर्वक जवाफ दिए “किन नपत्याउनु नि मैले! पत्याई हाल्छु नि। किन सोध्नु इतिहासकारलाई ? तत्कालीन समयमा मेरो बुबा सिंहदरबार निर्माणकार्यको निर्देशक हुनुहुन्थ्यो । असंम्भव भन्ने कुरा के नै छ र दुनियाँमा ।” त्यसैले यो कुरा “सत्य हो यथार्थ हो” मलाई मेरो बुबाले भन्नु भएको थियो।
अब भने जमिनदार को पालो आयो कथा सुनाउने जमिनदार कथा सुनाउन थाले “मेरो हजुरबुबा सिंहदरबारमा निर्माणकार्यको निर्देशक भएर काम गर्दाका बखतमा दरबार निर्माण कार्यमा काम गर्ने एकजना इमानदार, लगनशील र मेहनत गर्ने कमदार थियो रे। उनका धेरै छोराछोरी थिए रे। त्यसमध्येको एउटा छोरा सहर छोडेर टाढा गाउँ पसेकोथ्यो रे। आफूले तह-लगाउन नसकेको छोरालाई तहमा ल्याउनका लागि तपाईंको घरमा लगेर नोकर बनाएर राख्नुस् भन्दै छोराको हुलिया बताएका थिए रे!
मेरो बुबाले भन्नुभएको हुलिया सम्झेर ल्याउदा ठ्याक्कै तपाईंसँग मिल्छ त ! सिंहदरबार निर्माणका कुरा अनि मेरो बुबाले बताएको हुलिया ! मेरो घरमा नोकर बस्न जाने हो त मुखिया साब ?”
जमिनदारको कथा सुनेपछि मुखियाले तुरुन्त जबाफ फर्काए- “कटुवालले तपाईंलाई नै नमस्कार गरेको हो जदौं भनेको हो ।” मलाई कसैको नमस्कार र जदौं लिनु परेको छैन ।” जुरुक्क उठेर मुखिया आफ्नो बाटो लाग्छ्न्।
कटुवाल र जमिनदार भने एकाअर्कालाई केरा हेरेझैं हेर्दैरहे।
(तनहुँ)