(भारतीय नेपाली साहित्यमा कलम चलाउने युवा साहित्यकार हुन् रोशन दियाली । कथा, कवितामा एकैसाथ कलम चलाउने दियाली भारतीय वायु सेनामा कार्यरत छन्।
विद्यार्थी जीवनबाट नै कविता एवं कथा विधामा कलम चलाउने दियालीको हालैमा ‘लोकताकको आकाशमुनि’ कथासङ्ग्रह प्रकाशित भएको छ। दियालीको उक्त कथासङ्ग्रमा मणिपुरको नेपाली समाज पढ्न सकिन्छ । उनी पनि मणिपुरकै बासिन्दा भएकोले कथाहरुमा त्यहीँकै रङ देखिनु स्वभाविकै हो । नेपाली साहित्य घरका लागि नयाँ दिल्लीबाट युवा साहित्यकार हर्कबहादुर लामगादे ‘रोहित’ले दियालीको कथासङ्ग्रह र उनको लेखनकार्यसँग सम्बन्धित रहेर लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ)
सर्वप्रथम तपाईंको कथासंग्रह प्रकाशित भएको अवसरमा हार्दिक शुभकामना। कथा लेख्ने प्रेरणा कहाँबाट पाउनु भयो ?
हार्दिक धन्यवाद हाम्रो प्रजाशक्तिप्रति। हाम्रो गाउँ, काङ्ग्लातोम्बी, मणिपुरमा प्रतिवर्ष दसैं-तिहार छेका नाटक प्रदर्शन हुने गर्दथ्यो। हामी ती नाटक खुबै मजाले हेर्थ्यैँ। म सानै भएपनि कविता कोर्ने गर्दछु भन्ने सायद थाहा थियो होला ती अपरिचित दाइलाई जसले मलाई भन्नु भयो ‘नाटक लेख भाइ, तिम्रो पनि नाटक प्रदर्शन गर्नु पर्छ?’ आफ्नो नाटक प्रदर्शन गराउने जोशमा मैले मदिरापानको विरुद्ध सानो नाटक लेखें र आफ्नै साथीभाइ र घरका सदस्यबीच देखाएँ। त्यो नाटक साथीहरु र म आफैलाई मनोरंजन प्रदान र प्रदर्शन गर्ने योग्य लागेन। तै पनि कविता छोडी साहित्यको अर्को फाटोमा जाने प्रेरणा पाएँ। त्यस पश्चात् मैले कथा लेख्न थालें। मैले पढेको स्कुल, सनातन संस्कृत विद्यालय, चारहजारे, मोत्बुङ्गको नाँउ नलिई अपूर्ण हुन्छ। यस विद्यालयको शिक्षा पद्धति र त्यसबेलाको परिवेश र गुरूजनको प्रोत्साहनबाट पनि म प्रेरित भएँ। मैले कलम चलाउन थालेका सुरूवातका दिनहरूमा प्रोत्साहन दिने सबै अग्रज वरिष्ठ साहित्यकारहरू पनि मेरो कथा लेख्ने प्रेरणाका श्रोत हुनुहुन्छ।
‘लोकताकको आकाशमुनि’ कथासंग्रहलाई कृतिको स्वरूप दिन क-कसको महत्वपूर्ण भूमिका छ?
हुन त हर व्यक्तिको सफलता र विफलतामा कसै न कसैको भूमिका त हुन्छ। कसैले यदि उसको सफल हुनु कसैको भूमिका छैन भन्दै छ भने या त उसले बुझेको छैन या उसले झुटो बोलिरहेको छ। कुनै पनि सफलतामा आफ्नो निजि ९९ प्रतिशत भूमिका हुनुपर्छ। त्यो बलिष्ट समय र उर्जा जसले मलाई निरन्तर साहित्य लेखिरहन प्ररित गर्यो, त्यसलाई श्रेय दिन चाहन्छु। मेरा माता-पिता, मेरी श्रीमती जसको सहाराबिना यी कथाहरु अझै पनि आधी-अधुरो भई डायरी कै पन्नामा गुम्सिरहने थिए होला। मलाई निरन्तर लेखिरहनु भनेर प्रोत्साहन गरी रहने वरिष्ठ साहित्यकार श्रीमान् भवानी अधिकारी एवं कथाप्रति विश्वास राखेर कथा सङ्ग्रह निकाल्नुपर्छ भन्ने साहित्याकार एवं समालोचक श्री सुक्रराज दियालीको पनि महत्वपूर्ण भूमिका रहेको छ।
तपाईंले कथा कुन परिवेशमा रहेर लेख्नु भयो?
२०११ भन्दा अघि लेखिएका कथाहरू पनि यस सङ्ग्रहमा समावेश छन्। ती कथाहरू विद्यार्थी जीवन र सामाजिक जीवनकै माझ फुर्सतमा कोरिएका कथाहरु हुन। २०११ पश्चात्, आफ्नो सैनिक जीवनको सुरूवात भयो। सैनिक जीवनकै व्यस्ततामा रहेर पनि परैबाट अनुभव गरेका एवं आफू सैनिक हुनु भन्दा अगाडि देखेका, बुझेका वा सैनिक भए पश्चात आफूले छुट्टी जाँदा अवलोकन गरेका घटनाहरुलाई लिएर रचिएका कथाहरू हुन्। सायद कुनै-कुनै कथाका अंश त मनमा उम्लिएर आएको बेला अफिसमा यसै चियाको बहाना गरी कुनै कुनामा पसेर लेखिएका पनि छन्।
प्रकाशित कथाहरुको रचना काल २००४ देखि लिएर २०१९ सम्म छ । सुरूका अनि पछिल्ला कथाका शैलीमा के अन्तर छ?
मैले कथा लेखेर पाठाकको समक्ष राखिदिएको छु। शैली र भाषाको भिन्नता छुट्याउन प्रिय पाठकप्रति नै सुम्पें।
कथासंग्रहबाट तपाईंले के संदेश पाठकमा दिन प्रयास गर्नु भएको छ?
कथा वा कविताले के संदेश दिँदैछ या दियो भन्ने त बुझ्ने र ग्रहण गर्ने मस्तिष्कमा निर्भर गर्दछ। किनभने, जुन कुरा मैले जसरी जति बुझ्ने गर्दछु त्यो सबैमा भिन्न हुन्छ। यस कथासङ्ग्रहमा मैले हाम्रो मणिपुरको सामाजिक घटना दर्शाउने प्रयास गरेको छु। मेरो प्रयास कहाँसम्म सफल छ त्यो त समालोचक र पाठक वर्गहरुले गर्नुहुनेछ।
प्रायः कथाका वस्तु प्रेमको छेउछाउ घुमेका छन् ? कारण?
प्रश्न चौं सारै कमन गरे जस्तो लाग्यो। मैले दिएको उत्तर ‘कापी पेस्ट’ गरेजस्तो होला कि ! प्रेम हाम्रो जीवनको महत्वपूर्ण अङ्ग हो। प्रेम बिना त सबै धमिलो हुन्छ। प्रेमकै लागि रामायण, महाभारत र सकुन्तलम जस्ता ग्रन्थ प्रख्यात छन्। विलियम्स सेक्सपियर पनि प्रेम मै प्रभावित थिए। देवकोटाको मुना मदन पनि प्रेम मै आधार छ। प्रेम भन्दा नौलो विषय हामीले केही पाउँदिनौं। प्रेम युगौंदेखि युगसम्म नौलो नै रहनेछ। प्रेमका कुरा सबैले गर्छन् सुर-असुर, मानव र चराचरले पनि। यो वस्तु नै यस्तो हो जुन बिना यो संसारको अस्तित्व नै छैन। अब संसारमा सास फेरेर संसारको कुरा गर्नु पर्यो नि।
कथा लेख्दा समाजका चरित्र नभई लेख्न सम्भव हुँदैन। तपाईंले समाजका कुन पात्रबाट प्रभावित भएर लेख्नु भयो?
सही कुरो गर्नु भयो। कथा लेख्दा समाजका चरित्र नभई कथा लेख्न सम्भव हुँदैन। तर जहाँसम्म मलाई लाग्छ कथाकारलाई पात्र भन्दा बडी कुनै सामाजिक परिवेशमा घटित दुख, पिर, मनोरम युक्त घटना देखेर वा सुनेर मन उडिलिन्छ। ती घटनाले पात्र आफै जन्माउछन्। सेक्सपियरले भनेका थिए ‘The World is a Stage’ यानि संसार एउटा मंच हो । साँच्चै संसार एउटा घट्नै घटनाले ग्रस्त पारेको मंच हो। पृथ्वीको विकास हुने ‘Big bang theory’ पनि एउटा घटना नै थियो र पात्रहरूका रूपमा अणु र जीवाणु स्वतः रचिएर संसार बनियो। त्यस्तै कथा पनि समाजमा घटित घटनाले पात्रहरूलाई जन्माएर एउटा मिठो कथा बनेको हो। कथा र घटना बनियो भने मात्र चरित्र वा पात्र जन्मिछन्। पात्र वा चरित्रको भूमिका त जसले पनि निभाउन सक्ला। त्यसैले म पात्रबाट प्रभावित नभएर घटनाबाट प्रभावित छु।
कथामा पात्र दह्रिलो हुनुपर्छ कि कथावस्तु ?
यो प्रश्न पनि माथिकै प्रश्नको छेउछाउ घुमे जस्तो लाग्यो। यसमा मेरो विचार दुवैका लागि बराबर छ। कथावस्तु दह्रो हुँदा त पात्र दह्रो हुने हो जस्तो लाग्छ मलाई। व्यक्तिअनुसार व्यक्तिगत दृष्टिमा भिन्नता हुन सक्छ। पात्र कसरी दह्रो वा फ्याँतुलो हुन सक्छ त्यो त घटनाको माग हो। हाम्रो जीवनमा हामीले कहिले फ्याँतुलो वा कहिले दह्रो भूमिका निभाएका हुन्छौं। त्यो त जीवनको कटु परिस्थिति र संघर्षले कुन भूमिका निभाउने हो भनी निर्णय लिन्छ। कथावस्तु दह्रो छ तर पात्र चाहिँ फ्याँतुला छन् भनिन्छ। यो भनाई चैं विरोधाभास छ जस्तो लाग्छ। किनभने कथामा पात्र दह्रिलो हुनुपर्छ कि कथावस्तु भन्नुभन्दा पनि कथाले कस्तो संदेश दिन खोजिरहेको छ र विषयवस्तु कस्तो छ त्यो महत्वपूर्ण हुन्छ। ‘सत्य सिवम् सुन्दरम्’ लाई हामीले कहिले बिर्सिनु हुँदैन। जे सत्य छ त्यो त सत्य हो। हामीले समाजमा राम्रो मात्र लेखेर पात्रलाई दह्रो बनाउनु भनेको झुटो घटना लेख्नु हो। ‘सत्यम् शिवम् सुन्दरम्’ को विपरीत जानु हो। हामीले निर्बलसँग पनि सिक्न सक्नु पर्छ र बलवानसँग पनि। के हामीले समाजमा, गृहस्थीमा र करियरमा जहिले जीतिरहेका हुन्छौं ? कहिले जीतेर दह्रो हुन पुग्छौ त कहिले हारेर फ्याँतुलो। हार-जीत, दह्रो-फ्याँतुलो सबै हाम्रो जीन्दगीका महत्वपूर्ण अंश हुन्। यी बिना समाज र जीवन अधुरो छ। दिन छ त रात छ, दुख छ त सुख छ,रूप छ त कुरूप पनि छ। त्यसरी नै माया छ भने घृणा पनि हुन्छ। यी सबै एकअर्काका पूरक हुन्। यसैमा संसार रमाएको छ। हामी पनि रमाउनु पर्छ। यसरी नै हाम्रो कथामा पनि दह्रो र फ्याँतुलो पात्र प्रशस्ति पाइन्छ। त्यो भएन भने कथा कसरी बनिन्छ? संसार कसरी चल्छ? त्यसैले मलाई चाहिँ पात्र र कथावस्तु एकअर्काका पूरक हुन र यिनी दुवै दह्रो हुन पर्छ जस्तो लाग्छ। तर संसार दह्रोको मात्र होइन।
अघि गएर तपाईंका कथामा समीक्षा हुने छन्, समालोचना हुनेछन्। हजुरले आफैं समीक्षा गर्नु पर्ने हुँदा सकारात्मक के देख्नु हुन्छ स्वयंले रचेका कथामा?
तपाईं जति नै कुरूप भएपनि, जति पटक तपाईंले आफ्नो अनुहारलाई ऐनामा हेर्नुहुन्छ त्यतिनै पटक तपाईलाई आफू संसारको सबैभन्दा सुन्दर व्यक्ति जस्तो लाग्छ। मान्छे जति नै नराम्रो किन नहोस् उसले आफ्नो मूल्याङ्कन सबैभन्दा माथि गर्छ। यस्तो सकारात्मक सोच र मनोविज्ञान मान्छेमा हुनाले होला मान्छे, मान्छे भनिन्छ। नभए ऊ एउटा मिस्ट्री हुन्थ्यो होला। संसारमा परीक्षा हुन छोडिने थिए होला। सबैले आफैं डिग्री झुन्ड्याएर हिड्थे होला। मैंले आफैं मूल्याङ्कन गर्न सक्नु भनेको अर्थ नै मिस्ट्री हुनु हो। म साधरण मान्छे हुन चाहन्छु। मिस्ट्री होइन। त्यसैले मैले आफ्नो कथालाई स्वयं समालोचकको दृष्टिले हेर्न सकिनँ।
पन्ध्र कथामध्ये एउटा सर्वोच्च कथा छनोट गर्नु पर्दा कुन कथा छनोट गर्नु हुन्छ ? कारण ?
मलाई त यस सङ्ग्रहका सबै कथा राम्रो लाग्छन्। यसको कारण तपाइँले पछिल्लो उत्तरमा पाउनु पनि भयो सायद। भिन्न चश्माले हेर्नेहरू धेरै हन्छन् र मत पनि। त्यो साधरण हो। भन्नै पर्दा मलाई १५ वटा कथामा सबैभन्दा राम्रो ‘समाधी’ कथा लाग्छ किनकि यो एउटा साँचो घटनाबाट प्रभावित भएर लेखिएको कथा हो। यो मेरो मनभित्रको कथा हो। अघि नै भने नि ‘सत्यम् शिवम् सुन्दरम्’। हामीले सत्य लेख्नु पर्छ। जितेको पनि लेख्नु पर्छ, हारेको पनि। यही नै जिन्दगीको रङ हो र सत्य पनि। किनभने असल जिन्दगी फिल्म जस्तो रङैरङको पृष्ठभूमि ‘रंग दे तु मोहे गेरूआ’ भनि नाच्ने नृत्य होइन। असल जिन्दगी धेरै भिन्न हुन्छ। हामीले पैसाको दुवै पाटोलाई महत्व दिनुपर्छ।
बजारमा पुस्तकको कत्तिको मांग आउँदै छ? पुस्तक पाउने पाठकबाट कस्तो प्रतिक्रिया आउँदै छ?
पुस्तक बजार शब्द नै हामी मणिपुरका साहित्यकारहरूको डिक्सनरीमा छैन जस्तो लाग्छ। र पनि मलाई यो सबै समान्य लाग्छ। सायद अल्पसंख्यक भई बाचेको मनले बुझेर होला। भविष्यमा हाम्रो ठाउँ पनि सिक्किम र दार्जिलिङ जस्तो नेपाली पुस्तकको बजारमा परिणत हुन सक्ला! साहित्य र भाषाको पठन-पाठनमा पहिलाको भन्दा सक्रियता धेरै बढ्दैछ। आफू राजस्थानमा र पुस्तक मणिपुरमा। पुस्तक सर्वत्र पुग्न सकेको छैन। साहित्य पढ्ने मनहरुले फोन गरेर पुस्तक घरै आएर लानु हुँदै छ। चिने जानेको आफन्ता एवं इष्टमित्रले पुस्तक लगेर पढ्नु हुँदैछ। प्रोत्साहन पनि पाउँदै छु। टाढा हुने साहित्यकारबीच किताब पठाउने जमर्कोमा छु।
भविष्यमा कथासंग्रह नै प्रकाशित गर्ने योजना छ कि अन्य विधाको?
यो त धेरै अगाडि जानु भयो हजुर। अहिले यस्तो केही हतारको योजना छैन। मैंले आफ्नो कलमलाई निरन्तर चलाइरहेको छु। पुस्तक कुन विधामा आउँछ वा कहिले प्रकाशित हुन्छ त्यो चाहिँ समयले भन्ने छ।
कुन नेपाली कथाकारलाई तपाईं आफ्नो प्रेरणाका स्रोत मान्नु हुन्छ?
यो अन्तिम प्रश्न चाहिँ मलाई सारै जटिल लाग्यो किनभने नेपाली बहुल क्षेत्रमा बसोबासो नहुनाले होला हामीले पाँच औंलामा गन्न सकिने नेपाली कथाकारका कथा समेत पढ्ने मौका पाएनौं । तरपनि कथाको क्षेत्रमा भन्नुपर्दा सबैका प्यारा गुरूप्रसाद मैनाली र सबै साहित्यकारमध्ये असाध्यै मन पर्ने महाकवि लक्ष्मीप्रसाद देवकोटा नै मेरो प्रेरणाका स्रोत हुन्।