‘गैह्राघरे गङ्गेकी छोरी राधेले त गाउँकै बेजेत गर्ने भै, हराएको दुई मैना भैसको अत्तोपत्तो छैन ।’ ठूलाघरे आमैले पानी भर्दाभर्दै खसखस पोखिन् ।
‘अब सिट्ठो भएर टुप्लुक्क आइपुग्छे कुन दिन, लाजको पसारो ।’ पाखाघरे भाउजूले संशय जनाइन् ।
‘पाठो फाल्न गएकी होलि नि, भुइँमा न भाँडामा भएकी थि नखरमाउली ।’ नयाँघरे काकीले चरित्रमाथि नै धावा बोलिन् ।
‘उत्ताउलिनु पनि कम्ती थियो र ! केटाले जस्तै हाप्यान धरेर, कपाल काटेर रूपै बिगारिसकेकी थि’ बाटाघरे बुहारीले आफ्नो मत जाहेर गरिन् ।
‘पढेको छ भनेर के गर्नु कुलकै नाक काटेपछि । गाउँ त गनायो गनायो सहर पनि गनाउने पार्ने भै !’ मतानघरे माइलीले कुल फलाकिन् ।
‘यत्रो सम्पत्तिवाल र गाउँकै जान्नेबुझ्ने भएर पनि छोरीचाहिँ गतिलो बनाएन है गङ्गेले ।’ गोठघरे ठूल्यामाले भतिजोलाई तसारिन् ।
‘फिलिम खेल्न मन छ फुपू भन्थी मसँग । कुजातसँग सल्किएकी सुनेकी थिएँ मैले त ।’ राताघरे फुपैले कथा बनाएर भनिन् ।
‘जङ्गल, नदी, हिमाल हेरेर कहिले हाँस्थी, कहिले रुन्थी, कतै दोखले त भेटेको थिएन त्यसलाई ।’ पुछारघरे दिदीले दया देखाइन् ।
राधा उर्फ ‘रश्मी भारद्वाज’ बारेको हल्ला पँधेरा, सुर्को, बारी, खेत, गोठ, घर हुँदै गाउँभरि फैलियो । कुरा रश्मीको कानसम्म पुग्यो ।
बुधबार सबेरै रश्मी गाउँ फर्किएको र दुब्ली भएको खबर छरियो । महिलाले मजेत्रोले मुख छोपे, पुरुषले मौनता साँधे ।
रश्मी स्वयम्ले शुक्रबार बेलुकी सुपारीको टुक्रा बाँड्दै शनिबार ११ बजे आफ्नो घरमा आउन सबैलाई निम्ता दिइन् ।
जाऊँ नजाऊँ भएकाहरू पनि ठीक समयमा रश्मीको आँगनमा विद्वेष, घृणा, रोष, नखरा, जलन र अहम् लिएरै उपस्थित भए ।
धेरै भन्नु उपयुक्त नदेखेकाले उनले यति मात्र भनिन्— म सुत्केरी भएँ । मेरा बा र आमाका हातबाट मेरा जुम्ल्याहा सन्तान तपाईँहरूलाई देखाउन चाहन्छु । घर जानुअघि सगुन लिएर गइदिनु होला ।
रश्मीका बा आमाले उनका सन्तानको घुम्टी खोलिदिए । आकर्षक देखिए— कोरली सपनाहरू (कवितासङ्ग्रह) र उज्यालो बस्ती (कथासङ्ग्रह) ।
(सुनसरी)