गौरवले फूलको थुङ्गाझैँ
अनुहारभरि खुसी फुलाउँदै
खित्खिते हाँसोमा
एक अर्कोलाई धाप मार्दै
एकजोर सारी चोलीले
कुर्ता सुरुवालसँग
लामै बहस गरे ।
बहस आसनमा
उस्तै प्रकृतिका
तर्क बिहिन श्रोता अधिक थिए ।
हाट बजारमा आफ्नो सामनको विज्ञापन गरेझैँ
सारी चोलीहरु,
प्रतिस्पर्धामा बोल्दै थिए ।
ऊ त ठूलो पदमा पुग्यो
ऊ पहुँचवाला भयो
शक्तिशाली त ऊ पो छ त ।
घरिघरि सारी चोली
खुसीले उजेलिन्थे
हर्षले बेलगाम हुन्थे
त्यहाँ नानाथरिका सपना उब्जिए
मनमनमा गर्वको मौलो गाडियो ।
अनेकौं दृष्य संवाद हुँदाहुँदै
त्यहाँ यसरी आकासवाणी भयो
"म एक समय बोल्दै छु
सुन्नु है सुन्नु मलाई ।"
तपाईंहरु सायद
परिवर्तन खोजिरहनु भएको छ हो !?
सुन्नुस् सारी चोली
तपाईंको त्यो पदलाई
त्यो पहुँचलाई
त्यो शक्तिलाई
कस्तो चेतना श्रेणीको
फरिया चोलीको नाता लगाइदिंदै हुनुहुन्छ ?
याद गर्नुस् ! परिवर्तनको केन्द्र त्यहीँनिर हुन्छ
कोट पाइन्ट खुब बदलिन्छ
सुट टाइमा निकै परिवर्तन आउँछ ।
त्यो सुट बुटले
फरिया चोलिसँग साइनो गाँसेपछि,
फरियाकै दृष्टिबाट
परिवार, समाज चिन्न बुझ्न थाल्छ
त्यसैले,
सुटबुट र फरिया चोलीको साइनो जोड्दा
चेतनाको स्तर समान खोज्नु
जब,
फरक बस्त्र धारीका पनि दृष्टि समान हुन्छन्
तब,
स्पष्ट देखिन्छ
दुबै दृष्टिले समान देखेपछि
कालो र सेतो
झुटो र साँचो
आफै छुट्याउन सकिन्छ
तब,
जीवनको बाटो हिँड्न सजिलो हुन्छ
यसरी समयको आकासवाणी हुँदाहुँदै
त्यहीं फेरि अर्को आवाज आयो ।
ओहो मान्यजन !
यहाँ भ्रम फैलिदैछ
फरक बस्त्रधारीका चेतना र दृष्टि समान कसरी हुन्छन् ?
भन्नुस् मान्यजन भन्नुस् !
"म पनि एक समय हुँ ।"
सुट टाइको चेतना त
दूरदृष्टिको पो हुन्छ
हरेक पर्दा छिचोल्दै
कोट पाइन्टको त्यो दृष्टिले
फरक बस्त्रधारीको
प्रत्यक अङ्ग अङ्ग मात्र देख्छ !
त्यो अदृश्य संवाद सुनेर सारीचोली चकित भए
सुट टाइको
कोट पाइन्टको
चेतना र दूरदृष्टिको त्यहाँ चर्चा चल्यो ।
ओहो चेतना !?
ओहो सुट टाइको दुष्टि !?
(गैंडाकोट, नवलपुर)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।