काठमाडौं ।
यस वर्षको साहित्य तर्फको नोबेल पुरस्कार उपन्यासकार अब्दुलरजाक गुर्नहलाई प्रदान गरिने भएको छ ।
उक्त कुरा स्टकहोममा आयोजित पुरस्कार घोषणा कार्यक्रममा स्विडिस एकेडेमीले बिहीबार मात्र घोषणा गरेको हो ।
गुर्नह सन् १९४८ मा तान्जानियाको जन्जिबार टापूमा जन्मिएका हुन् । सन् १९६० को दशको अन्त्यतिर शरणार्थीका रूपमा बेलायत प्रवेश गरेका उनी त्यहीँ बसेर अङ्ग्रेजी भाषामा लेख्छन् ।
‘उपनिवेशवादको प्रभाव तथा संस्कृति र महादेशीय खाडलका बीच शरणार्थीको भाग्यका बारेमा’ निरन्तरको लेखनलाई आधार बनाएर उनलाई साहित्यतर्फको नोबेल पुरस्कार दिइएको एकेडेमीले जनाएको छ ।
वोल सोयिन्कापछि नोबेल साहित्य पुरस्कार पाउने गुर्नह पहिलो अफ्रिकी मूलका लेखक हुन् । सोयिन्कालाई सन् १९८६ मा नोबेल साहित्य पुरस्कार प्रदान गरिएको थियो ।
गत वर्ष उनको ‘आफ्टरलाइभ्स उपन्यास प्रकाशित भएको थियो । २०औं शताब्दीको सुरुवातमा जर्मन शासनका क्रममा पश्चिमी अफ्रिकाको जीवन र भोगाइलाई उनले उपन्यासमा प्रस्तुत गरेका छन् । त्यस्तै उनका ‘ग्राभेल हार्ट’, ‘द लास्ट गिफ्ट’, ‘बाई द सी’, ‘मेमोरी अफ डिपार्चर’, ‘पिलग्रिम्स वे’ लगायतका उपन्यास प्रकाशित छन् ।
सन् २००७ मा प्रकाशित उनको ‘प्याराडाइज’ उपन्यास बुकर पुरस्कारको ‘सर्टलिस्ट’मा परेको थियो ।
नोबेल साहित्य पुरस्कारको राशि १ करोड स्विडिस क्रोनर(करिब १३ करोड नेपाली रुपैयाँ) रहेको छ ।