२१ असोज २०७८, काठमाडौं।
सर्जक श्रीराम राईको बालकथा सङ्ग्रह ‘पोलेको मकै’ सार्वजनिक भएको छ। बुक्स हिमालयले बालकथा सङ्ग्रह ‘पोलेको मकै’ बजारमा ल्याएको हो ।
‘पोलेको मकै’मा पहाडी भेगका विषयवस्तुलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ। सङ्ग्रहका सबैजसो कथाहरुमा बालमनोविज्ञानलाई ध्यान दिइएको छ। कथाहरू रमाइला र शिक्षामूलक रहेको प्रकाशकको दावी छ । कथासङ्ग्रह विद्यालय तहका सबै विद्यार्थीहरूका लागि उपयोगी हुने कथाकार राईको भनाइ रहेको छ ।
सर्जक गङ्गा कर्माचार्य पौडेलद्वारा सम्पादित उक्त कथासङ्ग्रहमा मुनाको अभियान, बलजितको जुक्ति, सुम्निमाको भ्रमण, पोलेको मकै, फूल फुलून्, चरी उडुन्, पारुको पढाइ, र बुबाको एसएमएस सहित ७ कथाहरु समावेश छन्।
सर्जक राईको यसअघि टोली नेता (बालकथा सङ्ग्रह–२०७४), आजका लघुकथा (संयुक्त लघुकथा सङ्ग्रह–२०७४) आदि कृति प्रकाशित छन् । राई खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नपा– ७ सिर्जनाकुञ्जका सर्जक हुन् । खोटाङबाट शिक्षण पेसा छोडेर काठमाडौँ छिरेका राई पछिल्लो समय साहित्यिक पत्रकारितामा सक्रिय छन् ।
हिमालय म्याप हाउस प्रालिले बजार व्यवस्थापन गरेको ‘पोलेको मकै’का कथाहरुका चित्र राजकुमार प्रजापतिको बनाएका हुन् । बालकथा सङ्ग्रह ‘पोलेको मकै’को मूल्य उनान्सय रुपैयाँ रहेको छ।