असीम सागर श्रेष्ठ काव्य संसारमा परचित नाम हो । अर्घाखाँची जिल्लाबाट कामको खोजीसँगै प्रवास हुँदै अहिले काठमाण्डौमा आएर व्यापार गर्दै साहित्य साधना गर्दैछन् । उनको साहित्यिक यात्रा निरन्तर चलेको छ । उनको घर सन्धिखर्क—४ वाङला हो । २०२८ सालमा जन्मेका हुन् । उनको न्वरानको नाम फत्तेमान श्रेष्ठ हो । उनका पिता कृष्ण प्रसाद श्रेष्ठ र माता कृष्ण कुमारी श्रेष्ठ हुन् । उनको पत्नी कमला श्रेष्ठ हुन् । श्रेष्ठका युवराज र विक्रम गरी दुई भाइ छोरा छन् ।
असीम सागरको नाम हृदयस्पर्शी भावनात्मक कविताबाट चम्केको हो । असीम सागरले “जुन पोखिएको रात” र “अस्तित्वका आवाजहरु”गजल संग्रह प्रकाशन गरिसकेका छन् । यी कृतिहरुको प्रभावकारिता गजल क्षेत्रमा निकै रह्यो । उनी यी कृतिको माध्यमबाट नेपालमा मात्र नभई भारतको दार्जिलिङ्ग, सिक्किमसम्म परिचित छन् । उनले यही गजल संग्रहमा खडानन्द मनमाया स्मृति पुुरस्कार, जोगमाया चापागाईं गजल पुरस्कार, भाव तरङ्ग साहित्य सम्मान(सिक्कम),बसिबियाँलो साहित्य सम्मान, (कालेबुङ्ग) जस्ता पुस्कार तथा सम्मान पाएका छन् ।
सागरले आफ्नो मानस चक्षुले तपतप खसेका आँसुका थोपामा पीडितका ब्यथाहरु देख्न सक्छन् । गहिराईमा पुगेर चित्रात्मक भाषामा अनुभूति उतार्न सक्छन् । आवाजविहीनका आवाजहरु, भावमण्डलमा निकास नपाई गुडुल्किएर बसेका कुण्ठाहरु छताछुल्ल पोखिदिन्छन् । पीडितका वेदनापूर्ण आक्रोशहरु कलात्मक रुपमा उतार्न सक्छन् । उनका कवितामा प्रेम, जीवन र मृत्युका चित्रहरु छन्
“क”असीम सागको पछिल्लो कृति हो । कवियस कृतिका माध्यमबाट साहित्यिक कलाको उत्कर्षमा पुगेका छन् । साहित्य आफैमा कला हो । जब सम्भावनाहरु कलात्मक रुपमा प्रस्तुत हुँदैनन् तबसम्म कविता हुनै सक्दैन । भावनार विचार प्रतीक, बिम्ब र अलङकारबाट अलङकृत बनेर पोखिन्छ, तब मात्र कविता प्रभावकारी बन्छ र पाठकलाई आनन्द दिन्छ । यस सन्दर्भमा उनका कविताहरु सुन्दर छन् ।
कविताहरु विभिन्न माध्यमबाट प्रकट हुन्छन् । गीत, गजल,मुक्तक, शास्त्रीय छन्द, गद्य छन्द कविताका माध्यम हुन् । यो “क”कृतिमा गद्यलयको प्रयोग गरिएको छ । गद्य कविता स्वतन्त्र लयमा लेखिन्छ । यसलाई रबर छन्द भनिन्छ । त्यसरी नै यसलाई बुटवलका वरिष्ठ आख्यानकार जङ्गबहादुर शाहले गड्यौला छन्द पनि भन्दछन् । गद्य कवितामा एक अनुच्छेद वा अन्य अनुच्छेदहरु पनि हुन्छन् । बिम्व प्रतीक र अलङ्कारहरुको यथोचित प्रयोग हुन्छ । अनुप्राशको प्रयोग गरी अन्तर लयात्मक बनाइन्छ । पढ्दा आनन्दको झङ्कार उत्पन्न हुन्छ ।
यस कविता संग्रहमा पचपन्न कविताहरु संग्रहित छन् । ती कविताहरुमा वर्गचित्र, कात्रो,चक्र, टेको, पानी, हतकडी, फूलहरुको विज्ञप्ति, सर्वोच्चलाई आदेश, उज्यालोको गीत, माटोको उचाई, आमा ! म साउदी जान्न, भ्रम, डस्टर, पृथ्वीको आयु, अपहरित शान्ति, मलामी गएको साँझ, संवाद खोला र किनारको, जहाँ मान्छे मर्मत गरिन्छ, एकमुठी खरानी, याद, अगर बत्ती आगो, स्याउ, माङ, प्रिय मृत्यु, फूल खस्ने डरले हावासित, मुर्कट्टाहरुको देश, जब प्रेम मर्छ, ऐना हुने रहर, जिन्दगीको गाडी, पश्चाताप समर्पण, सुन्दर असुन्दर, हातहरुको म्युजियम, अनुहारमा राजधानी, आँखाको भोक, विचारको जगमा उभिएर, मान्छे, मलाई गर्व लाग्छ, झरी र छाता, यो सहरमा, अन्तिम प्रश्न, बा र अंशबन्डा, आग्रह, एक थोपा आकास, उचाइ, शोक गीत, भोकहरुको सम्मेलन, मान्छेको पुर्जा पसल, घरबेटी बार नानीहरु, बाध्यता, प्रेमको बदला प्रेम, मात्र चूपचाप उभिनू, रोटी र अनशनरत पहाडहरु, क, पसिनाको जुलुुस, सडकको आवाज हुन् ।
कवितामा भावपरकता बढी र विचार पक्षकम छ भने परिपक्वता मानिदैन । विचारलाई भावले माझेर प्रस्तुत गर्दा ज्यादा प्रभावकारी हुन्छ । मानिसको भाव मण्डलमा पसेर लठ्याउँदै आफू अनुकूल बनाउनु भावपरकता हो । भावुक कविले क्षणभङ्गुर जीवनमा घर पैसा केही हैन भन्छ । यथार्थमा मानिस सबै त्यसैको प्राप्तिको लागि परेको छ । कविले भावनामा बगेर सहरलाई कंक्रिटको भद्धा थुप्रो भन्छ तर यथार्थमा त्यस्तो हैन । सारा मानिसहरु सुविधा सम्पन्न सहरतिर ओइरन चाहन्छ । भावनामा कविले वैदेशिक रोजगारको कुरा उठाउँछ तर यथार्थमा मुलुकमा तत्काल रोजगार नपाउँदा विश्वबजारमा पुगेर प्रशस्त कमाएर लाखौ युवाहरुले जीवन सहज बनाएका छन् । त्यसले मुलुकलाई माथि उठाउन मद्धत गरेको छ । त्यसैले कविहरु अतिशय भावनामा बग्नु हुँदैन । विचारको मिहीमा समाएर त्यसलाई भावनाले रङ्गाउँदै कविता लेख्नु पर्छ । असीम सागरका कविताहरु विचार पक्षलाई भावनाले भिजाएर प्रस्तुत भएका छन् ।
असीम सागरको पहिलो कविता“वर्ग चित्र”हो । यसमा समाजको वर्गको चित्रण गरिएको छ । उनले श्रमिकका निधारबाट तपतप चुहेका पसिनाका थोपालाई पृथ्वी सम्झेका छन् । कवि भन्छन्—
जसको निधारबाट झर्दै गरेको पसिनाको गोलो थोपालाई सबैले पृथ्वी देखून् ।
“कात्रो”कवितामा मानिस जन्मन्छ, बूढो हुन्छ र मर्छ भन्ने साश्वत पक्षलाई औल्याएका छन् । उनले अन्त्यमा हामी मर्छौ, हामीलाई चाहिने एउटा बेदाग सेतो कात्रो मात्र हो भन्दै अहंकार र अहंकारीको धज्जी उडाएका छन् । कवि भन्छन—
सबैभन्दा बेदाग रङ्ग हुन्छ सेतो ईश्वरलाई कुनै दाग मन पर्दैन र त ओढाइन्छ मान्छेलाई सेतो कात्रो ।
“पानी”कवितामा भन्दै परिवर्तन हुन नदिने जडहरुलाई खबरदारी गरेका छन् । कवि भन्छन्—
बग्नपाए बग्छ ऊ बग्न नपाए बगाउँछ उसले ।
“हतकडी”कवितामा चुरालाई सौभाग्य भने पनि हतकडी भनिएको छ । लोग्ने मरेपछि हतकडी हटाए पनि विधवाको ताल्चा लगाएर झन ठूलो मानसिक यातना दिइन्छ भनेका छन् । कवि भन्छन्—
नारीहरु नाडीमा जो चुरा लाउँछन् सौभाग्यको त्यो चुरा हैन हत्कडी हो जसको ताल्चा लोग्ने मरेपछि मात्रै खोलिन्छ तर दुर्भाग्य अर्को झन ठूलो ताल्चा लगाइन्छ विधवा नामको ।
त्यसरी नै “डस्टर”कवितमा डस्टर बनेर ज्ञानको उज्यालो हटाउन खोज्नेहरुलाई कवि भन्छन् —
जति अँध्यारो भए पनि ब्ल्याकबोर्ड उज्यालो घाम बाँढ्छ नानीहरुलाई तर डस्टर न आफू लेख्छ नचकले लेखेको देखी सहन्छ ।
उनले भोक रोग र अभावको अगाडि शान्तिको नारा लगाउनेहरुलाई शान्ति कुन शान्ति हो भन्दै प्रश्न गरेका छन् । अब शान्तिको परिभाषा नै बदल्नु पर्छ भन्दै लेख्छन्—
एउटा ठूलो बुद्धको मूर्ति पलेटी मारेर रमिता हेर्दैछ त्यो शान्ति? एउटा अनाथ बालक भोकले रोटी माग्दैछ तिमी उसको हातमा बन्दूक थमाएर युद्ध सिकाउँदै छौं त्यो शान्ति ?
“एकमुठी खरानी”कवितामा कवि शासक, धनाढ्य र विपन्नका शवहरु दाह संस्कार गर्दा देखिने विभेदको चर्चा चलाएका छन् । कवि लेख्छन् —
आर्यघाटको एक किनारामा बसेर हेरिरहँदा राष्ट्रिय ध्वजाओढाएर एकथरी मलामीहरु आए अर्काथरी मलामी आए लिएर धनाढ्य हुनुको फोस्रो आडम्बर अझ अर्कोथरी आए लिए्र गरिब हुनुको हीनताबोध र जलाए पालैपालो तथापि जल्यो शरीर मात्र ।
“याद”कवितामा मानवीय अस्तित्वबोधको चर्चा गरिएको छ । अवसर पाएमा मानिसहरु पनि शालिकजस्तै सुन्दर बन्न सक्छन् भन्ने आशय हो । यहाँ कवि भन्छन्—
बगरका प्रत्येक ढुङ्गालाई मूर्ति अथवा शालिक बन्ने सौभाग्य कहाँ हुन्छ र ?
कविले “प्रिय मृत्यु”कवितामा जीवन मरणको द्वन्द्वात्मक सम्बन्धको चर्चा गरेका छन् । कवि भन्छन्—
तिमी छौ र त बाँचेको अनुभूति भैरहेको छ मलाई ।
“मुर्कट्टाहरुको देश”कवितामा कविले अब क्रान्ति र परिवर्तन हैन सिर्जनाको समय हो भनेका छन् । कवि भन्छन्—
तिनीहरु मुर्कट्टा नभएर मान्छे हुँदा हुन् त टायर बाल्ने हातहरुले दियो बाल्दा हुन् बन्दूक समाउने हातहरुले फुल समाउँदा हुन् र भन्दा हुन् जसरी मेरो सानो छोराले भन्छ बा तपाई फर्सी, स्कुस र काँक्रो रोप्नुस म थाक्रो लगाउँछु ।
“जब प्रेम मर्छ” कवितामा कविले प्रेमको हत्या भएपछि मान्छे कि हिटलरजस्तो हिंस्रक बन्छ कि शान्तिको खोजमा बुद्ध बन्छ भन्छन् ।
“झरी र छाता”कवितामा कवि लेख्छन् जतिसुकै घुमाए पनि लेन्स क्यामेराले चित्र खिच्छ चरित्र खच्दिैन । जति गहिरो भए पनि आँखा रङ देख्छ तर वासना देख्दैन ।
“आग्रह”कवितामा कविले चेतनाको राँको सल्काउन सकेमा परिवर्तन सम्भव छ भन्छन् ।
यहाँ चेतनाको आगो झोस्ने चूपचाप छ गाउँमा हलो र कोदालो चूपचाप छन् डोका, डाला र नाम्लाहरु
कवि असीम सागरको शीर्ष कविता “क”हो । यस कवितामा कविले अहंकारका काला दम्भहरु ऐना फुटेझै फुट्छन् । करोडपतिहरु कसरी रोडपति बन्न पुगे भन्दै लेख्छन्—
कतै हल्ला नगरीकन कुनै साइरन नबजाईकन चूपचाप आयो भूकम्प र जोडले हल्लाएर गयो सहरका आलिशान घरहरु पलभरमै लडे पुरिए अहम्, अहङ्कार र द्वेष फुट्यो यसरी ऐनाझै एउटा शब्द “क”रोडपति ।
अन्त्यमा यस कविता संग्रहमा पचपन्न कविताहरु छन् । कविताहरु केही छोटा छन् प्रायःमाध्यम कायका छन् । सरल र सरस छन् । कवितामा हिंसाका प्रलापहरु भन्दा सिर्जनाका स्वरहरु ज्यादा छन् । शान्तिपूर्ण परिवर्तनका भावनाहरु प्रकट भएका छन् । कविले प्रभावकारी काव्यशैलीका माध्यमबाट दम्भ, अहम् र अहङ्कारहरु समाप्त पार्न चाहेका छन् । उनका कविताहरु विचारमा टेके पनि भावना प्रधान छन् भन्न मिल्छ । कवि असीम सागर नेपालीय साहित्यका असल साधक हुन् । उनी समाजलाई काव्य सन्देशको माध्यमबाट असल बन्न बनाउन चाहन्छन् । हामी उनबाट अझै उत्तम कविताहरु आउन् भन्न चाहन्छौं ।
(रुपन्देही)