कविवर हरिभक्त कटुवालज्यूले भन्नुभएको थियो “मन त फलाम कै भए असल हुन्छ।” अरू धेरैजसो कवि अथवा लेखकहरूले पनि आफ्ना लेख, निबन्ध, कवितामा मनको वर्णन गरेको पाइन्छ । कसैले यसलाई सबैभन्दा वेगी भनेका छन् त कसैले शरीरको सबैभन्दा सवेंदनशील अङ्ग भनेर तोकेका छन् ।
हो, होला ! धेरै वेगी भएरै मन विचित्र भएको । यसमा के आँटेका हुँदैनन् ..! समुन्द्र जस्तै हुन्छ मन, त्यो समुन्द्रभित्र लुकेका हुन्छन् कैयौं रहस्य । कुनै भेद भएका, कुनै अझैसम्म रहस्यको गर्भमै होलान् । मानिसले मौनताले आफ्ना दुर्गन्धहरू अर्थात कुकर्महरू लुकाउँछ। तर सुकर्महरूको चाहिँ ढोल बजाएर प्रचार गर्छ । यति प्रचार गर्छ कि त्यो सुकर्म पनि लोभकर्म हुन्छ पुग्छ ।
एकदिन एकजना सन्यासीले मेरी श्रीमतीलाई भनेछन् ” म त लोभ-मोहको बन्धनदेखि मुक्त छु । चाहिँदैन मलाई केही , जय श्री राधे ! जय श्री राधे ।”
घर आएर बाहिर किन टपरीमा चामल र दस रुपियाँ राखेकी कालेकी आमा? भनेर सोधेको त
उनी सोझै भन्छिन्- “ती लोभ-मोहदेखि वञ्चित सन्यासीलाई दान थोरै भयो रे ।”
मेरो मन हाँसिदिन्छ ।
मैले मनमनै सोचेँ हे प्रभु ! हात्तीका दाँत देखाउने एउटा खाने एउटा ।
हिजो मलाई बहिनी एउटीले फोनमा सोधिन् ” निले दाइ ! म अब रम्बस , शीत , हाइकु छोडेर कविता लेख्नुपर्यो , आफ्ना मनका उद्गारहरू पोख्न सकिनँ यी विधाबाट , त्यसैले कविता लेख्छु भनेर सोचेकी छु ,मलाई विषय दिनुहोस् न । ”
मलाई खुसी लाग्यो । मन पनि गदगद भयो । गदगद हुनुको पनि कारण छन्-
१. बहिनीले कस्ताकस्ता साहित्यिक महारथीहरूलाई छोडेर मलाई सोधिन् । र खुसी लाग्यो । आफ्नो पनि साहित्यमा केही अवदान रछ जस्तो लाग्यो र मन गदगद भयो ।
२. उनले मनका हर्ष, वेदनालाई पोख्न कवितालाई नै रोजेको देखेर धेरै खुसी लाग्यो। किनकि मलाई सबैभन्दा मनपर्ने विधा नै कविता हो ।
मेरो पनि मन चढ्न पुग्यो फुर्किदै हावाजहाजमा । के गर्नु मनै त हो ,यसले कहाँ हाम्रो कुरा मान्छ र । उडी हिँड्छ सिमलको भुवाझैँ । उड्दाउड्दै कसोकसो गरेर बल्लतल्ल आफै झर्यो तल । अनि होस् आयो र आफैलाई मनले प्रश्न गर्यो “अँ निले! अझै उड! अझै उड !”
केहीक्षण भुल्लुक्क भएको मन फेरि शान्त भयो । “सिजन फ्लावर” जस्तै हुन्छ मन । कस्सिएर फुल्छन् केही दिनसम्म अनि हराउँछन् नौ-दस महिनाभरि । नाकमुखै देखाउदैनन् ।
आफ्नो बुर्लुक्क भएको मनलाई अङ्कुश लगाउँदै मुसुक्क हाँसेर बहिनीलाई भनेँ —–” बहिनी ! विषय नै विषय छन् । तपाईं मान्छेको मनलाई लिएर लेख्नुहोस् न । मलाई लाग्छ तपाईंको लेखले अलग्गै स्थान पाउनेछ । आँखा, नाक, कम्मर, हात ,औंला आदि बाह्य अङ्गले कवितामा आफ्नो कब्जा जमाउन थालेका छन्, अब मनलाई पनि बन्न दिनुपर्छ कविताको अङ्ग । कि के भन्नुहुन्छ बहिनी ?”
त्यति भनेर मैले बहिनीसँगबाट बिदा लिएँ त्यो दिन ।
केही दिनपछि फेरि तीनै बहिनीले मलाई फोन गरिन् –” निले दाइ ! हेर्नुस् न मैले मनलाई विषय बनाएर एउटा कविता कोरेकी छु के कस्तो भयो कुन्नि ?”
पठाइराख न ! म भरे हेर्छु । मैले अलिकति अहम् देखाउँदै भनेँ
यी …! हिजोसम्म सेवाको मनोभावना राख्ने मेरो मनमा कति चाँडै अहङ्कार भरियो थाहै भएन! मनले सोच्न थाल्यो- “ए तँ हिजोसम्म शीतमा रम्ने फुच्चे केटी आज कविता लेखेर मान कमाउने , हामीभन्दा माथि चढ्ने !”
एकछिन अहङ्कारको सागरमा पौडिएको मन फेरि शान्त भयो र सेवाको मनोभाव बोक्दै बहिनीको कविता पढ्न थाल्यो ।
कविता असाध्यै मनपर्यो मलाई । मनलाई बिम्ब बनाएर लेखिएको उच्चस्तरीय कविता रहेछ । कविताको भाव निम्नप्रकारको छ
मन मानिसको अनमोल अङ्ग, हिजोआज उढ्यो सबै यसको रङ्ग । औपचारिकताले भरिएको यन् जस्तै भयो । फलाम कहाँ ! फलाम भन्दा कठोर भइसक्यो । तरल ,ग्यास र कठोरताको मिश्रणबाट बनिएको एउटा अदभुत अनौठो चीज हो यो मन । या भनौं तीतो, पिरो, अमिलो , चर्को आदि स्वादले भरिएको बेस्वादिलो चीज हो ।
हिजोआज मान्छेको मन गुलियो हुन छोड्यो ! गुलियो पचाउँदैनन् कोही । त्यसैले खल्लो व्यवहार गर्न थाल्ये मान्छेले मान्छेलाई ।
कसैको घरमा पाहुना जाँदा पनि खल्लो चिया दिन्छन् । केही नसोधी । रातो चिया, त्यो पनि खल्लो…! देख्दै मन खिन्न हुन्छ । के गर्नु पिउनै पर्यो ।
हिजोआज मान्छे सगरमाथा चढेर बिहे गर्न थाल्ये । कस्तो मन भएका यी मान्छेहरू पनि । बिहे गर्न किन सगरमाथा चड्नु फेरि ? अभावले हो अथवा स्वभावले नै हो केही जान्न सकिँदैन ।
हिजोआज मान्छेको मन चिन्न निक्कै गाह्रो पर्छ । एउटै मान्छेले कैयौं मन लिएर घुम्येको हुन्छ । समयानुकूल त्यसलाई प्रयोग गर्छ । कहिले राम बन्छ त कहिले तिनै राम हामीलाई मर ! मर! भनेर धारिलो हात पारीराखेको हुन्छन् । कहिले हरि बनिएर दु:ख हर्छन् त कहिले हरेस खुवाउने गर्छन् । विचित्रको मन लिएर हिँडिरहेका छन् मान्छे चिन्न सार्है छ ।
खै एकदिन त यो मनमाथि पनि सोधकार्य अवश्य गरिन्छ होला ।
यति भनेर मेरो मनले कवितालाई नमोः गर्यो ।
(असम, भारत)