मुट्ठी बटारेर एक बथान मुर्कुटाहरु सडकभरि पोखिए र नारा लगाए सहिदको सपना साकार पार्छौं ! उसैगरी मलसाँप्राहरुको एउटा जत्था असरल्ल निस्के चोकैभरि र कुर्ले बेजोडले गाँड फुलाएर सहिदको सपना साकार पार्छौं ! जङ्गलबाट एक हुल ब्वाँसाहरु त्यसरी नै छरिए सहरभरि र चिच्याए झन् बेस्मारी चर्कोसँग सहिदको सपना साकार पर्छौं । घरीघरी यिनीहरु एकै लयमा रुन्छन् पनि युद्दमा मरेका आफ्ना सहयोद्दाहरुको वियोगमा बरर...गोहीको आँशु खसाल्दै सार्वजनिक सभाहरुमा के-के न खालो सार्छुजस्तो गरेर झुटा कसम खान्छन् – वीर सहिद अमर रहुन्, सहिदको सपना साकार पर्छौं भन्दै । वाक्क हुन्जेल देखेको छु मैले पनि यिनीहरु कुर्लेको,चिच्याएको,रोएको... अन्धकारमा बर्सिएका इँटा,ढुङ्गा,लाठी र गोलीहरु लागेर को सपनामा मर्यो,को विपनामा ढल्यो यिनीहरुलाई के पत्तो ? अनि को सहिद भएर स्वर्ग पुग्यो,को अगति परेर नर्कमा झर्यो ? यी धन्धुकारीहरुलाई के हेक्का ? हुलमुलमा जिउ जोगाएर बाँच्न खप्पिस बनकरहरु केही भेउ पाउँदैनन् बिनासित्ति ज्यान गुमाउने सहिदहरूले कस्तो सपना देखेका थिए ! के तिमीहरु सहिदसँगै सुतेका थियौ र ? के तिमीहरुले सहिदको जस्तै सपना देखेका थियौ र ? के सहिद मर्दा तिमीहरु पनि मर्न तयार थियौ र ? सहिदको सपनाको रङ्ग अनि उनीहरुको जीवनको लक्ष तिमीहरुको सपना र लक्षसँग मिल्छ र ? होइन,... सहिदहरूले कहिल्यै सपना देखेनन् उनीहरु त विपनामै स्वर्ग ओराल्न चाहन्थे धर्तीमा यो धरालाई सुन्दर,शान्त र समृद्द पारेर विपनामै त्यसपछि पो बल्ल मर्न चाहन्थे सहिदहरु त क-कसलाई कहेर गएका थिए हँ, सहिदले आफ्नो सपना ? तिमीहरु सहिदको भावनामाथि स्वार्थी ठट्टा गर्दैछौ सहिदको विपनालाई सपना भनेर............ (भोजपुर हाल सेसेल्स)