आँबुखैरेनी, २४ भदाै।
कवि अनिल श्रेष्ठको छैटौँ कवितासङ्ग्रह मध्यरातमा मुर्कट्टा आज आँबुखैरेनीमा आयोजित एक विशेष कार्यक्रममा सार्वजनिक भयो । आँबुखैरेनी स्रष्टा समाजको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि प्रमोद प्रधान, विशेष अतिथिहरू गाउँपालिका अध्यक्ष गिरबहादुर थापा र साहित्यकार विजयराज आचार्यलगायतले कृति सार्वजनिक गर्नुभएको थियो । सङ्ग्रहमा ३५ कविता छन् ।
कार्यक्रममा प्रमुख अतिथि प्रमोद प्रधानले नेपाली कविताका क्षेत्रका क्रान्तिचेतनालाई कलात्मक सौन्दर्यका साथ प्रस्तुत गर्ने कविको रूपमा अनिल श्रेष्ठको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, पछिल्लो समयमा धेरै प्रगतिवादी कविहरू पद, पैसा र पहुँचको सत्तासुखमा रमाएर चुप लागेको बेला अनिल श्रेष्ठ भने प्रतिपक्षको रूपमा अभैm सशक्त भएर प्रस्तुत भएका छन् । विशेष अतिथि आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले गाउँपालिकामा संस्थाबाट भइरहेका साहित्यिक सक्रियताको प्रशंसा गर्दै छिम्कालेकमा एक साहित्यिक कार्यक्रम गर्ने घोषणा गर्नुभयो ।
सो अवसरमा समालोचक तेजविलास अधिकारीले अनिल श्रेष्ठका कविताहरू आकारमा छोटा भए पनि त्यसले दिने विचार गम्भीर र अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँका कविताबारे जति पनि व्याख्या र विश्लेषण गर्न सकिने उहाँको भनाइ थियो । अर्का समीक्षक भीम रानाभाटले पनि अनिल श्रेष्ठका कविता विषय, भाव, शैली र कलाका दृष्टिकोणबाट अब्बल भएको धारणा राख्नुभयो । कार्यक्रममा आयोजक संस्थाका सल्लाहकार एवं कवि सानुकाजी थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कवि अजुर्न कुमार ढकालले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । संस्थाका अध्यक्ष एवम् कृतिकार कवि अनिल श्रेष्ठले संस्थाको गतिविधिमाथि प्रकाश पार्दै आप्mनो एक कविता वाचन गर्नुभएको थियो । पुस्तक विवेक सिर्जनशील प्रकाशन प्रा.लि.ले प्रकाशन गरेको हो ।