गोलभेँडाको अचार पिस्ने बिद्युतिय भाँडो बजारमा आइसक्ता पनि मलाई ढुंगाको सिलौटोमा ढुंगाकै लोहोरोले पिसेको अचार मनपर्छ । किनभने यो सिलौटे र लोहोरो मेरो आदिम पूर्खाका आविष्कारहरु थिए । यी चिज कुँद्ने पूर्खा आदिम युगका सँच्चा बैज्ञानिक थिए ।
अहिलेपनि भस्मेको जंगल फाँडेर बारी विराउने महाशेर दाइ आफ्नो मकैबारीमा आउने बाँदरलाई ढुंगाकै हतियारले पुक्लुक पुक्लुक ढालिरहेका छन् । उनको हातमा गुलेली र ढुंगाकै मट्याङ्ग्राले अहिलेपनि साथ छोडेको छैन । अझैपनि तिनै ढुंगे मट्याङ्ग्राले जंगलका कालिज ढुकुरको शिकार गरिरहेका छन् उनी ।
यी दुई साना कुरा प्रतिनिधि घटनामात्र हुन् । अहिलेपनि कतिपय सन्दर्भमा हामी एक विकट आदिम युगमै छौं । मानव विज्ञानले भन्छ– आज छब्बिस लाख वर्ष अघि मान्छेले पहिलो चोटि ढुंगाको हतियार प्रयोग गर्न जाने को हो अरे । ढुंगाको हतियार बनाउन सिकेको हो अरे । भनिन्छ त्यो युगको ढुंगे हतियार पहिलोचोटि केन्याको भूमिमा फेला परेको थियो अरे ।
विज्ञानले जतिसुकै वैभवको चुली नाघेपनि अहिले हामी गाउँमा विलकुल ढुंगेयुगमा नै छौँ । यसको ज्वलन्त उदाहरण अहिले गाउँगाउँमा बाँदर आतंक बढेको छ । धेरै पहाडी गाउँमा बाँदरले खेतवारीको अन्नपात नोक्सान गर्नेमात्र होइन । घरमै पसेर मकैको झुत्ता चोर्न थालेका छन् । बाँदर धपाउन ढुंगा बाहेक अर्काे सुलभ विकल्प हामीसित छैन । छब्बीस लाख वर्ष अघिपनि हाम्रा आदिम पूर्खाहरुले त्यही ढुंगाले बाँदर लख्टेका थिए; अहिले हामीले पनि त्यही ढुंगाको प्रयोग गरिरहेको छौँ । परिवर्तनको तूफानी दौडमा हामी कहाँ छौ ? भनी प्रश्न गर्दा जवाफ भेट्छु हामी जाहीँ को ताहीँ छौं ।
आज हतियारको नाममा शाक्ति राष्ट्रले बडेबडे सुपर सोनिक फाइटर जेट बनाऊन् या एके फोर्टिसेभन बनाऊन् । नापाल्म बम बनाऊन् या स्नाइपर राइफल्स बनाऊन् । त्यो देखि हामी हजार कोश टाढा छौँ । हामीसित त आदिम पूर्खाको नासो ढुंगा नै काफी छन् ।
मान्छेको निम्ति ढुंगे युगमा ढुंगा जति प्यारो थियो, अरु चिज त्यति प्यारो थिएन । ढुंगा प्यारो हुने कारण ढुंगा अति उपयोगी बस्तुपनि थियो । ढुंगाकै हतियारले शिकार माथ्र्याे । र, भुँडीको भोक मेटाउँथ्यो । ढुंगाकै गुफामा सुत्थ्यो । ढुंगाकै सिरानी लाउँथ्यो । ढुंगालाई नै बिच्छ्याउना बनाउँथ्यो । ढुंगाबाटै आगो झिक्थ्यो । ढुंगाकै ताउलोमा खाने चिज पकाउँथ्यो, सेकाउँथ्यो । ढुंगाकै चुलोचम्को गाड्थ्यो । ढुंगाकै थालमा चिजविज भाग लाएर खान्थ्यो । हिंस्रक जीवजन्तुले आक्रमण गरे, ढुंगा हानेरै त्यसलाई लखेट्थ्यो । शत्रुसित मुकाविला गर्नुप¥यो भने ढुंगाबाटै मुकाविला गथ्र्यो । गु पुछ्न देखि देउता पुज्न ढुंगा नै प्रयोग गथ्र्याे । अहिले पो हामी ढुंगालाई विना कामको नाथे ढुंगा भन्छौँ, तर त्यस युगमा ढुंगाको गरिमा र महत्व अर्कै थियो ।
अहिलेपनि हाम्रो गाउँका माइला बा आगेनामा आगो निभ्यो भने खिसाबाट झुलो चकमक झिकेर दर्शिनढुंगो ठोस्न थालिहाल्छन् । सलाई कोरेर आगो झिक्नु जत्तिकै सजिलो मान्छन्, चक्मक् ठोसेर आगो पार्न । विज्ञानले भन्छ– आगोको आविष्कार भएको समय देखि अहिलेसम्म चौध लाख बीस हजार वर्ष समय हामीले पार गरिसक्यौँ । अर्थात् आजभन्दा लगभग चौध लाख वीस हजार बर्ष पहिले आगोको आविष्कार गरेको थियो मान्छेले । त्योपनि अफ्रिकामा अवस्थित मानव पूर्खाले पहिलो चोटि आगोको आविष्कार गरेका थिए अरे । कालान्तरमा त्यही आगो संसारभरि फैलियो ।
अहिले आगो उब्जाउने अनेकन, यन्त्र, उपकरण र सामाग्रीहरु छन् हामीसित । तर हामीसित यस्ता गाउँहरु पनि छन्; जहाँको अँगेनामा दस पुस्ता, बीस पुस्ता अघि पूर्खाले जोरेको आगो अझै अँगेनामा जिवित छ । अँगेनामा आगो निभ्नु अशुभ ठान्ने मानिसहरु पनि छन् । जसले आगोलाई जतनसाथ अँगेनामा कहिल्यै ननिभाइ आएका छन् । आगो निभी नै हाल्यो भनेपनि झुलो चक्मक् र दर्शिन ढुंगो ठोसेर आगो निकाल्ने प्रविधि अझ गाउँबस्तीमा कायम छ ।
अरु विद्युतिय युगको वायुवेगी रफ्तारमा दौडेपनि हामी अझै अगुल्टे युगमा छौं । दियाले युगमा छौं । टुकी, कुपी र सलेदे युगमा धिपधिप् गरिहेका छौँ । नाति पुस्ताले आधुनिकताको डंक बजारेपनि हामी चक्मके युगमा नै ढुंगो ठोसिरहेका छौं । झुलो,चकमक र दर्शिन ढुंगो हाम्रै पूर्खाहरुको प्राङ्गारिक आविष्कार थियो । ती बैज्ञानिक पूर्खाको बुद्धि र खोजलाई हृदयबाट नमन गर्न मन लाग्छ । उनीहरुको बैज्ञानिक बुद्धि देखेर हृदयमा श्रद्धाभाव उम्लिन्छ । भलै हामी तिनका सन्ततिहरुले समयको वेग अनुसार आविष्कार र उन्नयनको दिशामा पाइला चाल्न भुल्यौं । उनका आविष्कारहरुलाई बदलिंदो युग अनुरुप सिँगार्ने, तिखार्ने, नव प्रवर्तन, समृद्ध र परिमार्जन गर्ने सीप हामीले भुल्यौं । जसले गर्दा अरु सलाई लाइटरको जुगमा पुसिक्ता हामी भने ढुंगो नै ठोसिरहेका छौं । ठोस्नु पनि पर्छ किनभने हाम्रो आफ्नो आगो पार्ने प्रविधि यही नै हो ।
अहिलेपनि तल्लाघरे जेठाबा बारीको पाटामा बस्तु बाँध्न हिउँदे कटेरो तुन्दैछन् । भोर्लाका पातहरु खिलेर पाडाबाछा बाँध्ने न्यानो गोठ बनाउँदैछन् । आज भन्दा चार लाख वर्ष अघि नै हाम्रा पूर्खाहरुले यसरी ओत र छानो बनाउने कला सिकेका थिए । घामपानी, हिमपात र तुषारोबाट छलिनको लागि यस्तो अक्किल कल्पेका थिए ।
जनावरको मासुले पेट भर्ने र त्यसको छालालाई कपडा बनाई शरीर ढाक्ने प्रविधि झिकेका थिए । पूर्खाले बनाएको ओता लाग्ने छाप्रोमै छौँ आज हामी । चार लाख वर्षको लम्वे–यात्रामा हामीले के चाहिँ नयाँ प्रविधि झिक्न सक्याँै र ? भित्रैदेखि कुरीकुरी लागेर आउँछ ।
अहिलेको आधुनिक युगको मान्छेले ढुंगेयुगको मान्छेलाई खिज्याएको पनि देखेको छु । उनीहरुको लवाइखुवाइप्रति नाक चेप््रयाएर खिसी बोलेको पनि सुनेको छु ।
खिसी बोल्नु पनि बेकार छ । समय अनुसार उनीहरुको चेतना त धेरै अघि गएको थियो तर हामी नेपालीहरुको चेतना जहीँको ताहीँ कुवा–युगमा जमिरहेको छ । अहिलेपनि तिनै पूर्खाले कुँदेको जाँतोमा जौ पिसीरहेका छाँै, कोदो मकै पिसेर पिठो खाइरहेका छौँ । तिनै पुर्खाले आविष्कार गरेको ओखलमा चामल फलिरहेका छाँै । पूर्खाले कुँदेकै ठेको, घुर्राे र मदानीले मोही पारिरहेका छौँ । घिउ झिकिरहेका छौंँ । उनैले कुदेको लोहोरा र सिलौटो, उनैले खोपेको ओख्ली मुस्लीले काम चलाइरहेको छौँ ।
यी सबै चिज उनै पूर्खाका अनुदान थिए । यी प्रति आदर छ, यी प्रति सम्मान छ । एक अक्षर विज्ञान नपढी बैज्ञानिक बनेका थिए हाम्रा पूर्खा । एक लाइन शास्त्र र सिद्धान्त नरटी आविष्कारक भएका थिए हाम्रा पूर्खा । तिनै पूर्खाको छालामा त अहिलेपनि रजाइँ गरिरहेछौँ हामी । ढुंगेयुगको तिनै ढुंगे आविष्कारमा अडिएका छौँ । त्यही काठेयुगका काठे आविष्कारमा आङ टेकाइरहेका छौँ । हामीले पुज्ने महादेवको हातमा अहिले पनि त्रिशूल छ । महादेवको आङ अहिले पनि बाघको छालाले ढाकिएकै छ । हाम्रा आराध्यदेव रामको काँधमा वाँणको ठोक्रो लट्किएकै छ । उनले काँधमा धनुष भिरेकै छन् । त्यस युगमा त्रिशूल नै महान हतियार थियोहोला । त्यस युगमा धनुवाण नै ठूलो अश्त्र थियोहोला । व्याघ्रचर्मको परिधान नै उत्कृष्ट वस्त्र थियोहोला । सहज अनुमान लगाउन सकिन्छ ।
यस युगमा पुनः शिवको अवतरण भएमा हातमा त्रिशूलै बोक्थे कि मेशिनगन र टारानिस बोक्थे होलान् ? यस युगमा रामको अवतरण भएमा काँधमा धनुकाँडको ठोक्रो भिर्थे होला कि एसल्ट राइफल भिर्थे होला ? अनगिन्ति प्रश्न उब्जिन्छन् ।
राम र शिवको युगमा किन पुगूँ म ? वि.सं. १९९० मा ठूलो भूकम्प गयो । तत्कालीन समयमा शासन सत्ताको वागडोर राजा प्रधानमन्त्री श्री ३ जुद्धशमशेरको हातमा संकेन्द्रित थियो । संयोगवश भूकम्प आएको वखत उनी शिकार यात्रामा रहेछन् । शिकार खेल्नकै लागि सुदूरपश्चिमको कंचनपुरको वनवासा जंगलमा पुगेका रहेछन् । भूकम्पकै सवै भन्दा ठूलो क्षति काठमाण्डौ उपत्यकाले व्यहो¥यो । देशैभरि ठूलो जनधनको क्षति भयो । उता श्री ३ महाराजलाई जिवित र घाइतेहरुको त्यति ठूलो चिन्ता चसो रहेन । वरु मरेका मानिसहरु नर्कमा पर्ने हुन् कि त्यसको डर भयो । जिवितलाई उद्दार भन्दा पनि मृतकलाई कसरी स्वर्ग पु¥याउने त्यस कुराको चिन्ता भएछ ।
महाकाली नदीमा एक हजार गाई बाहुनहरुलाई दान गरी भूकम्पमा मर्ने मृतकगणलाई वैतरणी नदी तार्ने काम गरे । यति गरेपछि अनि विस्तारै आफ्नो ताकले काठमाण्डौ आएर उद्दारको काममा जुटेछन् । यो घटना सिर्फ पचासी छयासी वर्ष अघिको घटना हो । चार लाख वर्ष अघिको छाप्रे युग त धेरै अघिको समय भयो । अझ छब्बीस लाख वर्ष अगाडिको ढुंगेयुग त कता हो कता भैहाल्यो । अहिलेपनि लिखुरे गाईको बाछी समातेर बैतरणी नदी तार्ने चलनमा अलिकति पनि फेरवदल आएको छैन ।
मेरो घर नजिकै चियापसल छ । चियापसलमा किसिम किसिमका मान्छेहरुको जमघट हुन्छ । संसारभरिका गफ त्यही चिया दोकानमा चल्छन् । एउटा भाइ एकसुरमा विज्ञानको बखान गर्दैथिए– “मान्छेले मंगल टेकिसक्यो ! मान्छेले बनाएको यान त्यहाँ पुगेर फोटो खिचेर पठाइसक्यो । हामी कहाँदेखि कहाँ पुगिसक्यौँ बुझ्नु भो ?”
मैले अघि सर्दै उनलाई भनेँ– “अरु जहाँ जहाँ पुगेपनि हामी यहीँको ढुंगेयुगमा छौँ भाइ !” मेरो जवाफमा कुनै प्रतिवाद नगरी उनी बाटो लागे । मपनि यही लेख कोर्न कोठा उक्लेँ । जय ढुंगेयुग ! जय काठेयुग !
(उदयपुर)