२०७८ भदौ २२ गते, काठमाडौँ ।
आज कुशेऔँसी । आजैका दिन १५६ वर्षअघि नेपाली साहित्यको एउटा युग अर्थात् माध्यमिक कालका प्रवर्तक युवाकवि मोतीराम भट्टको जन्म भएको थियो । पिता दयाराम भट्ट र माता रिपुमर्दिनीदेवी भट्टका दोस्रो सन्तानका रूपमा वि.सं.१९२३ साल कुशेऔँसीका दिन काठमाडौँको भोसिको टोलमा जन्मिएका भट्ट नेपाली साहित्यमा युवाकविका रूपमा सम्मानित तथा चीरस्मरणीय छन् । भट्टको निधन वि.सं. १९५३ सालमा कुशेऔँसीकै दिन भएको थियो । राष्ट्रिय विभूतिसमेत रहेका उनै युवाकवि भट्टको १५६ औँ जन्मजयन्तीका उपलक्ष्यमा मङ्गलबार नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य÷काव्य) विभागद्वारा प्रज्ञा भवनमा ‘प्रज्ञा गजल महोत्सव’को आयोजना गरियो ।
वेबिनार माध्यमबाट आयोजित गजल महोत्सवलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले ३० वर्षको छोटो उमेरमै नेपाली वाङ्मयमा मोतीराम भट्टले अतुलनीय योगदान गरेको स्मरण गर्नुभयो । उहाँले नेपाली साहित्य–इतिहासको एउटा कालखण्डमा मोतीराम भट्टको विशिष्ट योगदान रहेको उल्लेख गर्दै त्यसले आधुनिक नेपाली साहित्यको विकासका निम्ति मात्रै नभएर समग्र नेपालकै विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले छोटो, लयात्मक र प्रभावकारी विधा जगल पछिल्लो समय लोकप्रिय हुँदै गएको उल्लेख गर्दै गजलको सैद्धान्तिक र व्यवहारिक विकासका लागि प्रज्ञा–प्रतिष्ठानले यस्ता महोत्सव, सभा, सम्मेलन, अनुसन्धान र कृति प्रकाशनजस्ता कार्यक्रम गरिरहेको प्रस्ट्याउनुभयो । उहाँले प्रज्ञा–प्रतिष्ठानको वार्षिक कार्यक्रमअन्तर्गत नै मोती जयन्ती आयोजना गर्ने गरिएको उल्लेख गर्नुभयो । कुलपति उप्रेतीले चिनियाँ लेखक सङ्घ र नेपाल प्रज्ञा–प्रतिष्ठानको संयोजनमा बेल्ट एण्ड रोडअन्तर्गत रहेका मुलुकका लेखक, साहित्यकार तथा यससँग सम्बन्धित सङ्घसंस्थाहरूको अन्तर्राष्ट्रिय साहित्यिक सञ्जाल आजै स्थापना भएको पनि सुनाउनुभयो । कुलपति, उपकुलपति, सदस्य सचिव तथा प्राज्ञ परिषद्का सदस्यहरूद्वारा कार्यक्रम सुरु हुनुअघि प्रज्ञा परिसरमा अवस्थित युवाकवि मोतीराम भट्टको प्रतिमामा माल्यार्पण गरी श्रद्धा अर्पण गरिएको थियो ।
सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले स्वागत मन्तव्य व्यक्त गर्दै युवाकवि मोतीराम भट्टको जीवनी र विशेषताका सम्बन्धमा प्रकाश पार्नुभयो । मोती जयन्तीको अवसर पारेर गजल महोत्सव आयोजना गरिएको बताउँदै उहाँले मोतीरामले नेपाली साहित्यमा नयाँ विधा गजल भित्र्याउन सफल भएको बताउनुभयो । भानुभक्तलाई खोजेर भानु बनाउने पनि मोतीराम नै भएको उल्लेख गर्दै उहाँले मोतीरामको योगदान नेपाली साहित्यमा उच्चकोटीको रहेको बताउनुभयो । सदस्य सचिव प्रा. उपाध्यायले प्रज्ञा–प्रतिष्ठानका ११ वटा विभागहरूले सम्बन्धित विषय क्षेत्रसँग सम्बन्धित रहेर स्रष्टा तथा युगपुरुषहरुको जन्मजयन्ती मनाउने गरेको बताउनुभयो । कोभिड–१९ को महामारीका कारण भौतिक रूपमा कार्यक्रम सम्पन्न गर्न नसके पनि भर्चुअल रूपमा निरन्तर यस्ता कार्यक्रम र महोत्सवहरू सञ्चालन भइरहेको बताउनुभयो । उहाँले कालो बादलभित्र पनि चाँदीको घेरो हुन्छ भनेजस्तै भर्चुअल माध्यमले भौतिक उपस्थिति जनाउन नसक्ने स्रष्टाहरूलाई एउटै मञ्चमा जोड्न सकिएको उहाँले बताउनुभयो । प्रा. उपाध्यायले मोतीराम भट्टरचित केही गजलका शेरहरू पनि सुनाउनुभएको थियो ।
साहित्य (पद्य÷काव्य) विभागका प्रमुख एवम् प्रज्ञा गजल महोत्सवका संयोजक प्रा.डा. हेमनाथ पौडेलले दुई वर्षअघिदेखि प्रज्ञा–पतिष्ठानले गजल महोत्सव आयोजना गर्न सुरुको गरेको उल्लेख गर्दै गतवर्ष भने कोभिड–१९ को महामारीका कारण आयोजना गर्न नसकिएको बताउनुभयो । उहाँले यो वर्ष भौतिक रूपमै आयोजना गर्ने तयारी भए पनि सङ्क्रमणको जोखिम कायमै रहेकाले भर्चुअल र भौतिक रूपमा कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले दुई वर्षअघि भएको गजल महोत्सवले घोषणापत्र जारी गर्दै सम्पूर्ण गजललाई समान मानेर सम्मान गरिएको उहाँले उल्लेख गर्दै रचना रचना नै भएकोले बहरमा लेख्दा मात्रै गजल हुन्छ भन्ने नमानी गजलले भाव र विचार के दिन्छ भन्ने कुरा प्रमुख भएको विचार व्यक्त गर्नुभयो । उहाँले गजलकारहरूबिच सम्मान र सहकार्य आवश्यक रहेको बताउँदै एकले अर्कोलाई आक्षेप लगाउने चलनले नेपाली साहित्यको विकास नहुने धारणा व्यक्त गर्नुभयो । वादे वादे जायते तत्व बोध भनेजस्तै निरन्तरको प्रयासबाट गजलमा देखिएका समस्या समाधान हुन्छन् भन्ने धारणाले प्रज्ञा–प्रतिष्ठानले गजल महोत्सव र अन्य गतिविधिमा हात हालेको उहाँको कथन थियो ।
साहित्य (लोकवार्ता र बालसाहित्य) विभाग प्रमुख डा. देवी नेपालले कार्यक्रमको औचित्य तथा युवाकवि मोतीराम भट्टको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै मोतीरामले मुक्तकीय शैलीका कविता, फुटकर रचना र आठओटा खण्डकाव्य रचना गर्नुभएको बताउनुभयो । नेपाली कवितालाई शृङ्गारिक धारामा मोतीरामले प्रवर्धन गरेको र गजल नवप्रवर्तन भएको उहाँको भनाई थियो । पछिल्लो दशकमा युवापुस्ताबिच अत्यन्त लोकप्रिय भएको गजल विधाको स्थापनाको श्रेय मोतीरामलाई नै दिनुपर्ने उहाँले बताउनुभयो । गजलमात्रै नभएर नेपाली समालोचनामा पनि मोतीरामको उल्लेख्य योगदान रहेको उहाँले जानकारी दिनुभयो । भानुभक्तका कृतिको समीक्षा गरेर मोतीरामले समालोचनाको सुरुवात गर्नुभएको उहाँको भनाई थियो । प्रकाशन युगको स्थापना पनि मोतीरामकै पालामा भएको तथा पुस्तकालय स्थापनामा र सामूहिक लेखनमा, बहुभाषाका कविता लेखनमा समेत मोतीराम आरम्भकर्ता भएको उल्लेख गर्नुभयो ।
गजलकार सुवास अगमले भर्चुअल माध्यमबाट र सूर्य चापागाईंले भौतिक रूपमै उपस्थित भएर मोतीराम भट्टका केही गजल सुनाउनुभएको थियो । त्यसपछि देश, विदेशबाट गजलकारहरूले आ–आफ्ना गजल सुनाउनुभएको थियो । भौतिक रूपमै उपस्थित भएर गजलकार ज्ञानुवाकर पौडेलले गजलमा आन्तरिक सौन्दर्य हुनुपर्ने उल्लेख गर्दै मतला, रदिफ, मक्ता आदि भएर मात्रै नपुग्ने र आन्तरिक सौन्दर्य भएको गजलमात्रै उत्कृष्ट हुने बताउनुभयो । उहाँले २०५२ सालपछि मान्छेमा जानेर वा नजानेर पनि धेरै बोल्ने बानी लागेकोले गजलका विषयमा पनि यस्तै भएको उल्लेख गर्नुभयो । कार्यक्रममा उहाँले आफ्नो गजल वाचन गरेर सुनाउनुभएको थियो ।
कार्यक्रममा गजलकार रामबहादुर पहाडी, रवि प्राञ्जल, गोपाल अश्क र शान्ति शर्माले भौतिक रूपमै उपस्थित भएर गजल सुनाउनुभएको थियो । जुममार्फत् बुँद राना, करुण थापा, घनश्याम न्यौपाने परिश्रमी, टीकारम उदासीले आ–आफ्ना गजल वाचन थर्नुभएको थियो । यसैगरी जुम माध्यममार्फत् मलेसियाबाट दीप दर्शन, दुबईबाट अमरदेव बास्तोला, बहराईनबाट सुन्दर गुरुङ, हङकङबाट जुनू राना मगर, पोर्चुगलबाट स्पन्दन विनोद, बेलायतबाट अञ्जु अञ्जली, अमेरिकाबाट प्रभा पोखरेल, जापानबाट बिन्दा पराजुली, साउदी अरबबाट रामजी रानाभाट र बर्माबाट भीम पाण्डेले गजल वाचन गर्नुभएको थियो । यसै गरी नेपालबाट धीरेन्द्र प्रेमर्षि, धनराज गिरी, सुरेश सुवेदी, कमलराज केसी, सीता ऐरी, रामगोपाल आसुुतोष, नारायण गैरे, देवी पन्थी, मन्दिरा मधुश्री, सुविद गुरागाईं, जीत कार्की, पुष्प अधिकारी ‘अञ्जली’ लगायतले गजल वाचन गर्नुभएको थियो ।
कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ, सामाजिक शास्त्र विभाग प्रमुख प्रा. दिनेशराज पन्त, साहित्य (अनुवाद) विभाग प्रमुख प्रा.डा. उषा ठाकुर, साहित्य (गद्य÷आख्यान) विभाग प्रमुख माया ठकुरी, साहित्य (समालोचना र निबन्ध) विभाग प्रमुख प्रा.डा. गोपीन्द्र पौडेल, प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभाका सदस्यहरू, आजीवन सदस्यहरू, मानार्थ प्राज्ञ सदस्यज्यूहरूका साथै प्राज्ञ परिषद्का पूर्वपदाधिकारीको समेत कार्यक्रममा भौतिक र भर्चुअल उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीरकण प्रज्ञा सभा सदस्य एवम् सञ्चार तथा डायास्पोरा संयोजक शशी लुमुम्बूले गर्नुभएको थियो । कार्यक्रमका प्रतिवेदक आजको खबर डटकमका सम्पादक डिल्लीरमण सुवेदी रहनुभएको थियो ।
पुस्तक प्रदर्शनी आरम्भ
मोती जयन्तीको अवसर पारेर प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरु भएको छ । कुलपति उप्रेतीले प्रदर्शनीको आरम्भ गर्दै पाठकहरूको मागलाई ध्यानमा राखेर पुस्तक प्रदर्शनीको आरम्भ गरिएको बताउनुभयो । पुस्तक प्रदर्शनी पन्ध्र दिनसम्म रहनेछ । प्रदर्शनीमा प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित नयाँ तथा पुराना प्रकाशनहरू रहेका छन् । प्रदर्शनीमा १५ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।