(नेपाली प्रगतिशील/प्रगतिवादी सांस्कृतिक आन्दोलन, मूलतः मैथिली भाषासाहित्यका अग्रणी व्यक्तित्व हुन् रोशन जनकपुरी । संस्कृति र सिर्जनामा एकसाथ कलम चलाउने जनकपुरी चालिसको दशकदेखि राजनीतिक/सांस्कृतिक कर्ममा क्रियाशील छन् । जनकपुरमा बसेर प्रगतिशील संस्कृतिको विकास र नेपाली तथा मैथिली भाषासाहित्यको उत्थानमा लागिपरेका जनकपुरीका कविता, लोकगाथा र लोकसंस्कृति तथा अनुवाद साहित्यका कृति प्रकाशित छन् ।
मधेशको लोकगाथा र लोकसंस्कृतिको खोज तथा अनुसन्धानमा विशेष रुचि राख्ने जनकपुरी कविता, गजल, कथा र अनुवादमा पनि उत्तिकै सक्रिय छन् । रोशन जनकपुरीका अहलेसम्म ‘समय गीत (कविता सङ्ग्रह, २०७२), नेपालको प्रदर्शन कला, क्षेत्र नम्बर दुई (अनुसन्धानमूलक कृति, २०७४), बन्दी र चन्द्रागिरी (कृष्णसेन इच्छुकको काव्य मैथिलीमा अनुवाद, २०७५) प्रकाशित छन् । उनले सन् १९५२ मा हिन्दी भाषामा प्रकाशित शरद जोशीको नाटक ‘एक था गधा’ आजभन्दा २० वर्ष पहिले मैथिलीमा अनुवाद गरेका थिए । जुन अनेकौँ पटक मञ्चन भैसकेको छ । अनुवाद बाहेक जनकपुरीका फुटकर समीक्षा, कथा, कविता र गजल लगायतका रचनाहरु सयौँको संख्यामा प्रकाशित छन् । मैथिली र नेपाली साहित्यका यिनै अथक साधक रोशन जनकपुरीसँग साहित्य र साहित्यिक आन्दोलनका विविध विषयमाथि केन्द्रित रहेर साहित्यकार विष्णु भण्डारीले गरेको काव्यिक संवाद यहाँ प्रस्तुत गरेका छौँ )
रोशन जनकपुरीलाई के भनेर चिन्ने, कवि, संस्कृतिकर्मी कि राजनीतिज्ञ ?
सबैभन्दा पहिले म माक्र्सवादको अनुयायी हुँ र त्यसै प्रतिबद्धतामा म कवि र राजनीतिककर्मी हुँ । साहित्यमा मूलतः कवि हुँ । माक्र्सवादी भनेपछि सर्वहारासंस्कृति पक्षधर हुँ र यस नाताले उत्पीडित समुदायको पक्षमा बोल्ने दायित्व र कर्तव्य स्वाभाविक रूपमा हुने नै भयो ।
तपाईं लामो समय माओवादी आन्दोलनमा क्रियाशील रहनुभयो । जनयुद्धमा प्रत्यक्ष सहभागी हुनुभयो । अहिले किन यतिबिघ्न चुपचाप बस्नु भएको ?
दुईवटा कारण छन् यसका । चुपचाप त भन्न नमिल्ला । मेरो आफ्नो तर्फबाट माओवादी आन्दोलनको पक्षमा सकेजति प्रयास गरेकै छु । अहिले कुनै पार्टीमा छैन भन्ने सत्य हो । यसको कारण भनेको जनयुद्ध हाँक्ने माओवादी शक्ति अहिले विभाजित र अन्यौलको स्थितिमा छ । यसको ठूलो हिस्सा त संसदीय धारामा घरजम गरेर विपरीत कित्तामा लफ्फाजी गर्दैछ । केही गैरसंसदीय पार्टीहरु छन्, जो वैचारिक अन्यौलमा छन् । प्रचण्डबाट विभाजित भएपछि कमरेड किरणको नेतृत्वमा बनेको हालको नेकपा (क्रान्तिकारी माओवादी)मा म पनि थिएँ । बिप्लव र बादलले पार्टी फुटाउँदा पनि म कमरेड किरणसँगै थिएँ । नेपाली कम्युनिस्ट आन्दोलनमा मैले सम्मान गरेको सबैभन्दा आदरणीय पात्र पनि उहाँ नै हो । तर इमान्दार भएर पुग्दो रहेनछ । माक्र्सवादी आन्दोलनले इमान्दारीका साथै सतत् वैचारिक गतिशीलताको माग गर्दो रहेछ ।
नेपाली कम्युनिस्ट आन्दोलनमा अहिले देखिएको ह्रासको मुख्य कारण क्रान्तिकारी आचरणबाट विचलित भएर जनताबीच विश्वास गुम्नु हो । जनयुद्धकालमा जनताले माओवादी बोली र आचरणमा अधिकतम समानता देख्थे र विश्वास गर्थे । माओवादीहरुले ज्यान दिएरपनि आफूलाई साबित गर्थे । सत्ताको राजनीतिमा पलायन हुने को त के कुरा गर्नु, अहिले आफूलाई क्रान्तिकारी भन्नेमा पनि यस्तो आचरणको अभाव देखियो । सबैभन्दा बढी त अहिलेको कम्युनिस्ट पार्टीसँग कम्युनिस्ट आन्दोलनको आधारभूत वर्ग र समुदाय मजदूर र किसानबारे कुनै आन्दोलन नै छैन । र, कम्युनिस्ट आन्दोलनमा यो योजना विहीनताको स्थिति धेरै भयो ।
माओवादी आन्दोलनको सांगठनिक र सांस्कृतिक ह्रासको कारण विचारमा खोज्नुपर्ने भनेर पार्टीभित्र लामो संघर्ष गरे,ँ तर सकिएन । फेरी अन्य पार्टी त क्रान्तिकारी माओवादी जतिको पनि देखिएन । यस्तोमा नयाँ उठानको प्रतिक्षा अथवा प्रयास बाहेक अरु विकल्प देखिनँ । आन्दोलन विघटनको साक्षी वा साझेदार बन्नुभन्दा पार्टीबाट अलग्गिने नै उचित सम्झेँ । यो निर्णय कति ठिक बेठिक भन्ने भविष्यको जिम्मा ।
तपाईंहरूले त्यत्रो ठूलो बलिदान गरी स्थापना गरेको माओवादी आन्दोलन छिन्नभिन्न हुन पुग्यो हगि ? सोचिल्याउँदा पीडाबोध हुँदैन ?
पीडाबोध त किन न हुनू, हुन्छ । जनयुद्धकालमा हात मिलाएर गएका कैयौँ साथीहरु फर्केनन् । दुश्मनको बम र बन्दूकको गोलीबाट घाइते साथीहरु छटपटिँदै शहादत वरण गरेको दृश्य अझै स्मृतिपटलमा ताजै छ । उनीहरुले अन्तिमपटक आँखा चिम्लिने बेला घाउको पीडा त थियो, तर अनुहारमा ओजपूर्ण भाव र गरीब दुखियाको राज्य बन्ने विश्वास कैयौँले पीडाबीच हाँसेर व्यक्त गरेको म अहिलेपनि सम्झन्छु ।
एउटा कुरा भनौँ है ! नाम भन्दिनँ, सिन्धुपाल्चोकको चौतारामा तत्कालीन शाही सेनासँगको भिडन्तमा घाइते दुईजना जनमुक्ति सेनाका महिला कमरेड उपचारको क्रममा मेरो कार्यक्षेत्रमा आउनु भयो । म त्यतिबेला रौतहट पार्टी कमिटीको इन्चार्ज थिएँ । उहाँलाई बारा जिल्लाको सेल्टरमा राखेर उपचारको व्यवस्था गरियो । शुरुमा उहाँ गम्भीर घाइते हुनु हुन्थ्यो । पछि ठिक हुँदै जानु भयो । म एक–दुई दिन बिराएर उनलाई भेट्न जान्थेँ । त्यतिबेला भेट्दा उहाँको पहिलो प्रश्न जनयुद्धबारे नै हुने गथ्र्यो । जीतको खबरमा खुशी हुने र क्षतिको खबरमा आफन्तझैँ दुःखी हुने उहाँको अनुहार म अहिले पनि सम्झन्छु । उहाँ पहिलो संविधान सभामा सदस्य हुनु भयो, दोस्रोमा पनि हुनुहुन्थ्यो । अचम्म ! संविधान सभा सदस्य भएपछि उहाँले आफ्नै दुःख र वाचा बिर्सनु भयो । यो प्रतिनिधि घटना मात्रै हो । अफसोस, अहिले जनयुद्धको इतिहास मात्र छ । तर पीडा मात्रले पुग्दैन । माओवादी आन्दोलन नयाँ धरातलमा उठ्नु पर्ने आवश्यकता छ ।
क्रान्तिकारी शक्ति कमजोर हुँदा प्राप्त उपलब्धी खोसिने र कमजोर हुने अवस्था सिर्जना हुन्छ, जाति, क्षेत्र, लिङ्ग र सांस्कृतिक तथा सामाजिक विषयसँग जोडिएका मुद्धाहरू पनि कमजोर हुन्छन् । माओवादी आन्दोलन दिशाहीन र विच्छिन्न हुँदा समाधान हुन बाँकी मधेशका मुद्धाहरूमा कस्तो प्रभाव परेको देख्नुहुन्छ ?
माओवादी आन्दोलन समग्र मुक्तिको आन्दोलन थियो । वर्ग, जाति, क्षेत्र, लिङ्ग, शोषणका सबै रूपहरुको विरुद्ध यो आन्दोलन थियो । जनयुद्ध अधूरो नै विघटित हुँदा वर्गसँगै जाति, क्षेत्र र लिङ्गको आन्दोलन कमजोर हुुनु स्वाभाविक नै हो । गैर माक्र्सवादी अर्थात बर्जूआ र पुँजीवादीहरुले वर्गीय प्रश्नहरुलाई पूर्णतः उपेक्षा गर्छन्, तर जाति, क्षेत्र र लिङ्गको अधिकारको आन्दोलन उनिहरुले पनि चलाउने गर्छन् । तर उनको समस्या के हो भने उनिहरुले यी अधिकारवादी आन्दोलनहरुको उपयोग सत्ता जोगाउनको निम्ती मात्र गर्छन् । त्यसैले उनिहरुले एकीकृत आन्दोलनको साटो जाति, क्षेत्र र लिङ्गको फरक फरक आन्दोलनको वकालत गर्छन् । अहिले मधेश आन्दोलनमा पनि यही भैरहेको छ । यस आन्दोलनको पूँजीवादी पहलकर्ताहरुले, मधेशीहरुले मात्र मधेशीको हित गर्न सक्ने भ्रमपूर्ण तर्क अगाडी सार्छन् । तर यथार्थ के हो भने ऐतिहासिक रूपमा विभेदमा परेका मधेशीहरुले समानताको निम्ती अधिकार पाउनु पर्छ भन्ने सकारात्मक धारणा राख्नेहरु अन्यहरु पनि छन् । यही एकलकाटे स्थिति आदिवासी जनजाति, दलित लगायत अन्य शोषित समुदायहरुमा विकसित हुँदै गएको छ । सबै शोषित उत्पीडितहरु एकीकृत भएर लडे पो जितिन्छ ! जनयुद्धले विभिन्न शोपित उत्पीडितहरुको पहिचानको आन्दोलनलाई वर्गीय आन्दोलनमा संयोजन गरेर समग्र मुक्तिको निम्ती एकीकृत संघर्षको परिकल्पना गरेको थियो । जनयुद्ध विघटित भएपछि वर्गीय आन्दोलनसँगै पहिचानका अधिकारवादी आन्दोलनहरु पनि कमजोर हुनु स्वाभाविक नै हो ।
सबैभन्दा बढी त अहिलेको कम्युनिस्ट पार्टीसँग कम्युनिस्ट आन्दोलनको आधारभूत वर्ग र समुदाय मजदूर र किसानबारे कुनै आन्दोलन नै छैन । र, कम्युनिस्ट आन्दोलनमा यो योजना विहीनताको स्थिति धेरै भयो ।
मातृभाषालाई कामकाजको भाषा बनाउनु पर्छ भन्दै आन्दोलन पनि गर्नु भयो, जनकपुरमा बनेको भाषा आन्दोलनको संयोजक पनि रहनु भयो । तर मैथिली भाषालाई मधेशको कामकाजको भाषा बनाउन सक्नुभएन हगि ?
राजनीतिमा प्रगतिशील शक्ति र आन्दोलन कमजोर भएपछि यस्तो स्थिति आउने गर्छ । मैथिली नेपालमा सबैभन्दा बढी बोलिने मातृभाषा मध्येको दोस्रो हो । पहिलो नेपाली (परिमार्जित खसकुरा) हो । २०५६ सालमा काठमाडौंमा नेवारी तथा सप्तरीको राजबिराज र धनुपाको जनकपुरमा तत्कालीन जिल्ला विकास समिति र नगरपालिकाले सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्ने निर्णयमा सर्वोच्च अदालतले प्रतिबन्ध लगाएपछि काठमाडौं, सिरहा, सप्तरी र धुनषामा भाषिक आन्दोलन भएको थियो । जनकपुरमा म यस मैथिली भाषा संघर्ष समितिको संयोजक थिएँ । तर पनि हाम्रो आन्दोलन सफल हुन सकेन । अहिले पनि मैथिली भाषा लगायत मातृ भाषाहरु सरकारी कामकाजको भाषाको मान्यता पाउन त बाँकी नै छ । तर अहिले सरकारी भाषा आयोगले बाह्रवटा मातृभाषाहरुलाई प्रदेशहरुमा सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्न सरकारलाई सिफारिस गरेको छ । आशा गरौँ अब मातृभाषाहरुले अधिकार पाउँछन् ।
मैथिली भाषाले सरकारी कामकाजको मान्यता पाउला, यो पछिको कुरो भयो । अहिलेको कुरा गर्दा कतै मैथिली भाषामा रहेको ब्राह्मणीय अभिजात्य मैथिली र ठेठी मैैथिलीबिचको अन्तरविरोध र नेताहरूमा रहेको हिन्दी मोहले त यस्तो अवस्था सिर्जना भएको हैन ?
प्रायः सबैमा अभिजात्यीय र श्रमजीविहरुको वाचिक शैली विविधता हुने गर्छ । ठेठी मैथिली भनेको मैथिलीभाषी क्षेत्रमा श्रमजीवी समुदायले बोल्ने शैली हो । समृद्ध र जीवन्त भाषामा क्षेत्र र वर्गगत् विविधताह्ररु हुने गर्छन् । एउटा भाषाभित्रको यो विविध शैलीलाई बोली (डाइलेक्ट) भनिन्छ । हुन त माक्र्सवादले भाषालाई निवर्गीय मान्दछ । तर बोल्ने शैली र सामाजिक फैलावटको प्रभाव पर्ने गर्छ । जस्तै राजा महाराजाले आपसमा बोल्ने शैली, भारदारहरु र नोकरचाकरले बोल्ने शैलीमा भिन्नता हुनेगर्छ । त्यसरी नै श्रमजीवी समुदायभित्र पनि फरक बोलीहरु हुने गर्छ । तपाईंले ध्यान दिनु भयो भने राजा महाराजा र अभिजात्य वर्गले बोल्ने शैलीमा आदरार्थी शब्दह्रु विशिष्ट हुने गर्छन् भने श्रमजीविहरु आपसमा बोल्दा आदरार्थी र कृत्रिमताको अभाव हुन्छ । निश्चय नै भाषाको वर्ग हुँदैन, तर वर्गगत् ढंगले बोल्ने शैलीमा भिन्नता हुन्छ । विविध प्रकारका आन्दोलनबाट निस्केको चेतनाले श्रमजीविवर्ग र जातिहरु भित्र पनि भाषिक अधिकारको चेतना बढ्नु स्वाभाविक नै हो ।
मैथिलीमा मानक मानिने बोली ब्राह्मण लगायत अभिजात्यहरुले बोल्ने संस्कृतनिष्ठ अर्थात् तत्सम शब्दहरुको अधिकता भएको मैथिली हो र शिक्षा लगायत विविध क्षेत्रमा यसैको वर्चस्व छ । मैथिलीका विद्वानहरु यसै ब्राह्मणीय अभिजात्य मैथिलीको प्रयोग गर्छन् । तर बहुसंख्यक श्रमजीवी मैथिलीभाषीहरुले तद्भव शब्द र प्राचीन मैथिलीको शब्दहरुको प्रचुरता भएको ठेठी बोल्ने गर्छन् । यस कारण बहुसंख्यक भएरपनि भाषाको वर्चस्वको प्रतिस्पर्धामा श्रमजीवी जातिहरु आफूहरु ठगिएको महसूस गर्छन् । यो अन्तर्विरोध भाषामा मात्रै होइन, यो त साँस्कृतिक क्षेत्रमा पनि हो । मेरो विचारमा मैथिलीको निजत्व र प्राचीन मैथिलीका मौलिक शब्द र शैली श्रमजीवी जातिहरुले जोगाएका छन् । उनले जित्नेपनि उनको सत्तासङ्र्घषमा पाउने विजयसँग नै सम्बन्ध राख्छ । जहाँसम्म हिन्दीको प्रश्न छ, नेपालमा तराईमधेशका अन्य मातृभाषाजस्तै मैथिलीको निम्तीपनि यो गम्भीर चुनौतीको विषय हो । यो फेरी नेपाल होइन, भारतमा पनि मातृभाषाहरुको निम्ती वर्चस्वकारी चुनौती नै हो । बबुआनी अर्थात शानको भाषाको रुपमा मैथिली भाषाको अभिजात्य र नवअभिजात्यमा समेत हिन्दी मोह घातक प्रवृत्तिको रूपमा छ ।
नेपाली (खस नेपाली) र हिन्दी भाषाभन्दा सयौँ वर्ष पुरानो र सम्पन्न मैथिली भाषा यसरी कमजोर हुनुमा सामाजिक बाहेक राजनीतिक कारण पनि छन् कि बताइदिनुहोस् न ।
संंक्षिप्तमा भन्नु पर्दा मैथिली भाषा नेपाली र हिन्दीभन्दा सयौँवर्ष पुरानो भएपनि सत्ताको भाषा रहेन । यो लोकभाषाको रुपमा रह्यो । नेपालमा मल्लकालमा मैथिली भाषाको प्रयोग दरबारमा गरिएपनि मल्ल राजाको मातृभाषा मैथिली थिएन । फेरी त्यतिबेला राजकाजमा प्रयोग हुने भाषा मिश्रित थियो, जसमा मैथिली, भोजपुरी, अवधि र उर्दूका शब्दहरु सामेल थिए । शाहवंशीय शासनपछि त मातृभाषाहरुको निम्ती अन्धकारकाल नै थियो ।
नेपालमा हिन्दीका समर्थकहरुमा गजेन्द्रनारायण सिंह लगायत मधेशकेन्द्रित दलका नेताहरु त सजिलै चिनिन्छन् । तर हिन्दीको समर्थनमा नेपालमा मातृकाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराई मात्र होइन, हिन्दी सम्मेलनमा विभूषित हुनेहरुमा कैयौँ ख्यातिप्राप्त साहित्यकारहरु पनि छन् ।
नेपाली भाषा सत्तामा हावी हुँदै गएको समय नै शाहवंशीय राजाहरुको शासनकाल हो । मैथिली भाषाको बीज आठौँ शताब्दीका बज्रयानको एउटा धारा सहजयानी सिद्ध कविहरुको कविताहरुमा पाइन्छ । तर नेपालमा मैथिलीको आधुनिककाल त २००७ सालको प्रजातन्त्रकालदेखि शुरु हुन्छ । शासकीय समर्थनको अभावमा नेपाल र भारतको शासकीय भाषा हिन्दी र नेपालीको तुलनामा मैथिली कमजोर हुनु स्वाभाविक नै हो । तपार्ईंलाई भनुँ, चौधौँ शताब्दीमा मैथिलीका कवि ज्योतिरिश्वरले वर्णरत्नाकर जस्तो गद्य र धूत्र्तसमागम जस्तो व्यंग्य ग्रन्थको रचना गर्ने बेला नेपाली मात्र होइन गंगाको उत्तरीमैदानमा विकसित अनेकौँ नवआर्य भारोपेली भाषामा साहित्य नै शुरु भएको थिएन ।
तपाईं सत्ताको भाषा नभएको हुँदा मैथिली पछि प¥यो भन्नुहुन्छ । खै त मैथिली भाषी क्षेत्र अलग प्रदेश हुँदा पनि मधेशका नेताहरू नेपालीपछि कामकाजको भाषा हिन्दी हुनुपर्छ भन्छन् !
यो देशको राजनीतिक चरित्रसँग जोडिएको प्रश्न हो । हिन्दी अहिले भाषामात्र होइन, खर्बौँ खर्बको लगानी भएको बहुआयामिक व्यापारको भाषा हो । साहिन्य, सिनेमा, र फैसन व्यापारदेखी बहुआयामिक क्षेत्रमा भारतीय शासकवर्गको वर्चस्वको भाषिक अधिकारको भाषा हो हिन्दी । नेपालमा हिन्दीको वर्चस्वको संघर्ष २००७ सालदेखिकै हो । र यसमा मधेशमात्र होइन, नेपालीभाषी नेताहरु समेत लागेका छन् । नेपालमा हिन्दीका समर्थकहरुमा गजेन्द्रनारायण सिंह लगायत मधेशकेन्द्रित दलका नेताहरु त सजिलै चिनिन्छन् । तर हिन्दीको समर्थनमा नेपालमा मातृकाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराई मात्र होइन, हिन्दी सम्मेलनमा विभूषित हुनेहरुमा कैयौँ ख्यातिप्राप्त साहित्यकारहरु पनि छन् ।
एउटा भाषाको रुपमा हिन्दीसँग कुनै कटुता हुनु हुँदैन । अन्य भाषासरह उसको पनि सम्मान हुनुपर्छ । तर जब भाषाको राजनीतिक अधिकारको प्रश्न उठ्छ, अनि सचेतता आवश्यक हुन्छ । जतिबेला आफ्नै मातृभाषाहरु अधिकारविहीन छन्, त्यस्तोमा कुनै अन्यदेशको भाषालाई सम्पर्कभाषाको नाममा होस वा अन्य नाममा प्रश्रय दिनु उचित हुँदैन । यद्यपि अब जनसमुदायबीच मातृभाषाको चेतना बढ्दै गएको छ र हिन्दीको जादु टुट्दैछ ।
तपाईं लामो समयदेखि मैथिली लोकसंगीत, लोकगाथा र लोकसंस्कृतिको खोज र अनुसन्धानमा क्रियाशील हुनुहुन्छ, संघीय सरकार र दुई नम्बर प्रदेश सरकारले यस क्षेत्रमा कत्तिको सहयोग गरेको छ ?
प्रदेश सरकार अहिलेसम्म जिम्मेवार हुनसकेको देखिँदैन । संसदीय राजनीतिका नेताहरु अहिले आफूबाहेक अरु केही देखेका छैनन । अझ साँस्कृतिक चेतना भएन भने के कुरा गर्नु ? अझ मजस्तो कम्युनिस्ट विचारको साहित्यकार, जसले राज्यको हरेक गलत प्रवृत्तिको विरुद्ध औँला ठड्याउँछ, उसलाई सहयोग गर्ने तत्काल सम्भावना मैले देखको छैन । जहाँसम्म संघीय सरकारको प्रश्न छ नेपाल सरकारबाट स्थापित नेपाल विद्यापति साहित्य पुरस्कार—२०७४ मैले पाएको छु । यस अतिरिक्त स्वतन्त्र क्षेत्रले मलाई पुरस्कृत र सम्मानित गरेको छ । यसमा पारिजात स्मृति प्रतिष्ठानबाट दिइने २०५८ को पारिजात साहित्य सृजन पुरस्कार, मैथिली विकास कोष जनकपुरले दिने २०७३ सालको डा. धीरेन्द्र साहित्य पुरस्कार उल्लेखनीय छन् ।
मधेश सांस्कृतिक रूपमा अलि पछि छ भनिन्छ । छुवाछुत, दहेज, कर्मकाण्ड र चाडबाड मनाउने क्रममा मात्र हैन सामाजिक सम्बन्ध र राजनीतिक तथा वैचारिक मूल्यमा पनि कमजोर र असंगतिपूर्ण देखिन्छ । यस्तो हुनुको कारण के होला ?
मलाई लाग्छ, यो मधेशको साँस्कृतिक पछौटेपन शासकीय कोणबाट सिर्जित धारणा हो । नेपाली भाषी क्षेत्रको तुलनामा मधेश शासकीय वर्चस्व र आर्थिक विकासको दृष्टिले पछि परेको त सत्य हो । तर साँस्कृतिक रूपमा पछि परेको दृष्टि भन्न अलि मिल्दैन कि ? तपाईंले भनेको दहेज मधेशको विशिष्ट साँस्कृतिक आर्थिक रोग भएपनि अन्य छुआछुत, कर्मकाण्ड र चाडवाड मनाउनु नेपालका सबै क्षेत्रको साझा समस्या हो । राजनैतिक आन्दोलनको दृष्टिले पनि नेपालको हरेक आन्दोलनमा मधेशले भूमिका निर्वाह गरेकै हो । वस्तुतः तपाईंले भनेको सामाजिक सम्बन्ध र राजनीतिक तथा वैचारिक मूल्यमा कमजोर र असंगतिको आरोप मधेशलाई मात्र लगाउनु उचित हुँदैन । यो शासकीय कोणबाट सिर्जित व्याख्या हो । मधेश एउटै विषयमा नेपालका अन्य भागभन्दा भिन्न हो, त्यो गरीबीको सबैभन्दा उच्च दर, र त्योपनि शासकीय भेदभाव र बेलगाम शोषणको कारण हो ।
केही समय पहिले प्रगतिशील–प्रगतिवादी लेखकसाहित्यकारहरूको पहलमा ‘माक्र्सवादी सांस्कृतिक मोर्चा’ गठन भएको थियो । तपाईं पनि उक्त मोर्चामा हुनुहुन्छ । मोर्चा गठन गर्नुको औचित्यबारे केही बताइदिनु होस् न ।
देशमा माक्र्सवादी आन्दोलन विघटन तथा साँस्कृतिक अवमुल्यनतिर गैरहेको बेला क्रान्तिकारी साँस्कृतिक हस्तक्षेपको दृष्टिले माक्र्सवादी सांस्कृतिक मोर्चाको गठनको पहल भएको हो । एउटा तदर्थ समिति त छ, तर यसको निर्माण प्रक्रिया अहिले पूरा भएको छैन । तर यो मोर्चा पनि आरम्भमा नै समस्याग्रस्त देखिन थालेको आभास हुन्छ ।
यो मोर्चा वक्तव्य दिनका लागि मात्र गठन गरिएको हो कि देशमा विद्यमान पुरातन, विसंगत र अवैज्ञानिक संस्कृतिको रूपान्तरणका लागि पनि केही गर्दै छ ?
त्यै त । वस्तुतः यस मोर्चाभित्र पनि विभिन्न कम्युनिस्ट पार्टीबाट आएका बौद्धिकहरु छन्, जसले माक्र्सवादी सांस्कृतिकताको साटो पार्टीको वर्चस्व र भागबन्डामा बढी जोड दिन्छन् । हुन त यो पनि वैचारिक समस्या नै हो । नेपालको माक्र्सवादी वैचारिकता अहिले विभाजित छ । अझ केही कम्युनिस्ट पार्टीले त माक्र्सवादभन्दा पर गएर पनि आफूलाई माक्र्सवादी दावी गरिरहेका छन् । नेपाली कम्युनिस्ट आन्दोलनमा अहिले नवमाक्र्सवादी विचारहरु खतरनाक किसिमबाट विकसित भइरहेका छन् । यसको छायाँ मोर्चामा पनि परिरहेको छ । अर्को, यो मोर्चापनि प्रतिबद्धता भन्दापनि फुर्सदको व्यसनजस्तो हुँदै गएको छ । सबभन्दा पहिले, माक्र्सवाद बौद्धिक व्यसन होइन प्रतिबद्ध प्राथमिकताको विषय हो भन्ने बोध नभएसम्म तथा माक्र्सवादी कला र विचारका साझा अवधारणाबारे मतैक्य नभएसम्म उत्साह आउन सक्दैन । हुन त प्रगतिवादी आन्दोलनमा यो पुरानो रोग हो । प्रलेसबाट अलग्गिँदा हामीले एउटा प्रतिबद्ध सांस्कृतिक हस्तक्षेप नै सोँचेका थियौँ । तर सकिएन जस्तो छ । उही पुरानो रोग शुरुमै देखिन थालिसकेको छ ।
अलिकता पारिवारिक कुरा गरौँ । तपाईं कम्युनिष्ट राजनीतिमा आउनुको पछाडि तपाईंको बुवा निर्भय शंकर लालको प्रभावले काम गरेको हो कि !
हो, यसलाई अस्वीकार गर्न सकिन्न । मेरो बुबा कमरेड पुष्पलाल नजिक रहेर धनुषामा काम गर्नु भएको हो । २०१६÷०१७ सालतिर मेरो बुबा नेपाल कम्युनिस्ट पार्टीको धनुषा–महोत्तरी जिल्ला कमिटीको सदस्य हुनुहुन्थ्यो । म सानो हुँदा नेताहरु मेरो घरमा आउने गर्थे । २०३३ सालतिर मैले विष्णुबहादुर मानन्धरको पार्टीबाट सदस्यता पाएँ । २०३७ को जनमतसंग्रहपछि म नेराविफेको केन्द्रिय पार्षद थिएँ । पछि जागिर पनि खाइयो । २०४९ सालमा म माओवादी आन्दोलनमा जोडिएको हुँ । जनयुद्धमा शुरुदेखी सहभागी हुँ ।
जतिबेला राजनैतिक पक्ष शिथिल हुनथाल्छ, त्यतिबेला सांस्कृतिक बौद्धिकहरुले आन्दोलनमा आशा र विश्वासको सञ्चरण गर्ने रचना सिर्जना गर्नु आवश्यक हुन्छ । त्यसैले यस वैचारिक र सांस्कृतिक उदासीको बेला साहित्यकार र कलाकर्मीहरुले आफ्नो दायित्व बुझ्दै भूमिका निर्वाह गर्न आवश्यक देखिन्छ ।
दुई पुस्ताले राजनीतिक परिवर्तनमा योगदान दिनु भयो, परिवर्तन पनि भयो तर हाम्रो अवस्था जहाँको तहीँ छ । यस्तो हुनुको पछाडि के कारणले काम गरेको होला ?
सामाजिक परिवर्तनको आन्दोलन यस्तै आरोह र अवरोधको बीचबाट गुज्रन्छ । यो त निरन्तर संघर्षको प्रक्रिया हो । दुई पुस्ता मात्रै होइन । सामाजिक परिवर्तनको संघर्षमा कयौँ पुस्ता लाग्न सक्छ । हामीले अपेक्षा गरे अनुसार उपलब्धि गर्न सकेनौँ, यो सत्य हो, तर राजनैतिक रूपमा राजतन्त्रलाई पराजित गरेर गणतन्त्र स्थापित भयो, थोरै भएपनि यो उपलब्धि हो । यस गणतन्त्रलाई जनताको गणतन्त्रमा परिणत गर्ने नयाँ जनवादका बाँक्री कार्यभार पूरा गर्दै समाजवादी आधार निर्माण गर्नुपर्ने दायित्व छ । जनयुद्धका नेताहरु लामो संघर्ष सोच्न सकेनन् । बिचैमा विचलित भए । केही अन्यौलग्रत भए । तर सर्वहारावर्गीय परिवर्तन गर्नलाई नयाँ संघर्षको दिशाबाहेक विकल्प छैन । पछाडी पर्नुको कारण मूख्यतः लेनिनले भनेजस्तै ठोस परिस्थितिको ठोस विश्लेषण गरेर नयाँ विचार र त्यस अनुसारको सांगठनिक, सांस्कृतिक र संघर्षको विचारको विकास गर्न नसक्नु नै हो । आगामी दायित्व पनि यो नै हो ।
अन्तिममा अरू केही भन्न चाहनुहुन्छ कि !
अरु के भन्नु र ! नेपालमा कम्युनिस्ट आन्दोलनको दृष्टिले यो उदासीको समय हो । यतिबेला सर्वहारावर्गको संघर्षमा नयाँ विचारनिर्माण प्रक्रिया रोकिएको छ । संघर्ष स्थगित छ । नेतृत्व अन्यौलग्रस्त र असमञ्जसमा छ । कम्युनिस्ट आन्दोलनको आधारभूत वर्ग मजदूर र किसानले नै आन्दोलनलाई अविश्वासको नजरले हेर्दै छ । यस्तोमा सर्वहारावर्गीय आन्दोलनमा विश्वास पैदा गर्नु नै अहिलेको दाियत्व हो । जतिबेला राजनैतिक पक्ष शिथिल हुनथाल्छ, त्यतिबेला सांस्कृतिक बौद्धिकहरुले आन्दोलनमा आशा र विश्वासको सञ्चरण गर्ने रचना सिर्जना गर्नु आवश्यक हुन्छ । त्यसैले यस वैचारिक र सांस्कृतिक उदासीको बेला साहित्यकार र कलाकर्मीहरुले आफ्नो दायित्व बुझ्दै भूमिका निर्वाह गर्न आवश्यक देखिन्छ । यतिबेला आशा र उत्थानका सर्वहारावादी गीत गाउनु सबैभन्दा महत्वपूर्ण काम हो, त्यो चाहे कलमले होस् वा गीत संगीतले होस् वा चित्रले होस् । तपाईंसँग पनि यही अपेक्षा छ । धन्यवाद ।