“ए सरलाकी आमा ! बाहिरको बत्ती किन निभाउन्नौ हँ ? आज पनि रातभरि बत्ती खुलै थियो। आफैँ जान्नुपर्ने हो भने पनि मान्दैनौ।” बिजुली पानीको बेग्लै पैसा नलिने गरी कोठा बहालमा दिएकी र कोठामा पाहुना आएको, बस्नेहरू रातबिरात फर्केकामा उति चित्त नदुखाउने घरबेटी आमाले झर्केझैँ गरी भनिन्।
सरलाका बाआमाले नसुनेजस्तै गरे। सुने पनि घरबेटीसित के निहुँ खोज्नु ? ” छ सात सय मात्र आउने बिजुलीको बिल बाह्र तेह्र सय आउँछ तिर्न कम्ती गाह्रो छ। एक्लैले तिर्दा पो थाहा हुन्छ। सबैका कोठामा सब-मिटर नलगाएर यस्तो लापरबाही गरेका होलान् “। सरलाकी आमाले विस्तारै भनी- “हिजो बत्ती गएकाले बन्दै गर्न बिर्सिएछ, अब सधैँ बन्द गर्छौँ है आन्टी”। उसले जुक्ति लगाएर कुरा मिलाई । “बाहिरको बत्ती त काम पर्दा मात्र बालेर निभाइहाल्ने हो। बिजुलीको पनि बचत बिल पनि कम आउने। ” यति भनेर घरबेटी आमा गुन्गुनाउँदै आफ्नो काममा लागिन्।
साँझपख तल्लो तलामा भाडामा बस्नेहरूले सल्लाह गरी घरबेटीको कचकच सुन्नुभन्दा त हामी सबै बिजुलीको बिल बराबर बाँडेर तिर्छौँ भने । घरबेटी आमा निकै खुसी हुनुभयो। भदौदेखि आएको बिजुलीको बिल सबैले मिलेर तिर्ने सहमति भएपछि घरबेटी र डेरावाल दुवै खुसी र ढुक्क भए।
बहालमा बस्ने प्राय: काम सकिने बित्तिकै बाहिरको बत्ती निभाइहाल्थे। दसैँ तिहारका बेला घर झिलीमिली बनाउनुपर्ने हुनाले सबै उत्सुक थिए। देउसी खेल्न आएकाहरू उज्यालामा रमाएर नाच्थे र जान्थे। देउसी खेल्नेहरू गइसकेपछि सुन्नुपूर्व सरलाकी आमाले बाहिरको बत्ती बन्द गरी। माथि छतबाट तिहारको झिलीमिली हेर्दै मख्ख परेकी घरबेटी आमाले भनिन् -“ए सरलाकी आमा किन बरन्डाको बत्ती निभाएकी? घरवरिपरि उज्यालो राख्नुपर्छ। अबदेखि सधैँ राति बरन्डाको बत्ती बालेकै छाड्नुपर्छ। बिल जति आए पनि केही छैन।चोरको डर पनि भएन।” सबैले ‘हुन्छ’ भने।
भोलिपल्ट साँझ आँगनमा आएर घरबेटी आमैले भनिन् -“बत्तीको उज्यालामा आँगनको रङ्गोली कस्तो राम्रो देखियो है।” सबैले एक साथ ‘हो’ भन्दा उहाँको अनुहार झन् उज्यालो भयो। बहालमा बस्नेहरूले घरबेटी आमाको अनुहारमा बत्तीको भन्दा बढी आभा भेटे। सरलाकी आमालाई निर्मलकी आमाले सुस्तरी भनी- ” म्याडम बिजुलीको पैसा सबैले तिर्ने कुरापछि त घरबेटी आमाको अनुहारमा खुसीको उज्यालो छायो है?” सरलाकी आमा मुस्कुराउँदै भित्र पसिन्।
(पाटन, बैतडी)