बारम्बार भोक र पीडामा हुन्छिन् आमा
ब्ुाद्धको देशमा हिंसा हुँदा रुन्छिन् आमा ।
बम र बारुदको गन्ध अझै हराएको छैन
वेलावेला बन्दुकको आवाज सुन्छिन् आमा ।
हातमुख जोर्न मुग्लान पसेकाको यादमा
प्रतीक्षा गर्दै आँसुले मुख धुन्छिन् आमा ।
जिन्दगीको यात्रामा खुशी छाएन कहिल्यै
मनका रहरहरु सपनामै बुन्छिन् आमा ।
दुःख पीडा पोखेपनि सुनिदिने कोही छैनन्
मनका पीर व्यथा मुखभित्रै थुन्छिन आमा ।
साहुको ऋण बोक्नै नसकिनेगरी भारी भाछ
कसरी तिरौँ ऋण भनी मनैमा गुन्छिन् आमा ।
(भूमे—९ रुकुम पूर्व)