श्रीकुमारलाई टोलमा नचिन्ने कोही छैनन् भन्दा पनि हुन्छ । हँसिलो र मिजासिलो स्वभावले गदा ऊ परिचितहरुको माझमा लोकप्रिय थियो । महिलाहरूलाई त ऊ असाध्य इज्जत गर्यो । त्यसैले पनि उसको तरकारी पसलमा किनमेलमा लागि महिलाहरूको भीड नै लाग्थ्यो । भान्से, चौकीदार, गाडीको सहचालक हुँदै श्रीकुमार यो ठाउँसम्म आइपुगेको थियो ।
पसलमा एक्लैले नभ्याउने भएपछि उसले गाउँबाट श्रीमती र छोरो लिएर आयो । छोरो भखॅर विद्यालय जान थालेको थियो । काममा अलि भरथेग हुन लागेको बेलामा श्रीकुमारकी श्रीमती सुकुमारी सुत्केरी भइन् । पसलमा सहयोग गनॅ उसले सालो टंकेलाई बोलायो । पसलमा खट्नु, सुत्केरी श्रीमती स्याहार्नु र छोरोलाई ख्वाईप्याई गरेर विद्यालय पठाउन सजिलो थिएन । त्यसैले सुत्केरी श्रीमती स्याहानॅ र घरधन्दा गनॅ एउटी सहयोगी महिला खोजिदिन उसले सबैसँग आग्रह गर्यो ।
श्रीकुमारकै दिदीले खोजिदिएको ठिटी सुमतीले छिट्टै कामको मेलो समाई । आफ्नो कामले उसले श्रीकुमार सुकुमारी, टंके सबैलाई रिझाई । टंके त सुमतीसँग अलि बढी नै रिझिएको थियो । श्रीकुमारले आँखा तरेपछि ऊ ङिच्च गरेर पछि हट्थ्यो ।
एकदिन निकै अबेला गरेर मुख पनि निन्याउरो पारेर सुमती पसलमा श्रीकुमार छेउ आइ र भनी – “साउजी, बर्बादै भो नि । मैना नाघेर अर्को मैना छुन लागिसको । मलाई स्वास्नीमात्रै बनाको कि यो बच्चालाई बाउको नाम पनि दिन्छौ ? नढाँटेर भन त ।”
श्रीकुमारको मुहार र मनको श्री हराइसकेको थियो ।
(काठमाडौं)