“अपराधिक क्रियाकलापमा संलग्न बाउन्न बर्षको अपराधी विश्वविजय भनिने मोहन घर्तीमगरलाई आजीवन कारावासको निर्णय । फरार अपराधी खोजी गर्न सरकार दृढ ।” आज राजधानीबाट प्रकाशित हुने प्रायः सबै अखबारहरुको पानामा यस्तै समाचार लेखिएको थियो । प्रदेश राजधानीबाट प्रसारित हुने एउटा टेलिभिजनले पर्दामा विश्वविजयको तस्वीर समेत देखायो । कम्ब्याट ड्रेस लगाएर हातमा बन्दुक बोकेको तस्वीर देखाउँदै छोटो समाचार वाचन पनि भयो ।
हिजो मात्र बेलुकीपख सर्वोच्च अदालतले मुद्दाको छिनोफानो गरेको थियो । अपराधिक गतिविधिमा संलग्न भई हत्या जस्तो जघन्य कार्य गरेको भन्दै विश्वविजयलाई सजाँय दिने निर्णय भएको थियो । निर्णय हुनासाथ विभिन्न प्रतिक्रियाहरु आउँने नै भए । भयो पनि त्यस्तै । जनसमर हुँदै लोकतान्त्रिक गणतन्त्रको पक्षमा आएका दलहरुबाट निर्णयलाई दुःखद् भनियो । अर्को जनसमरको आवश्यकता बोध गर्नेहरुबाट तीब्र भत्र्सना गरियो अनि एकीकृत जनक्रान्तिको जगमा विद्रोह गर्न थालेका समूहहरुबाट निर्णयको प्रतिकार गर्ने उद्घोष भयो ।
“आखिर विजय प्राप्त भयो ।” फैसला सुन्नासाथ अदालत बाहिर उभिएका आधा दर्जन जति मानवअधिकारवादी संस्थाका केही मनुवाहरुले हर्ष व्यक्त गर्दै विचार पोखे । टेलिभिजनले मानव अधिकारका बनिबनाऊ व्याख्याताहरुको यो भनाई पनि देखायो ।
शहरका वातानुकूल कोठाहरुमा तर्क वितर्क चलाउने सुरसार हुन थाल्यो । फरार अपराधी खोज्न तदारुकता देखाउँनुपर्छ भन्ने महानबाणीहरु प्रवाहित हुन थाले ।
उता विश्वविजयले बास बसेका झुप्राहरु शोकको परिनिष्ठतामा थिए ।
अखबारको समाचार त गाउँमा आइपुग्दैन । विश्वविजयले यो खबर रेडियोबाट सुन्यो दिउसोतिर । आफ्नै गाउँमा थियो ऊ त्योबेला । मुद्दा चलिरहेको कुरा उसलाई थाहा थियो । प्रहरी कार्यालयमा उजुरी परेको त उहिल्यै हो । धरै पटक प्रहरीले पक्रन खोजेको पनि हो तर सकेको थिएन । शान्तिप्रक्रियामा खलल् पुग्छ भन्ने कुराले गर्दा पनि प्रहरीले हिम्मत गरेको थिएन । फरार अभियुक्त भनिएको थियो ।
रुकुम जिल्लाको एउटा गाउँ, गाउँको सानो पाखे जग्गामा काठको दलिन र खाँबा भएको भुईँतले घर थियो विश्वविजयको । साथमा श्रीमती, एउटा छोरो अनि सानी छोरी ।
जीवन जीउँने बाटो अरुको खेतमा काम गरिदिएर कमाउँने पैसा थियो । एक हल गोरु नारेर अरुको जमिन खोस्रने अनि चारभागको तीन भाग मालिकलाई दिएर आफूले एक भाग लिने पूरानो प्रथा ब्युँतिएको थियो । जनयुद्धको बेलामा यस्तो चलन हटिसकेको थियो । जनसरकारले भूमिपतिका जमिनहरुमा सामूहिक खेती गथ्र्यो, कम्युनको अभ्यास थियो । शान्ति प्रक्रियापछि सामूहिक खेती प्रणाली सकियो । कम्युन विघटित भयो अनि भूमिपतिका जमिन फेरि भूमिपतिकै अधिनमा पुग्यो ।
बिहानभरि अरुको खेतमा बनिबुतो गरेकोले थाकेको थियो विश्वविजय । ऊ सँधैझैं खाना खाएर बाहिरपट्टि गुन्द्रीमा ढल्किएको थियो एकछिनकालागि ।
रेडियो बजिरहेको थियो । दिउँसोको एक बजेको प्रदेश समाचारमा उसले अदालतले गरेको निर्णय सुन्यो । समाचारले विश्वविजयको अनुहार अलि मलिनो भयो । उसको अनुहार अरु प्रतिक्रिया खास देखिएन किनकी यो निर्णय आकस्मिक थिएन । नयाँ संविधान पनि सम्झौता नै थियो, हिजोका वर्गशत्रुहरुसँगको । राज्य श्रमजीवी वर्गको हातमा कहाँ आएको थियो र ?
ऊ उठ्यो गुन्द्रीबाट अनि यताउति हे¥यो । श्रीमती हलगोरुलाई कुँडो बनाउँन भनेर पराल काट्दै थिइन् गोठमा । ऊ श्रीमतीको छेउमा गयो अनि टुक्रुक्क बसेर बोल्न थाल्यो, “अब, घर छोडेर हिँड्नुपर्ने भएजस्तो छ ।”
श्रीमतीले पनि रेडियोको खबर सुनेकी थिइन् । मनभित्रको आतंकलाई बाहिरी कामले छोपेर सामान्य बन्न मात्र खोजेकी थिइन् उनी ।
“मैले समाचार सुनेँ । अब कहाँ जाने ?” उनले मनको मौनता तोड्दै भनिन् ।
“भरे बेलुकीसम्म…. राति नै भए पनि मलाई पक्रन आइपुग्छन् सदरमुकामबाट ।” उसले भन्यो ।
“अनि ?” श्रीमतीले उत्तर खोजिन् ।
“सुन्दरलाई नियमित विद्यालय पठाउँनु । नानीलाई अक्षर चिनाउँछु भनेको थिएँ । पाइनँ । तिम्रो जिम्मा भयो ।” विश्वविजयले श्रीमतीको दाहिने हातलाई आफ्ना दुबै हातले चेपेर भन्यो ।
“हलगोरु बेच । एउटा गाई किन । बजारबाट दूध उठाउन आउँनेहरुलाई दूध बेचेर घर खर्च चलाउँनु । पारी डाँडाको मने बुढाले गोरु किन्छु भनेर अस्तिकै दिन मात्र भनेको थियो । उसैलाई बेच । म उसलाई भनेर जाउँला ।” उसले थप कुरा ग¥यो । श्रीमतीको आँखामा आँशु निस्कियो ।
“नरोऊ ।” उसले दुबै आँखाको आँशु आफ्नो हातले पुछिदियो अनि भन्यो, “नाफामा पाएको जिन्दगी त हो तिम्रो र मेरो । अब फेरि हिँडौला संघर्षको यात्रामा ।”
विश्वविजयकी श्रीमती पनि महिला योद्धा थिइन् जनसमरताका । आँट भएकी अनि जोस र जाँगर दुबै भएकी । जनसेनाको कम्पनीको अर्थ व्यवस्था समेत हेरेकी मान्छे पो हुन त विश्वविजयकी श्रीमती अर्थात कमरेड ज्वाला ।
“ढिलो नगर । सदरमुकामबाट हिँडिसके होलान् ।” श्रीमतीले ढाड्स दिँदै भनिन् ।
विश्वविजय उठ्यो अनि घरभित्र छि¥यो । बुइगलको टिनमा प्वाल परेको थियो । विश्वविजयले टिनको अर्को सानो पाता खोजेर ल्यायो अनि त्यो प्वाल टाल्यो ।
“यो बर्खा थेग्यो भने अर्को बर्ष त जसोतसो होला ।” उसले श्रीमतीलाई भन्यो अनि झोलामा कपडा र अरु सामानहरु हाल्न थाल्यो । युद्धको बेला सरसामाग्री बोकेर हिँड्ने झोला थियो त्यो– रुकस्याक । कति जतन गरेर राखेको थियो विश्वविजयले त्यो झोला ।
“युद्धका बेला शत्रुको आँखा छलेर हिँड्ने बाटो थियो नि ? त्यही बाटो हुँदै भारततिर छिर्छु । केही काम गर्छु ।……पैसा पठाउँदै गरौँला कसैकसैको हातबाट ।” यति भनेर उसले श्रीमतीको निधारमा म्वाई खायो ।
ऊ हिँड्दा छोरी घरमै थिई तर छोरा पल्लो डाँडातिर खेल्न पुगेको थियो ।
“छोरालाई बाबा शहरतिर काम खोज्न जानुभएको छ भन्नु !” यति भनेर उसले उभिरहेकी सानी छोरीको हातमा निउरिएर एकपटक म्वाई खायो । घोसे परेको उसको मुण्टो ठाडो हुन सकेन, तुरुक्क आँशु झ¥यो । हत्केलाले आँशु पुसेर ऊ फटाफटी हिँड्यो । फर्केर हेरेन उसले । कसरी हेरोस ! आँशुको भेल बगिहाल्थ्यो हेरेको भए ।
धेरै पर पुगेपछि मात्र उसले पछाडि फर्केर हे¥यो । छोरीलाई कम्मरमा बोकेर श्रीमतीले एकोहोरो उसलाई नै हेरिरहेको धमिलो आकृति देख्यो उसले । तल्लो ओठलाई नमिठो गरी टोक्यो विश्वविजयले ।
त्यसपछि उसले त्यो डाँडा छोडेर अगाडि बढ्यो । अब श्रीमतीको आकृति पूरै छेलियो । ऊ सरासरी ओरालो झ¥यो । घोडेटोमा हिँडदा उसका मानसपटलमा थरीथरीका स्मरणहरु अवतरित भईरहे ।
दाङ्गको सैनिक क्याम्प कब्जा गर्दाको समय विश्वविजय पनि एउटा टोलिको नेतृत्वकर्ता थियो । शहरमा शान्तिवार्ताको चर्चा भइरहेको बेला…. हापुरेमा सरकारी मान्छेहरुसँग भर्खर बार्ता सकिएको बेला …कसैले नसोचेको ढंगले शाही सेनामाथि आकस्मिक हमला !
राति अबेरसम्मको लडाईँपछि क्याम्पको कोठा कोठामा छिर्दै आधुनिक हतियारहरु कब्जा गरेको क्षण कम रोचक थिएन । कसैले डोकोभरी राइफल र एके ४७ बोकेर गन्तव्य तिर हिँडेका, कोही ट्याक्टरमा हतियार लाद्न हतारिएका, बाँचेका शाही सेनाका मानिसहरु भिजेका बिरालो जस्ता भएर हतियारका भण्डार देखाउँन लुरुलरु हिँडेका…….।
अतितको यो विराट घट्नामा रोमान्चित भएर हिँड्दाहिँड्दै विश्वविजयले कति चाँडो लामो बाटो काटिसकेछ । घरबाट निस्किएको लगभग तीन बजेतिर हो । अहिले त छ बज्न लागेछ ।
खरको साना पाँच÷छ वटा जति छाप्राहरुको गुजुमुज्ज परेको वस्ति आइपुग्यो । चिया नास्ताको व्यवस्था पनि रहेछ एउटा छाप्रोमा । विश्वविजयले नजिकै गएर नियाल्यो । दिउँसो बेचेर उब्रेको तीन÷चार वटा सेलरोटी रहेछन् । उसले सेलरोटी तताइमाग्यो । त्यो छाप्रोकी बूढीबूढी खालकी महिलाले सेलरोटी सेकिन् अनि कागजमा सेलरोटी बेरेर आलुको झोल तरकारी पनि उमालेर सिल्भरको बटुकामा हालेर ल्याइदिइन ।
“आमा ! तराई झर्न हिँडेको थिएँ । सदरमुकाम पुग्न भ्याइएन । आज यहीँ बाहिरतिर टुसुक्क बसेर रात कटाउँछु नि, हुन्न ?” विश्वविजयले सोध्यो ।
“भइहाल्छ नि बाबु । साँझमा आएका पाहुना देवता समान भन्छन् क्यार !” बूढीआमा कति सहज र सरल रहिछिन् । उसले झोलाबाट पच्चास रुपैयाँ झिक्यो अनि बूढीआमालाई दियो । बूढीआमाले पनि हात थापिन् ।
“म भोलि त विहानै निस्कन्छु । सदरमुकाम पुगेर मात्र नास्ता गर्छु ।” सेलरोटी र तरकारी खाएपछि विश्वविजयले बूढीआमासँग भन्यो अनि त्यो भिर्ने झोलालाई साथी बनाएर चिया पकाउँने टेबलको आड्मा कुक्रुक्क परेर पल्टियो । बूढीआमा कति दयालू ! भित्रबाट एउटा कम्बल ल्याएर ओढाइदिइन् ।
विश्वविजय केही समय निदाउँन सकेन । घरि श्रीमतीको सुन्दर अनुहार अगाडि आउँथ्यो, घरि छोरा र छोरीको कलिलो अनुहार । दुइहजार बाउन्न साल फागुन टेक्ने पहिलो रातको सम्झनाले पनि उसको निन्द्रालाई अस्तव्यस्त पारिरहेको थियो । जनयुद्धको घोषणा गर्दाको पर्चा…..सम्झौताहीन संघर्षको प्रतिबद्धता….. अनि मुक्तिविना हतियार नविसाउँने बाचा । सोच्दासोच्दै कतिबेला लामो सास ‘फ्वाँ – फ्वाँ ’ गरिसकेछ विश्वविजयले ।
भोलिपल्ट कुखुरा नबास्दै ऊ जुरुक्क उठ्यो । बूढीआमाले अंखोरामा पानी पनि राखिदिएकी रहिछिन् । अलिकति घुटुघुटु पा¥यो अनि बाँकी पानीले मुख पखाल्यो । शौचालय जानलाई समस्या थिएन । वरपर झाडी जंगल नै थियो – बाटो हिँड्दै गर्दा कतै पन्छिएर टुक्रुक्क बसे पुगिहाल्थ्यो नि पहाडको बाटोमा ।
अब ऊ त्यहाँबाट सदरमुकामतिर लागेन । उकालो चढ्यो । केही तेर्सो अनि फेरि उकालो । सानो टर्चलाइट थियो साथमा– युद्धकालमा पार्टी सामाग्री बुझेको बेला पाएको टर्चलाइट । जंगलको बाटो पस्नेबेलासम्म त झिसमिसे उज्यालो भएको थियो ।
त्यो जंगल – एक समय प्रत्येक रुखहरुले राता सिपाहीहरुलाई अभिवादन गरिरहेका हुन्थे । रुखमा फुर्र फुर्र उड्दै चराहरुले “हिँड योद्धा हिँड, तिम्रो मार्ग खाली छ ।” भन्दै चिर्बिर गरेका हुन्थे । अझ भित्रभित्रका झाडीहरुले अहिले पनि “ए, लालयात्री ! तिम्रा गीतहरु अचेल किन बज्दैनन् ?” भन्दै प्रश्नहरु तेस्र्याइरहेझैं लाग्थे ।
विश्वविजयलाई घरबाट हिँड्दा त कहाँ जाने होला भन्ने हेक्का थिएन । तर जसैजसै पाइलाहरु लम्कँदै गए , उसलाई विगतका थुप्रै थुप्रै बन्धुहरुको सम्झनाले तानिरहेको थियो ।
त्यो जंगलसँग ऊ सम्पूर्णरुपले परिचित थियो । हरेक बाटा, खोला, बोटबिरुवा सबै सबैसँग ऊ परिचित । त्यो अजंगको रुख । रुखको दाहिनेतिरबाट खनिएको सुरुङ्ग । सुरुङ्गभित्र झण्डै एकमहिनासम्म भण्डार गरिएका हतियारहरु ।
ओहो ! एकपटक त बैंक लुटेर जम्मा गरेको कयौं बोरा नोटहरु यही सुरुङ्ग भित्र राखिएको थियो । कति इमान्दार थियो विश्वविजय । बोराको मुख खोलेर एक रुपैयाँ पनि छोएन । त्यसो गर्नु महान क्रान्तिको अपमान ठान्यो उसले – अझ सर्वाहारा वर्गप्रति कै विश्वासघात ।
बोराबाट बिटाका बिटा नोटहरु चोरेर लानेहरु पनि थिए । भरत भन्ने एकजना त अहिले काठमाण्डौमा ठूलो घर बनाएर जग्गा बेचविखन गर्ने कारोबारी भएको थियो । हातमुख जोर्न समस्यामा परेको ठिटो, बन्दूक बोकेर हिँडे खानबाट बन्चित त हुइन्न कि भनेर सोच्ने केटो त्यो भरत । त्यस्ता नोटमाराहरु अरु पनि थिए । अहिले चुनावमा टिकट पाउँने कत्तिकत्ति त त्यस्तै नोटमाराहरु नै थिए– युद्धमा हिँडेको पनि देखिएको अनि पुगिसरो हुनेगरी जम्मा गरेको पैसाले चुनाव खर्च पनि व्यहोर्न सक्ने ।
विश्वविजय अगाडि बढ्यो । उसको मनमा गुरु आनन्दलाई भेट्ने तीब्र चाहना थियो । सम्पर्क गर्न मोबाइल फोन साथमा थिएन । घरमा एउटै मोबाइल फोन त थियो । त्यो पनि श्रीमतीलाई छाडेर आएको थियो विश्वविजयले । आफू जहाँ भएपनि फोन गर्न सजिलो होस् भनेर श्रीमतीलाई मोबाइल छोडेको थियो उसले । गुरु आनन्दको मोबाइल नम्बर त उसले सानो डायरीमा टिपेको थियो ।
जनसमरका बेला हरेक दिनको दैनिकी डायरीमा लेख्ने आदत् नै भएको थियो उसको । पार्टी शिक्षाभित्र दैनिकी, संस्मरण लेखन्लाई प्रोत्साहित गरिन्थ्यो । शान्ति प्रक्रियापछि, अब त डायरी लेख्ने आदत् पनि हराइसक्यो । के लेख्ने ?
बेलुकी हुन हुन लाग्दा चुरेको सेरोफेरोतिर आइपुग्यो ऊ । गुरु आनन्द यतै कतै बस्नुहुन्छ । उसले अरुलाई सोध्न चाहेन । विश्वविजयलाई एक डेढ महिना अघि गाउँको चुनावी राजनीतिमा सक्रिय एकजना पूर्व योद्धा महिलाले “गुरु आनन्द त फेरि संघर्ष पुर्नसंगठित गर्नुपर्छ भन्न पो थाल्नुभएको छ । अब सम्भव होला र ?” भनेर सुनाएकी थिइन् । त्यही भएर पनि उसले अरुलाई सोधेन । फेरि आपूm फरार अभियुक्त हो भन्ने कसैले ठम्याए भनें ! भन्ने डर पनि त थियो ।
ऊ यताउति भौतारिँदै हेर्न थाल्यो । साँझ परिसकेको त थियो तर पनि गुरु आनन्दलाई फोन गरेर आफू यतै आएको जानकारी दिन ऊ उत्सुक थियो । गुरु आनन्दलाई भेट्न नसके कुनै चौतारीमा ढल्कने बिचार पनि थियो उसको । आखिर जाडो गइसकेको समय थियो । चौतारीमा रात कटाउँन खास गाह्रो पनि हुन्न । उसले लामखुट्टेको टोकाईबाट बच्न थोरै नरिवलको तेल वा तोरीको तेल किन्न पाए हुन्थ्यो भन्ने सम्मको सोचाई बनायो ।
एउटा सानो किराना पसल जस्तो देख्यो विश्वविजयले । चाउचाउ, बिस्कुट, चकलेट राखेको काठको ¥याकमा टेलिफोन पनि देख्यो उसले । ऊ हतार हतार त्यतै लाग्यो ।
एक पाउ जति खुला नरिवलको तेल पायो उसले । यही मौकामा उसले टेलिफोन बाकसमा नम्बर थिच्यो ।
“हेलो, म विश्वविजय । रुकुमबाट भर्खर झरेको छु ।” उसले कुरा राख्यो फोन र मुख दुबैलाई देब्रे हातले पुरै छोपेर । पसलकी साहुनी बेलुकीको भान्छाको तयारीमा लागेकीले उसको कुरा सुन्न पनि भ्याइन ।
“ओहो, भाइ । कहाँ छौ ? म आइहालें स्कूटर लिएर…” गुरु आनन्दको प्रफुल्लित वचनले विश्वविजय पुलकित भयो ।
विश्वविजयले त्यो किराना पसलको बोर्ड हेरेर आफू भएको ठाउँ बतायो । गुरु आनन्द एकैछिनमा आए अनि विश्वविजयलाई लिएर घर पुगे ।
घरमा खाना तयार थियो । गुरु आनन्द एक्ला थिए, अविवाहित । समग्र जीवन क्रान्ति र परिवर्तनका लागि सुम्पेका थिए उनले । आफैं खाना बनाउँथे, खान्थे, जीवनका दर्शन पढ्थे अनि पुस्तकहरुका ठेलीहरु लेख्थे । उनलाई सत्ता, चुनाव, व्यक्तिगत महत्वाकांक्षा केही प्यारो थिएन । थियो त बस् सामूहिक स्वार्थ अनि साम्यवाद !
खाना खाइसकेर दुबैले भाँडा माझे अनि दुबैजना ओछ्यानमा पलेँटी मार्दै कुरा गर्न थाले ।
“गुरु आनन्द ! अबको बाटो कता ?” विश्वविजयले सोध्यो ।
“विश्व बाबु ! साम्यवादको बाटो लामो छ अनि कठिन तर पनि आशावादले त्यता डो¥याइरहन्छ ।” भावुक हुँदै भने गुरु आनन्दले ।
“लोकतन्त्र आयो भन्छन्, गणतन्त्र आयो भन्छन् अब त चुनावबाट जितेर जान सकिन्न र त्यो बाटोमा ?” विश्वविजयले धेरै कुरा बुझे पनि प्रश्न राख्यो ।
“बाबु, भेँडा र बाघलाई सँगसँगै स्वतन्त्रता दिन सकिन्छ र ! यो प्राकृतिक हुन्छ र !” गुरु आनन्दले मुग्ध भावमा भने । विश्वविजयले उत्सुक भएर सुनिरह्यो ।
“भेँडालाई स्वतन्त्रता दिन बाघलाई पासोमा हाल्नुपर्छ नै । दुबैलाई समान ढंगको स्वतन्त्रता दिन्छु भनेर कसैले भन्छ भने त्यो भेंडालाई अन्याय गर्ने कुरा हो । श्रम र पुँजीलाई समान हैसियत दिन्छु भन्नु भनेको पनि पुँजीको पैतालाले किचेर श्रमलाई राख्नु सरह नै ठहर्छ । श्रमिक र पुँजीपतिलाई उस्तै खाले स्वतन्त्रता दिएर समानता ल्याउँन बनाइएको संयन्त्र हो अहिलेको लोकतन्त्र र चुनाव । म यो दर्शन कदाचित मान्दिन ।” गुरु आनन्दले भने ।
“कुरा त ठीक हो तपाईँको । व्यवहारमा कति सम्भव छ ?” विश्वविजयले फेरि उत्सुकता पोख्यो ।
“विश्व बाबु, तपाईँको संघर्षको परिणाम हैन त यो लोकतान्त्रिक गणतन्त्र ?” गुरु आनन्दले प्रतिप्रश्न गरे ।
“म त त्यही भन्छु ।” विश्वविजयले उत्तर दियो ।
“तिमी यही लोकतन्त्रमा किन लुक्नुपरेको ? तिमी भेंडा भएका छौ । बाघको स्वतन्त्रता भएको लोकमा तिमी लुकेर हिँड्दैछौ । यति भन्नु नै पर्याप्त छैन र !” गुरु आनन्दको बर्ग विश्लेषणात्मक भनाईलाई विश्वविजयले मनमनै नमन् ग¥यो ।
“अब तिमी सुत । विहान कसैले नदेख्ने गरी तिमीलाई सीमा पारीसम्म छोडिदिन्छु । भारतमा केही साथीहरुको ठेगाना दिन्छु । उतै रोजगारी पनि मिलाउँछन् साथीहरुले । काम गर्दै परिवारलाई खर्च पठाउनु अनि एउटा अर्को समरका लागि विचारको खेती गरिरहनु ।” गुरु आनन्दले यति कुरा भने अनि कोठाको बत्ति निभाएर आफ्नो अलग्गै ओछ्यानमा सुते । विश्वविजय पनि ओछ्यानमा ढल्कियो । भोलि हिँड्ने बाटोको कल्पना गर्दागर्दै ऊ त भुसुक्क निदाएछ ।