काठमाडौँमा वर्षौं कचपल्टिएपछि ऊ बहिर्गमित भयो । त्यो स्वैच्छिक वा बाध्यात्मक तिरोधानले उसलाई काभ्रे पुर्यायो । काभ्रेबाट उसलाई कुनै हालतमा पनि ‘किक आउट’ हुनु थिएन । उसलाई जोडी बाँध्नु थियो । नाम र दाम कमाउनु थियो । त्योभन्दा बढी बहिर्गमनको पीडा भुल्नु थियो ।
चित्रे चियापसलमा ऊ दिनहुँ धाउन मात्र थालेन, रत्तिन र आफूले सिकेका कुरा ‘शेयर’ गर्न पनि थाल्यो । उसका कुरामा चाख लिने बढ्न थालेपछि उसको चिया खर्च पनि बढ्न थाल्यो । बेलाबेला चुरोट पनि खुवाउन थाल्यो स्थानीय युवाहरूलाई । उसलाई युवाहरूले निरन्तर पछ्याउन थाले ।
“ऊ गोल्ड मेडलिस्ट हो, नत्र आफ्नो विषयमा त्यत्ति पोख्त कसरी हुनसक्छ ।” पहिलो युवकले भन्यो ।
“ऊ युवा दार्शनिक हो नत्र जालन्धरदेखि जराथुस्त्रसम्म, सात्र्रदेखि शृङ्ग ऋषिसम्म, पुलस्त्यदेखि पल डि म्यानसम्मका कुरा जान्न सम्भव हुन्न ।” दोस्रो युवकले मत जाहेर गर्यो ।
“ऊ भाषाविद् हो नत्र कौमार्यता, अत्याधिक, अचम्मित, उपरोक्त जस्ता शब्द नै हुँदैनन् भनेर किन भन्थ्यो त ।” तेस्रो युवक उस्तै गरी प्रस्तुत भयो ।
“ऊ विश्लेषक हो नत्र सबाल्टर्नका सवालदेखि संरचनात्मक लाभांशसम्म, सामन्तवाददेखि साम्यवादसम्मका कुरा कसरी विश्लेषण गर्न सक्छ ।” चौथो युवकले तर्क राख्यो ।
“डायस्पोरादेखि पार्टिसन भायोलेन्ससम्म, कन्जुमर कल्चरदेखि सर्रियल पेन्टिङसम्म, म्याजिक रियालिजमदेखि डिजिटल मिनिमालिजमसम्म बुझाउन सक्ने ऊ प्रकाण्ड विद्वान हो ।” पाँचौँ युवकले अरुलाई सुनायो ।
काभ्रेको काउलेटारभरि उसको चर्चा मात्र भएन ऊ ‘भाइरल’ नै बन्यो । उसलाई आफ्नो संस्थामा आबद्ध गराउन कलेज, क्लब, सामाजिक संस्था, एनजिओ, नागरिक समूह सबै हात धोएर लागे ।
पाँचवटा विशेषणका पगरीले विभूषित ऊ भने आफूले कोरेको मार्गचित्र खेर नगएको खुशीयालीमा कृतज्ञभावका साथ नतमस्तक थियो यौनरोगले दिवङ्गत तालुखुइले चश्मावाल फ्रेन्च दार्शनिकप्रति जहाँ उनकै बीजवाक्यलाई ठूल्ठूला अक्षरमा लेखिएको थियो— ‘संकथनले शक्तिको सिर्जना गर्छ र शक्तिले सत्य जन्माउँछ ।’
(सुनसरी )