यो श्रद्धाञ्जलीको मौसम
नबजाउनू कतै
नौमती र पन्चैबाजाहरू
नकहनू विशिष्टहरूको सवाइ
चौतर्फी बजिरहेको शोक धुनमा
बरू थप्नू अलिकति
असन्तोषको राग
जनाउनू जिवन्तताको आभास ।
पत्रैपत्र बादलभित्रको
अनिश्चित घाम हेर्दै
अन्योल भएर
नकटाउनू आफ्ना अमूल्य प्रहरहरू ।
आफ्नै मनोमानीमा
सिर्जित गरिरहेछन् मालिकहरू
अनेकन अड्चन
भुटिरहेछन् हामीलाई
गरिबीको हाँडीमा
विभेदको महामारीमा
शासकहरू लोरीको
भिन्नाभिन्नै लय झिकेर
झुलाउने प्रयत्न गरिरहेछन्
हर बखत ।
गरेनौँ भने लोरीमा अवरोध
बजाउनेछन् उनैको अजम्बरी गीत
त्यसैले इन्कार गर्नू लोरी सुन्न
आदेश दिनू बन्द गर्न
अटेर गरे भने
चुँडाइदिनू इन्धनका तारहरू
लगाए भने धुरीबाट उर्दी
भत्काइदिनू धुरी नै ।
देखाउन पाएनन् भने कला
बौलाउन सक्छन् मालिक
बौलाए भने
बाँध्नू हातखुट्टा र थुन्दिनू
श्रीपेच झैं
तर, यो श्रद्धाञ्जलीको मौसम
नगाउनू जयगान र भक्तिभावहरू
नमनाउनू कुनै उत्सव
बरू, थप्नू शोक धुनमा
अलिकति वीर रस ।
प्रिय मानव
जुन बखत
भोकले ढल्न नपर्ला
नाम्लो सहित
सूर्य बहादुरहरू बीच सडकमा
जुन बखत रोकिएला
धर्मकुमारीको जस्तो
कहालीलाग्दो मरणको शिलशिला
त्यसै बखत मनाउँला
यौटा गहकिलो उत्सव
तर
रोइरहेको मोबाइलको स्क्रिनमा
नगर्नू कसैले सभ्यताकै मजाक
नदेखाउनू मौसम विपरीत चर्तिकला ।
प्रिय मानव,
जुन बेला दुत्कार्न नपर्ला
छाप लगाउने
आफ्नै अौंलाहरूलाई
मनाउँला राष्ट्रिय उत्सव
गाउँला सुन्दर जीवनगान
हो,यो श्रद्धाञ्जलीको मौसम
नमनाउनू कसैले मत्युउत्वस
बरू मिसाउनू शोकधुनमा
अलिक टाठो असन्तोषको भाव
दिलाउनू जीवन्तताको आभास
प्रिय मानव
तर,नगर्नू सभ्यताकै मजाक !
(बनस्थली)