(सुप्रसिद्ध प्रगतिवादी साहित्यकार श्री आनन्ददेव भट्ट पिसाबसम्बन्धी समस्या र छातीमा भएको इन्फेक्सनका कारणले विगत एक हप्ताभन्दा बढी समयदेखि चाबेलस्थित मेडिकेयर अस्पतालमा उपचाररत हुुनुहुन्छ । नेपालको उच्च शिक्षाका क्षेत्रमा उर्जाशील जीवनको लामो समय व्यतित गरेका भट्टज्यूको जीवनका अनेक पाटामध्ये राजनीति पनि एक हो, तर नेपालको मूल्य, मान्यता तथा नैतिकताहीन राजनीतिको फोहोरी खेललाई उहाँ आन्तरिक रूपमा घृणा गर्नुहुन्थ्यो । त्यसैको परिणाम हुनसक्छ २०६३ सालदेखि उहाँले आफू सम्बद्ध पार्टीको साधारण सदस्य समेत त्यागेर स्वतन्त्र नागरिकका हैसियतमा बाँकी जीवन गुजार्ने निर्याय लिनुभयो । मेरोे आफ्नो साहित्यिक रूचीको एउटा पाटो साहित्यकारहरूसित अन्तरङ्ग कुरा गर्नु पनि हो । २०७३ सालमा म साझा प्रकाशनको सञ्चालकमा निर्वाचित भएपछि डेढ वर्षजति ‘गरिमा’ मासिक साहित्यिक पत्रिकाको प्रधान सम्पादकका हैसियतले पत्रिका चलाउने काम पनि गरेको थिएँ । त्यही समयमा गरिमाका लागि विभिन्न साहित्यकारहरूसित अन्तर्वार्ता लिने सिलसिलामा भट्टज्यूसित समेत मैले अन्तर्वाता लिएको थिएँ । अहिले यति बेला उहाँ अन्तर्वाता दिन सक्ने अवस्थामा नभएको हुनाले त्यति बेला लिएको अन्तर्वाताले पनि उहाँका विषयमा धेरै कुरा उद्घाटित हुन्छन् होला भन्ने ठानेर ‘नेपाली साहित्य घर’ मार्फत यी विचारहरू बाहिर ल्याउने प्रयत्न गरिएको छ ।– हरिहर खनालको विशेष तिप्पणी)
यहाँको जन्म, प्रारम्भिक जीवन, पारिवारिक वातावरण, गाउँघर आदिबारे संक्षेपमा बताइदिनुहुन अनुरोध गर्दछु ।
मेरो जन्म संवत् १९९३ साल असोज २५ गते शनिबारका दिन जुम्ला जिल्लाको सदरमुकाममा बुबा श्री जयदेव भट्ट र आमा हीरादेवी भट्टको कोखबाट भयो । त्यति बेला मेरो बुबा जुम्ला अदालतको मुखिया पदमा हुनुहुन्थ्यो । मेरो पास्नी गरिसकेपछि बाजेले आमा र मलाई हाम्रो मूल घर बैतडीमा लैजानु भयो । अनि बाजेले नै मलाई साढे दुई वर्षको उमेरमा जुम्लाको सदरमुकाममा पु¥याउनु भयो । म पाँच वर्षको हुँदा जुम्लाबाट पाल्पा तानसेनमा बुबाको सरुवा भयो । अनि ६ वर्षपछि बुबाको प्यूठान अदालतमा सरुवा भयो । त्यस अघि पाल्पामा बस्दा मेरो एक बहिनी र दुई भाइको जन्म भइसकेको थियो । म जन्मेको ५ पाँच वर्षदेखि १३ वर्षको उमेरसम्म मेरो सम्पूर्ण बसाइ पाल्पामा नै भयो । त्यस बीचमा मेरो अक्षराम्भदेखि ८ कक्षासम्मको पढाइ तानसेनमै पूरा भयो । मेरो व्रतबन्ध भने १२ वर्षको उमेरमा प्यूठानमा भएको थियो ।
अनि यहाँको प्रारम्भिक शिक्षा कहाँ, कसरी, कस्तो परिवेशमा भयो ? प्राथमिकदेखि उच्च शिक्षासम्मको शिक्षा–दीक्षाबारे पनि जानकारी पाऊँ न ।
मेरो प्रारम्भिक अक्षरारम्भ पहिले एक जना साधारण गुरुबाट भयो । त्यसपछि मैले पाल्पा तानसेनकै सिलखान टोलस्थित नेपाली भाषा पाठशालामा पढेँ । श्री माधवप्रसाद देवकोटा त्यस पाठशालाको प्रधान अध्यापक हुनुहुन्थ्यो । त्यसपछि मैले अङ्ग्रेजी पढाउने शिक्षकको निर्देशनमा कोठे स्कुलमा पढेँ । त्यसपछि पाल्पा तानसेनमा २००४ सालमा ‘पद्मोदय’ पाल्पा पब्लिक हाईस्कुलमा पूरा ३ वर्ष पढेँ । त्यसै बेला मैले ८ कक्षा पास गरेँ । अनि मलाई मेरा साहिँला बुबा श्री लवदेव भट्ट पाल्पा अदालतको तहबिलदारको जागिर छोडी आफ्नो ससुरालीमा आउनु भएकाले म पनि उहाँसँगै कालिकास्थानमा बस्न र अध्ययन गर्न थालेँ । नौ कक्षासम्म मैले पद्मोदय हाईस्कुलमा पढेँ र १० कक्षा पढ्ने बेला मैले दरबार हाईस्कुलमा पढेँ र त्यहीँबाट म्याट्रिक पास गरेँ । त्यसपछि साहिँला बुबा लवदेव भट्टज्यू बेग्लै डेरा गरी बस्न थाल्नु भएकोले म पनि उहाँसँगै बसी त्रिचन्द्र कलेजमा आई. ए. मा पढ्न थालेँ । २००७ साल फागुन ७ गते उप्रान्तदेखि २०१० सालभित्र मैले आई. ए. को सप्लिमेन्टरी परीक्षा पूरा गरँे । म २००८ सालको मध्यसम्ममा नेपाल कम्युनिस्ट पार्टीको सङ्गठित सदस्य भइसकेको थिएँ । त्यसैले मलाई सरकारी रात्रि कलेज (नेपाल नेशनल कलेज) मा पढ्नुपर्ने अनिवार्यता थियो भने अर्कोतिर उही कम्प्युनिस्ट पार्टीले दिएको पार्टी सङ्गठन सम्बन्धी काममा व्यस्त रहनु पथ्र्यो । त्यसमा थप मैले केही आय आर्जन पनि अनिवार्य रूपले गर्नु परेकाले (कारण मसँगै दुई जना भाइहरू— भीम र अर्जुन पनि थिए) म दिउँसो विश्व निकेतन हाईस्कुलमा ९ र १० कक्षाका विद्यार्थीलाई पढाउथेँ पनि ।
त्यसपछि ‘नेपाल नेशनल कलेज’ मा (रात्रि कलेज) बी. ए. र एम्. ए. तहको पढाइ सम्पन्न गरी म र मेरा साथी जर्जजोन दुवैले सँगै अङ्ग्रेजीमा एम्. ए. पास ग¥यौँ । त्यसपछि म २०१७ साल साउनदेखि धनकुटा डिग्री कलेजमा र पछि धरानस्थित महेन्द्र डिग्री कलेजमा अङ्ग्रेजीको प्राध्यापकको रूपमा पढाउन थालेँ । अनि मैले २०२२ माघदेखि २०२९ सालसम्म वीरेन्द्र इन्टर कलेजमा प्रिन्सिपलको हैसियतले पढाएँ । त्यसपछि नयाँ शिक्षा योजना लागू भएपछि मेरो पोस्टिङ त्रिभुवन विश्वविद्यालयले सुरुका ५ वर्ष पाठ्यक्रम विकास केन्द्र, त्रि. वि. मा र पछि अरू १० वर्षसम्म पा. वि. के. को उपनिर्देशकको रूपमा त्यसै पा. वि. के. मा सेवा गरेँ । त्यसपछि त्रि. वि. को केन्द्रीय अङ्ग्रेजी शिक्षण विभागले मलाई त्रि. वि. को अङ्ग्रेजी शिक्षणका निम्ति अनुरोध गरेकाले मैले २ वर्ष त्यहीँ पढाएँ । त्यसपछि मैले त्रि. वि. मा ३३ वर्षको शैक्षिक सेवाबाट स्वेच्छिक अवकाश लिएँ ।
यहाँलाई नेपाली समाजका सचेत नागरिकहरूले उच्च शिक्षाका क्षेत्रमा विशिष्ठ योगदान पु¥याएका शिक्षाविद्, नेपाली वाङ्मय क्षेत्रका सुपरिचित समालोचक, कवि, निबन्धकार तथा निर्भिक र प्रखर वक्ताका रूपमा चिन्दछन् । यहाँको यस्तो व्यक्तित्व निर्माणका पछाडिको वातावरण, परिवेश आदिबारे आफ्ना पाठक र शुभचिन्तकहरूको जानकारीका लागि विस्तृतमा बताइदिनुहोस् न ।
यस बुँदामा तपाईंले उल्लेख गर्नुभएझैँ सचेत नागरिक, उच्च शिक्षाक्षेत्रको एक शिक्षाविद्, समालोचक, कवि, निबन्धकार, सुस्पष्टवक्ता आदि गुणहरूको जुन कुरा गर्नुभयो त्यसका निम्ति आभार प्रकट गर्दछु । यस्तो वातावरण प्राप्त गर्नुका पछाडि अत्यन्त गुणग्राही र उदार परिवेश भएका व्यक्तित्वहरूको आर्शीवाद हुनुपर्छ भन्ठान्छु । नत्र भने कैयन् सक्षम र क्षमता सम्पन्न व्यक्तित्वहरूलाई पनि अर्काका गुणहरूको आधारभूत मूल्याङ्कन गर्न गाह्रो परेको अनुभव गर्न सकिन्छ । साथसाथै सत्यको अनुभूति पाएपछि पनि धेरे निर्मल चित्तका मानिसलाई स्वयं प्रसन्नता दिलाउने विषय पनि बन्छ ।
आम नेपाली नागरिकहरूका लागि शिक्षाको उचित अवसर नभएको समयमा जन्मेर पनि उच्च शिक्षा हासिल गर्नुभयो । त्यसमा पनि अङ्ग्रेजी विषयमा । यो कसरी सम्भव भयो र अङ्गेजी विषय नै पढ्न कुन कुराले अभिप्रेरित ग¥यो ?
मैले उच्चशिक्षा हासिल गर्ने अवसर प्राप्त हुनुमा र साथै अङ्ग्रेजी विषय पढ्न पाउनुमा सर्वप्रथम त मैले ५—१० वर्षको उमेर बीचमा जसरी पाल्पा तानसेन र त्यसपछि काठमाडौँमा आई अङ्ग्रेजी विषय पढ्न पाएँ; त्यसले पहिलो जग हालेको हुनुपर्छ । त्यसपछि जब मैले म्याट्र्कि पास गरी त्रिचन्द्र कलेज र नेपाल नेशनल कलेजमा अङ्ग्रेजी विषय लिई अध्ययन गर्ने मौका पाएँ त्यसले मलाई स्वस्पूmर्त रूपमै अङ्ग्रेजीमा एम्. ए. गर्ने मौका दियो । त्यसपछि सन् १९८१—८३ सम्म त्रिभुवन विश्वविद्यालयले मलाई शिक्षामा एम्. एड्. गर्ने मौका दियो । त्यसले पनि मलाई आफ्नो लक्ष्यलाई कसै गरे पनि प्राप्त गर्नुपर्छ भन्ने प्रेरणा दिएको हुनुपर्छ । मेरो ः। भ्म को दोस्रो वर्षमा बुबाको निधन हुँदा पनि म आफ्नो अन्तिम लक्ष्यबाट विचलित हुनबाट बचेँ । यस प्रसङ्गमा हामी ‘नेपाल नेशनल कलेज’ का विद्यार्थीहरूले प्रा. शङ्करदेव पन्तज्यूमा जति श्रद्धा प्रकट गरे पनि थोरै नै हुन्छ ।
साहित्य सिर्जनाप्रति रुचि र आकर्षण कसरी बढ्न गयो ? कसैबाट प्रभावित भएर लेख्न थाल्नुभयो कि स्वतःफूर्त रूपमा ?
साहित्य सिर्जनाप्रतिको रुचि मभित्र मूलतः केही न केही अंशमा भित्रैबाट टुसाउन खोजेको हुनुपर्छ । त्यसपछि कुनै व्यक्तिले त्यसको अव्यक्त आह्वानलाई समात्छ भने उसले त्यसको मिठासलाई अनुभव गर्न थालिहाल्छ होलाझैँ लाग्छ । तर त्यसपछि जब एउटा चिन्तनशील मानिस आफ्नो विचार र भावनाबारे घोत्लन थाल्छ उसले अवश्य पनि एउटा न एउटा विषय नभेट्टाई छोड्दैन ।
यहाँले कविता, काव्य, समालोचना, निबन्ध, दर्शन आदि सबै विषयमा कलम चलाउनुभएको छ । यहाँको सिर्जनाको प्रिय विधा कुन हो र किन ?
अवश्य हो मैले एकदुई मात्र होइन अनेक विषयमा कलम चलाइरहेको छु । तर मेरो सिर्जनाको प्रिय विषय त समालोचना र निबन्ध नै हो भन्ने प्रस्ट छ जस्तो लाग्छ ।
एक जना कुशल अनुवादकका रूपमा समेत यहाँको नाम आदरका साथ लिने गरिन्छ । लेखकीय जीवनको प्रारम्भिक चरणमा नै ‘जनताको शत्रु’ नाटक अनुवाद गर्नुभयो । त्यो अनुवादकार्यका लागि कहाँबाट प्रेरणा मिल्यो ? अनि हाल मुद्रण बाहिर रहेको त्यसको अन्तर्वस्तुबारे जान्न चाहने हाम्रा पाठकको जिज्ञासालाई कसरी शान्त गर्ने होला ?
‘जनताको शत्रु’ नाटकको अनुवाद मैले धेरै विषयसित तुलना नगरेर नै गरेको हुँ । त्यही बेला म एम्. ए. को परीक्षाको मुखमा पनि थिएँ । तर इब्सेनको यो नाटक जब मैले पढेँ, कुन्नि किन हो एकैपल्ट त्यसले मलाई आकर्षित ग¥यो । त्यसैले हुनुपर्छ— मैले इब्सेनको बारेमा केही वैचारिक कुराको पनि चर्चा गरेको छु । यो नाटक मन परिसकेपछि मैले प्रा. शङ्करदेव पन्तज्यूलाई आफ्नो इच्छा व्यक्त गरेँ । उहाँले पनि सहर्ष स्वीकार गर्नु भो र मैले त्यसलाई पूरा गरी छपाएको हुँ । सर्वप्रथम त ‘साझा प्रकाशन’ ले यसलाई पुनः मुद्रण गरिदिएमा एक समाधान आफै हल हुन्छ । दोस्रो इच्छुक पाठकले इब्सेनको ‘ग्रन्थ सागर’ बाट छानेमा पूर्ण सन्तोष हुनेछ ।
नेपाली साहित्यको समकालीन स्थितिलाई कसरी अध्ययन गरिरहनु भएको छ ?
नेपाली साहित्यको समकालीन स्थितिलाई मैले सकारात्मक रूपले अघि बढ्दै गरेको अनुभव गरिरहेको छु । २००७ सालभन्दा अगाडि नेपाली साहित्यको विकासक्रम निकै सामान्य गतिमा अघि बढिरहेको पाइन्थ्यो भने २००७ को एक दशकमै त्यसले विशेष गतिशीलता प्राप्त गर्दै गयो । २०१७ साल पुस १ गतेउप्रान्त देशको राजनीति र अन्य सबै क्षेत्रमा एक किसिमको अवरोध उत्पन्न भयो तापनि नेपाली जनताको चेतना २०४६ सालसम्म आइपुग्दा डबल गतिले अघि बढ्दै गएको देखियो । त्यसपछि २०४६ उप्रान्त प्रत्येक दशकमा नेपाली साहित्य र साहित्यकारहरूको उत्साह, उमङ्ग र साहित्यका क्षेत्रमा आउनुपर्ने अनेक नयाँ प्रयोगहरू पनि राष्ट्रिय चेतनामा थपिँदै गए । यसरी २००७ साल उप्रान्त गति लिँदै गरेका साहित्यिक प्रयोग र चेतनालाई हेर्दा हाम्रो राष्ट्रकै समग्र चेतना प्रत्येक दशकमा क्रमिक रूपले प्रगतिउन्मुख बनी अघि बढ्दैछ । अझ देशमा राजतन्त्रको अवसान भएपछि त समग्र नेपालीको चेतनामा एउटा विस्मयकारी गुणात्मक परिवर्तन आउने शुभ लक्षण देखिँदै छ ।
नेपाली भाषा विषयमा हाल चलिरहेको विवादलाई कसरी हेरिरहनुभएको छ ? समाधानका उपायहरू के होलान् ?
नेपाली भाषा विषयमा चलिरहेको विवादलाई मनन गर्दा त्यो व्यावहारिक रूपमा दुःखलाग्दो र अप्रिय कुरा लाग्छ । तर साथसाथै सम्पूर्ण जगतको गतिशीलता र त्यसमा पनि प्रबुद्ध र सन्तुलित चिन्तनको प्रकाशमा हेर्दा हामीले साह्रै धेरै चिन्तित हुनु पर्नेजस्तो लाग्दैन । विश्वको अस्तित्व नै द्वन्द्वमय भएकाले प्रत्येक कुराको पक्ष र विपक्षले वर्तमानलाई गम्भीर रूपले प्रभाव पारेको हुन्छ । मानवजातिमा जतिसुकै कमीकमजोरी भए तापनि अन्तमा त्यसै द्वन्द्वले एउटा नयाँ प्रगतिउन्मुख बाटो समात्ने हुनाले लामो यात्रामा विवेक पक्षकै निर्णय स्वीकार्य हुनेछ भन्ने अनुमान गरेको छु ।
एक समय यहाँले प्रगतिशील लेखक सङ्घको केन्द्रीय अध्यक्ष भएर कार्य गर्नुभयो । प्रगतिशील लेखक सङ्घले ‘प्रतिभा पुरस्कार’ वितरण गर्ने गरी एक लाख राशीको अक्षयकोशसमेत स्थापना गर्नुभयो । अनि केही वर्ष अगाडिदेखि शहीद दशरथ चन्दको नामसित जोडेर चितवनमा पनि दुई लाख राशीको अक्षयकोश स्थापना गरेर एउटा पुरस्कार दिँदै आउनुभएको छ । त्यस्तो महŒपूर्ण नामसित जोडिएको पुरस्कारलाई किन जिल्लास्तरमा सीमित गर्नु प¥यो ? अनि केही समय यता आएर प्रलेस प्रतिभावान र सक्षम साहित्यकारहरूको सङ्गमस्थल भन्दा पनि अवसरको खोजीमा लागेका पार्टी कार्यकर्ताहरूको जमघटको थलोका रूपमा विकसित हुँदै गएको कटु टिप्पणी हुने गरेको सुनिन्छ । यस विषयमा यहाँको धारणा के छ ?
शहीद दशरथचन्दसँग जोडिएको चितवनमा स्थापित पुरस्कारलाई किन जिल्लामा सीमित गर्नु भएको ? भन्ने प्रश्नबारे म यति मात्रै भन्न चाहन्छु— राम्रा र महङ्खवपूर्ण कुराहरू कुनै ठाउँ विशेषमा मात्रै सीमित गर्नुभन्दा छरेर सबैतिर स्थापित गर्न सकेमा सबै क्षेत्रका मानिसलाई अझ बढी श्रद्धा र आस्था हुने मौका पर्दो हो भन्ने मेरो विचार हो । अनि त्यस्तै प्रलेस (प्रगतिशील लेखक सङ्घ) ‘प्रतिभावान् र सक्षम साहित्यकारहरूको सङ्गमस्थल’ भन्दा ‘अवसरको खोजीमा लागेका पार्टी कार्यकर्ताहरूको थलोको रूपमा विकसित हुँदै गएको’ भन्नेबारे म के मात्रै भन्छु भने जुन बेलामा जुन व्यक्ति वा समूहको हातमा कुनै महङ्खवपूर्ण जिम्मेवारी हुन्छ त्यसले आफ्नो जिम्मामा रहेको कामलाई कसरी सदुपयोग वा दुरुपयोग गर्छ भन्ने कुरामा भर पर्छ । त्यसैले यस्ता प्रश्नहरू उठेका बेला संस्थासित सम्बन्धित जिम्मेवार व्यक्ति वा व्यक्तित्वहरूले नै त्यसको समाधान निकाल्नुपर्ने हुन्छ ।
अनि प्रज्ञा प्रतिष्ठानहरूका स्वरूप, गठन प्रक्रिया, कार्यप्रणाली, भूमिका आदिबारे यहाँको धारणा के छ ?
नेपालमा अहिले प्रतिष्ठित संस्थाको रूपमा तीनवटा प्रज्ञा प्रतिष्ठान छन् । तर तिनका पदाधिकारीहरूको चयन विधि हेर्दा तिनमा आधारहरू प्रस्ट छैनन् । त्यसैले अब ती तीनै संस्थाका पदाधिकारीहरूको नियुक्ति वा चयन गर्दा तिनका चाख, योग्यता, सीप, गुण, विशिष्टता र अहिलेसम्म गरेका कामको पृष्ठभूमिलाई ध्यानमा राखी तिनको नियुक्ति हुनुपर्छ ।
नेपाली साहित्यमा केही समय यता डायस्पोरा साहित्यका विषयमा निकै चर्चा, परिचर्चा, विमर्श हुने गरेको छ ? खासमा डायस्पोरा साहित्य भनेको के हो ? यो बहसको विषय हुनु आवश्यक छ कि छैन ?
डायस्पोरा साहित्य त्यस्तो साहित्यिक लेखन हो जसले आफ्नो जन्मभूमिलाई छोडेर विदेशमा घरद्वार गर्न थालेको छ । कुनै पनि देशका मानिसहरू आफ्नो जन्मभूमिको मूल थलो छोडेर विदेश बस्न थाले र तिनले आफ्नो घरजम विदेशमै बसाए र त्यहीँ उनीहरूले आफ्नो मूल मातृ भाषामा साहित्य सिर्जना गर्न सुरु गरे भने उनीहरूले डायस्पोरा साहित्यको निर्माण गर्न थालेको ठान्नुपर्छ । अब यस्तो साहित्यलाई बहसको विषय बनाउने कि नबनाउने भन्नेबारे अमुक लेखक÷लेखकहरूले नै निर्णय गर्ने कुरा हो । तर एउटा सत्यतथ्य के देखिन्छ भने मान्छेले आफ्नो एउटा मातृभूमि छोडी अर्को देशलाई मातृभूमि बनायो भने उसले आफ्नो मातृ भाषालाई चाहिँ अत्यन्त सचेत, सजग र संयमित भएर आफ्नो भाषाको प्रयोग गर्नुपर्ने हुन्छ । तर अथक रूपमा यसरी मानिसको आफ्नो मातृभूमिबाट बसाइँसराइ नभई डायस्पोरिक साहित्य अघि बढ्ने निक्कै कम सम्भावना देखिन्छ ।
अनि उत्तर आधुनिकताका विषयमा पनि नेपाली साहित्यमा अत्यधिक चर्चा हुने गरेको छ । यो के हो र नेपाली साहित्यमा यसको बहस जुन मूल्य र मान्यतामा भइरहेको छ त्यसको मूल्यवत्ता के देख्नुहुन्छ ?
उत्तरआधुनिककता नेपाली साहित्यमा प्रवेश गरेको एउटा नयाँ लेखनशैली र सीप हो जसले नेपाली साहित्यलाई जतिसक्दो छिटो अन्तरराष्ट्रिय साहित्यको नजिक लैजान बल गर्दै गरेको देखिन्छ । विशेष गरी यसले जगतको नवीनतम लेखन र चिन्तनशैलीलाई अँगाल्न खोजेको देखिन्छ । तर कुनै पनि भाषा र साहित्यमा बाहिरी भाषा साहित्यको प्रभावले त्यसलाई सजीव र जीवन्त बनाउन सक्दैन । त्यसैले जुनसुकै भाषाभाषी लेखक÷लेखिकाले पनि जतिसुकै नवीनता र विलक्षणताको अभिनय गर्न खोजे पनि त्यसको जीवन्तता उसले खोजेको जीवन्तता र हार्दिकता ग्रहण गर्न सक्छजस्तो लाग्दैन । त्यसैले डायस्पोरिक साहित्यले पनि आफ्नो सशक्तता र गरिमालाई उठाउन आधारभूत रूपमा आफ्नै समाजको इतिहास र साहित्य साधनालाई विशेष ध्यान दिनु उचित हुन्छजस्तो लाग्छ ।
आजकल यहाँको दैनिकी कस्तो छ ? समय कसरी बितिरहेको छ ?
आजकल मेरो दैनिकी दैनिक पत्रपत्रिका र केही साहित्यतिर आकर्षित हुनमा सीमित छ । म सबै किसिमले धेरै दुर्बल र ग्लानीले युक्त अनुभव गर्छु । मेरो स्मरणशक्ति धेरैधेरै नै घटिसकेको छ र धेरैजसो म उदासीनताको सिकार भइसकेको छु । ममा आत्मविश्वासको असाधारण ह्रास हुँदै गएको अनुभव गर्दछु । मेरो निद्रा पनि निक्कै बढेको छ । त्यसैले पनि ममा आलस्यले घर गरेको छ ।
यहा“को ख्याति विशेष अवसरको रेकर्ड गर्ने कविका रूपमा पनि स्थापित छ ? नेपालमा सहिदकाण्ड घटेको केही समयपछि ‘९७ साल’ काव्य लेख्नुभयो । रसियाका अन्तरिक्ष यात्री युरी एलिक्स एभिच गागारिनले चन्द्रमामा पाइला टेकेपछि उनकै नामको शीर्षकमा काव्य सिर्जना गर्नुभयो । यी विशेष अवसरहरूलाई पक्रने अभिप्रेरणा कसरी, कहा“बाट मिल्यो ?
वास्तवमा मलाई सानैदेखि भनौँ ९७ सालका शहीदहरूप्रति धेरै श्रद्धा र आकर्षण उत्पन्न भएको थियो । त्यसैले मैले९७ साल नामको काव्य तयार गरेँ । त्यसपछि मलाई गागारिनको चन्द्रमामा पर्दापणले आकर्षित ग¥यो र गागारिन काव्य तयार भयो । अनि जब मैले २००६ सालमा पाल्पाबाट काठमाडौँमा प्रवेश गर्न पाएँ त्यसले मलाई २००७ देखि २०१७ सम्मको राजनीतिक, बौद्धिक, सामाजिक, साहित्यिक र सांस्कृतिक वातावरणसँग एक्कासि सम्पर्कमा ल्यायो । त्यसैले मैले आपूmलाई धेरै फुकाउन पाएँ । त्यसका निम्ति डा. त्रैलोकनाथ उप्रेतीज्यूको घर र परिवार मेरा उन्मुक्तताका आधार बन्न गए । अझ अर्को शब्दमा भन्दा मैले २००७ सालदेखि २०१७ सालका बीचमा काठमाडौँ उपत्यकामा बस्ने मौका पाएकाले मलाई त्यति बेलैदेखि राजनीतिक, सामाजिक, सांस्कृतिक र साहित्यिक रूपले पनि स्वस्पूmर्त रूपले अघि बढ्न सघायो ।
धनकुटा, धरान र चितवनमा यहाँले उच्च शिक्षाका क्षेत्रमा पु¥याएको योगदानको सम्बन्धित सबैले मुक्त कण्ठले प्रशंसा गर्छन् । तर तत्कालीन अवस्थामा सरकारले भने ती सबै ठाउँमा यहाँलाई हैरान पारेको र पटकपटक गिरफ्तार गरेर दुःख दिएको सुनिन्छ । यसबारे हाम्रा पाठकहरूको जिज्ञासा कसरी शान्त गर्ने होला ?
अवश्य पनि म धनकुटा, धरान र चितवनमा बस्दा मलाई सरकारका नजरमा सधैँ प्रशासन विरोधीका आँखाले हेरियो । मैले धनकुटाको कलेजमा एउटा कविता पाठ गरेको थिएँ । तर त्यहाँको कार्यक्रम समाप्त भएपछि त्यहाँ उपस्थित एक प्रहरी अधिकृतले भनेछन्— “त्यस ठाउँको सट्टा अरू ठाउँमा त्यो कविता पाठ गरेको भए म उनलाई सरासर पक्रेर थुनिदिने थिएँ ।” अनि त्यस्तै धरान महेन्द्र कलेजमा पढाउन थाल्दा प्रशासनले त्यसका विद्यार्थीमाथि अमानवीय लाठीचार्ज गर्दा धरानबजारमा जुलुसै निकालिदिएको थिएँ । त्यस बखत म विराटनगर जेलमा ३ महिना थुनिएपछि तत्कालीन गृहमन्त्रीले छोड्नै प¥यो । त्यसमा मलाई धेरै सराहना गरियो । अनि त्यस्तै चितवनको वीरेन्द्र कलेजमा म प्रिन्सिपल हुँदा मलाई कुनै पनि सूचना नदिई प्रहरी कार्यालयमा राखियो र काठमाडौँको भद्रगोल जेलमा १ महिना थुनियो । तर पछि कीर्तिनिधि विष्टज्यूको प्रधानमन्त्रीत्वको समयमा मलाई बिनासर्त छोडियो । त्यस्तै २०२८ सालमा राजा महेन्द्रबाट मैले दर्शन भेट पाएँ । अनि मलाई सोधिएका अनेक प्रश्नमध्ये एक थियो— तिम्रो दृष्टिमा अहिलेको गतिविधि कस्तो लाग्छ ? मैले जबाफ दिएँ— सरकार कि त देशमा राज्यव्यवस्था ढङ्गले सञ्चालन हुनु प¥यो कि भने जनताको नासो जनतालाई नै फर्काइदिनु प¥यो । यही चालको राज्य सञ्चालन हो भने त ‘सरकार म त ताजमै खतरा देख्छु ।’ तर त्यसपछि राजा महेन्द्रको निधन पनि भयो र पछि २०६३ मा राजसंस्था नै समाप्त भयो ।
जिन्दगीभर गणतन्त्रका लागि लड्नुभयो । अहिले देशमा सङ्घीयतासहितको गणतन्त्र आइसकेको छ, तर सर्वसाधारण जनताको जीवनस्तरमा खासै सुधार आएको देखिएको छैन । देश हरेक क्षेत्रमा पराधीन हुँदै गएजस्तो देखिएको छ । किन यसो भएको होला ?
यस प्रश्नबारे धेरै कुरा गर्न सकिन्छ । तर मूल कुरो के हो भने जबसम्म देशको समग्र राज्यसत्ताले नेपाली जनताप्रति आफ्नो कर्तव्यको ख्याल गर्दैन तबसम्म देशको राजनीति कुनै हालतमा पनि सही ठाउँमा आउन सकदैन ।
२०४६ सालको पोखरा काण्डबारे यहा“ले त्रिचन्द्र कलेजको सरस्वती सदनमा दिएको बहुचर्चिच वक्तव्य र त्यसको परिवेशबारे अलिकति प्रकाश पारिदिनुहोस् न ?
२०४६ सालमा पोखरा काण्ड हुँदा मूलतः स्थानीय प्रशासनले पृथ्वीनारायण क्याम्पसका छात्रछात्राहरूमाथि धेरै नै अमानवीय व्यवहार गरेको थियो । त्यो दृश्य देख्दा र त्यहाँका छात्रछात्राको बयान सुन्दा सो कार्य अत्यन्त अमानवीय र भत्र्सनायोग्य अनुभव भएको थियो । त्यस बेला प्रा. वि. सी. मल्ल, म र प्रा. कृष्ण खनालसमेतले पृथ्वीनारायण क्याम्पसमा त्यस घटनाको विरोधमा जोडदार आलोचना र भत्र्सना गरेका थियौँ । अनि पोखराबाट फर्केपछि पोखरा क्याम्पसको उक्त प्रशासनिक कार्यको निन्दा गर्ने सिलसिलामा मैले त्रिचन्द्र कलेजको पश्चिमी कम्पाउन्डबाट प्रस्टै बोलेको थिएँ— त्यहाँ (पोखरा क्याम्पस) मा त्यस्तो अमानवीय घटना नघटेको भए म आफ्नो गर्दन चढाउन तयार छु ।
समकालीन लेखकहरूका कृतिहरू कत्तिको अध्ययन गरिरहनुभएको छ ? आफूलाई मन पर्ने स्वदेशी र विदेशी लेखकहरू को को छन् ? अनि अहिलेका लेखकहरूलाई भन्नुपर्ने खास कुनै कुरा छन् कि ?
समकालीन लेखकहरूको अध्ययन मबाट साह्रैसाह्रै थोरै मात्रामा मात्र भइरहेको छ । त्यसैले पनि हुनुपर्छ मेरो स्वदेशी र विदेशी लेखकहरू विगत २–३ दशकका लेखकहरू नै हुन् । अनि अहिलेका लेखकलाई भन्नुपर्ने धेरै कुरा पनि छैनन् । मेरा यी दुर्बलताका पछाडि मुख्य कारण के छ झैँ लाग्छ भने म सुरुदेखि नै अति सामान्यतामा हराएछु र लेखकहरूका माझमा सघन प्रतिस्पर्धा गर्न सक्नुपर्छ भन्ने कुराको चेतनासमेत मैले गहिरोसित लिन सकेको रहेनछु । त्यसैले मैले अहिलेका लेखकलाई के भन्न मन छ भने बरु थोरै नै अध्ययन गरिए पनि त्यसको ग्रहणशीलता निक्कै दरिलो हुनुपर्छ भन्ने चेत लिनु निक्कै उपयोगी र आह्लादक हुन्छजस्तो लाग्छ ।
जिन्दगीभर साहित्य सेवामा लाग्नुभयो, तर ठूला भनिएका पुरस्कारले त देखेनन् । अनि ठूला भनिएका पुरस्कारहरू प्रभावपरक छन् भन्ने आम चर्चाबारे यहा“को मत के छ ?
मैले जिन्दगीभरिमा जेजति पुरस्कार पाएँ त्यसैमा सन्तुष्ट छु । कारण प्रस्ट छ— जो प्रतिभावान्, कठोर परिश्रमी र लगनशील छ ऊ नै त्यस्ता पुरस्कारहरू पाउन योग्य हुन्छ । अनि ठूला भनिएका पुरस्कारहरू प्रभावपरक छन् भन्ने भनाइमा म अवश्य केही सत्यता हुनुपर्छ भन्ठान्छु । किनभने समाजमा ज्यादै थोरै मानिस मात्र अत्यन्त उद्यमी र सद्विचारले युक्त हुन्छन् ।
आफ्ना कृतिमध्ये सबैभन्दा प्रिय कृति कुनलाई मान्नुहुन्छ ? किन र कसरी ?
म आफ्ना कृतिहरूमा सबभन्दा प्रिय कृति ‘समीक्षा’ र ‘आत्मपरक निबन्धहरू’ लाई नै मान्दछु । किनभने तिनमा म आफ्ना अभिव्यक्ति खुलस्त किमिसले आएको अनुभव गर्छु र तिनलाई धेरै पाठकले पनि केही मूल्य दिएको अनुभव गर्छु ।
आजका नेपाली साहित्यिक पत्रिकाहरूले बेहोर्नु परेका समस्याहरू के के होलान् र तिनको निराकरण गर्न के गर्नु पर्ला ? अनि गरिमालाई दीर्घजीवी र जनप्रिय बनाउन के सुझाव दिनुहुन्छ ?
आजका नेपाली साहित्यिक पत्रिकाले बेहोर्नु परेका समस्याहरूमा सबभन्दा पहिलो समस्या हो सही काम गर्ने व्यक्तिलाई सही कामको जिम्मा नदिनु । अनि दोस्रो समस्या चाहिँ उसले गरेको इमानदारीपूर्ण कार्यलाई सही मूल्याङ्कन नगरिदिनु । र अन्तमा जसरी हुन्छ आपूmले प्राप्त गरेको सत्ताको दुरुपयोग गर्नु । त्यसैले मेरो विचारमा इमानदार र समर्थ मानिसलाई छनोट गरी उसका माध्यमबाट बौद्धिक÷साहित्यिक कार्य गर्नु सबभन्दा राम्रो र सबल काम हो । अझ ‘गरिमा’ पत्रिकालाई दीर्घजीवी र जनप्रिय बनाउ उसको लामो जीवनको इतिहासबाट नगद नगद शिक्षा लिई त्यसकै आधारमा पत्रिकालाई गति प्रदान गर्नु सबभन्दा बढी उपयोगी र सार्थक प्रयास हुनेछ ।
आफ्नो अमूल्य समय दिएर शालीनतापूर्वक मेरा प्रश्नहरूको उत्तर दिई मनमा उठेका मेरा जिज्ञासालाई शान्त पारिदिनु भएकोमा हार्दिकतापूर्वक आभार व्यक्त गर्दछु ।
श्री हरिहर खनालज्यूले ‘गरिमा’ पत्रिकाका सन्दर्भमा यी प्रश्न सोधी मलाई आफ्नो मन्तव्य प्रकट गर्ने मौका दिनुभएकोमा म हृदयदेखि नै धन्यवाद दिन्छु ।