२०२२ सालतिरको कुरो हो ।
नरनाथ सिटौला बाजे उतिबेला ७ गाउँ कहलिएका पण्डित थिए । सप्ताहदेखि एकाहसम्ममा उनै हुन्थ्ये व्यासासनमा । उनका सात भाइ नै यजमानी गर्थ्ये ।
नरनाथका २ सुपुत्र र ३ सुपुत्री थिए । उनले माइला र कान्छालाई काशी बनारसमा वेदाङ्ग पढ्न पठाएका थिएँ । दशैंको चहलपहल शुरु भइसकेको थियो नरनाथका माइला सुकदेव र कान्छा नरपति काशीबाट दशै मान्न घर आए । आधुनिक शिक्षा अनि वनारसको क्रान्तिकारिताले छोएका कान्छा नरपति हठी खालका थिए ।
सिरान चौरमा रोटे पिङ हालिएको थियो । गाउँका तन्नेरी सबै थिए । नरपति पनि । सिरान चौरको पधेँरामा नेप्टी नेपालीकी छोरीले भरेर ल्याएको पानी उनले जवरजस्त पिए । र त्यही निहूँमा अस्टमीको दिनमा पण्डित नरनाथले छोरा नरपतिलाई गाउँ निकाला गरे ।
तत् समयमा नरनाथको त्यो कदमको चौतर्फी तारिफ पनि भयो र उनको रवाफ पनि बढ्यो । सुनियो नरपति पश्चिम नेपालतिरै पलायन भए रे ।
कालान्तरमा ३३ सालतिर नरनाथ परलोक गए । माइला छोरा पण्डित भइसकेका थिए । पढेका पण्डित । ३५ सालमा उनले विवाह गरे । उनका ३ भाइ छोरा र २ बहनी छोरी भए । सबै छोराछोरी राजधानीमा पढ्न थाले ।
यता नेप्टी नेपालीका नातिहरु पनि पढ्ने भए । नेप्टीका पति मात्र दमै थिए । नेप्टीले थर नेपाली लेखाउँदै आएकी थिइन् । उनका छोराहरुले परियार लेख्ने भएका थिए र नातिहरुले त केके हो केके । थरै नसुनेको थर लेख्थ्ये ।
नेप्टीका नाति राम्रा थिए । त्यसमाथि पढेका । फेसबुकमा माइला पण्डितकी जेठी छोरी लतिकाको र नेप्टीका जेठो नाति विनायकको चिनजान मात्र भएनछ कुरा निकै अघि बढेछ । र एकदिन फुत्तसँग टाप चम्पत ठोकी माइला पण्डितकी छोरी नेप्टीको नातिसँग ।
चौतारीमा ठूलै जमातबीच कोकोहोलो थियो । आपसमा खुसुरफुसुर गर्दै थिए-“नाकै काटी नि । सिटौला पाध्यकी छोरीले दमै नाठो टिपेर ।”
एनबखतमा सुइरे कान्छो फिट्टु भएर छेवैमा बसेको थियो जुरुक्क उठेर करायो- “जैरे हो ! तथानाम नबोल जेल जानु पर्ला । रगत सबैको एकै हो । तिनै दमैले सिलाएको धरोले लाज ढाक्दै आएका छौ अझ इज्जतका कुरा गर्छौ । के को नाक काट्नु नि मन्त्राणी हुन्छे लते, हेरौला । तागाधारीका दिन गए अब । जानिछ केटीले, भनाओ न । अब केटोले कुनै राजनीति दलको फेरो समातेर दलित कोटाबाट मन्त्री हुनसक्छ । नभए पनि लोकसेवामा दलित कोटाबाट लते अफिसर हुन्छे । सीडियो । क्षत्रीबाहुनले पढेर ९० प्रतिशत ल्याएर केही नापिन्न बुझ्यौ । पाध्यका छोराले दलित ल्याएको भए बरु त्यस केटीको भाग्य खोसिन्थ्यो । अब त अवसरका लागि दलितले क्षेत्रबाहुनका छोरीचेली लानु भनेको ठूलो उद्दार गर्नु हो । देशको व्यवस्था बुझ ।” सबै शान्त भए ।
हजुरबाउको रगरगी थाहा पाएकाहरुले अब के होला भन्ने ठानेथे । के हुनु माइला पण्डितले भित्र्याए । जानिफकारहरुले जिब्रो टोक्दै भने “समय बाबै समय” ।
(सिन्धुपाल्चोक, चौतारा)