रसियाली साहित्यको अध्ययनको निम्ति त्यहाँको राजनीतिक विकासक्रम बुझ्नु जरुरी छ । साम्यवादी मुलुकहरूमा राजनीति र साहित्य आपसमा सम्बद्ध, एक अर्काका परिपूरक र अविच्छिन्न रुपमा विकास हुने हुनाले रसियाली साहित्य पनि त्यहाँको राजनीतिसँग आश्रित र पूर्णरुपले सम्बद्ध भई अघि बढ्दै आएको छ । अक्टोबर क्रान्ति समाजवादी राजनीतिक सफलताको पहिलो चरण हो । अतः रसियाली साहित्यको अध्ययन गर्नु अघि अक्टोबर क्रान्तिको ऐतिहासिक पृष्ठभूमिको सिंहावलोकन हुनु जरुरी छ ।
रसियामा पुँजीवादको विकास चुलिँदै थियो । उद्योगधन्दा र कलकारखानाहरूको स्वामित्व स्वदेशी र विदेशी पुँजीपतिहरूको हातमा थियो । कारखानामा काम गर्ने मजदुरहरूको अवस्था दिन–प्रतिदिन ओह्रालो लाग्दै थियो । रसियाका जनता रुढीवाद र धर्मको गहिरो खाडलमा कहिल्यै निस्कन नसक्ने गरी जाकिएका थिए । एकातिर जारशाही तानाशाही सरकारले उनीहरूलाई आफ्ना बुटमुनि थिचिराखेको थियो भने अर्कातिर स्वदेशी र विदेशी पुँजीपतिहरूले उनीहरूको चरम शोषण गरिरहेका थिए । भूमिपति र पुँजीपतिहरूद्वारा शोषित किसान, मजदुर र सर्वहारा वर्ग अन्धकार युगमा बाँचिरहेका थिए । यस्तो स्थितिमा विद्यार्थी र युवावर्गमा जहिँतहिँ असन्तुष्टि र क्रान्तिका नाराहरू गर्जन लागेका थिए । त्यसैताक भ्लादिमिर इल्यिच लेनिन नाउँ गरेका १६ वर्षे विद्यार्थी घरबाट निस्के, गलामा झुण्ड्याइएको क्राइष्ट धर्मको क्रस चुँडालेर फ्याँके र सर्वहारा वर्गको अवस्था परिवर्तन गर्नको निम्ति क्रान्तिमा होम्मिने प्रण गरे । सन् १८८७ मा यस विद्यार्थीलाई राजनीतिमा लागेको अभियोगमा विश्वविद्यालयबाट निष्कासित गरिएको थियो, जसले पछि आफ्नो स्वअध्ययनबाट ससम्मान उपाधि प्राप्त गर्न सक्यो ।
लेनिनले मजदुर, किसान र सर्वहारा वर्गको राजनीतिको निम्ति माक्र्स र एङ्गेल्सद्वारा प्रतिपादित द्वन्द्वात्मक भौतिकवादलाई आधार माने । द्वन्द्वात्मक भौतिकवादले रसियाली क्रान्तिकारीहरूलाई के कुरा सिकायो भने सर्वहारा वर्ग र पुँजीपतिहरूका बिचको सङ्घर्षबाट समाजवादी क्रान्तिको जन्म हुन्छ । यस क्रान्तिमा विजय प्राप्त गरेर मात्र सर्वहारा वर्गले आफ्नो हितको निम्ति आफ्नो सरकारको स्थापना गर्न सक्तछ । यस्तो क्रान्तिमा सफलता प्राप्त गर्नको निम्ति सर्वहारा वर्गको वैज्ञानिक सिद्धान्तद्वारा निर्देशित आफ्नै राजनीतिक पार्टी हुनु जरुरी हुन्छ । यस्तो सिद्धान्तद्वारा निर्देशित राजनीतिबाट मात्र सर्वहारा वर्गको लक्ष्य प्राप्त गर्न सकिन्छ । सर्वहारा वर्गको यो वैज्ञानिक सिद्धान्त माक्र्स–एङ्गेल्सद्वारा प्रतिपादित द्वन्द्वात्मक भौतिकवाद हो, जसलाई माक्र्सवाद पनि भनिन्छ । यस सिद्धान्त अन्तर्गत पुँजीमा सर्वहारा वर्गको स्वामित्व कायम गरेर शोषणका सम्पूर्ण प्रक्रियाहरूको अन्त्य हुने तथा वर्गहीन र शोषणरहित समाजको स्थापना गरिने हुनाले यसलाई साम्यवाद वा समाजवाद पनि भनिन्छ । समाजवादी क्रान्ति अरु सम्पूर्ण क्रान्तिहरूभन्दा भिन्न हुन्छ । समाजवादी क्रान्तिले शोषणका सम्पूर्ण प्रक्रियाहरू सधैँका निम्ति अन्त्य गरी दिन्छ भने अरु कुनै पनि क्रान्तिले सामाजिक स्वरुपमा सुधार मात्र ल्याउन सक्तछ । अन्य कुनै पनि क्रान्तिले राजनीतिक सत्तामा परिवर्तन ल्याउन मात्र सक्तछ, तर यसले राजनीतिक परिवर्तनका साथै नवीन समाजवादी अर्थव्यवस्थाको निर्माण पनि गर्दछ ।
मूलतः साम्यवादले सम्झौतामा होइन सङ्घर्षमा विश्वास राख्तछ । समाजवादी क्रान्तिको सबैभन्दा महत्वपूर्ण प्रश्न सर्वहारा वर्गद्वारा राजनीतिक सत्ता प्राप्त गर्नु हो । यस सिद्धान्तले के कुरामा विश्वास राख्तछ भने माक्र्सवादी सिद्धान्तद्वारा निर्देशित क्रान्तिकारी सर्वहारा वर्गको व्यापक क्रान्तिबाट मात्र यो परिवर्तन सम्भव छ । युवक लेनिनले यसै माक्र्सवादलाई वैचारिक हतियारको रुपमा ग्रहण गरे र सर्वहारा वर्गको समाजवादी क्रान्तिमा नेतृत्व प्रदान गरे । फलस्वरुप १९१७ को अक्टोबर क्रान्तिको सफलताले रसियामा बुज्र्वा र प्रतिक्रियावादी राजनीतिको सट्टा सर्वहारा वर्गको राजनीति समाजवादको स्थापना भयो । यसरी रुस सर्वहारा वर्गको राजनीतिक सफलताको प्रथम मुलुक घोषित भयो ।
अक्टोबर क्रान्ति सोभियत साहित्यको एउटा महान आदर्श हो । यसले सम्पूर्ण रसियाली साहित्यकारहरूलाई एकताबद्ध गरेर एउटा मानवीय आदर्शको निम्ति दृढ सङ्र्षरत वैचारिक लेखनलाई चिरस्थायी प्रेरण प्रदान ग¥यो ।
अक्टोबर क्रान्तिपूर्व पनि रसियामा सङ्घर्षरत लेखक नभएका होइनन् । जारशाही रसियाली सरकारविरुद्ध आवाज उठाउँदा लेखकहरूले मृत्युदण्ड र निर्वासनका कठोर सजायहरू भोग्नु पथ्र्यो । नैतिकवादी तल्सतोईले निम्नवर्गीय जनताको पक्ष लिए, चेखोभले क्रान्ति अघिको रसियाली जनताको अधोगति, नैराश्य र जीवनका अँध्यारा पक्षहरूको चित्रण गर्दै निम्न वर्गीय जनतामाथि सहानुभूति र समर्थन देखाए । दस्तोएभ्स्कीले सरकारको विरोध गरेको अभियोगमा साइबेरियाको निर्बासन भोग्नु प¥यो । त्यस्तै पुश्किन, लेर्मोन्टोभ, गोगोल, बुनिन र तुर्गेनेभ जस्ता साहित्यकारहरूले सधैँ तल्लो वर्गका जनताको पक्षमा लेखे र परिवर्तनको चाहना राखे । यी साहित्यकारहरूले तत्कालीन सामाजिक व्यवस्थाप्रति आक्रोस व्यक्त गरे, रुढीग्रस्त परम्पराबाट मुक्त हुन अटुट प्रयास गरे, तर राजनीतिक अठोट, सङ्गठन र नेतृत्वको अभाव तथा क्रान्ति सम्बन्धी अवैज्ञानिक धारणाले गर्दा यिनीहरूले पूर्ण समाजवादी यथार्थवादमा आधारित साहित्यिक कृतिहरू जन्माउन सकेनन् ।
क्रान्तिपूर्वका लेखकहरूमा प्रायः सबैमा धर्म र नैतिकताको जरो दह्रोसँग गाडिएको हुनाले उनीहरूले पूर्ण क्रान्तिकारी परिवर्तनको निम्ति कलम चलाउन सकेनन्, तर उनीहरू रसियाली साहित्यका आधारस्तम्भ र क्रान्तिका प्रेरक हुन् । उनीहरूको साहित्यिक योगदानलाई अलग राखेर सोभियत साहित्यको मूल्याङ्कन गर्न सकिंदैन । उनीहरूले रसियाली जनजीवनका विभिन्न पक्षको व्यापक चित्रण गरेका छन् । उनीहरू विश्व साहित्यका अमूल्य निधि हुन् । पुश्किन, तल्सतोई, दस्तोएभ्स्की, चेखोभ, गोगोल र तुर्गेनेभभित्र क्रान्तिपूर्वको सम्पूर्ण रसिया प्रतिविम्बित भएको छ । यिनीहरूलाई नहेरेमा सम्पूर्ण रसिया देख्न सकिँदैन ।
अक्टोबर क्रन्तिको सफलताले रसियामा एक नयाँ वैज्ञानिक माक्र्सवादी–लेनिनवादी लेखनको सूत्रपात भयो । यस लेखनले सर्वहारा वर्गको आदर्शको निम्ति साहित्यिक कलाकृतिहरूको आवश्यकता महसुस ग¥यो । कुनै पनि देशको साहित्य त्यस देशका सामाजिक, साँस्कृतिक तथा राजनीतिक व्यवस्थाहरूबाट प्रभावित हुन्छ । समाजवादी देशहरूमा त साहित्यिक सिर्जनाको आधार र निर्देशक सिद्धान्त नै राजनीति हो । यसले साहित्यलाई राजनीतिक आदर्श प्राप्तिको निम्ति निर्देशन दिन सक्छ । अक्टोबर क्रान्ति रसियाली किसान, मजदुर तथा सर्वहारा वर्गको क्रान्ति अथवा समाजवादी क्रान्ति भएकोले त्यस वर्गको हितको निम्ति लेखिने साहित्यलाई समाजवादी यथार्थवादी साहित्य भनिन्छ । समाजवादमा राजनीति र साहित्यको घनिष्ट सम्बन्ध हुने भएकोले साहित्यलाई राजनीतिको हतियारको रुपमा तथा वर्गीय आदर्शको निम्ति प्रयोग गरिन्छ ।
राजनीति र साहित्यको सम्बन्ध बारे लेनिन भन्नुहुन्छ, “साहित्यको सिर्जना सर्वहारा वर्गको समग्र हितको निम्ति हुनुपर्दछ तथा साहित्यको प्रयोग, सम्पूर्ण श्रमिक वर्गको पूर्ण राजनीतिक सचेत पल्टनद्वारा सञ्चालित एकमात्र महान गतिशील, सामाजिक प्रजातान्त्रिक संयन्त्रको ‘दाँती र पेचकिला’ को रुपमा हुनुपर्दछ । साहित्य सङ्गठित, संयोजित र समग्र सामाजिक प्रजातान्त्रिक पार्टीको साधक बन्नु पर्दछ ।” सोभियत साहित्यले सोभियत पार्टी र जनताका क्रान्तिकालका अनुभवहरू, रसियाली गृहयुद्ध र विदेशी हस्तक्षेप तथा युद्धोत्तर कालका पुनर्निमाणको व्यापक चित्रण गरेको छ । अतः सोभियत साहित्यको जग सर्वहारा वर्गको माक्र्सवादी–लेनिनवादी राजनीतिद्वारा निर्देशित महान अक्टोबर क्रान्ति नै हो ।
अक्टोबर क्रान्तिको सफलतापछि रसियामा साम्यवादी राजनीतिक व्यवस्था स्थापना भयो । त्यसपछि, अनातोलो लुनाचास्र्कीका शब्दहरू दोहो¥याउने हो भने, रसियामा “साहित्यले जुन वर्गको वकालत गर्दछ यसको कार्य सँधैं त्यसै वर्गलाई सङ्गठित पार्नु” हुँदै आइरहेको छ । माक्सिम गोर्की, अलेक्सेइ तल्सतोई, अलेकज्याण्डर ब्लक, लुनाचास्र्की, आन्द्रेई बेलो, मायकोभ्स्की, यसेनिन, फेदिन जस्ता क्रान्तिपूर्वका कैयौँ लेखकहरूले रसियाली क्रान्तिको निम्ति उपयुक्त पृष्ठभूमि तयार पारिसकेका थिए । क्रान्तिताक कैयौँ लेखकहरूले जुर्मुराएर क्रान्तिको स्वागत गरे, कैयौँले क्रान्तिमा सक्रिय भाग लिए, तर जारहरूबाट जर्जर रसियामा क्रान्तिको सफलतापछि तुरुन्तै शान्ति र सुव्यवस्था कायम हुन नसकेकोमा केही लेखकहरू सोभियत सत्ताप्रति विक्षुब्ध भए, कतिजना निर्वासित हुन पुगे भने कति चाहिँ हतोत्साहित भए र उनीहरूबाट असन्तुष्टीका निराशाजनक स्वरहरू निस्के । सर्वहारा क्रान्तिको प्रक्रिया र ऐतिहासिक घटनाक्रमलाई राम्रोसँग बुझ्न नसक्ता शुरुमा गोर्कीले समेत भुलबस (पछि उनले आफ्नो भुल स्वीकारे) ‘असामयिक विचारहरू’ र ‘रसियाली निर्दयता’ जस्ता प्रतिगामी रचनाहरू लेखे ।
‘आगो’ नाउँको कविता सङ्ग्रहमा इल्या एहरेन्बर्गले लेखे,
“धरतीमा वर्षा हुन्छ, चस्चस् चस्काउने वर्षा । मेरो एक्लो मुटु कामिरहेछ ।” त्यस्तै अर्को एक टुक्रा, “म अज्ञात छु कुन ठिक हो कुन बेठिक आकाशमा अनेकौँ रङ्गहरू उडिरहेछन्”
वास्तवमा क्रान्ति लगत्तै रसियामा जहिँतहिँ आर्थिक अव्यवस्था, अनिकाल र हत्या जस्ता समस्याहरू देखा पर्न थाले । फलस्वरुप लेखकहरू आफ्ना असन्तुष्टिहरू अभिव्यक्त गर्न थाले । अतः देशको जटिल अवस्था र कटु अनुभवले गर्दा कैयौँ लेखकहरू भ्रममा परे र कैयौँबाट क्रान्तिविरोधी स्वरहरू निस्कन थाले, तर रसियामा सधैँ यो अव्यवस्था रहेन । सोभियत रसियामा पहिलो पञ्चवर्षीय योजना पूरा हुनुभन्दा अगावै इतिहासले लेखकहरूलाई दुई कित्तामा विभाजित गरी दियो । एउटा वर्गले लेनिनले नेतृत्व गरेको सोभियत सत्ता र पार्टीलाई समर्थन र सहयोग ग¥यो भने लेखकहरूको अर्को समूह क्रान्तिको विरुद्धमा थियो, जसले इतिहास र वस्तुस्थितिको अध्ययन नगरी रसियामा विदेशी हस्तक्षेप, आर्थिक अव्यवस्था तथा अनिकाल जस्ता सम्पूर्ण समस्या र बेथितिहरू उत्पन्न गराउने कार्यमा सोभियत सत्ता मात्र जिम्मेवार छ भनी पुँजीवादलाई पुनर्जीवन दिन चाहन्थ्यो ।
सत्ता र सर्वहारा वर्गको पक्षमा वकालत गर्ने लेखकहरूको नेतृत्व गोर्कीले लिएका थिए । उनले इतिहासको घटनाक्रमलाई राम्रोसँग बुझे र क्रान्ति सम्बन्धी आफ्नो स्पष्ट धारणा राखे । प्रतीकवाद, सौन्दर्यवाद, भविष्यवाद तथा यथार्थवाद जस्ता तत्कालीन बुज्र्वा साहित्यिक मान्यता तथा धारणाहरूको विरुद्धमा यस वर्गका लेखकहरू अघि बढे । प्रगतिवादी लेखकहरू सामाजिक घटनाक्रमको गहिरो अध्ययन गरी किसान, मजदुर तथा सर्वहारा वर्गको अनुुभव, उत्साह र उमङ्गको चित्रण गर्दै समाजवादी यथार्थवादलाई ग्रहण गरी साहित्यलाई बर्गीय हितको निम्ति गतिशील रुपमा पेश गर्दै साहित्यिक कृतिहरूको सिर्जना गर्न लागे ।
सन् १९०१ मा ‘जीवन’ नाउँको पत्रिकामा छापिएको गोर्कीको ‘आँधिमय पेत्रेल चराको गीत’ शीर्षक कथाले रुसमा भावी क्रान्तिको स्पष्ट सङ्केत गरेको थियो । उक्त कथा छाप्ने पत्रिका प्रतिबन्धित गरियो र कथाकार थुनामा परे । १९०२ मा गोर्की रसियाली विज्ञान प्रज्ञा प्रतिष्ठानको सदस्य निर्वाचित हुँदा जार सरकारले त्यस निर्वाचनलाई अस्वीकार गरेकोले प्रतिष्ठानका विशिष्ट सदस्य चेखोभ र कोरोलेङ्कोले पनि राजीनामा दिए । १९०५ को रसियाली क्रान्तिमा पूर्णरुपले भाग लिएको र सरकार विरोधी रचनाहरू छपाएको हुँदा गोर्कीलाई गिरफ्तार गरियो । उनी थुनामा परेपछि देश र विदेशमा समेत गोर्कीको मुक्तिको निम्ति चर्को आवाज आउन थाल्यो । प्रसिद्ध फ्रान्सेली साहित्यकार अनतोले फ्रान्सले लेखे, “गोर्कीको समस्या हामी सबैको समस्या हो । गोर्की जस्ता प्रतिभा कुनै एक देशका मात्र नभएर सम्पूर्ण विश्वकै हुन् । सारा सन्सार उनको मुुक्ति चाहन्छ ।” आखिर जार सरकारले गोर्कीलाई कारागारबाट मुक्ति दिनुप¥यो ।
सन् १९०५ को असफल क्रान्तिपछि पार्टीको स्वीकृति लिई गोर्की विदेश भ्रमण गर्न भनी रसियाबाट निस्के । त्यसैताक उनले विश्वप्रसिद्ध उपन्यास ‘आमा’ लेख्न थाले । संयुक्त राज्य अमेरिकाको भ्रमणको अवसरमा १९०६ को गृष्ममा उनले ‘आमा’ लेखी सके । यो उपन्यास सर्वप्रथम एपलटन म्यागजिनमा अङ्रेजीमा क्रमसः प्रकाशित भयो । यस उपन्यासले बिसौँ शताब्दीको प्रारम्भमा अथवा अक्टोबर क्रान्ति अघि रसियाली मजदुर र कारखानाका मालिकहरूका बिचको वर्ग सङ्घर्षको वास्तविक चित्र प्रस्तुत गरेको छ । यसको प्रधान पात्र पाभेल भ्लासोभको जीवन सोर्मोभोको कारखानामा काम गर्ने मजदुर प्योत्र जालोमोभको जीवनमा आधारित छ । पाभेलकी आमा निलोभ्ना आफ्नो छोरा र उसका अरु मजदुर साथीहरूले गरेको क्रान्तिलाई सघाउ पु¥याउँछे र सारा सोभियत जनतालाई आफ्नै सन्तान ठान्दछे । वास्तवमा पाभेल र उसकी आमा निलोभ्ना नै निम्नवर्गीय रसियाली जनताका साँचा प्रतिनिधि र समाजवादी क्रान्तिका प्रेरणाका स्रोत हुन् । पाभेलको क्रान्तिकारी भाषण छापिएका पर्चाहरू बाँड्न भनी उसकी आमा रेलमा चढ्छे । उसलाई चारैतिरबाट गुप्त प्रहरीहरूले घेरिसकेका हुन्छन् । उसका टाउकामा प्रहरीका फलामे डण्डीहरू जतिसुकै बर्षे पनि उ क्रान्तिप्रति समर्पित भएकीले धैर्यपूर्वक पर्चा बाँडिरहन्छे । यसरी उपन्यासको अन्त्य हुन्छ ।
गोर्की विश्वका निम्नवर्गीय जनताका अत्यधिक प्यारा व्यक्ति, रसियाली सर्वहारा क्रान्तिका अगुवा र विश्वकै महान साहित्यकार हुन् । उनको युग रसियाली समाजवादी क्रातिको युग र जनताको पुनर्जागरणको युग थियो । जीवनभर दुक्खै दुक्ख बोकेका गोर्कीले आफ्ना रचनाहरूमा आर्थिक र राजनीतिक रुपले पिल्सिएका बहुसङ्ख्यक रसियाली जनताको उत्पीडनलाई औधी मार्मिक ढङ्गले चित्रण गरेका छन् । दस्तोएभ्स्की जारकालीन समाजका ब्यथा, अन्याय र अत्याचारदेखि पीडित थिए, तर गोर्कीले ती वेदना र बेथितिहरूमा परिवर्तनको माग पनि गरे । गोर्कीले आफ्ना प्रतिनिधि पात्रहरू सधैँ तल्लो वर्गका जनताबाट लिए । क्रान्तिकालमा उनीहरूको स्वाभाविक प्रवृत्तिको विकासक्रमलाई उनले साहित्यमा प्रस्तुत गरे । गोर्कीले रसियामा समाजवादी यथार्थवादको विजारोपण गरेकाले उनलाई सोभियत साहित्यका पिता भनिन्छ । ‘निकृष्ट खाल्डो’, ‘येगोर बुलीचेभ’, ‘फोमा गर्देएभ’, ‘ती तीन’, ‘क्लिन सामगिनको जीवन’ आदि गोर्कीका महानतम उपलब्धिहरू हुन् ।
अक्टोबर क्रान्तिपछि साम्यवादी रसियामा गोर्की बाहेक पुराना पिंढीका केही साहित्यकारहरू मात्र टिक्न सके । उनीहरू मध्ये अलेक्जान्डर ब्लक र भ्लादिमिर मायकोभ्स्की नाउँ सबैभन्दा पहिले आउँछ । लयात्मक ऐतिहासिक कविताहरूको रचनामा रसियामा ब्लकको स्थान सबैभन्दा उच्च र गर्विलो छ । इतिहासप्रति सचेत ब्लकले रुढिग्रस्त रसियाली समाजमा परिवर्तनको निम्ति आफ्ना कविताहरूको माध्यमद्वारा सधैँ क्रान्तिको माग गरे । उनमा समाजप्रतिको उत्तरदायित्वबोध थियो । ‘बाह्र कविता’ उनको महत्वपूर्ण कृति हो ।
१९१२ को समाजवादी आन्दोलनको जाग्दो प्रभातदेखि लेख्न थाल्ने भ्लादिमिर मायकोभ्स्कीले शुरुमा कलाको अध्ययन गरेता पनि पछि उनको प्रतिभा कविको रुपमा स्पष्ट हुँदै गयो । उनी सोभियत साहित्यकाशका एक महान विभूति र चम्किला तारा हुन् । उनका क्रान्तिकारी कविताहरू १९१७ देखि उनको जीवनकालको अन्तिम घडीसम्म लेखिएका छन् । प्रथम विश्वयुद्ध ताक ‘डुक्राइ जस्तै सरल’ (एज प्लेन एज ए मू) शीर्षकमा उनको एउटा कविता सङ्ग्रह प्रकाशित भयो । यस सङ्ग्रहमा उनले आफ्ना कारुणिक वेदनाका तीव्र अभिव्यक्तिदेखि क्रोध र विद्रोहका भावनाहरू विस्तृत रुपमा अभिव्यक्त गरेका छन् । १९१७ को अक्टोबर क्रान्तिले मायकोभ्स्कीका क्रान्तिकारी भावनाहरूलाई तीक्ष्ण पार्न मद्दत ग¥यो र उनलाई सुन्दर र क्रान्तिकारी कविताहरू रच्ने प्रेरणा दियो । तीक्ष्ण ब्यङ्ग्य, छेडपेच र भावोत्तेजक स्वरद्वारा उनका कविताहरू रङ्गिएका हुछन् । उनको ‘भ्लादिमिर इल्यिच लेनिन’ शीर्षक लयात्मक कविताले सर्वहारा क्रातिका योद्धा लेनिनप्रति रसियाली जनताको अपार श्रद्धा व्यक्त गर्दछ भने उनको अर्को कविता ‘सुन्दर’ (फाइन) ले स्वतन्त्रता प्राप्त गरी सकेपछि रसियाली जनताको प्रशन्न भावनालाई उद्घाटन गर्दछ । ‘बादलको सुरुवाल’ (क्लाउड इन ट्रउजर्स) मायकोभ्स्कीका प्रसिद्ध कविताहरू मध्ये एक हो । यो कविता पढ्दा गोर्कीका आँखामा समेत आँसु टिल्पिलाएका थिए । ‘पूर्ण आवाजमा’ (इन फुल भ्वाइस) उनको अन्तिम कविता हो । सन् १९३० तिर भएको मस्को सर्वहारा लेखक सङ्घको सम्मेलनमा मायाकोभ्स्कीले आफैँ यो कविता पढेर सुनाएका थिए । रसियाली गद्य साहित्यमा गोगोल जति तीक्ष्ण र तीक्त ब्यङ्ग्य हान्न सक्थे, पद्य साहित्यमा मायकोभ्स्की त्यतिनै तीक्ष्ण र विद्रोही थिए ।
रसियाली साहित्यमा बोरिस लिओनिदोभिच पास्तरनाकको नाउँ अत्यन्त विवादास्पद छ । १९०५ को रसियाली क्रान्तिको असफलतापछि पास्तारनाकले लेख्न थालेका थिए । यो यस्तो समय थियो जुन वेला रसियाली साहित्य अधोगतिको अवस्थामा गुज्रिरहेको थियो । रसियाली बुद्धिजीवीहरू उडन्ते प्रेमकथा र भावुकतामा रुमल्लिरहेका थिए । पास्तरनाकलाई पनि यस वातावरणको प्रभाव पारेन भन्न सकिन्न । उनको प्रतिभा जटिल र विवादस्पद थियो । उनका प्रारम्भिक कविताहरू क्लिष्ट र अर्थहीन शब्दजालले भरिएका भएता पनि उनले पूर्णरुपले सामाजिक विषयवस्तुलाई त्यागेका थिएनन् । उनको ‘विख्यात हुनु अनुचित हो’ (इट्ज अनबिकमिङ् टु बि फेमस) शीर्षक कविताको एक टुक्रा हेरौँ,
रिक्त स्थान–छोड तिमीहरूलाई आफ्ना भाग्यहरूमा, तर कुनै हालतमा पनि होइन कागतहरूमा यद्यपि यस्तो प्रक्रिया एउटा यातना हो फुत्काई देओस जीवनका सम्पूर्ण अध्यायहरूले हामीलाई र डुबुल्की मार्दै अस्पष्टतातिर लुकाउनुहोस तपाईंका पाइलाहरू यसका घडीमुनि त्यसैले देशका दृश्यहरू लुकाउँछन् कहिलेकाहीँ आफ्ना पवित्रताहरू कुइरो वा धुँवाको घुम्टोमुनि ।
उनका कविताका शीर्षक पनि प्रायः अनौठा हुन्छन् । ‘जम्ल्याहा बादल’ (द ट्वीन इन द क्लाउड्स), ‘घेरा बाहिर’ (ओभर द बेरियर्स) र ‘मेरी बहिनी जीवन’ (माई सिस्टर लाइफ) उनका प्रारम्भिक कालका कविता सङ्ग्रहहरू हुन् । प्रसिद्ध रसियाली समालोचक कर्नली जेलिन्स्की पास्तरनाक बारे यसो भन्छन्, “प्रथम विश्वयुद्ध, अक्टोबर क्रान्ति, जर्मनेली क्रान्ति जस्ता विश्वका महान घटनाहरू बारे उनीबाट कुनै अभिव्यक्तिको आशा गर्न सकिन्न । ब्लक इतिहासप्रति सचेत थिए, मायकोभ्स्की इतिहासका हक्र्युलस थिए…पास्तरनाकको कार्यक्षेत्र जौहारी अथवा घडी निर्माताको काम चलाउने टेबुल जत्रै थियो ।”
पास्तरनाकको सामाजिक परिधि सङ्कीर्ण थियोे, तर उनका कलात्मक र सुन्दर अभिव्यक्तिहरू मानवतावाद विरोधी थिएनन् । उनी पुँजीवादलाई घृणा गर्थे र साम्यवादका पक्षपाती थिए । रसियाली समाजवादी क्रान्तिलाई उनले खुलारुपले समर्थन गरे, तर उनै पास्तरनाक १९५६ मा ‘डाक्टर झिभागो’ जस्तो साम्यवाद विरोधी उपन्यास लेखेर विश्वमा एक चर्चित र विवादास्पद व्यक्ति हुन पुगे । रसियाली मासिक पत्रिका ‘नोभोमिर’ले उक्त उपन्यास समाजवादी क्रान्तिको बाधक सम्झी रसियामा छाप्न अस्वीकार ग¥यो । १९५७ मा ‘डाक्टर झिभागो’ इटालेली र अङ्ग्रेजी भाषामा प्रकाशित भयो । सुन्दर कवितात्मक शैलीमा लेखिएको यस उपन्यासमा मुख्य पात्र डा. युरी झिभागोले क्रान्तिताक भोगेको राजनीतिक र वैयक्तिक अन्योलको अनुभूति प्रस्तुत गरिएको छ ।
सन् १९५८ मा बोरिस पास्तरनाकलाई स्वीडिस एकेडेमीले विश्वप्रसिद्ध नोबेल पुरस्कार प्रदान गर्ने घोषणा ग¥यो । यस घोषणापछि विश्वभरका साम्यवाद विरोधी पत्रपत्रिकाहरूले पास्तरनाकलाई साम्यवाद विरोधी डफ्फामा पु¥याए । यसरी उनी राजनीतिक क्षेत्रमा जबर्जस्ती थकेलिए, यद्यपि उनको प्रतिभा राजनीतिक क्षेत्रदेखि धेरै टाढा थियो । वास्तवमा पश्चिमेली बुज्र्वा मिडियाहरूले पास्तरनाकलाई जति साम्यवाद विरोधी घोषित गरेता पनि साम्यवादप्रति उनको त्यति गलत धारणा थिएन । पत्रपत्रिकाहरूले उनको उपन्यास ‘डा. झिभागो’लाई राजनीतिक विवादमा उभ्याएका हुनाले उनले नोबेल पुरस्कार लिन अस्वीकार गरे । साँच्चिनै उनी साम्यवाद विरोधी थिए भने उनले नोबेल पुरस्कार लिन अस्वीकार गर्ने थिएनन् अथवा उनले रसिया नै छाड्न पनि सक्ने थिए ।
उनले ख्रुस्चोभलाई यस्तो पत्र लेखेका थिए,“जब मैले मेरो उपन्यास बारे यत्रो राजनीतिक होहल्ला भएको थाहा पाएँ, मैले महसुस गरेँ, मलाई नोबेल पुरस्कार प्रदान गर्नु एउटा राजनीतिक चाल थियो, जसले यस्तो अचम्मको परिणाम निकाल्यो र मैले कसैको प्रभाव बिना स्वेच्छाले यसलाई अस्वीकार गरेँ ।” शायद पास्तरनाकले देश निकालाको सजाय पाउन सक्थे, तर उनले निर्बासनलाई मृत्युदण्ड समान सम्झे र ख्रुश्चोभलाई देश निकाला नगरी दिन अनुरोध गरे । पास्तारनाकले पश्चिमेली मिडियाको यस राजनीतिक आरोपलाई ‘दुखदायी आरोप’ भने । उनले कतिसम्म भने भनेँ उनको पुस्तक यदि अमुद्रित अवस्थामा रहेको भए उनी यसलाई केही सच्याउने थिए । जे भएता पनि फदेयभ, पास्तरनाक, तल्सतोई र फेदिन जस्ता साहित्यकारहरूको परम्परामा रसियाली गद्य साहित्य सुन्दर, परिष्कृत र परिमार्जित हुँदै गयो ।
निकोलाई अलेक्सेइभिच अस्त्रोभ्स्कीको उपन्यास “इस्पात कसरी कठोर पारियो” सोभियत साहित्यको महान् ग्रन्थ हो । यो उपन्यास प्रथम विश्वयुद्ध, रसियाली गृहयुद्ध र रसियाको पुनर्निमाण कालको यथार्थ पृष्ठभूमिमा आधारित छ । यस पुस्तकको रचनामा अस्त्रोभ्स्कीले साम्यवादको उच्च आदर्श र अनुशासन पालना गरेका छन् । उनी साम्यवादी विचारधारामा पूर्णरुपले समर्पित थिए । उनी भन्छन्, “यदि मानिस कुनै वास्तविक विचारधारामा समर्पित छ भने उ यथार्थ मानिस हुन्छ, किनभने उ व्यक्तिगत जीवन जिउनुको सट्टा व्यक्ति व्यक्ति मिलेर बनेको पूर्णतामा बाँचेको हुछ ।” यस उपन्यासको मुख्य पात्र पाभेल कोर्चागिन वास्तवमा लेखककै प्रतिमूर्ति हो । साम्यवादी आदर्शको निम्ति उ आफ्नो चरित्रलाई सुदृढ र कठोर बनाउँदै लैजान्छ । उ भन्छ, “मानिसको निम्ति सबैभन्दा प्यारो वस्तु उसको जीवन हो । यो मानिसलाई एकैपटक मात्र प्राप्त हुन्छ । तसर्थ कसरी बाँच्नु परोस् भने भविष्यमा विगतका दिनहरू उद्देश्यहीन व्यतित भएकोमा पश्चात्ताप गर्नु नपरोस् र मर्ने वेलामा भन्न सकियोस्, सम्पूर्ण जीवन र शक्ति सन्सारका सबैभन्दा उत्तम– मानवताको मुक्तियुद्धप्रति समर्पित गरियो ।”
अन्धो, दुर्वल र विवश अवस्थामा पनि पाभेल आत्महत्या गर्न चाहँदैन, उ दृढ भएर भन्छ, “जीवन असह्य भएकै वेला मानिसमा बाँच्ने क्षमता हुनु पर्दछ ।” यसरी यस उपन्यासको पात्र पाभेल कोर्चागिन साम्यवादी लक्ष्य प्राप्त गर्न गोर्कीको विख्यात कृति ‘आमा’को प्रमुख पात्र पाभेल भ्लासोभ जस्तै एक बहादुर चरित्र भएको छ । आफ्नो उपन्यासको नाउँबारे अस्त्रोभ्स्की भन्छन्,“इस्पात कडा ताप र चिसोबाट कठोर बन्छ, जसले गर्दा यो कति कडा हुन्छ भने यसलाई कसैले भाँच्न सक्तैन । त्यसरी नै जनताका सङ्घर्ष र डरलाग्दा अनुभवहरूबाट हाम्रा जनता कठोर भएका छन् । त्यसले गर्दा हामीले जीवनको आक्रमण विरुद्ध उभिन सिक्यौँ ।” सोभियत साहित्यमा अस्त्रोभ्स्कीको महत्वपूर्ण योगदानको कदर गर्दै उनलाई ‘अर्डर अफ लेनिन’ पुरस्कारबाट सम्मान गरिएको थियो ।
सन् १९२६ मा ‘दोनका कथाहरू’ (टेल्स अफ द दोन) लिएर देखा पर्ने मिखाइल सोलोखोभको स्थान सोभियत साहित्यमा महत्वपूर्ण छ । १९४१ मा सोभियत सङ्घको सम्मानित पुरस्कार स्तालिन पुरस्कार विजेता सोलोखोभले १९६५ को नोबेल पुरस्कार प्राप्त गरे । नोबेल पुरस्कार स्वीकार गर्दै उनले भने, “आफ्ना कृतिहरूले मानिसलाई अझ असल बनाउन र उनीहरू बिच पवित्र भावनाको विकास गराउन प्रेरणा दिउन् भन्ने म चाहन्छु । म उनीहरू बिच आपसी प्रेमको विकास तथा मानवता र प्रगतिको आदर्शको निम्ति सङ्घर्षशील हुने इच्छा अभिवृद्धि गराउन चाहन्छु ।”
सोलोखोभको विश्वविख्यात कृति ‘दोन शान्त प्रवाहित छ’ को पहिलो भाग उनले १९२५ देखि नै लेख्न थालेका थिए । सन् १९३८ सम्ममा यो उपन्यास चार भागमा प्रकाशित भयो । यो उपन्यास असङ्ख्य घटना र चरित्रहरूले खचाखच भएको दोनका कोजाक परिवारको रीतिरिवाज, संस्कृति र सामाजिक समस्याहरूको एक महान दस्तावेज हो । यो उपन्यास दोनको एक धनी कोजाक किसान मेलेखोभ परिवारको जीवन कथामा केन्द्रित छ । यस आख्यानले प्रथम विश्वयुद्ध, अक्टोबर क्रान्ति र रसियाली गृहयुद्धताक कोजाकहरूको सङ्घर्षशील जीवनलाई अति यथार्थ ढङ्गले प्रस्तुत गरेको छ । युद्धको ऐतिहासिक तथ्यलाई नबुझ्दा उपन्यासको मुख्य पात्र ग्रिगोरी मेलेखोभ अन्योलमा पर्छ । सम्बेदनशील पात्र भएर पनि आत्म–निर्णय गर्न नसक्ता कमजोर मानसिक स्तर भएको गाउँले ग्रिगोरीको जीवन भ्रष्ट हुन्छ । कथाको अन्त्यसम्म उसले पाठकहरूको सहानुभूति प्राप्त गरिरहेता पनि जनताबाट अलग्गिनाले नै ग्रिगोरीको जीवनको अन्त्य दुखदायी हुन्छ । उनको अर्को उपन्यास ‘बाँझो जमिन जोतियो’ (भर्जिन सइल् अप्टर्नड्) सन् १९३२ मा प्रकाशनमा आयो ।
बिसौँ शताब्दीको छैटौं दशकदेखि सोभियत साहित्यमा विभिन्न धाराहरूको विकास भएको छ । सोभियत समीक्षकहरूको विचारमा, रसियाली जनजीवनमा माक्र्सवादी–लेनिनवादी दृष्टिकोणमा वैचारिक परिवर्तन आएको तथा रसियामा प्रजातान्त्रिक परिपाटीको प्रारम्भ भएकोले यसबाट सोभियत साहित्य गम्भीर रुपले प्रभावित छ । यस परिवर्तनसँगै साहित्यमा विभिन्न धाराहरू देखा परे । ती साहित्यिक धाराहरू स्टालिनपछि, खास गरेर ख्रुश्चोभको शासनकालदेखि रसियामा विकास हुँदै आएका हुन् ।
स्टालिन साम्यवादी आदर्शको निम्ति सधैँ मरी मेट्ने र कहिल्यै पछि नहट्ने योद्धा थिए, तर वर्तमान सोभियत समीक्षकहरू उनमा के कुराको दोष देखाउँछन् भने उनलाई व्यक्तित्व मोह (पर्सनालिटी कल्ट) ले नराम्रोसँग गाँजेको थियो । स्टालिनको यस दोषले गर्दा उनको शासनकालमा साँचा कुराहरू लेख्न लेखकलाई रोक लगाइएको थियो । फलस्वरुप रसियाली साहित्य अयथार्थतापट्टि ढल्ँिकदै गयो र कठाङ्ग्रिन थाल्यो । साहित्यलाई उनले कुनै प्रकारको नियन्त्रणमा राखेका थिए भने त्यो मानवीय आदर्शको निम्ति महत्वपूर्ण र तत्कालीन परिस्थितिमा आवश्यक थियो भन्नेहरू पनि रसियामा त्यत्तिकै छन् ।
वर्तमान सोभियत समीक्षकहरू एकातिर ख्रुश्चोभको नाउँ उल्लेख गर्न चाहँदैनन् भने अर्कातिर ख्रुश्चोभकै पालामा विकसित भएका विभिन्न साहित्यिक धाराहरूप्रति सन्तोष व्यक्त गर्छन् र सोभियत साहित्यमा नयाँ आयाम थपिएको कुरामा उनीहरू जोड दिन्छन् । त्यही सोभियत साम्यवादी रसियामा स्टालिनपछि ख्रुश्चोभको पालामा ‘डा. झिभागो’ जस्तो साम्यवादप्रति आलोचनात्मक कृति देखाप¥यो । यो ख्रुश्चोभको उदारवादी खुकुलो राजनीतिको परिणाम थियो । फलस्वरुप साम्यवादी रसियामा छिटै उनको पतन भयो । जे भएता पनि ख्रुश्चोभकै पालामा रसियामा विभिन्न नकारात्मक तथा सकारात्मक धाराहरू देखा परेका हुन् ।
सोभियत साहित्यमा स्टालिनपछि विकसित भएका विभिन्न साहित्यिक धाराहरू मध्ये ‘गीती–स्वच्छन्द धारा’ (लिरिको–रोमान्टिक ट्रेन्ड) प्रमुख हो । यस धाराले अहिलेसम्म पनि सोभियत साहित्यमा प्रमुख स्थान ओगटेको छ । नयाँ पिढीका धेरैजसो युवा लेखकहरू साहित्यको यस धाराप्रति आकर्षित भए । यस पिढीका लेखकहरू जीवनको महानताप्रति सचेत भएकोले जीवनप्रति यिनीहरूको विशेष मोह थियो । नैतिक र सामाजिक प्रश्नहरू तथा प्रेम र मृत्यु जस्ता आन्तरिक मानवीय समस्याहरूमाथि यिनीहरू गहिरिए । यथार्थ जीवनलाई हेर्न यिनीहरूले विषयगत रङ्गलाई प्रयोगमा ल्याए । लेखकहरूले माक्र्सेली पद्धतिलाई सुरक्षित राखी स्वच्छन्दतावाद (रोमान्टिसिज्म) लाई प्रमुख रुपमा अँगाले । सोलोखोभका उपन्यासहरू, पोगोदिन र लेओनोभका नाटकहरू, भासिली अक्स्थोनोभका दुई कथा ‘साथीहरू’ (कुलिग्स, १९६०) र ‘ताराहरू भेट्ने टिकट’ (टिकेट टु क्टार्स, १९६१), कवयित्री ओल्गा बर्गोल्टसको कविता सङ्ग्रह ‘दिउँसै चम्किने तारा’ (डे लाइट स्टार्स), येभगेनी येभ्तुशेन्कोका कविताहरू, जर्जी भ्लादिनोभको उपन्यास ‘विशाल खानी’ (ग्रेट ओर), सर्जेई अन्तोनोभका लघुउपन्यासहरू, कोन्स्तान्तिन सिमोनोभको ‘मानिस जन्मजात सिपाही होइनन्’ (मेन आर नट बर्न सोल्जर्स, १९६४), जर्जी मार्कोभको उपन्यास ‘पिता र पुत्र’ आदि कृतिहरू यस साहित्यिक धाराका राम्रा उदाहरणहरू हुन् ।
‘गीती–स्वच्छन्द धारा’ भन्दा अगाडि नै स्थापित र झण्डै सङ्सँगै विकसित सोभियत साहित्यको अर्को महत्वपूर्ण धारा ‘वीर जनलेखन धारा’ (हिरोइक–पब्लिकिस्टिक ट्रेण्ड) हो । अक्टोबर क्रान्तिपछि देशका क्रान्तिकारी वीरहरू रसियाली जनजीवनका महत्वपूर्ण अङ्ग हुने भएकोले रसियामा उनीहरूको ठुलो सम्मान हुन थाल्यो । ती वीरहरूको क्रान्तिकारी जीवनको यथार्थ चित्रण गर्नु यस धाराका लेखकहरूको उद्देश्य थियो । एउटा आदर्श प्राप्तिको निम्ति आफ्ना यथार्थ पात्रहरूलाई सङ्घर्षशील जीवनमा उतार्नु उनीहरूको प्रमुख साहित्यिक मान्यता हो । यस साहित्यिक धाराका प्रमुख पात्रहरू सधैँ साम्यवादप्रति समर्पित र साम्यवादी आदर्शको निम्ति ज्यान दिन तयार हुन्छन् । अस्त्रोभ्स्कीको ‘इस्पात कसरी कठोर पारियो’ को कलात्मकता अलिक खुकुलो भएता पनि यो कृति सोभियत सङ्घको ऐतिहासिक तथ्यको एउटा महान ग्रन्थ हो ।
‘इस्पात कसरी कठोर पारियो’ बारे अस्त्रोभ्स्की भन्छन्, ‘त्यस पुस्तकले अलिकति पनि कुरा नबङ्ग्याई वास्तविक कुरा भनेको छ । म लेखक नभएको मात्र होइन–मैले यस अघि कुनै साहित्यिक काम गरेको थिइँन, न मैले कुनै समाचारपत्रमा नै काम गरेको थिएँ । त्यो पुस्तक युवा साम्यवादी सङ्घको धातु पगाल्ने एउटा भट्टीमा काम गर्ने एक कार्यकर्ताद्वारा लेखिएको थियो । असत्य कुरा नभन्नु भन्ने दृढ निश्चयले मलाई निर्देशित गरेको थियो । यो पुस्तक गृहयुद्धको तथ्यको रुपमा युवा इतिहास सम्पादकीय समितिको निम्ति, श्रमिक वर्गका सङ्गठनहरूको निर्माणको निम्ति र युक्राइनका युवक साम्यवादी सङ्घको शुरुवातको निम्ति तयार गरिएको थियो, तर साथीहरूले यस पुस्तकमा साहित्यिक मूल्य समेत भएको महसुस गर्नुभयो । उपन्यासको रुपमा ‘इस्पात कसरी कठोर पारियो’ (हाउ त स्टील वाज टेम्पर्ड) मा धेरै त्रुटिहरू छन्, ती त्रुटिहरूलाई एउटा व्यावसायिक लेखकले कहिल्यै उपेक्षा गर्न सक्तैन ।’ ‘यदि त्यो पुस्तक मैले आज लेखिरहेको भए त्यो अझ सुन्दर हुने थियो, राम्रोसँग लेखिने थियो, तर त्यसले धेरै मात्रामा आफ्नो उद्देश्य र आकर्षण चाहिँ गुमाउने थियो ।’
यस धाराका लेखकहरूले साम्यवादलाई आफ्नो जीवनको निर्दिष्ट बाटो बनाएका छन् । अलेक्जान्डर चाकोभ्स्कीको ‘हामीले रोजेको बाटो’ (द रोड वि चूज, १९६२), सेभोलोद कोचेतोभको ‘येर्शोभ दाजुभाइ’ र दानिल ग्रानिनको ‘आँधिभित्र’ (इन्टु द स्टोर्म) यस धाराका अन्य महत्वपूर्ण कृतिहरू हुन् ।
सोभियत साहित्यको अर्को महत्वपूर्ण धारा आलोचनात्मक धारा हो । यसले सोभियत सत्ताप्रति विश्वमा उग्र उत्तेजनात्मक वातावरण सिर्जना ग¥यो । यस धाराका लेखकहरूले सोभियत जनजीवनको नकारात्मक पक्ष र विरोधाभासहरूलाई आफ्ना रचनाको विषयवस्तु बनाए । उनीहरूले सोभियत जनजीवनप्रति उदासिनता र मानसिक असन्तोष व्यक्त गरे तथा उनीहरूबाट सोभियत सत्ता विरोधी प्रतिगामी कृतिहरू निस्के । उनीहरूले सोभियत रुसमा प्रतिबन्धित सामग्रीहरूका विषयमा कलम चलाए । बोरिस पास्तरनाकको ‘डा. झिभागो’ र अलेक्जान्डर सोल्झेनित्सिनका दुई उपन्यास ‘क्यान्सर वार्ड’ र ‘पहिलो घेरो’ (राउण्ड वन) यस धाराका प्रमुख कृतिहरू हुन् । यस धारा अन्तर्गत केही लेखकहरू सोभियत सत्ता र जनजीवनप्रति आशामुखी पनि थिए साथै तत्कालीन व्यवस्थालाई उनीहरू लुकाउन पनि चाहँदैनथे अर्थात् सोभियत रसियामा के भैरहेछ भनी मूल्याङ्कन गर्न उनीहरूसँग आलोचनात्मक चश्मा पनि थियो । उनीहरू के महसुस गरिरहेका थिए भने समाजवादी यथार्थवादमा आलोचनात्मक दृष्टिकोण समावेश हुनु आवश्यक छ । फुर्मानोभको ‘चपायेभ, १९२३,’ सेरेफेमोभिचको ‘फलामे भेल,’ (द आइरन फ्लड, १९२४) र फदेयेभको ‘हुल्याहाहरू’ (द राउट, १९२७) यस वर्गका प्रतिनिध कृतिनिधिहरू हुन् ।
सोभियत रुसमा लेखकहरू नैतिकताको प्रश्नप्रति पनि सचेत थिए । यस वर्गका लेखकहरूमा समाजवादको निर्माणमा जनतामा मित्रता र बन्धुत्वको भावना जगाउन नैतिकता एक महत्वपूर्ण तत्व हो भन्ने धारणा थियो । भादिम कोझेभ्निकोभको उपन्यास ‘आउ, बालुयेभ’ (मिट, बालुयेभ), भ्लादिमिर तेन्द्रयाकोभको कथा ‘न्याय’ (जज्मेण्ट) तथा पाभलोभाको नाटक ‘विवेक’ (कन्साइन्स) आदि यस विषयका महत्वपूर्ण कृतिहरू हुन् ।
यी बाहेक भ्लादिभिर तेन्द्रायाकोभका मनोवैज्ञानिक कथाहरू, पाभेल निलिनका जासुसी र अपराध सम्बन्धी कथाहरू (उदाहरणको निम्ति ‘निर्दयता’ ), गालिना निकोलायेभको उपन्यास ‘युद्ध’ (द ब्याटल) र भासिली अझायेभको उपन्यास ‘मस्कोदेखि टाढा’ (फार फ्रम मस्को) जस्ता विरोधाभासपूर्ण कृतिहरूको परम्परामा रसियाली साहित्यका विभिन्न विधाहरू विकसित भैरहेका छन् । गोर्कीको ‘आमा’, चेर्नीशेभ्स्कीको ‘के गर्ने?’, अस्त्रोभ्स्कीको ‘इस्पात कसरी कठोर पारियो’, फुर्मानोभको ‘चपायेभ’, फेदेयभको ‘हुल्याहाहरू’, फेदिनको ‘लेखक, कला र समय’ र शोलोखोभको ‘दोन शान्त प्रवाहित छ’ सोभियत रसियाली साहित्यका महान ग्रन्थ हुन् । यिनको गम्भीर अध्ययन बिना आजको रसियाली साहित्यको अध्ययन पूरा हुन सक्तैन ।
खुश्चेभदेखि ब्रेझनेभ र गोर्वाचोभसम्मको अवधिमा रुस उदारवादी राजनीतिमा ओर्ली सकेको थियो । सन् १९९१ को अन्त्यमा भ्लादिमीर पुटिनसम्म आइपुग्दा सोभियत सङ्खको पतन भयो र रुसमा खुला राजनीतिक गविविधि शुरु भएसँगै नवीन साहित्यिक गतिविधि प्रारम्भ भयो । अहिले रसियाली लेखकहरू विश्वका कुनै पनि साहित्यिक धाराहरूको प्रयोग गर्न स्वतन्त्र छन्, तर त्यस्तो प्रयोग समाजवाद भत्काउन जनतालाई भड्काउने नभई त्यसको सम्बद्र्धन र विकासको निम्ति हुनुपर्छ भन्ने धेरैजसो सोभियत साहित्यकारहरूको धारणा छ । नयाँ प्रयोगको नाउँमा समाजवादलाई निमिट्यान्न पारी पुँजीवादलाई पुनस्र्थापना गर्ने उद्देश्यले लेखिएका प्रतिगामी रचनाहरूलाई रुसमा छुट दिइँदैन । समाजवादी व्यवस्था तथा जनतालाई भड्काउने दृष्टिकोणले लेखिएका भ्रामक रचनाहरूलाई रसियाली सरकारले सिधै प्रतिबन्ध नलगाएता पनि प्रकाशक र जनताद्वारा ती तिरस्कृत हुन्छन् ।
रसिया विविध भाषाहरू प्रयोग गर्ने विशाल राष्ट्र हो । रुसमा रसियाली भाषाको अतिरिक्त कजाख (प्रसिद्ध कजाखी लेखक मुख्तर आएजोभ), दाघेस्तानी (रसुल गम्जाटोभ), युक्रेनियन (स्टेलमाख), लत्भियन (उपिट्स), अजरवाइजानियन (रागिमोभ), बेलोरसियाली, उजबेक, जर्जियाली, ताजिक, तुर्केली, यहुदी, आदि भाषाहरूमा पनि साहित्यको विकास भैरहेको छ । रसियाली लेखकहरूले जुनसुकै विषय छनौट गरेता पनि समाजवादी यथार्थवाद आजको रसियाली साहित्यको मुख्य आधार हो । देशको आन्तरिक जीवन वर्ग सङ्घर्षमा आधारित भएकोले रसियाली लेखकहरू आफ्ना लेखन विषयहरू देशको समाजवादी निर्माणको ऐतिहासिक अनुभवबाट प्राप्त गर्दछन् । विश्वको बदलिँदो परिस्थितिमा भएको राजनीतिक परिवर्तन अवश्यम्भावी देखिएता पनि रसियामा बढदै गएको विश्वव्यापिकरणको नकारात्मक प्रभाव र इन्टरनेट तथा सामाजिक सञ्जालको बढ्दो प्रचलन र दुरुपयोगबाट सिर्जित छाडापन र महँगीलाई अनुभव गर्दै आज पनि धेरै रसियालीहरु सोभियत युनियन ढलेको मन पराउँदैनन् ।
उदारवाद आउने बित्तिकै समाजवादको जगमा उभिएको रसियाली साहित्यिक इतिहास गल्र्याम गुर्लुम ढल्यो त ! तल्सतोई, गोगोल, दस्तोएभ्स्की, तुर्गेनेभ, पुश्किन, गोर्की, चेखोभ, मायकोभ्स्की, पास्तरनाक, अस्त्रोभ्स्की, यसेनिन, फदेयेभ, फेदिन, लेर्मन्टोभ, शोलोखोभ, लेओनोभ जस्ता विश्वविख्यात साहित्यकारका कृतिहरुबाट निर्मित सोभियत साहित्यको जग मजबुत रहेको र रुसमा मात्र होइन विश्वका कैयौँ लेखकहरुले त्यही धरातलमा आज पनि साहित्यिक सिर्जनाहरु गर्ने गरेको देखिन्छ । आज पनि कैयौँ स्रस्टाहरु त्यही सोभियत साहित्यको जगमा आफ्ना रचनाहरु सिर्जना गरिरहेका छन् । युद्ध र शान्ति होस् अथवा मृत आत्माहरु, आमा, अपराध र सजाय, डा. झिभागो वा इभान डेनिसोभिचको जीवनमा एक दिन सबै विश्वका अमूल्य निधि हुन् ।