तिमी यहीँ हुँदा त नाफिनीका काडाँहरुको पनि काम आउथ्यो किनकि भाउजुहरु कान छेड्न आउनुहुन्थ्यो नन्दहरु नाक छेड्न आउथे तर तिमी बसाइँ सरेपछि त बगैंचाका मौरीहरु पनि बसाइँ सरे फुलहरुपनि ओइलिएर मरे । तिमी बसाइँ सरेपछि त हाम्रा वडा अध्यक्षहरुले तिम्रो गाउँ जाने बाटोमा सडक पुन्रनिर्माणका बजेटहरु कटौती गर्नथाले फलस्वरुप तिमी मलाई भेट्न आउने बाटो मेरो मुटुजस्तै कटकटिएर खियाँ लागेजस्तो भएको छ । तिम्रो जुठेल्नो नजिकै उम्रने ती दुधालु सालिम्बो पनि तिमीले घर छाडेपछि त सुकेर कामै नलाग्ने बूढो खरुकी जस्तै भएछ । हाम्रा गाउँका नाइटे खोलामा भएका डुम्रे र काली दहमा रेडी एक दुई तीन भनेर एकैचोटी पिसाब फेरेपछि तिमी र म खुब पौडी खेल्थ्यौ तिमीले हाम्रा खोलापाखा छाडेर गएपछि ती डुम्रे दह र कालीदहहरु डाइनोसर जस्तै लोप भएर बालुवा थुप्रेर बनेको चिहानजस्तै भएछन् । रातैभरि, दिनैभरि गीत गाउँदै त्यो पल्लो वस्तीको सिरान डाँडाबाट बग्ने झर्ना पनि तिमी नुहाउन जान छाडेपछि त वेदनाले चिरिएको मेरो छातीजस्तै हर्टएटेक भएर बन्द भएका रक्तनली जत्तिकै असक्त र विरक्तिएका देखिदाँ रहेछन् । तिमीलाई हेरेर कुर्लेजस्तै कुर्लिने तामेढुकुरहरु तिमी बसाइँ सरेपछि कसैको पनि आँगनमा विस्कुन छर्न आएका छैनन् रे ! साँझमा भ्यागुता र झ्याउँकिरीहरु चिरबिराँउदा तिमीलाई देखेर खुसी भएका होलान् जस्तो लाग्थ्यो तिमीले घरको मुलढोकामा भोटेताल्चा लाएर हिडेंदेखि त कान टालिएर नारायण गोपालको आवाज पनि कर्कश लाग्न थाल्यो तिम्रो वर्णन नभएको कथा जस्तो । तिम्रो घरको सीधा माथिको आकाश आजकाल जतिबेलै हेर्दापनि धुम्मिएर गजधम्म परिरहेजस्तो देख्छु यस्तो लाग्छ यता तिमीविना सारा गाउँ निस्ताएर झोक्राएको छ र उता पनि तिमीलाई गाउँको यादले कट्कटी ज्यान खाएको छ समग्रमा तिम्रो बसाइँसराईले सबै विरानो बनाएको छ ।। (पाख्रिबास, धनकुटा)