दुईचारवर्ष अघि बितेका उसका बाबुआमा ‘ तँ होस् र म हूँ’ को दैनिक छलफलमा आइरहे, ‘ भिखारी, पाखेको सन्तान । ‘ उसको दिमागले सहन सकुन्जेल प्रतिवाद गरिरही । अति भएपछि मनको औषधि गर्न घर छोडर हिँडी ।
ऊ गएदेखि ऊ खोजीमा निस्कियो । सन्तान थिएनन्, रातमा त्यही छानोमा फर्कीहाल्नु पर्ने वाध्यता टरेको थियो । खोज्दाखोज्दै नखोजेको वस्तु भेटायो ।
पहिलेको भन्दा तिक्खर थियो स्वाद । निर्लज्ज बनेर दुई छाक टार्यो । खल्ती साघुँरिदै गयो, छोडेर भाग्यो । माल पाएर चाल नपाएको यस्तालाई भन्दा हुन् । माल एउटै दाम फरक । एकपटक ठूलो स्वरले सोच्यो, ‘के त्यत्ति हो त त्यसको प्रयोजन ।’ भन्यो, अन्यथा गरेछु क्यार सुन्तलीमाथि ।’
बाटोका बटुवालाई सोध्यो, ” मेरी सुन्तली देखेका थ्यौ ?” बटुवाले भन्यो, “अब घाँस खाएर बाँच ” । सुकेको झारको त्यान्द्रो हिजोको दाँत कोट्याउँदै थियो ।
“थु कति गन्हाएको ” थुकेर फाल्छ । बाहिरको फोहर त फालिस् पेट र मनभित्रको डङ्गुर के गर्छस्, दिमागले सोध्यो । मन हावी थियो, दिमागलाई टेरेन ।
ऊ फेरि खोजीमा निस्कियो ।
कतैबाट आवाज सुन्यो, “रामेले लात्तैलात्ताले स्वास्नी भक्कु कुटेछ । सेतीमा हाम फालीछ ।”
उसले त बोलीले कुटेको थियो । ढुक्क भयो । तैपनि चित्त बुझाउन सेती किनारमा गयो । एकअर्कामा अंकमाल गरेका एकजोडी बाढीको अवशेषसँगै किनारमा उत्रेका थिए । धेरै रमितेहरुको जोडी मोवाइलमा समाचार कैद गर्नमा अलमस्त थियो । वारेसको अत्तोपत्तो थिएन । ऊ थक्क भयो ।
पर किनारमा जोडी विहिन एउटी महिला हातमा केही लिएर टुक्क्रुक्क बसेकी जस्ती थिई । एक्ली देखेर ऊ उतै लस्कियो । चिने चिने जस्तो गर्यो । उसले चिनिन । एकछिन कुर्यो, कुनै हलचल भएन । छोयो, चिसो लाग्यो । उठाउन खोज्यो, पल्टियो ।
हातको वस्तु भुइँमा खस्यो । त्यो ‘ऊ ‘ थियो ।
(धनगढी, कैलाली)