लिलिथको कोखबाट जन्मिने तिमी, म तिम्रो कोखाबाट कसरी बनेँ, तिम्रो सत्ताको पैतालाहरूले ढाकिएको मेरो इतिहास हेर, म त्यहीं छु, ठीक माथि, जहाँबाट तिमी होंचिएको छौ, आफ्नै हीनताले, जसरी होंचिएका थिए राम, सीता धरतीमा खस्दा जसरी होंचिएका थिए पाण्डव द्रौपदीको खुल्ला चुल्ठो हाँस्दा, जसरी होंचिएका थिए विष्णु वृन्दाको सतीत्व छुँदा, र जसरी होंचिएका छन् कृष्ण राधाको प्रेम रूँदा, जसरी होंचिएको छ तिम्रो तिर्खा तिम्रो नैतिकतासँगै, त्यसरी नै होंचिएको छ , तिम्रो श्रेष्ठता तिम्रो पुरूषत्वसँगै, म तिम्रो उँचाई होंच्याउन आएको होइन, तर तिमी पनि म जत्तिकै अग्लो मात्र छौ भन्न आएको, जुन सत्य तिमीले ढाँट्दै आएको छौ युगौंदेखि तिमीले रचेको तिम्रो सत्तामा जुन सत्ता तिम्रो न भएर हाम्रो हुनु पर्थ्यो । (सिलगुरी, भारत)