हरेक बिहान पुजाको घण्टीसँगै मेरो निद्रा खुल्ने गर्दथ्यो । म हाई गर्दै झ्यालमा पुग्थेँ र जीउ तन्काउँथे । पल्लो घरका हजुरबा हजुर आमा आँगनमा सारेको तुलसीको मठमा पूजा गर्दै हुन्थे । लाग्थ्यो– यो उमेरमा पनि कति प्रगाढ प्रेम कति गाढा माया ।
पुजा सकेर दुबै भित्र कोठामा पस्थे । खाना हजुरबाले बनाउँथे । शारीरिक रूपमा हजुर आमाभन्दा हजुरबा बलियो र निरोगी देखिन्थे । हजुर आमा रोगी थिइन् । राम्रोसँग आँखा देख्दिनथिन् । हिँडडुल गर्न पनि उनलाई हजुरबाको सहारा चाहिन्थ्यो । हजुरबाले खाना पकाउँथे र हजुर आमालाई सँगै राखेर खुवाउँथे । खाएको जुठो भाँडा आफै मस्काउँथे हजुरबा र बूढा बूढी सँगै घुम्न जान्थे बजारतिर । मैले हर दिन देख्ने गरेको यो उनीहरूको दैनिकी थियो ।
एक किसिमले लाग्थ्यो आनन्दमय छ तिनको जिन्दगी । कसैको आस नराख्ने ती बूढा बूढीको पारिवारिक जीवन सम्पन्न थियो । चार जना सन्तान, दुई छोरा दुई छोरी । सबैको घरजम भैसकेको थियो । छोरीहरू राम्रै घरमा परेका थिए । छोराहरू पनि आ–आफ्नो परिवार समालेर बसेका थिए । नाति नातिनीहरू बिदेशमा थिए । औसीको दिन मिठाई र केही खानेकुरा बोकेर छोरा छोरी बूढा बूढीको सामु टुप्लुक्क आउँथे; औपचारिकता देखाउँथे र जान्थे । अघिपछि कोही आउँदैनथे उनीहरू सामु माया बोकेर । केवल रित्ता थिए बूढा बूढी । समय के थहाँ कुन बेला कसरी आउँछ र कुन बेला कस्लाई आक्रमण गर्छ ?
एक दिन अचानक बूढा बिरामी परे । भाडामा बस्नेहरूले छोरा बुहारीलाई माथिल्लो तलामा खबर पुराईदिए । उनीहरू आउँदा बूढा सिकिस्त अवस्थामा पुगिसकेका थिए । आफूले मात्र हस्पिटल खर्च बेहोर्नु पर्ला भनेर कान्छो छोरो दाजु भाउजूलाई खबर गर्दै थियो फोनबाट ।
बूढा हजुरबा हस्पिटल लाँदा लाँदै बीचबाटोमै मरेको खबर सुनियो । वरपरका छिमेकीहरू मलामी गए । त्यही रात बूढा पशुपति आर्यघाटमा जलेर समाप्त भए । त्यो रात म निदाउन सकिनँ । भोलिपल्ट आँगनभरि मान्छे जम्मा भएका थिए । बूढी सेतो पहिरनमा छोराहरू नजिकै बसेकी थिइन् । सान्त्वना दिन आफन्तहरू, छरछिमेकी आउँथे जान्थे । मान्छेका सामु गोहीले आँसु झारेझैं छोराहरू रून्थे ।
“हाम्रा बुबा हामीलाई छाडेर यति चाँडै जानु भो । “
छोरीहरू चिच्चाउँथे । ती रूवाई र चिच्याहट सुनेर मान्छेहरू कानेखुशी गर्थे । “ बाँचुन्जेल कहिले वास्ता गरेनन् ; सँगै राखेनन् । मरेपछि समाजलाई देखाउन स्वाँङ पार्छन् कति जानेका नाटक गर्न । “
मानिसहरूको खण्डन सुनिन्थ्यो । वास्तवमा त्यस्तै थियो त्यो घरको व्यवहार । जेठो छुट्टिएर बसेको । कान्छोले बा आमाको जिउनी सहित अंश खाएर बसेको । चार तल्लाको घर । तल्लो तलामा बाबु आमालाई एउटा कोठा, तीन ओटा कोठा भाडामा । महिनाको दुई कोठाको भाडा बूढा बूढीलाई छुट्टाएका थिए । तिनै दुई कोठाको भाडा तीनहजार मासिक थापेर बूढाबूढी पालिएका थिए ।
“बूढा भन्दा अघि जान पाए सुखै पाउँथे । “
बूढी बारम्बार आफुलाई भेट्न आउने बूढापाकाहरूसँग भन्ने गर्थिन् । तर बूढाले नै एक्लै बूढीलाई छाडेर गए ।
तेह्र दिनसम्म बरखी बनरेर काजक्रिया गरिदिए छोरनहरूले र बाबुको जुठो फुकाए । उनीहरूलाई कुनै चिन्ता थिएन पित्रृशोकको । चिन्ता थियो त पैसा खर्चको । केही दिन त आमालाई माया पनि गरिटोपले । कहिले कान्छोले आफुसँगै राखेर कहिले जेठोले बोलाएर एक दुई छाक खान दिएर । दुबै छोराका पत्नीहरू असल थिएनन् । छोराहरू पनि आ आफ्ना पत्नीको कुरा काट्न सग्दैनथे । आफ्नो कर्तव्यबाट पछि हटिसकेका छोराहरूसित गुनासो गरेर के पाउनु थियो र ? बूढी दुः ख आफैसँग लुकाउँथिन् । आफुले हेर्नू पो पर्ने हो कि भनेर छोरीहरू पनि आवात जावत कम गर्थे । बुढेसकालमा आफ्ना सन्तानहरूसित सुख दुः ख बाँडेर फूलको थुँगाझैँ हलुका हुने दिन बूढीलाई कहिले आएन ।
जेठो छोराले केहिदिन लगेर उसको घरमा राखेको थियो । बुहारीले छिमेकीसँग कुरा काट्दै गरेको बूढीले सुनिन् । बुहारी भन्दै थिइन्, “सम्पत्ति जति सबै कान्छो छोरालाई पोसे, अहिले मलाई घाँडो आइलागेको छ । कुन मुखले बस्न सकेको होला ? उतै छ उनको भाग उतै जानु नि । “
बूढीका आँखा रसाए । मुटु बेस्सरी दुख्यो । के के अड्के जसरी घाँटीमा अवरोध भयो । बिस्तारै मुटु छामेर थच्च भुइँमा बसिन् र भुइँभरि आँसु खसालिन् । चार ओटा सन्तानलाई आफुले कहिले फरक नगरेको र आफ्नो गाँस काटेर दुःखमै हुर्काएको सम्झिन । आफ्नो शरिरको ख्याल नगर्दा आफु बेलैमा रोगी हुन पुगेको र बुढेशकालमा तिनै छोरा छोरीबाट आफु अवहेलना भएको पीडा सम्झिन थालिन् ।
जेठा छोराको घरमा बस्न मन नलागेपछि बूढी पुन कान्छो छोराको घरमा फर्किन् । कान्छी बुहारी पनि के कम ? उनले पनि आफ्नो रूप देखाएरै छाडिन् । एकदिन बूढीलाई पेटमा गड्बडी भयो र सन्चो भएन । यो देखेर कान्छी बुहारीले रडाको मच्चाइन् ।
“ कति घिच्नुपर्छ ? बस्यो खायो । हेर यो दुर्दशा म त सग्दिन । त्यसपछि बूढीलाई खान दिन छोडे । अनि पहिलेकै कोठामा लगेर राखिदिए । भोक लाग्थ्यो खान पाइदैन्थ्यो । दया मायाले वरपरकाले केही दिएमा बुहारी झगडा गर्थिन् । बिचरी बूढी भोक भोकै पर्न थालीन् । यो अवस्थामा आएर यस्तो पीडा ? उनलाई देख्ने सबैको आँखा रसाउँथे ।
केही हप्ता पछाडी,
बेलुकी पख म अफिसबाट फर्किदै थिएँ । पल्लो घरमा रूवाबासी देखँे । जेठो छोरा छाती पिटिपिटी रूदै थियो । कान्छो छोरी पनि डाँको छोडेर रूदै थियो । आँगनको छेउमा बूढीको लास थियो । छोरी बुहारीहरू पनि रोइरहेका थिए । मैले त्यो दृश्य देखेर पाइला अगाडी सारेँ । बूढीले आत्माहत्या गरिछिन् । मान्छेहरू भन्दै थिए– “सुख पाइन् बूढीले ।“
(काभ्रे, पनौती)