नेपाली साहित्यमा चर्चित भाषाशास्त्रीको नाउँ लिनुपर्दा दाहिने हातको कान्छी औँलो भाँचेर सबभन्दा सिरानमै बालकृष्ण पोखरेलको नाउँ उच्चारण गर्नुपर्ने हुन्छ । प्रचण्ड विद्वान, नेपाली भाषाका विश्वकोश, भाषाविद् बालकृष्ण पोखरेलको जन्म वि.सं. १९९० (सन् १९३३) साउऩ ३० गते भाद्र कृष्णाटमी दिन चिसापानी गढ़ी, मकवानपुरमा भएको हो ।
बाबु सुब्बा शारदा पोखरेल ।
आमा कृष्ण छायाँदेवी पोखरेल ।
विद्यार्थी अवस्थादेखि नै साहित्यप्रति मोह जागेका बालकृष्ण पोखरेलले भाषा विज्ञान, गीत, कविता बाहेक पनि साहित्यका प्रायः सबै विधामा कलम चलाएको देखिन्छ । साहित्यका सबै विधामा कलम चलाए पनि यिनी भाषा अनुसन्धानकर्ताकै रुपमा माननीय छन्, पूज्यनीय छन् । श्रद्घाणीय छन् ।
वि.सं.२०२७ (सन् १९७०) सालदेखि वि.सं. २०३६ साल (सन् १९७९)सम्म महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्प्स र पछि स्नातकोत्तर क्याम्पस खुलेपछि सोही क्याम्पसमा भाषा विज्ञान प्राध्यापन गरेको थाहा लाग्दछ । वि.सं. २०४६ साल (सन् १९८९) मा अवकाश ग्रहण गरेपछि स्वतन्त्र रुपमा अध्ययन गरी साहित्य लेखनमा आफूलाई समर्पित गरेको पाइऩ्छ ।
बालकृष्ण पोखरेल चूपो लागि बस्ने स्वभावका साहित्यकार थिँदै थिएनन् । साहित्य र भाषाप्रति उनको बिर्सिनै नसकिने योगदान देखेर उनलाई देशको सर्वोच्च साहित्यिक संस्था नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले सदस्यको रुपमा ग्रहण गर्यो । प्रज्ञाले हाम्रा भाषाविद्, विश्वकोशकार बालकृष्ण पोखरेललाई सम्मान गर्नु भनेको प्रज्ञाले आफ्नो मान बढाउनु हो ।
प्रज्ञामा सदस्यता ग्रहण गरेपछि यिनको लगनशीलता, अक्लान्त उद्यम देखेर यिनलाई प्रज्ञा प्रकाशित ‘नेपाली वृहत् शब्दकोश’ सम्पादन मण्डलीमा राखियो । ‘नेपाली वृहत् शब्दकोश’ सम्पादनमा यिनले कल्पनै गर्न नसकिने योगदान पुऱ्याएर शब्दकोश बजारमा ल्याउन छिनु र मार्तोलको काम गरका छन् । प्रज्ञामा पाँच वर्षसम्म विं.सं. २०३६ साल (सन् १९७९) देखि वि.सं. २०४१(सन् १९८४) सालसम्म प्रज्ञाका सदस्य रुपमा य़िनले निष्ठापूर्वक सेवा पुर्याए ।
विद्यार्थीकालदेखि साहित्य लेखन आरम्भ गर्ने भाषाविद् बालकृष्ण पोखरेलले जीवनको अन्तिम क्षणसम्मै लेखिरहे, लेखिरहे । लेखन कार्यलाई उनले कहिल्यै बिसाएनन् । यौवनकालमा छँदा छद्मनाम लेख्न यिनी भक्कु रुचाउँथे । कुनै पनि साहित्यकारले आफ्नो औपचारिक नामको साटो छद्मनाम प्रयोग गर्ने चलन विश्वमै व्याप्त रहेको पाइन्छ । विश्व साहित्यमा यस्ता छद्मनाम वा उपनाममा लेख्ने औंलामै गन्न नसकिने साहित्यकारहरु देखिन्छन् । नेपाली साहित्यमा छद्मनाममा लेख्ने प्रचलन वा परम्परा नेपाली साहित्यको माध्यमिक कालदेखि नै लेखिँदै आएको पाइन्छ । माध्यमिककालीन केही साहित्यकारहरू राणाको गिद्ध नजरबाट जोगिन विशेष रुपले छद्मनाम वा उपनाम प्रयोग गरेको देखिन्छ । त्यसताका निक्कै सुनिने छद्मनाम वा उपनामहरूमध्ये ‘एक विद्यार्थी’, ‘एक देशसेवक’, ‘केदार’, ‘ख्याली, ‘दास’, ‘देवी’, ‘पूर्णबन्धू’, ‘भादगाउँ’, ‘रसिक’, ‘रामभक्त’, लाहुरे’, ‘वियोगिनी’, ‘विरही’, ‘शादी’, ‘सरल’, ‘सहन शील’, ‘सानिमा आदि आदि ।
शम्भुप्रसाद ढुङ्गेलले ‘पुण्यप्रसाद’, ‘गौरीप्रसाद’, ‘अगस्ती’, ‘भूतनाथ’ आदि छद्मनाम वा उपनाम प्रयोग गर्नु बाहेक पनि महिलाको छद्मनाम वा उपनाम ‘लावण्यमयदेवी’, ‘स्वर्णकुमारी’, ‘विरहिनी’ र ‘नलिनीदेवी’ लेखेर साहित्य सिर्जना गरेको पाइन्छ । त्यसैगरी लेखनाथ पौड्यालले पनि ‘मधुकर’ छद्मनाम वा उपनाममा लेखेको पाइन्छ ।
अहिलेसम्म देखिएका नेपाली साहित्यकारहरूका छद्मनाम वा उपनामहरू -‘अकेला’. ‘अज्ञात’. ‘अनपढ़’, ‘अनमोल’. ‘अनुराग’. ‘अपतन’, ‘अपार’, ‘अपूर्ण’. ‘अप्रिया’. ‘अभय’. ‘अभागी’, ‘ अर्धव्यास’. ‘असीम’. ‘असीम पी़डा’. ‘आकाश गङ्गा, ‘आशा’, ‘आँसु’, ‘आधाबाटे कान्छा’, ‘आमोदी’, ‘आशावादी’, ‘आशुतोष’, ‘ओखरे दाइ’, ‘इच्छुक’, ‘उपेन्द्र’, ‘उमेश’, ‘एकलव्य’, ‘कदम’, ‘कमल’, ‘कलाप्रेमी’, ‘कल्पित’, ‘कान्छा नेवार’ ‘किञ्ज्ल्क’, ‘किशोर’, ‘गफाड़ी’, ‘गाउँले’, ‘घटोत्कच शर्मा’, ‘घायल’, ‘घोण्डे गुरुङ ‘ चक्रपाणी चट्के’, ‘चिन्तन’, ‘चोथाले’, ‘चोसे दाइ’, ‘जागरुक’, ‘जानकीशरण’, ‘जिगर’, ‘जिज्ञासु’, ‘जुठे’, ‘ज्यापु’, ज्यालादारी’, ज्योति’, ‘ज्योत्स्ना’, ‘ज्ञानी’, ‘तृषित’, ‘देवेश’, ‘धनञ्जय, ‘धूम्रकेतु’, ‘नवोदित’, ‘नानीबा’, ‘नास्तिक’, ‘निराकार’, ‘निराशी’. ‘निर्दोष’, ‘निर्भीक’, ‘निर्मोही’, ‘नेपाली’, ‘पत्थर’, ‘पथिक’, ‘परिमल’, ‘परिश्रमी’, ‘परिश्रान्त’, ‘पहाड़ी’, ‘पाखे’, ‘पागल’, ‘पीडित’, ‘पीयूष’, ‘प्यासी’. ‘प्रकाश’, ‘प्रभाकर’, ‘प्रवासी’, ‘प्रेक्षित’, ‘प्रेरणा’, ‘बगर’, ‘बन्धु’, ‘बादेपा’, ‘बेचैन’, ‘बेहोशी’, ‘भस्मासुर’, ‘भाइसाब’, ‘भावुक’, ‘भास्कर’, ‘भिखा़डी’, ‘भूँडे पण्डित’, ‘मधुकर’ ‘मुनाल’, ‘मार्मिक’, ‘मुमुक्षु’, ‘मोसे दाइ’ ‘यात्री’, ‘यायावर’, ‘योगी’, ‘रसिक’, ‘राँको’, ‘रामदास’, ‘रोहित’, ‘वर्तमान’, ‘वात्सायन’, ‘विकल’, ‘विकल्प’, ‘विजयी’, ‘विज्ञान’, ‘विलास’, ‘विनोदी’, ‘विमल’, ‘विरक्ति’, ‘विरही’, ‘विवश’, ‘वेदना’, ‘वेदमणणि’, ‘वेदव्यास’, ‘शाण्डिल्य’, ‘शिशु’, ‘शीला’, ‘श्रमजीवी’, ‘श्रमिक’, ‘सङ्कल्प’, ‘सच्चिदानन्द’, ‘भारद्वाज’, ‘सत्याग्राही’, ‘समदर्शी’, ‘सरल’, ‘सरित’, ‘सरोज’, ‘सागर’, ‘सुमित्र’, ‘सिन्धु’, ‘सुधोयात्री’, ‘सुर्केली’, ‘सेवक’, ‘सौरभ’, ‘हिरण्यगर्भ’ आदि आदि ।
उता पश्चिमी सहित्यमा पनि छद्मनाम वा उपनाम लेख्ने देशानले नभेटेको होइन । रिकार्डो एलिएसर नेफ्ताली रेयेस बसाल्टोको छद्मनाम पाब्लो नेरुदा, एरिक अर्थर ब्लेयरले आफ्नो छद्मनाम जर्ज अरवेल राखेको पाइन्छ । प्रसिद्ध हेरी पोटरका निर्माता जोअनलाई जे के रोलिङ छद्मनाममै संसारले चिन्छन् । अङ्ग्रेजी अपराधी लेखक अगाधा क्रिष्टि मेरी व्येष्टम्याकट, स्यामुएल ल्याङघर्न क्लेमेन्स- मार्क ट्वेन आदि आदि ।
भारततिर पनि बङ्ला साहित्यमा पनि छद्मनाम छद्मनाम वा उपनामधारी अनेकन् साहित्यकारहरू देखिन्छन् । तीमध्ये प्रमुख हुन्- शरतचन्द्र चट्टोपाध्याय- अनिला देवी, रवीन्द्रनाथ ठाकुर- भानु सिंह, आन्नाकालि– पाकड़ाशी, काजी नजरुल इस्लाम- धुमकेतु, ब्याङाचि, बङ्किमचन्द्र चट्टोपाघ्याय कमलाकान्त, सुनिल गङ्गोपाध्याय नील लोहित आदि ।
यसै सन्दर्भमा भन्नुपर्दा, बालकृष्ण पोखरेल पनि छद्मनाम वा उपनाममा लेख्न जण्डा थिए । उनका छद्मनाम छद्मनाम वा उपनाम औंलामै गन्न नसकिने छन् । ती छद्मनाम छद्मनाम वा उपनामहरु यस प्रकारका देखिन्छन्- रुपावासी, वसन्त, वत्सल, ईर्सावापुर, लक्ष्मीविलास पाध्या, केकेमनुक्च्यो पोखरेल, गढतिरे साहिलो, हिमालपाने बराल आदि आदि ।
आफ्नो मूल नाममा बाहेक पनि यी छद्मनाममा निकै लेखेको पाइन्छ । बालकृष्ण पोखरेलकै हाराहारीमा वासुदेव लुइटेल पनि छद्मनाममा लेख्ने कम्ति थिएन । यिनका छद्मनामहरू- ‘भूतको भिनाजु’. ‘नैकापे काका’, ‘अढाइ अकक्ली’, ‘अनाथ’, ‘उम्मेद्वारमन्त्री’, ‘एकतारे सिताराम’, ‘ओमकारनाथ’, ‘ओममणि आचार्य’, ‘कवि’, ‘कत्री’, ‘काका’, ‘काका कुइकेल’, ‘कान्छाकाजी’, ‘कालिमाटीको बेखा’, ‘कुमारी शोभा’, ‘खत्री कान्छा’, ‘जम्बुमन्त्री’, ‘झाँक्रीझम्पाट’, ‘टपरीनाथ’, ‘टुटे भाइ’, ‘टेकनाथ’, ‘डेढ अक्कली’, ‘ढाडे बिरालो’, ‘तनेबासे’, ‘ताहाचलको स्याल’, ‘धुपौरे काका’, ‘नेरुपि’, ‘प्रमको परमभक्त’, ‘प्रतपश्चात’, ‘बतासे’, ‘बद्रीनाथ’, ‘बरबोटे बाहुन’, ‘बाउँटे बाजे’, ‘बद्धिबहादुर घर्ती’, ‘भूतपूर्व जुङ्गेदाइ’, ‘भेना’, ‘माउसुली’, ‘मिष्टर ए-जेड’, ‘मिष्टर भक्त’, ‘रामकृष्ण खत्री’, ‘लम्फू’, ‘शिवभक्ति’, ‘शुदर्नाचार्य’, ‘श्रीमहाप्रभु’, ‘श्रीमान सुब्बा’, ‘सक्रेटेरी’ आदि आदि ।
कलकत्ता विश्वविद्यालयबाट ‘ऐतिहासिक भाषाशास्त्र’मा स्नतोकत्तर सिद्ध्याए पछि बालकृष्ण पोखरेल वि. सं. २०१९ साल (सन् १९६२) देखि त्रिभुवन विश्वविद्यालय अध्यापन गर्न थाले ।
साहित्यका प्रायः जम्मै विधामा यिनले कलम चलाएका हुनाले सोही विधा-विधाका कृतिहरू हामीलाई उपलब्ध गराएका छन्-
कविता –
१. शान्ति सेना (विं.सं.- २०१०/सन् १९५३)
२. रसिला कविता (बाल कविता सङ्ग्रह) – (सं. २०२५/सन् १९६८)
३. साना-सानी (बाल कविता सङ्ग्रह)- (विं.सं. २०२५/सन् १९६८)
४.सौरी (खण्डकाव्य)- (विं.सं २०४०/सन् १९८३)
कथा सङ्ग्रह –
१. एकादेशमा (बाल कथा सङ्ग्रह)
२. फुटेको एना (वि.सं. २०२९ / सन् १९७)
३. सुनगाभा (वि. सं २०२९ /सन् १९७२)
४. सोधाई र जवाफ (विं.सं २०३४ / सन् १९७७)
५. कानेखुशी (विं.सं २०३४ / सन् १९७७)
उपन्यास –
१. यातना
२. खोलावारि खोलापारि
३. मित्रता
४. परिचय
५. जोर जुलुस
६. तीन कथा
७. सेतो सिन्दुर
८. सुनीरा
९. झिमझिम परेली
१०. कल्पनाको डीलबाट
११. बरालिएको मान्छे
१२. पराई मान्छे
निबन्ध सङ्ग्रह –
१. कलेज स्तरमा निबन्ध सङ्ग्रह
२. उकुस मुकुस
३. सुनगाभा (वि. सं २०२९ /सन् १९७२)
४. तेस्रो एकमुखे रुद्रक्षको खोजी
५. हिमाली रचना (बाल निबन्ध सङ्ग्रह)
नाटक –
१. हस्ताक्षर हुन नपाउँदै
अनुसन्धान –
१. खसजातिको इतिहास (अनुसन्धनात्मक ग्रन्थ, विं.सं. २०५५ /सन् १९९८)
२. पाँच सय वर्ष (अनुसन्धनात्मक)
अन्य-
१. हिमाली साहित्य (भाग ४ – १०)
२. नेपाली भाषा र साहित्य
३. एक मन सात चिन्तन
४. राष्ट्रभाषा (भाषिक कृति)
५. झर्रा शब्द्यौली (विं.सं. २०६४ /सन् २००७)
६. पाँच सय वर्ष
कोश –
नेपाली-अङ्ग्रेजी-नेपाली कोश
पुरस्कार –
१. मदन पुरस्कार (२०२१/१९५५)
२. तिभा पुरस्कार
३. पाल पाण्डे असीम पुरस्कार
४. पट पुरस्कार (२०५५/१९९८)
५. दयानन्द पुरस्कार (२०५६/१९९९)
६. पृथ्वी प्रज्ञा पुरस्कार
भाषाका धरोहर, ज्ञानका भण्ड़ार अनि विद्वताका सागर हुन् भाषाविद् बालकृष्ण पोखरेल । उनी गहिरो समुद्रमा बिस्तारै बग्ने पानी….बगेपछि बगेको बग्यै हुने….ठ्याम्मै रोकिन नचाहने । गफ गर्नमा जण्डा…गफ गर्न पाएपछि समय बितेको थाहै नहुने । उहाँका मिठाइला, टेसिला गफ जति सुने पनि धितै नमर्ने । घण्टौं-घण्टौंसम्म सुनिरहुँ मन लाग्ने । कतिपय विद्वानले उनलाई ‘गफाड़े विद्वान’-को पगरी गँथ्याइएको पनि थाहा छ ।
सिलिगुड़ीमा विश्वेशर प्रसाद कोइराला फाउण्डेशनको आयोजनामा विराट साहित्यिक भेलामा प्रा बालकृष्ण पोखरेल प्रमुख वक्ताको रुपमा उपस्थित थिए । कार्यक्रमका प्रमुख अतिथि त्यसताकाका नेपाल-भारत राजदूत भेषबहादुर थापाको पनि उपस्थिति रहेको थियो । म सिलिगड़ीबाट छापिने एउटा नेपाली दैनिकका प्रधान सम्पादकमा कार्यरत थिए ।
सरले मलाई बेलुकी होटलमा बोलाउनु भयो । बेलुकीपख होटल सिन्कल्यर्सको एउटा भव्य कोठामा सरसित धेरै बेर गफ भयो । मिठाइलो अनि टेसिलो गफ । सर साह्रै गफिला । साह्रै घतपर्दा, चित्तपर्दा र ठुङमार्दा गफ मात्रै होइन उनका हरेक कुरामा एउटा उत्साहिलो, शिक्षाइलो, उर्जाइलो वाणी हुन्थ्यो । कुरै कुरामा सरले मलाई भन्नुभएको यी कुरा अद्यावधि मेरो कर्णकुँवरमा गुञ्जिनै रहेको हुन्छ । गफै-गफमा महाकवि भर्तृहरिको ‘नीति-शतक’को उठान गर्दैा भनेका थिए- ”आफ्नो गुण र अरु कसैका पनि दोष पर्वतैजस्तै अजङ्का भए पनि त्यसलाई अणुभन्दा पनि स्यानो ठानी उपेक्षा गर्नुपर्छ अनि आफ्नो दोष र अरुको दोष तिलका दानाझैं स्याना छन् भने तिनलाई पर्वतझैं ठूलो बनाएर, बढाइ-चढ़ाइ गरेर वर्णन गर्नुपर्छ । आफूले दिने गरेको वक्तव्यमा आफ्ना भूलहरूको बेलिविस्तार लगाउनुपर्छ भने अरुका गुणको मालसिरी गाउनुपर्छ ।”
कलकत्ता विश्वविद्यालयमा अध्ययन गर्दा ऐतिहासिक भाषाविद् डा. सुनीतिकुमार च्याटर्जीलाई उनले आफ्नो मूल गुरु ठानेका थिए । डा. सुनीतिकुमार च्याटर्जी फेरि भाषाका प्रकाण्ड विद्वान थिए। उनलाई गुरु थाप्नु पाउनु अनि उनीजस्ता गुरुको शिष्य हुने भाग्य जोसुकैलाई जुड़्दैन । त्यो भाग्य एकमात्र उनै हाम्रा गौरव, हाम्रा महागरु बालकृष्णको भाग्यमा जुड़ेको थियो । बालकृष्ण पोखरेल बाहेक कुनै नेपालीलाई विद्वानलाई सुनीतिकुमार च्याटर्जीको शिष्य हुने भाग्य जुरेन ।
नेपाली भाषा साहित्यको सिङ्गो धरोहर, औंलामा गन्नै नसकिने गुरुहरूका पनि गुरु ‘महागुरु’ एक छोरो, दुइ छोरी तथा अनेकन नाता-नातिनीका धनी महान् पिता बालकृष्ण पोखरेलले वि स. २०७५ साल / सन् १९९८ फाल्गुन १२ गतेका दिन चार कोड़ी ६ वर्षको डिलमा पुगेर विराटनगरको श्रीस्पतालमा अन्तिम निश्वास त्यागे ।
उनको निधनलाई सिङ्गो संसारकै नेपाली साहित्यलाई गतिलो टुटा परेको छ । अब यो टुटा पुर्ताल गर्न अब अर्का बालकृष्ण पोखरेलजस्ता महागुरु कहिले जन्मिने हुन् को’नि !!
(सिलिगु़ड़ी, भारत)