यसको कुनै आकार हुँदैनपानी हो कविता जस्तो भाँडोमा राख्यो त्यस्तै बन्छ यो। यसको कुनै रुप, रङ र गन्ध हुँदैन जस्तो सुगन्ध, रङ भर्न चाह्यो बश, त्यस्तै हुन्छ यो । त्यही पानी समुद्रमा नुनिलो हुन्छ, निलो देखिन्छ र सुन्दर झरना बनी बहँदा मीठो हुन्छ, कंचन देखिन्छ । जसरी सुख्खा खडेरीपछि घना बादल आउँछ, बर्षा हुन्छ, हो, त्यसरी नै प्रकृतिको कविता कहिल्यै सकिन्न, त्यो अनन्त हुन्छ र जसले दिल र दिमागलाई छुन्छ । जसरी पात र फुलहरु झर्छन् र फेरि टुसा पलाउँछन्ऽ फुल फुल्छन, हो, त्यसरी नै प्रकृतिको कविता पलाइरहन्छ्न् फुलिरहन्छन निरन्तर नयाँ नयाँ रुप, रङ र सुगन्धमा । जसरी कर्कलामा परेको पानी रहन्न, देखिन्न, टिक्दैन, हो, त्यसरी नै धनको जलपले चिल्लो पारेको मनमा कविताको छाप रहन्न, टिक्दैन, देखिन्न। पानी हो कविता यसको कुनै रुप, रङ र गन्ध हुन्न जसरी पानी कहिल्यै बासी हुँदैन, बिग्रन्न, गन्हाउदैन हो, त्यसरी नै कविता कहिल्यै बासी हुँदैन,यसको म्याद सकिदैन । जसरी पानी सम्पूर्ण जीव जगत बोट बिरुवा र मानवको लागि नभै हुँदैन हो, त्यसरी नै कविता सम्पूर्ण मनवात्माको लागि मानवीय संबेदनाको लागि जरुरी हुन्छ। पानी पर्छ र सर्बत्र हरियाली छाउछ कविता बर्षा हुन्छ र मनमा खुशियाली ल्याउँछ जसरी पानीले बहाएर लान्छ सम्पूर्ण सुकेका पातपतिङर र फोहोरहरु र वातावरण सफा बनाउँछ हो, त्यसरी नै कविताले पनि बहाउँछ मनका मयलहरु- पिर ब्याथा र वेदनाहरु र सफा र स्निग्ध बनाउँछ मान्छेका मनहरु । आँखाबाट निस्केको पानी आँसु हुन्छ जसले मनदेखि आँखा सम्मको पिर- मयल धुन्छ, हो, त्यसरी नै मनबाट निस्केको भावना कविता हुन्छ जसले लाखौं मनहरुलाई प्रभाव पार्छ, छुन्छ । हो,पानी हो कविता जसले पिउँछ उसको तिर्खा मेटिन्छ हो, पानी हो कविता जो प्रकृतिमा अनन्त छ र खोजेदेखि सर्बत्र भेटिन्छ । (बुटवल हाल नेपालगन्ज)