महामारीको कारण देशमा लकडाउन थियो । संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको थियो। मृत्युदर पनि उकालो लागेको थियो। रोगले भन्दा भोकले मान्छेहरू पिल्सिएका थिए। सहरभरी सुरक्षा कर्मीहरु तैनाथ थिए।
सहरमा कर्फ्यु लागेको थियो । जेठको महिना गर्मी बढेको थियो। झमक्क साँझ परिसकेको थियो। रबि घरको बरन्डामा बसेर अस्पताल बिरामी भेट्न गएकी श्रीमतीलाई कुर्दै थियो। इन्दु झोलुङ्गोमा छोरी सुताएर आमा भेटन अस्पताल गएकी थिइन्। “आइहाल्नु पर्ने” पैदल हिँडेरै आएपनी दसबाह्र मिनेटकै बाटो हो” मनमनै भुतभुताउँदै थियो रबि। सुनसान सडक बजार नियाल्दै थियो। चोक चोकमा सुरक्षाकर्मी हरु तैनाथ थिए। कुलमानको बहिर्गमनपछि बिजुलि बत्ति आउने जाने भैरहेको थियो।
यत्तिकैमा केही मान्छे दौडिएजस्तो अनौठो आवाज रबिको कानमा ठोकिन पुग्यो। अध्यारोमा केही नदेखेपछि रबि पनि मोबाइलको लाइट बालेर परसम्म नियाल्यो। केही पर सडक छेउमा मान्छेको छाँया जस्तै केहि हल्लिरहेको दृश्य देखेर उस्को छाती ढक्क फूल्यो। केही बेर पछि त्यो मान्छेको छाँया बिस्तारै साँगुरो गल्ली तर्फ प्रस्थान गर्यो। त्यो अस्पष्ठ दृश्य देखेर रबिको मनमा अनेकौं कुरा खेल्न थाल्यो हत्तपत्त बरण्डाबाट भित्र छिर्यो झलुङ्गोमा निदाएकी छोरीलाई हेर्यो झ्यालको पर्दा झारेर भान्सा तिर लाग्यो। खाना चिसो भैसकेको थियो। एकपटक फोन गर्न पर्यो भन्दै श्रीमती लाई फोन लगायो। “तपाईंले सम्पर्क गर्नखोज्नु भएको मोबाइलको स्विच अफ गरिएको छ” रबि मुर्छित भएर लड्यो।
केही घण्टापछि झोलुङ्गाकी छोरी रोएपछी मात्रै रबिको होस खुल्यो हत्तपत्त अस्पतालमा रहेका आफन्तलाई फोन लगायो। इन्दु केहीछिन बसेर फर्किएको जवाफ दिए। रबि असिना पसिना भएर प्रहरीलाई फोन लगायो। “हलो” हजुर प्रहरी कार्यलय हो? हजुर हजुर। मेरो श्रीमती बिरामी भेट्न् अस्पताल गएकी थिइन् अस्पतालबाट त राती ९ बजे हिँडेकि रे। तर अहिलेसम्म घरमा आएकी छैनन् उनको मोबाइल पनि अफ छ”!
जबाफमा “कर्फ्यु उलङ्घन गरेर शान्ति सुरक्षामा आँच आउने कार्य गरेवापत सेनाको कार्वाहीमा उल्लेखित स्थानमा एकजना महिलाको निधन भएको छ निजको साथमा टिफिन बम बरामद भएको छ!”
त्येहीबेला झोलुङ्गोकी छोरी च्याँठिदै रुन्छे। रबिको मानसपटलमा भने राती सडक छेउमा हल्लिएको त्यो धमिलो छाँया। अँध्यारो सडक। टिफिन बम। त्यो हल्लिएको छाया । दिनभरि नै सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति? “अस्पतालबाट फर्केकी मेरी इन्दु ।”
आखिर त्यो हल्लिएको छाँयाले इन्दुको इज्जत् लुट्दै थियो!
(तनहुँ)