यसको कुनै आकार हुँदैनपानी हो कविता
जस्तो भाँडोमा राख्यो
त्यस्तै बन्छ यो।
यसको कुनै रुप, रङ र गन्ध हुँदैन
जस्तो सुगन्ध, रङ भर्न चाह्यो
बश, त्यस्तै हुन्छ यो ।
त्यही पानी समुद्रमा
नुनिलो हुन्छ, निलो देखिन्छ
र सुन्दर झरना बनी बहँदा
मीठो हुन्छ, कंचन देखिन्छ ।
जसरी सुख्खा खडेरीपछि
घना बादल आउँछ, बर्षा हुन्छ,
हो, त्यसरी नै प्रकृतिको कविता
कहिल्यै सकिन्न, त्यो अनन्त हुन्छ
र जसले दिल र दिमागलाई छुन्छ ।
जसरी पात र फुलहरु झर्छन्
र फेरि टुसा पलाउँछन्ऽ फुल फुल्छन,
हो, त्यसरी नै
प्रकृतिको कविता पलाइरहन्छ्न्
फुलिरहन्छन निरन्तर
नयाँ नयाँ रुप, रङ र सुगन्धमा ।
जसरी कर्कलामा परेको पानी
रहन्न, देखिन्न, टिक्दैन,
हो, त्यसरी नै
धनको जलपले चिल्लो पारेको मनमा
कविताको छाप रहन्न, टिक्दैन, देखिन्न।
पानी हो कविता
यसको कुनै रुप, रङ र गन्ध हुन्न
जसरी पानी कहिल्यै
बासी हुँदैन, बिग्रन्न, गन्हाउदैन
हो, त्यसरी नै कविता कहिल्यै
बासी हुँदैन,यसको म्याद सकिदैन ।
जसरी पानी सम्पूर्ण जीव जगत
बोट बिरुवा र मानवको लागि नभै हुँदैन
हो, त्यसरी नै कविता
सम्पूर्ण मनवात्माको लागि
मानवीय संबेदनाको लागि जरुरी हुन्छ।
पानी पर्छ र सर्बत्र हरियाली छाउछ
कविता बर्षा हुन्छ र मनमा खुशियाली ल्याउँछ
जसरी पानीले बहाएर लान्छ सम्पूर्ण
सुकेका पातपतिङर र फोहोरहरु
र वातावरण सफा बनाउँछ
हो, त्यसरी नै कविताले पनि बहाउँछ
मनका मयलहरु- पिर ब्याथा र वेदनाहरु
र सफा र स्निग्ध बनाउँछ मान्छेका मनहरु ।
आँखाबाट निस्केको पानी आँसु हुन्छ
जसले मनदेखि आँखा सम्मको पिर- मयल धुन्छ,
हो, त्यसरी नै मनबाट निस्केको भावना
कविता हुन्छ
जसले लाखौं मनहरुलाई प्रभाव पार्छ, छुन्छ ।
हो,पानी हो कविता
जसले पिउँछ उसको तिर्खा मेटिन्छ
हो, पानी हो कविता
जो प्रकृतिमा अनन्त छ
र खोजेदेखि सर्बत्र भेटिन्छ ।
(बुटवल हाल नेपालगन्ज)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।