आरम्भ
डा.अमर (अमरराज) गिरी नेपाली साहित्य, समालोचना तथा वैचारिक चिन्तन जगत्मा सुपरिचित र स्थापित नाम हो ।
उनी माता लीलावती गिरी र पिता वासुदेव गिरीका प्रथम सुपुत्रका रूपमा वि.सं. २०१७ साल भदौ २७ गते निमुरिया २, घोराही उपमहानगरपालिकामा जन्मेका हुन् । हाल रतनपुर १५, घोराही उपमहानगरपालिका दाङमा स्थायी बसोबासमा रहेका अमर गिरीको बाल्यकालीन समय त्यही ग्रामीण परिवेशमा बितेको थियो ।
औपचारिक शिक्षा ग्रहणका दृष्टिमा अमर गिरीले एम.ए., बी.एड.साथै नेपाली विषयमा विद्यावारिधि (पिएच्.डी.) तहसम्मको अध्ययन सम्पन्न गरी नेपाल सरकारबाट नेपाल विद्याभूषण ‘क’ वर्गको उपाधि प्राप्त गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट “समकालीन प्रगतिवादी नेपाली कवितामा वर्गद्वन्द्व” शीर्षकमा विद्यावारिधि पूरा गरेर कविता विधाको अनुसन्धान कार्यमा आफ्नो दक्षता हासिल गरेका छन् ।
पत्रकारिता, प्राध्यापन, साहित्य लेखन, विमर्श, सम्पादन, विभागीय जिम्मेवारी वहन तथा संस्थागत नेतृत्व, वैचारिक चिन्तन, विश्लेषण जस्ता कार्यमा हरेक निकायमा रहँदा कर्तव्यनिष्ठ र सन्तुलित रही कार्यसम्पादन गर्न सक्ने छविका रूपमा डा.अमर गिरीको परिचय सिद्ध भएको छ । कसैलाई नबिझाई र अपमान नगरी सुबोल, नम्र, प्रस्ट, उद्देश्यमूलक, वस्तुपरक शिल्पमा लेख्नु र बोल्नु, आफ्नो वैचारिक, दार्शनिक, हैसियत तथा स्वाभिमानलाई कायम राख्नु, आफ्नो आत्मनिर्भर, दृढ निश्चयी स्वभाव र व्यवहारलाई हरेक परिप्रेक्ष्यमा बचाउनु, सदा सिर्जनशील एवं बौद्धिक सन्दर्भ र कर्ममा क्रियाशील भई व्यक्तिगतभन्दा पनि सार्वजनिक जीवनमा अमूल्य समय बिताउनु, विचारमा स्पष्टता र व्यवहारमा खरो भएर उत्रनु, सादा जीवनशिल्प र उच्च विचारलाई अँगाल्नु, धैर्यशील, भोलाभाला हाउभाउ, आत्मविश्वास र आकर्षक शैलीमा कार्यसम्पादन गर्नु, अभिव्यक्तिलाई इमानदार, सरल र पद्धतिबद्ध बनाएर प्रस्तुत गर्न सक्नु, समय सन्दर्भको विश्व परिवेशलाई नियाल्ने गरी अध्ययन र चिन्तनलाई ठोस् धारणामा परिणत गर्न सक्नु, सांस्कृतिक आयामहरूको ऐतिहासिक, दार्शनिक र माक्र्सवादी वैचारिक दृष्टिले सूक्ष्म विश्लेषण गर्नु डा. अमर गिरीका विशेषताहरू हुन् ।
यस्ता उच्च स्तरीय गुणका धनी अमर गिरी धेरै मानिसका लागि धेरै विषयमा उत्प्रेरक व्यक्तित्व बनेका छन् । सरकारी र निजी तथा जनस्तरबाट पनि थुप्रै जिम्मेवारी, विश्वास प्राप्त भएकाले डा.गिरी नेपाली समाजका एक आदरणीय, उदाहरणीय, उल्लेखनीय र वर्णनीय व्यक्तित्व हुन् । औपचारिक अध्ययनका साथै जीवन र जगत्का गम्भीर विषयमा गहिरो ज्ञान आर्जनमा डा.अमर गिरीले आफूलाई सधैँ क्रियाशील बनाएको पाइन्छ । अरूमाथि छिटै विश्वास गरिहाल्ने र प्रभावित हुने स्वभावलाई आफ्नो कमजोरीको रूपमा स्वीकार गर्न मन पराउने डा.गिरी कमजोरीका विरुद्ध सफल र सशक्त व्यक्तित्व हुन् । उनले अध्ययन, प्राध्यापन, सिर्जन, विश्लेषण, राजनीति, चिन्तन, विमर्श आदि कार्यलाई आफ्नो मूल रुचिक्षेत्रको रूपमा अँगालेका छन् । यही क्षेत्रमा निरन्तर रूपमा खटेर नेपाली समाजलाई शैक्षिक, वैचारिक, राजनीतिक, सांस्कृतिक, साङ्गठनिक, सिर्जनशील, बौद्धिक, प्राज्ञिक योगदान गरेका डा.अमर गिरीको व्यक्ति चित्रलाई यहाँ सार सङ्क्षिप्त रूपमा प्रस्तुत गरिएको छ ।
डा.अमर गिरी : व्यक्तित्वका आयामहरू
मानिसका व्यक्ति चित्रहरू फरक फरक हुन्छन् । सार्वजनिक जीवन बिताउन सक्नेहरूका सार्वजनिक व्यक्तित्व निर्माण हुन्छ भने कतिपयका व्यक्तिगत जीवनमा सीमित व्यक्तित्व मात्रै रहेको हुन्छ । तर, हरेक व्यक्ति विभिन्न व्यक्तित्वको आयाममा परिणत भएका हुन्छ । यद्यपि थोरै व्यक्तिले मात्रै सही दृष्टिकोण, मार्गदर्शन र आफ्नो स्वाभिमानी जीवनको आयाम निर्माण गर्न सक्दछन् । अमर गिरी यही थोरैभित्र परेका वा गुणात्मक जीवनको आयाम बनाउन सफल प्रेरणादायी व्यक्तित्व हुन् ।
सानैदेखि सङ्घर्षपूर्ण जीवन बिताउँदै उनले आफ्नो सार्वजनिक व्यक्तित्व निर्माणमा प्रगतिशील बाटो रोजेका छन् । डा.अमर गिरीले आफ्नासामु आइपरेका घरायसी र सामाजिक अनेकन समस्याको सामना गरेर जीवनलाई असहजबाट सहज, अस्वाभाविकबाट स्वाभाविक, पुरातनबाट आधुनिक, भावुकताबाट वस्तुगत यथार्थ, अन्यायबाट न्याय, निराशाबाट आशा तथा अन्धकारबाट उज्यालो जीवनको आयामतर्फ फड्को मारेका छन् । आफ्ना हरेक पाइलामा चेतना, जागरण र सामाजिक उन्नतिको सामूहिक विकासवादी व्यक्तित्व बनाउने धारमा डा.गिरीले आफूलाई उन्मुख गर्दै एकपछि अर्को सफलता पनि हासिल गरेका छन् ।
मानिसले आफ्नो सफलता सही विचारका कारण प्राप्त गर्दछ । प्रतिकूल परिवेशलाई अनुकूलीकरण गर्न सक्ने दृढता र वस्तुगत सत्य–तथ्यको बोधले पनि मानिस सफल हुन्छ । अथक परिश्रम र उच्च चेतनाको कारण मानिस यथोचित गन्तव्यमा पुग्न सक्छ । व्यक्तिगत समस्यालाई समाधान गर्दै सामाजिक समस्याको निराकरणतिर सामूहिक प्रगतिको बाटोमा लाग्ने व्यक्तिले नै आफ्नो भविष्यलाई विस्तार गर्न सक्छ । इच्छा शक्तिको तीव्र विकास र त्यसतर्फको निरन्तर गतिशील यात्राले पनि मानिस सबल एवं असल व्यक्तित्वमा परिणत हुन्छ । दुःखलाई सुखमा परिणत गर्न सक्ने सामथ्र्य जीवनवादी, सङ्घर्षशील, सकारात्मक सोच र धैर्यशील स्वभाव तथा व्यवहारबाट नै सम्भव हुन्छ । यही मूल्य र मान्यतामा डा.अमर गिरीको जीवनलाई सफलता र प्रतिष्ठाको रूपमा विवेचना गर्नु उचित हुन्छ । उनको मापन र मूल्याङ्कन पनि यही सन्दर्भ एवं परिप्रेक्ष्यबाट गर्न सकिन्छ ।
कवि व्यक्तित्व
अमर गिरीको सार्वजनिक व्यक्तित्वको मूल स्वरूप कविका रूपमा स्थापित भएको छ । उनको पहिलो प्रकाशित कविता बनारसबाट प्रकाशित सन्देश पत्रिकामा ‘आमा’ शीर्षकमा २०३१ सालमा प्रकाशित भएको थियो । उनले यही फुटकर कविताबाट यस विधाको औपचारिक यात्रा आरम्भ गरेका हुन् । त्यसपछि नेपाल र बाहिरका विभिन्न पत्रिका, पुस्तक आदिमा उनका कविताहरू प्रकाशित हुँदै आएका छन् । कवि गिरीका कविताहरू विभिन्न तहका पाठ्यपुस्तकमा पनि समावेश भएका छन् ।
कवि गिरीका फुटकर कविता रचनाहरूबाहेक पुस्तकाकार रूपमा हालसम्म प्रकाशित कविता सङ्ग्रहका कृतिहरू घामछेक्ने पहाड (२०५५), तर पनि हामी जीवित छौँ (२०६१), दुःसाध्य समय (२०६४), शब्दहरूको बीचमा (२०७१), समय संवाद (२०७३) रहेका छन् । यी कविता कृतिमा मूलतः वैचारिक अभिव्यक्तिलाई मुख्य प्राथमिकता दिइएको छ । कला र विचारको संयोजन गरिएको छ । उचित बिम्ब र उचित व्यङ्ग्य तथा शब्दार्थको समन्वय पनि गरिएको छ । माक्र्सवादी जीवन चेतनालाई उनले आफ्ना कवितामा केन्द्रीय अभिव्यक्ति बनाएका छन् । यिनै परिप्रक्ष्यमा कवि गिरीका कविताहरूको अध्ययन र विश्लेषण गरी तिनमा निहित भएका कवित्व, अन्तर्वस्तु, कलात्मक शिल्प, बिम्ब, प्रतीक, अलङ्कार आदिका साथ अभिव्यञ्जित वैचारिक स्वरूप बोध गर्न सकिन्छ ।
कवि डा.अमर गिरी प्रगतिवादी कवि हुन् । उनका कवितामा माक्र्सवादी सौन्दर्य चिन्तन अभिव्यक्त भएको छ । उनी कविताको अन्तर्वस्तु र कला पक्षको सुन्दर गठन गर्न सक्षम प्रतिभा हुन् । कवितालाई कलात्मक बान्कीमा जीवनवादी स्वरले परिपुष्ट बनाउन सक्ने सामथ्र्य र विशेषता उनका कवितामा पाइन्छ । माक्र्सवादी कला साहित्यका गम्भीर अध्ययन गरेका र त्यस क्षेत्रमा क्रियाशील भई लामो कार्यगत अनुभव हासिल गरेका कवि गिरीले कवितालाई पनि सोही बिम्ब तथा प्रतीकमय बनाएका छन् । उनका कविता समाजमा विद्यमान शोषण, अन्याय अत्याचारका विरुद्ध केन्द्रित भएका छन् । सुबोध र सुललित भईकन विचारनिष्ठ र उद्देश्यमूलक एवं सार्थक कविता सिर्जना गर्नु उनको कवित्व सामथ्र्य हो । कविता सिर्जना, अनुसन्धान, समीक्षा, प्राध्यापन, विमर्श र कविता विधा सम्बद्ध संस्थागत नेतृत्वसमेतले उनलाई यस विषयका विज्ञको रूपमा स्थापित गरेको छ ।
डा.अमर गिरीको कवित्वमाथि समालोचना गर्दै प्रा.डा. एवं प्राज्ञ हेमनाथ पौडेल यसरी आफ्नो धारणा व्यक्त गर्दछन्– “नेपाली प्रगतिवादी साहित्यिक फाँटमा मात्र होइन, सांस्कृतिक, राजनीतिक एवं बौद्धिक, प्राज्ञिक जगत्मै समकालीन पुस्ताका एक सशक्त प्रतिभाका रूपमा अमर गिरी परिचित छन् । विचार र कलाको समुचित समन्वय, सन्तुलन र संयोजन, प्रस्ट वैचारिकता र काव्यात्मक स्तरीयता एवं प्रखर माक्र्सवादी जीवनदृष्टि र सशक्त समाजवादी लेखन पद्धति उनका कविताका विशेषता हुन्” (समय संवाद) । उनले कवि गिरीका कवितामा समाजका कुरूपतामाथि कटु आलोचना भाव व्यक्त भएको र सामाजिक सङ्घर्ष एवं मुक्तिको बाटोमा लाग्न अभिप्रेरित गर्ने विचार प्रकट गरेको जनाएका छन् ।
त्यसैगरी कवि अमर गिरीका कविताको अन्तर्यलाई अभिव्यक्त गर्ने क्रममा विद्वान् पुरुषोत्तम सुवेदीले भनेका छन्– “अमर गिरी समकालीन नेपाली कविताका सार्थक शिल्पी हुन् । अमर गिरीका कविता काल र अनुभव प्रवाहका निरन्तरता साथ सांस्कृतिक चैतन्यको गतिसँग जोडिएका छन् । …अँध्यारोसँग जुध्दै उज्यालो खोज्ने आत्मसङ्घर्ष उनको कविताको प्रतिपाद्य विषय हो” (गरिमा) । जीवन र जगत्लाई क्रान्तिकारी परिवर्तन गरी विद्यमान विसङ्गति, अन्याय र अमिल्दा पक्षहरूको अन्तका निम्ति सङ्घर्षको आह्वान गरिएका सन्देश बोकेका प्रगतिशील र प्रगतिवादी कविताको रचनाले उनलाई माक्र्सवादी विचारका कुशल स्रष्टाको रूपमा चिनाएको छ । त्यसैले उनी स्पष्ट रूपमा प्रगतिवादी कवि प्रतिभाका रूपमा परिचित भएका छन् ।
कवि गिरीका कविताले मानवताको रक्षा गर्नुपर्ने भावका साथै समाजमा रहेका वर्गद्वन्द्वको चित्रण गरेको छ । शोषक र शोषित वर्गीय रूपमा विभाजित समाजलाई असमानताको खाडल अन्त गर्न हरेक व्यक्ति र निकायमा सामूहिक प्रगतिको स्वर उठाउनु पर्नेमा उनका कविताले जोड दिएको छ । नेपाल जस्तो विकासतिर लम्किरहेको मुलुकमा बाह्य हस्तक्षेपकारी संस्कृतिको भद्दा अतिक्रमण सहन सकिन्न भन्ने सांस्कृतिक प्रतिरोधको चेतनालाई पनि डा.अमर गिरीले आफ्ना कवितामा अभिव्यक्त गरेका छन् । मूलतः प्रगतिवादी कवि व्यक्तित्वका रूपमा स्थापित कवि गिरीका समग्र कवितालाई अध्ययन, विशलेषण गरी बोध गर्नु सान्दर्भिक रहेको छ ।
बौद्धिक एवं प्राज्ञिक व्यक्तित्व
डा.अमर गिरीले विशेषतः साहित्य सिर्जना, समालोचना, वैचारिक, दार्शनिक, सांस्कृतिक क्षेत्रको अध्ययन, मनन, चिन्तन र लेखन तथा विमर्शका माध्यमबाट आफूलाई बौद्धिक व्यक्तित्वका रूपमा स्थापित गराएका हुन् । त्रिभुवन विश्वविद्यालयमा भाषा, साहित्य, समालोचना जस्ता विषयमा अनुसन्धान र प्राध्यापन कार्य गरी आफ्नो शैक्षणिक अनुभवलाई पनि उनले सबल बनाएका छन् ।
नेपालको एक प्रतिष्ठिति प्राज्ञिक संस्था नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञको रूपमा उनको प्राज्ञिक व्यक्तित्व स्थापित भएको छ । सो प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य एवं काव्य तथा पद्य विभागका प्रमुखको रूपमा रहेर डा.अमर गिरीले नेपाली कविता क्षेत्रका सिर्जना, समालोचना, अनुसन्धान, सङ्कलन, विमर्श, प्रतियोगिता, इतिहास लेखन, सम्पादन जस्ता कार्यको नेतृत्व पनि गरिसकेका छन् ।
नेपाली कविता विधालाई सैद्धान्तिक, वैचारिक, प्रायोगिक, शैक्षणिक, अनूदित, खोज अनुसन्धानमूलक बनाउने जस्तो बौद्धिक जिम्मेवारीले उनलाई कविताको सृजन पक्ष र चिन्तन पक्षमा अझ बढी गहिरो तार्किक सामथ्र्य प्रदान गरेको छ । यसो त उनले कविता र साहित्यका अन्य विविध विधाको प्राध्यापनका क्रममा पनि यस विषयको ज्ञान निर्माणलाई गम्भीर रूपमा बोध गरेका छन् । साहित्यको अध्ययन, अध्यापन, विमर्श, सम्पादन, सिर्जना र समालोचनाका साथै यसका माध्यमबाट असल विचार निर्माणमा केन्द्रित डा.अमर गिरीको संलग्नता पनि व्यापक रहेको छ । यस सम्बद्ध विभिन्न सङ्घ सङ्गठनको आबद्धता, नेतृत्व र ती संस्थाहरूमा रहँदा गरिएका विभिन्न भूमिकाले उनको सिर्जनशीलता, वैचारिकी एवं चिन्तनशील व्यक्तित्वको आयाम फराकिलो, स्पष्ट र केन्द्रीकृत भएको पाइन्छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको काव्य विभागअन्तर्गतका विभिन्न ग्रन्थहरूको निर्देशन, सम्पादन, प्रकाशनहरूका साथै निजी स्तरबाट प्रकाशित अनुसन्धानमूलक जर्नलहरूको सम्पादन कार्य पनि नेतृत्व पनि डा.गिरीले गरिसकेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको काव्य विभागमा रहँदा उनको सम्पादन तथा निर्देशनमा प्रकाशित ग्रन्थहरूमा आधुनिक नेपाली कविता (एन्थलोजी), प्रज्ञा समकालीन नेपाली कविता विमर्श, समकालीन नेपाली कविताको समाजशास्त्र, नेपाली प्रगतिवादी कविताको इतिहास, समकालीन प्रतिनिधि नेपाली नारी कविता, प्रज्ञा समकालीन प्रतिनिधि नेपाली छन्द कविता, प्रज्ञा समकालीन नेपाली मुक्तक र काव्य विमर्शका तिन भाग ग्रन्थहरू आदि रहेका छन् ।
डा.अमर गिरीले साहित्य तथा समसामयिक विषयमा दर्जनौँ कार्यपत्रहरू प्रस्तुत गरेका छन् । त्यसमा विभिन्न विचारहरूको विमर्श र अँगाल्नुपर्र्ने औचित्यपूर्ण मार्गदर्शनमा उनका कार्यपत्रहरू केन्द्रित भएका छन् । पछिल्लो समयमा उत्पन्न भएका वैचारिक प्रवाह र त्यसमा निहित मूल्यका साथै स्वार्थ केन्द्रित गतिविधिको भण्डाफोर गर्ने काममा पनि उनले आफूलाई सक्रिय पारेका छन् । स्तम्भ लेखन, प्रवचन, अन्तर्वार्ता आदिका क्रममा पनि उनले बौद्धिक प्रस्तुति, प्राज्ञिक गरिमा र ओजपूर्ण मर्यादा एवं छविलाई प्रस्तुत गरेका छन् । कुनै पनि निकाय वा संस्थामा शालीन ढङ्गले कार्य सम्पादन गर्ने, तर्कपरक एवं ठोस् कारणसहित आफ्ना लेखाइ, भनाइ र कामलाई पुष्टि गर्ने प्राज्ञिक–बौद्धिक व्यक्तित्वका रूपमा डा.अमर गिरीलाई सहजै बुझ्न सकिन्छ ।
समालोचक, सम्पादक, विमर्शकर्ता–चिन्तक व्यक्तित्व
डा.अमर गिरी कवि व्यक्तित्वका साथमा समालोचक, सम्पादक, विमर्शकर्ता एवं चिन्तक व्यक्तित्वका रूपमा पनि स्थापित भएका प्रतिभा हुन् । यी सबै क्षेत्र एक अर्काका परिपूरक भए तापनि सबैमा आफ्नो बौद्धिकता, तार्किकता, मौलिकता र कार्यसम्पादन क्षमता प्रदर्शन गर्नु उनको विशेषता हो ।
उनले २०३७÷०३८ सालदेखि समालोचनामा कलम चलाउन थालेका हुन् । हालसम्म फुटकर आलेखबाहेक उनका समालोचनात्मक कृतिहरू समय, समाज र संस्कृति (२०६७), समकालीन नेपाली कविताको वैचारिक परिप्रेक्ष्य (२०७३), भूमण्डलीकरण र साहित्य (२०७४), कवितामा वर्गद्वन्द्व (२०७५), साहित्य विमर्श (२०७५) जस्ता ग्रन्थहरू प्रकाशित भएका छन् । गिरीले आफ्ना कार्यपत्रहरूको प्रस्तुतिका क्रममा पनि समालोचकीय बौद्धिकतालाई प्रकट गरेका छन् ।
उनले समालोचना, सम्पादन र विमर्शमा गरेका भूमिका तथा योगदान प्रगतिवादी सौन्दर्यशास्त्रमा केन्द्रित भएको छ । यसकारण अमर गिरी नेपाली साहित्यमा प्रगतिवादी विचारका संवाहक व्यक्तित्व हुन् । उनले प्रगतिवाद र यसको दार्शनिक मूल्य मान्यताको सूक्ष्म विश्लेषण गरेर यस क्षेत्रलाई बलियो पार्ने सशक्त भूमिका निर्वाह गरेका छन् । माक्र्सवादी दर्शनको विमर्शका सन्दर्भमा प्रगतिशील र प्रगतिवादमा रहेका केही समानता र मूल भिन्नताका विषयमा पनि उनले स्पष्ट पार्ने काम गरेका छन् । प्रगतिवादको दार्शनिक आधारका रुपमा रहेको माक्र्सवादी कला साहित्यको विश्लेषण गर्नुका साथै यसइतर रहेका उत्तरसंरचना तथा उपभोक्तावादी संस्कृतिका विषयमा पनि उनले खरो विश्लेषण गरेका छन् । आजको भूमण्डलीकरण र उपभोक्तावादी प्रवृत्तिको सांस्कृतिक अतिक्रमण विरुद्ध वैचारिक तर्कहरू प्रस्तुत गर्ने बौद्धिक लेखकका रूपमा पनि डा.अमर गिरीको स्थान उल्लेखनीय रहेको छ । नवयुग लगायतका राष्ट्रिय स्तरका विभिन्न पत्रपत्रिकामा वैचारिक दृष्टिकोणका स्तम्भ लेखनमा पनि संलग्न लेखक अमर गिरी हालसम्म यस कार्यमा सक्रिय रहेका छन् ।
डा.गिरीको अर्को महत्त्वपूर्ण व्यक्तित्वको आयाम सम्पादक व्यक्तित्व हो । उनले सम्पादन कार्यलाई पुस्तक तथा ग्रन्थ, पत्रपत्रिका र संस्थागत निकायका कार्यक्रमिक सन्दर्भमा पनि निर्वाह गरेका छन् । विभिन्न साहित्यिक संस्थामा रहँदा त्यस संस्थाद्वारा प्रकाशित सामग्रीका साथै उनले अन्य ग्रन्थहरूको सम्पादन कार्यलाई सम्पन्न गरेका छन् ।
डा.अमर गिरीका हालसम्म प्रकाशित सम्पादनमूलक कृतिहरूमा काव्यविमर्श (२०७३), काव्यविमर्श (२०७४), काव्यविमर्श (२०७५), कविताविमर्श (२०७२ सहसम्पादन), नेपाली डायस्पोराका कविता (२०७२ सहसम्पादन) रहेका छन् । त्यसैगरी उनले सम्पादन गरेका केही उल्लखेनीय पत्रिकाहरूमा अन्तध्र्वनि, कलम जस्ता (साहित्यिक पत्रिका), कविता (कविता प्रधान पत्रिका, नेपाल प्रज्ञा प्रतिष्ठान)का सम्पादक तथा भृकुटी (अनुसन्धानमूलक साहित्यिक पत्रिका)को अतिथि सम्पादक भई सम्पादन कार्यकुशलतालाई सम्पन्न गरेका छन् ।
सम्पादन सँगसँगै विमर्श तथा चिन्तनमूलक व्यक्तित्व पनि उनको उल्लेखनीय पक्ष हो । साहित्य, समालोचना, संस्कृति, विचारधारा, इतिहास र यसको समष्टि सामाजिक प्रभावका विषयमा उनले लिखित, मौखिक जस्ता विभिन्न माध्यमबाट विमर्श गरेका छन् । यसका माध्यमबाट पनि उनको वैचारिक अनुभव तथा अनुभूति स्पष्ट रूपमा प्रकट भएको छ । उनले माक्र्सवादी जीवनदर्शन र सांस्कृतिक फाँटमा आफ्नो विमर्शमूलक कार्यलाई बढी केन्द्रित गरेका छन् ।
राजनीतिक आबद्धता
डा.अमर गिरीको अर्को महत्त्वपूर्ण आयाम राजनीतिक क्रियाशीलता पनि हो । विचारधाराको छनोट गर्नु व्यक्तिको राजनीतिक र वैचारिक अधिकार हो । यस अर्थमा राजनीतिक क्षेत्र पनि व्यक्तिको व्यक्तित्व निर्माणको एक महत्त्वपूर्ण पक्ष हो ।
राजनीति निश्चित दर्शन र विचारधाराबाट अनुप्राणित भएको हुन्छ । स्रष्टा र द्रष्टाका रूपमा रहेका अमर गिरीको पनि राजनीतिक संलग्नताका शृङ्खलाहरू रहेका छन् । उनले माक्र्सवादी दर्शन र विचारधाराबाट अनुप्राणित राजनीतिक सङ्गठनसँग आबद्धता जनाउँदै विभिन्न तहमा आफ्नो भूमिका निर्वाह गरेका छन् । यस सिलसिलामा उनले प्रगतिशील, जनवादी एवं समाजवादी मार्गदर्शन अँगालेको राजनीतिक पार्टीमा आफ्नो वैचारिक र राजनीतिक आबद्धता जनाएका छन् ।
अमर गिरीले २०३३ सालमा नेकपा चौथो महाधिवेशनको सदस्यता प्राप्त गरेर औपचारिक रूपमा राजनीतिक जीवनको यात्रा आरम्भ गरेका हुन् । त्यसपछि उनी २०३६ सालमा अ.ने.रा.स्व.वि.यु. छैटौँको केन्द्रीय उपाध्यक्ष बनेका थिए । २०३८ सालमा ने.क.पा. चौम दाङको जिल्ला कमिटी सदस्य भएका थिए । २०३९ सालमा सो पार्टी विभाजन भयो । त्यसपछि ने.क.पा. मशालको जिल्ला कमिटी सदस्यको जिम्मेवारीमा रहन पुगे । उनी २०४२ सालमा ने.क.पा. मशालको जिल्ला कमिटी सदस्यमा पुनः निर्वाचित भए । २०४२ सालमा मशालमा विभाजन आएर नेकपा मसाल निर्माण भयो । उनी मोटो मशालमै रहेर राजनीतिक रूपमा क्रियाशील भएका थिए ।
२०४४ सालमा नेकपा मशालको पुनः जिल्ला कमिटीको सदस्य भई आफ्नो भूमिका पूरा गरे । २०४७ सालमा नेकपा मशाल दाङको सचिव भएका थिए । पछि मशाल, चौम, सर्वहारावादी श्रमिक सङ्गठनबीच पार्टी एकता भएपछि नेकपा एकता केन्द्र निर्माण भयो । त्यसपछि नेकपा एकता केन्द्र दाङको सचिवमा उनको भूमिका रहन पुग्यो । त्यसपछि नेकपा माओवादी दाङको जिल्ला कमिटी सदस्य, सचिवालय सदस्यको जिम्मेवारीमा रहे भने २०५१ मा एक व्यक्ति कन्ट्याक्ट (मोहन वैद्यसँग) रहने गरी जिल्ला कमिटीबाट हटाइयो ।
२०५२ वैशाखमा भने उनले माओवादी पार्टी छोडेर एमाले प्रवेश गरे । एमालेमा, एमाले जिल्ला कमिटी दाङको सल्लाहकार बने । त्यसपछि एमाले अञ्चल कमिटी सदस्य भए । त्यसपछि एमाले केन्द्रीय संस्कृति विभागको सचिव भएर कार्यभार पूरा गरेका थिए । उनी एमालेको आठौँ महाधिवेशनबाट केन्द्रीय अनुशासन आयोगको सदस्यमा निर्वाचित भएका थिए । पछि नवौँ महाधिवेशनबाट पुनः केन्द्रीय अनुशासन आयोगको सदस्यमा निर्वाचित भए । यसरी डा.अमर गिरीले माक्र्सवादी विचारयुक्त राजनीतिक पार्टीको विभिन्न पदमा रही आफ्नो राजनीतिक भूमिका निर्वाह गरेका छन् ।
सङ्घ–संस्थागत तथा पेसामा आबद्धता
डा.अमर गिरीले हालसम्म विभिन्न विद्यालय र विश्वविद्यालयहरूमा गरेर तीस वर्ष शिक्षण गरेको अनुभव हासिल गरेका छन् । आफ्नो घर नजिकै अवस्थित गंगा साधारण माध्यमिक विद्यालय दाङ (हाल उच्च माविमा परिणत)बाट अध्यापन कार्य आरम्भ गरेर उनले स्नातकोत्तर तहमा त्रिभुवन विश्वविद्यालको पाटन संयुक्त क्याम्पसमा प्राध्यापन गर्नपुगे । लामो समय माध्यमिक विद्यालयमा अध्यापन गरेका उनले वाक्षे मा.वि.सेवार वनगाउँ, दाङ, चौरहजारीको माध्यमिक विद्यालय रुकुम, सिम्रतुको माध्यमिक विद्यालय रुकुम, स्ट्यानफोर्ड मावि भक्तपुर र निम्स कलेज ललितपुर जस्ता उच्च माविहरूमा समेत शिक्षण गरेर अध्यापक व्यक्तित्वलाई फराकिलो बनाएका हुन् । यसरी विद्यालय तहदेखि एम.ए तहसम्मको शिक्षण कार्यबाट यस क्षेत्रको गहन भूमिका निर्वाह गरी ज्ञान सम्प्रेषण कार्यलाई डा.गिरीले सम्पन्न गरेका छन् ।
डा.अमर गिरी विभिन्न सङघ संस्थामा आबद्ध रही क्रियाशील भएका छन् । सधैैँ सक्रिय र उर्जावान् भएर सकारात्मक शैलीमा गतिशील बनाइराख्ने स्वभावका गिरीले आफ्नो व्यक्तित्वको आयामलाई सार्थक रूपमा स्थापित गरेका छन् । डा.गिरी शिक्षक सङ्गठन, बुद्धिजीवी सङ्गठन र मानवअधिकार सम्बन्धी सङ्गठनमा बसेर काम गरेका बौद्धिक व्यक्तित्व हुन् । उनले जनसांस्कृतिक महासङ्घको उपाध्यक्षको पदमा रहेर यसमार्फत साहित्यिक, सांस्कृतिक योगदान गरेका छन् । त्यस्तै जनसाहित्यिक मञ्चको संस्थापक संयोजकको रूपमा पनि भूमिका निर्वाह गरेका छन् ।
डा. गिरी झन्डै चार दशकदेखि पत्रकारितामा आबद्ध व्यक्ति हुन् । पत्रकारिताका माध्यमबाट पनि सूचना सम्प्रेषण गरी जनवादी चिन्तनलाई मानिसका बस्तीहरूमा पु¥याउने र असल चेतना अभिवृद्धि गर्ने काम गरेका हुन् । उनको संस्थागत आबद्धताको लामो शृङ्खला निर्माण भएको छ । डा.अमर गिरी राप्ती साहित्य परिषद्को अध्यक्ष भएका थिए । त्यसैगरी उनले प्रगतिशील लेखक सङ्घ दाङ शाखाको अध्यक्ष, जनसाहित्यिक मञ्च नेपालका अध्यक्ष, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष, प्रगतिशील लेखक सङ्घ नेपालका महासचिव, राष्ट्रिय गान चयन कार्यदल सदस्य, साझा प्रकाशन समस्या समाधान तथा सुदृढीकरण सुझाव उच्च स्तरीय कार्यदल (२०७०) का सदस्य, राष्ट्रिय चलचित्र नीति मस्यौदा समिति २०६९ का सल्लाहकार विज्ञ, चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष, गाउँघर साप्ताहिक दाङका सम्पादक, प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय अधयक्ष, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा काव्य विभाग प्रमुख जस्ता महत्त्वपूर्ण पदमा रहेर महत्त्वपूर्ण योगदान गरेका छन् ।
उनले विभिन्न पत्रपत्रिकाहरूमा दर्जनौँ अनुसन्धानमूलक लेखहरू प्रकाशित गरेका छन् । समसामयिक तथा साहित्य विषयमा निरन्तर विभिन्न पत्रपत्रिकामा स्तम्भ लेखन कार्यबाट पनि उनले आफ्नो चिन्तनशील व्यक्तित्वलाई प्रकट गरेका छन् । यी विभिन्न पदमा रहेर कुशलतापूर्वक कार्य गरेकाले उनको जिम्मेवारी लिने र वहन गर्ने क्षमता स्पष्ट हुन्छ । यसैबाट उनको बहुआयामिक सार्वजनिक र सफल व्यक्तित्वको परिचय खुल्दछ ।
सम्मान तथा पुरस्कार
डा.अमर गिरीले विभिन्न क्षेत्रमा पु¥याउनु भएको योगदानको कदर गर्दै विभिन्न सङ्घ संस्थाद्वारा सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । उनका बहुआयामिक भूमिका र योगदानप्रति हौसला प्रदान गर्न र कार्यसम्पादनको उच्च मूल्याङ्कन गरेर विभिन्न निकायद्वारा मान सम्मान, पुरस्कार, कदरपत्र, अभिनन्दन प्रदान गरिएका छन् ।
डा.अमर गिरीले हालसम्म प्राप्त गरेका पुरस्कार, मान सम्मानहरूमा तारा पन्त पुरस्कार २०४७, राष्ट्रिय प्रतिभा पुरस्कार २०५२, लोकेन्द्र साहित्य पुरस्कार २०५६, बुटवल साहित्य कला प्रतिष्ठानबाट सम्मान पत्र २०५७, युगबोध राष्ट्रिय दैनिकबाट कदरपत्र २०५७, कृष्णमणि साहित्य पुरस्कार २०६२, प्रगतिशील लेखक सङ्घ बाँकेद्वारा सम्मानपत्र २०६३, प्रेस चौतारी दाङद्वारा कदरपत्र २०५९, नेपाल सरकारद्वरा सम्मानपत्र २०६४, प्रगतिशील लेखक सङ्घ बाँकेद्वारा सम्मानपत्र २०६५, योगेश्वर कलासाहित्य पुरस्कार २०६६, नेपाल चलचित्र प्राविधिक सङ्घबाट सम्मानपत्र २०६७, राप्ती सृजना पुरस्कार २०६८,। स्रष्टा अभिनन्दन समारोह दाङद्वारा अभिनन्दित २०६९, नेत्रलाल स्मृति प्रतिष्ठानबाट सम्मानपत्र २०६९, सर्वोदय वाचनालय दाङद्वारा सम्मानपत्र २०६९, पत्रकार महासङ्घ दाङ शाखाद्वारा सम्मानपत्र २०७०, एन्.एल.जी.कलाश्री पुरस्कार २०७२, गोपालप्रसाद रिमाल पुरस्कार २०७३, प्रेस काउन्सिल स्तम्भ लेखन पुरस्कार २०७५ आदि मुख्य रहेका छन् ।
नले सानैदेखि समाज परिवर्तनको बाटोमा माक्र्सवादी विचार बोकेर आफ्नो जीवनका महत्त्वपूर्ण समय समर्पित गरे । सामाजिक, साहित्यिक, सांस्कृतिक, राजनीतिक भूमिका र योगदान गरेकाले उनलाई उपर्युक्त पुरस्कार प्रदान गरिएको हो ।
अन्तमा,
डा.अमर गिरी एक सङ्घर्षशील र बहुआयामिक व्यक्तित्व हुन् भन्ने स्पष्ट हुन्छ । प्रखर प्रगतिवादी कवि, वैचारिक विमर्शकर्ता, समालोचक, राजनीतिक, सांस्कृतिक विश्लेषकका रूपमा उनको परिचय स्थापित भएको छ ।
प्रगतिवादी नेपाली कविता र वैचारिक आन्दोलनमा मौलिक इतिहास एवं व्यक्तित्व निर्माण गरेका डा. गिरीले पारिवारिक रूपमा सानैदेखि निराशाहरूलाई चिर्दै शोकलाई शक्ति, सकारात्मकता, उर्जा र सिर्जना एवं सार्थक विचारमा परिणत गरेका हुन् । यसबाट उनी आत्मविश्वास र कर्तव्यशील व्यक्तिका रुपमा परिचित छन् भन्ने स्पष्ट हुन्छ ।
उनी सानै छँदा आमाको निधन भएको थियो । पछि बुबाको पनि देहान्तपछि उनमा झन् जिम्मेवारी थपिँदै गयो । निम्न आय, ग्रामीण विकटता, सामाजिक विषमताका बिचमा यी सबै परिवेशलाई बोध गर्दै परिवारको कामभन्दा सामाजिक भूमिकामा लागेकाले उनको सार्वजनिक छवि गहिरो बन्दै आएको छ ।
उनले व्यक्तिगत र सार्वजिनक संस्थागत कामका सिलसिलामा विदेश भ्रमण गरेका मुलुकहरू बेलायत, दक्षिणकोरिया, मलेसिया, थाइल्यान्ड, हङकङ, भारत रहेका छन् । यस सन्दर्भमा नेपालका पनि विभिन्न भूभागको भ्रमण गरी नेपाली समाज, राजनीति, संस्कृति, साहित्य र विविधताको ज्ञान बटुलेका छन् ।
हाल श्रीमती देवा गिरीका साथमा रहेका डा.गिरीका छोरीहरू ः विन्दु, सिन्धु, इन्दु गिरी रहेका छन् । साहित्य सिर्जना, विमर्श, विचार, निष्ठा, वैचारिक अडान, क्रियाशील र स्वाभिमानी व्यक्तित्व निर्माण गर्न सफल डा.अमर गिरीबाट नेपाली साहित्य, समालोचना, संस्कृति, समाज र वैचारिक फाँटले अझै यस्ता प्रेरणादायी भूमिका र योगदानको अपेक्षा गरिरहेको छ ।
(काठमाण्डौं)