कम शब्दमा पनि धेरै भाव दिन सक्ने प्रमुख विशेषता बोकेको जापानी शैलीको कवितालाई हाइकु भनिन्छ । पूर्वी एसियाली साहित्यको काव्यको यो सूक्ष्म रूपलाई विश्व साहित्यमा उदाहरणीय योगदानका रूपमा लिइन्छ हाइकु र सिजोलाई ।
सातौँ–आठौँ शताब्दीतिरको हाइकाइ शृङ्खलाको विकसित रूप नै हाइकु हो । यसमा पूर्ण रूपमा शास्त्रीय संरचना र कलात्मक ढङ्गबाट किगोको सम्मिश्रण पाइन्छ । आरकिन्दामोरिताके (१४५२–१५४०) ले पहिलो पटक हाइकाइलाई होक्कु अर्थात् हाइकुमा रूपान्तरण गर्न सफल भएका हुन् । बौद्ध धर्म र हजारौँ वर्षदेखि कविकलाकारलाई प्रभाव पारेर आएको ताओवादको संयुक्त रूपबाट हाइकुको अवधारणा जन्मेको हो । पाँच, सात, पाँच गरी जम्मा सत्र अक्षरी संरचना भएको हाइकुलाई अभिव्यक्तिको लोेकप्रिय विधा बनाउने काम भने जापानी कवि योसा बोसुन (सन् १७१६–१७८३) र कोवायासीइसा (सन् १७६३–१८२७) ले गरेका हन् ।
यो जापानी शैलीको हाइकुलाई नेपाली साहित्यमा भने वि.सं. २०१९ मा शङ्कर लामिछानेले रूपरेखा (वर्ष ३ पूर्णाङ्क १६) साहित्यिक पत्रिकामा आफूले लेखेको हाइकु पहिलोपटक प्रकाशित गरेर भित्र्याएका हुन् । यसरी उनले हाइकुलाई नेपाली साहित्यमा प्रवेश गराउना साथ स्रष्टाहरू आश्चर्यचकित ढङ्गले चाख मान्दै आकर्षित भएका थिए त्यसबेला । अहिले पनि नेपाली स्रष्टाहरूका बीचमा हाइकुले बेसरी घर जमाइरहेकै छ र उसरी नै आकर्षित बनिरहेको देखिन्छ ।
नेपाली साहित्यका अनेकन विधामा कलम चलाएर नथाक्ने स्रष्टा प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’लाई पनि हाइकुको प्रभावले निथ्रुक्कै भिजाएको छ । अहिलेसम्म करिब दर्जनभन्दा बढी कृति प्रकाशित गरिसकेका प्रेक्षितले आरम्भ (हाइकुसङ्ग्रह २०७५) पाठकको हातमा थमाएका छन् । २०४९ सालदेखि हाइकु लेखन प्रारम्भ गरेका प्रेक्षितले अहिलेसम्म एक हजार जति लेखिसकेका छन् । यस सङ्ग्रहमा भने उनका दुई सय एघार हाइकु मात्रै सगृहीत छन् । उनका हाइकुमा व्यङ्ग्य, बौद्धिकता, दार्शनिक विचार, सामाजिक उत्तरदायित्वप्रतिको सचेतना आदिको संघुलन पाइन्छ ।
उनका हाइकुमा मानवीय सुखदुःख, उत्पीडनप्रतिको घृणा, समतामूलक समाजको परिकल्पना साथै प्रगतिशील विचार धाराको पक्षधरता मडारिएको हुन्छ । त्यतिमात्रै होइन सामाजिक असङ्गतिप्रति व्यङ्ग्यको झटारो पनि उत्तिकै बर्साएका हुन्छन् ।
सुकेको रुख
झरेका पातहरू
भोगेको दुःख ।
यसमा उनले व्यथित जीवनको दिनचर्यालाई देखाएका छन् । यस हाइकुले समाजको कारुणिक जीवन भोगाइलाई इङ्गित गरेको छ । गरिबको जीवन भोगाइलाई सुकेको रुख र झरेको पातसँग तुलना गरेर गरिबीको कष्टले खण्डहर बनाएको जीवनको यथार्थता पस्किएका छन् ।
कागको राज्य
अन्धकार बिहानी
रातमा सूर्य ।
सत्य असत्य नबुझी हल्लाको पछि लाग्नेप्रति तिखो व्यङ्ग्य गरेका छन् यहाँ । अँध्यारो रातलाई पनि बिहानी र रातमा सूर्यको प्रकाश देख्ने प्रवृत्तिप्रति निर्मम झटारो हानेका छन् भने अन्धकारलाई बिहानी र अँध्यारो रातलाई सूर्यको प्रकाशले मात्रै लखेट्न सक्ने नग्न सत्यलाई प्रस्तुत गरेका छन् ।
छोपेको लाज
खुस्किएको कन्दनी
सभ्य समाज ।
समाजमा आफूलाई सभ्य ठान्ने र अरुलाई पाखे ठान्ने अनि सधैँ घृणित कार्य गर्दै हिँड्नेहरूप्रति सिस्नुपानी लगाएका छन् कविले यहाँ । आफ्नो कन्दनी खुस्किएर लज्जित भइसक्दा पनि थाहा नपाउने र सभ्यताको ढोङ पिट्दै हिँड्ने अहङ्कारप्रतिको कडा आक्रोस पनि हो यो ।
देशको रथ
अरबी घोडाहरू
अन्धो सारथि ।
देशको रथ मानिएका युवाहरू अरबी मुलुकमा पुगेर अरुको घोडा वा दास भएर बस्नुपर्दाको पीडालाई कस्तो हुन्छ भन्ने थाहा नपाएका र युवा जोस र जाँगरको उपयोग गर्न नसक्ने राजनतिक नेतृत्वप्रति कटु आलोचना गरेका छन् कविले यसमा ।
ढुङ्गाको मान्छे
बलुवाको हबेली
स्वर्गीय सुख ।
नमच्चिने पिङका सय झड्का भनेझैँ कठोर हृदय भएका मान्छेले बलुवाको महल बनाएर स्वर्गीय सुखको अनुभूति दिन्छु भनेर सपना देखाएको नग्न रूपलाई कविले यो हाइकुमा ऐना जसरी छर्लङ्ग देखाएका छन् ।
सुतेको मान्छे
जागृतिको घोषणा
अघोर निद ।
काम गर्ने बेलामा जो मान्छे निदाएको भान पार्छ र उसैले जागरण ल्याउने अनेकन सपना देखाउँछ, त्यसले समाजमा माखो पनि मार्न नसक्ने सूक्ष्म विश्लेषण यो हाइकुमा पाइन्छ ।
घ्याम्पोझैँ भुँडी
नौतले दरबार
समाजवाद ।
व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुबेर भ्रष्टाचारको आहालमा पौडी खेल्दै आफू अथाहा रूपमा मोटाउने, धरहराजस्ता महलहरू ठड्याउँदै जाने र समाजवादको डिङ हाँक्ने जस्तो सामाजिक विपर्यास र बिडम्बनाप्रतिको चर्को विरोधाभास अरु के हुन सक्छ र भन्ने कुराको नग्न दृष्टान्त हो यो हाइकु ।
म ताक्छु मुढो
बन्चरो ताक्छ घुँडो
नयाँ नेपाल ।
नेपाली राजनीतिमाथि तिखो व्यङ्ग्य हो, यो हाइकु । जनताको आकाङ्क्षा र चाहना एकातिर छ राजनीतिक नेतृत्वले त्यसलाई बुझ्न नसक्ने तर नयाँ नेपालको गुड्डी हाँकेर नथाक्ने प्रवृत्तिमाथि सिस्नुपानी हान्ने काम भएको छ यहाँ ।
ढिलासुस्ती छ
भ्रष्टाचार मौलायो
अग्रगमन ।
पाँच मिनेटमा हुने कामलाई पाँच दिन लगाउने, देखादेखी भ्रष्टाचार गर्ने अनि अग्रगमनको नारा दिने कुसंस्कृतिमाथि कविले निर्मम डन्डा बर्साएका छन् ।
लामो कपाल
चुम्बन–आलिङ्गन
कलेजको कोठा ।
शिक्षालयमा मौलाउँदै गएको विकृतिमाथि ठाडो प्रहार गरेका छन् कविले यस हाइकुमा । लाजघिन नमानी आफ्ना गुरुलाई पनि नगन्ने, अतिरञ्जित प्रेमालापमा रमाउने र कक्षाकोठामा बसेर पढ्नुको सट्टा चुम्बन र आलिङ्गनमा मस्त हुने प्रवृत्तिकै कारण विद्यार्थीको अध्ययनशील क्षमतामा ह्रास आएको कुरालाई प्रष्ट्याउने काम गरेका छन् कविले यहाँ ।
उजाड पाखो
जलस्रोतको देश
लोडसेडिङ ।
नेपाल विश्वमै जलस्रोतका क्षेत्रमाधनी देशका रूपमा गनिन्छ तर यही देशमा लोडसेडिङ भइरहन्छ र यही देशका उर्वर पाखा पखेराहरू सिंचाईको अभावमा उजाड देखिन्छन् । यो देशको जलस्रोतलाई ठिक ढङ्गले सदुपयोग गर्न सके देशले काँचुली फेर्ने आशावादी दृष्टिकोण कविले अघि सारेका छन् ।
मुखमा हाँसो
मनमा जालहरू
खल्तीमा कैँची ।
मुखमा राम राम बगलीमा छुरा भन्ने उखान चरितार्थ भएको छ यहाँ । बाहिर राम्रो कुरा गरेझैँ गर्ने तर भित्रभित्र षड्यन्त्र गरेर हिँड्ने अपराधी प्रवृत्तिमाथि कठोर व्यङ्ग्य प्रस्तुत गरेका छन् कविले यस हाइकुमा ।
पापी छिमेकी
प्रत्येक दिन मेरो
करेसो मिच्छ ।
हाम्रा मित्र छिमेकी देशले हाम्रो माटो दिनप्रतिदिन मिच्दै जाने र हामीलाई सधैँ दुःख दिइरहने निन्दनीय प्रवृत्तिले गर्दा नेपाल र नेपालीले दुःख पाएको यथार्थता पस्किएका छन् कवि जगत् प्रेक्षितले यहाँ साथै सबै नेपालीले एकताबद्ध भएर त्यसको मुकाबिला गर्नुपर्ने धारणा पनि पस्किएका छन् ।
चेला पढदैनन्
गुरु पढाउँदैनन्
आजको शिक्षा ।
आजका शिक्षालयहरूमा शिक्षकले नपढाई जागिर मात्र खाने र विद्यार्थीले पढ्दै नपढी परीक्षाको नतिजा मात्र राम्रो खोज्ने प्रवृत्ति बढ्दै जान थालेकोले सूक्ष्म असन्तुष्टि व्यक्त गरेका छन् कविले यस हाइकुमा ।
सक्नेले लुट्ने
नसक्नेलाई भुट्ने
दलाल पुँजी ।
देशमा दलाल पुँजीवर्गको उदय हुँदै जानु र कामगरी खानेहरू ठगिँदै जाने क्रम बढेकोमा उनको आक्रामक असन्तुष्टि पोखिएको छ यहाँ र उनले काम नगर्ने दलाल प्रवृत्तिको अन्त्यको चाहना पनि व्यक्त गरेका छन् यहाँ ।
बाघको छालामा
स्यालको रजाइँ
जग्गा दलाल ।
यहाँ पनि कवि जगत् प्रेक्षितले दलाली प्रवृत्तिकै धज्जी उडाउने काम गरेका छन् । जग्गा दलाली अनुत्पादक काममा समय खर्च गर्नु हो भन्ने कुरालाई देखाइएको छ । जग्गाधनीको जगामाथि दलालहरूले जुन किसिमको हैकम जमाउँछन् त्यो नालायकहरूले गर्ने काम हो भन्ने कुरालाई देखाएका छन् कविले ।
राधा चौधरी
पिटिएकी पिटियै
नारीदिवस ।
राधा चौधरी जस्ता निरीह र गरिब नारीहरू नारी दिवसका दिनमा पनि मालिकहरूबाट पिटिनु, बलात्कृत हुनु र गाली बेइज्जती सहिरहनु पर्ने विकराल परिस्थितिको अन्त्य हुनु पर्ने कुरालाई जोडतोडले उठाएका छन् यहाँ । नारीहरू नै अपमानित भइरहेको अवस्थामा फगत नारी दिवस मनाउनुको कुनै अर्थ छैन भन्ने धारणालाई अघि सारेका छन् कविले यस हाइकुमा ।
आजको कवि
खोज्छ चर्चा मात्रै
नामको भोको ।
आजका कविहरूको दुर्दशालाई देखाउने जमर्को गरेका छन् कविले यहाँ । राम्रो लेख्ने, नेपाली कवितालाई शिखरमा पु¥याउने चिन्ताभन्दा पनि एक दुईओटा कविता लेखेका भरमा वाहीवाही खोज्ने प्रवृतिले नेपाली कविताको स्तर माह्रास आउन सक्ने चिन्ता व्यक्त गरेका छन् कवि प्रेक्षितले यहाँ ।
ग्राहक खाली
फाइलभित्रै घर्रामा
मकर्मचारी ।
हाम्रो देशको कर्मचारी तन्त्रको नाङ्गो रूपलाई प्रस्तुत गरेका छन् कवि जगत् प्रेक्षितले यहाँ । सेवाग्राहीलाई दुःखदिने, सेवाग्राहीको फाइललाई घर्रामा थुनेर धेरै दिनसम्म कार्यालयमा धाउन लगाइरहने कुप्रवृत्तिको कविले खुलेरै असहमति जनाएका छन् ।
माक्र्सवादी विचारधारालाई आत्मसात् गर्ने यथार्थवादी अनि प्रगतिशील कवि प्रा. जगत् उपाध्याय प्रेक्षितका आरम्भ (हाइकुसङ्ग्रह २०७५)मा भएका दुई सय एघार हाइकुले नेपाली समाजका विद्यमान समस्यालाई उजागर गर्ने काम गरेका छन् । कविताको सूक्ष्म रूप हाइकुका माध्यमबाट समाजमा रहेका सूक्ष्म विकृति, विसङ्गति र असामाजिक प्रवृत्तिमाथि सूक्ष्म तरिकाले कतै व्यङ्ग्य गरेका छन् भने कतै सुधारको आशा प्रस्तुत गरेका छन् । प्रा. जगत् उपाध्याय प्रेक्षितले कविताको सूक्ष्म रूप हाइकुका माध्यमबाट नेपाली काव्य जगत्लाई उचाइमा पु¥याउने काम गरेका छन् । यस्ता विशिष्ट प्रतिभाबाट नेपाली साहित्यले यस्तै विशिष्ट किसिमको योगदान भविष्यमा पनि खोजिरहने छ ।