यसपालिको बाढीमा
छानो भत्केको छ
विश्वासको,
आधार स्तम्भहरु हल्लिएका छन्
आस्थाका,
द्वेष र आक्रोशको जलस्तर बढेर
डुबाएको छ आँगन
आत्मीयताको
र फेल भएका छन्
गणितीय समीकरणहरु ।
यसपालिको बाढीले
सजिलो पारिदिएको छ हामीलाई,
नदी जानु परेको छैन माछा मार्न,
पानी हाल्नु परेको छैन चामल भिजाउन,
घर पानीमा डुबे पनि
घरको संघारदेखि नै डुुड्डा खियाउँदै
पानीजहाजका सपना बेच्न
हामी सक्षम भएका छौँ ।
यसपालिको बाढीले सिङ्गो शताब्दीको बोझ
आफूसँगै बगाएर लगेको छ,
सारा वितृष्णा फैलाउने आकृतिहरुलाई
बढारेर फालिदिएको छ,
र अब केही हलुका अवश्य महसुस भएको छ ।
यसपालिको बाढीले
अहम्को पहाडलाई धूलिसात पारिदिएको छ,
मानिसलाई उसको हैसियत सम्झाएर गएको छ,
र राम्ररी सम्झाइदिएको छ
कि टेथिस सागरको पिँध पनि
लाखौँ वर्षको प्लेट टेक्टोनिक हलचलबाट सगरमाथा बन्न सक्छ,
साथै यो पनि सम्झाएर गएको छ
कि टाउकामात्र धेरै थुपारेर केही नहुँदोरहेछ
हावामा,
बरु पाउहरु टेकिएका हुनुपर्दोरहेछ
धरातलमा ।
यसपालिको बाढीले
उद्घाटित गरेको छ कि बाढी हामीभित्र पनि छ,
संयम सबैले साध्नुपर्छ,
मानसपटमा पनि तटबन्ध लाउनुपर्छ
अन्यथा जोवनको बाढीले जीवन बगाउन सक्छ ।
यथार्थमा, कैयौँ तराईमा यो बाढी नै होइन रहेछ
घरहरुबीच कैद भएको पानी
घरहरुभित्र पस्न खोज्दो रहेछ
बहाव प्रतिबन्धित गरिएपछि
पानीले त आफ्नो सतह निर्धारण गर्दो रहेछ,
हो, पानीले तिम्रो मेरो भन्दैन
पानीले आफ्नो विरानो भन्दैन
पानीले आफ्नो आकार निर्धारण गर्छ
र पानीले अरुलाई पनि निश्चित आकारमा ल्याउँछ ।
(धनगढी,, कैलाली)