‘सुन न …….’
‘भन्नु न……….’
‘कति विदेश बस्नु………’
‘मैले नजानु भनेकै हो……..’
‘मान्नु भएन…..’
‘आफ्नै रहरले कुत्याएर जानु भएको त हो नि ।‘
‘के रे …..के भन्यौ ? ‘
‘केही होइन ।‘
‘भुरा के गर्दै छन् त ।‘
‘भेट भयो कि लड्नु हुन्छ, बोल्नै मन लाग्दैन, आजभोलि त ।‘
‘किन बोल्थिस् त, मेरो ढाड पछाडि केके खेलाएकी छेस् ?‘
‘पाप नसोच्नुस् है, केटा मान्छेको जातले केसम्म सोच्छन् है, कसरी घर धानेकी छे छैन, अझ नानाथरी, बिर्सिनु भयो देउरालीमा भाकेका कुरा !‘
‘नरिसाऊ न काली, जिस्किएको पो त, लड्दा माया बढ्छ के, बुढापाकाले भनेको सुनेकी छैनौ, तिमी नि रिसाए कोसँग……. ।
घन्टौं दुःखसुखमा हराउने जोडीले दशक बितेको थाहै पाएनन् । दुई छोराछोरीका बाबुआमा बने । घर निकै जम्यो । बाटुलीले घर धानी । मानेले विदेशमा जोवन बेचेर पसिनाका थोपा पठाउँदै गयो । उसले मेलापात र पेवाले अङ्गालेका सपना अनि मानेको सरसल्लाहले घरको जग बसाली । काखेछोरो र आइमाईका कामले भ्याइनभ्याइ हुने बाटुलीलाई सास फेर्ने फुर्सदसम्म भएन ।
समयसँगै केही ढाड सेकाएर घर उभियो । उता मानेको आयमा कोभिडरुपी ग्रहणले मडारिँदा घरझगडाले निकै विकराल रुप लिन पुग्यो । मान्छेको मनै त हो, गफगाफ पातलिँदै गयो । आफूले सम्पर्क गर्दा थाकेकी बाटुलीले घरचौका, भुराभुरी सम्माल्दा खासै बोल्ने उछार पहिलाजस्तो पाइन । शङ्का आशङ्काले उनीहरुको जीवनमा बीस घोल्दै लग्यो । काँचो धागोको चङ्गा टुक्रिएझैँ सम्बन्ध टुक्रिँदै बनमाराझैँ झाङ्गिन पुग्यो ।
जानकारी बिनै घर आइपुगेको माने र बाटुलीको पहिलो भेटकै घम्साघम्सीले भुरा आत्तिए । घुर्क्याएर……….. घरदेखि निस्किएको माने अबेर रातिसम्म घर फिरेन । सामाजिक पर्खाल च्यातेर घरबार गरेकी बाटुली कसरी जीर्ण भई ? आखिर किन उसले यो बाटो रोजी, मेटासिट नै अन्तिम मुक्ति मानेर ग्रहण गरेकी बाटुलीले जीवनको अपत्यारिलो कथा परिवारलाई किन सुम्पिई ?
(चितवन)