लेख्दै थिएँ पहिलोपटक कलमको बिर्को उघारेर म लेख्दा लेख्दै पहिचान मेरो देशको पहिचानको याद आयो । कुना कन्दराहरुमा चोक चौताराहरूमा अड्डा र गौंडाहरूमा फहराइरहेका झन्डाहरूलाई हेरें हेर्दा हेर्दै देखेँ मैले अर्धनग्न पल्टिरहेको नावालकलाई हेर्दा हेर्दै देखेँ भोक लाग्यो भनेर चिच्याइरहेकालाई कोही जाडोले कामिरहेका कोही अस्मिता जोगाउन भागिरहेका जीवन जोगाउन सहयोग मागिरहेका झण्डाकै मुन्तिर देखेँ मैले शोकमग्न बस्ती जो हरेक साल भोकले दुख्ने गर्छ । अनि सोच्न थालें म अब कुन पहिचान लेखौं मान्छेको भोकको पहिचान लेखौं मान्छेको शोकको पहिचान लेखौं मेरो माटोको पहिचान लेखौं कि मेरो बाटोको पहिचान लेखौं ? मेरो देश स्वर्गको पनि स्वर्ग हो भनेर लेखौं कि मेरो देश दुखहरूको स्थायी बसोबास हो भनेर लेखौं म पहिचान ढुङ्गामा लेखौं कि मान्छेका मन मनमा लेखौं ? मेरी आमाका चाउरी परेका गाला र मेरा बाको थेप्चिएको थाप्लो निर्मला पन्तको बलात्कारीको हुलिया या नबराजका हत्याराको नालीबेली खै म के लेखौं के लेखौं ? म सोचमग्न छु के यी फर्फराइरहेका झण्डाले मेरो देशको लाज छोप्न सक्छन् ? के मेरो देशको पेट भर्न सक्छन् ? सक्दैनन् भने किन फर्फराइरहेछन् यी झण्डा हाम्रो दु:खमाथि गिल्ला गरेर ? पहिचान लेख्न बसेकी म आफैले आफैलाई पहिचान गर्न नसकेर हैरान छु को हुँ म ? सास फेर्दै गरेको एक थान शरीर या यो समयको एउटा आवाज ? (आदर्श माध्यमिक विद्याल, कक्षा १२, सुनसरी चतरा)