अचेल पाप कराउँछ अपराध चिच्याउँछ खेतबारीबाट । स्खलित हुनैपर्ने बाध्यता बोक्छन् वीर्यहरू बित्थामा बलात्कारीको मखुण्डो ओढेर खेतबारीमा । अन्नबाली लहलह हुने हरियो खेतबारी रक्ताम्मे हुँदैछ सुन्दर रूप त्यसको बेरूप हुँदैछ । कोहोलो मच्चाउन खोज्दै छन् अकालमा थुनिएका सासहरू खेतबारीमा। चकचके राजनीति उफ्री उफ्री कराउँछ भत्किएका कलिला मांसपेशीहरू निर्दोष साबित हुन सकेका छैनन् अझैसम्म। कामुक नङ्ग्राहरू बेपत्ता छन् अझै अनुसन्धानको हात राजनीतिको मार्तोलले कुच्चिरहेछ । अचेल दिवङ्गत पीडाहरूमात्र दङदङी गन्हाउँदैछन् खेतबारीमा। (डाउहिल,खरसाङ, भारत)