आइतेको बाबु गाउँकी एउटी केटी टिपेर भाग्यो । आइते र उसकी आमा मात्र घरमा थिए । गाउँमा आय आर्जन गरी मुखमाड लाउन सकस भएपछि आइतेकी आमा आफ्नो झुप्रोमा ताला झुण्ड्याएर बालक छोरो लिई नुवाकोटको खरानीटारबाट काठमाडौं झरेकी थिई ।
टोखा नगरपालिकाभित्रको गाउँ झोरको एउटा कुनामा एउटा घरको आडमा एकपाखे छाप्रो हालेर अस्थायी रुपमा उ बसेकी थिई । मौसम अनुसारका हरिया मकै, साग, मुला र अन्य कृषि वस्तुहरु भाउ मिलाएर गाउँमा किन्थी अनि डोकामा हालेर बेच्न धापासी र बसुन्धरातर्फ झर्थी ।
असारको पहिलो हप्ता थियो, उसले डोकाभरी हरिया मकै राखी र छोरालाई पछि लगाएर विक्री गर्न धापासीतर्फ लागी । काठमाडौंमा निषेधआज्ञा लागु थियो । ऊ चाहिँ प्रहरीका आँखा छलेर “हरिया मकै आयो है !” भन्दै भित्री गल्लीतिर घुम्थी । यसरी बिहानै गल्ली गल्ली घुमेर मकै विक्री गरी सकेपछि जम्मा भएको पैसाबाट आवश्यक सरसामान खरीद गरी ऊ डेरा फर्कन्थी । यसरी उसको नियमित आय आर्जनको बाटो बनिरहेको थियो ।
एक दिन गल्ली गल्ली कराउँदै हिँड्नुभन्दा मानिसहरुको अलिक चहलपहल हुने ठाउँमा डोको बिसाउन पाए मकै छिटै विक्री गरी घर फर्कन पाइन्थ्यो भन्ने सोच राखी । मानिस बढी आवत जावत गर्ने मुल बाटाको छेउमा बन्द पसलको पेटीमा बिहान उसले डोको बिसाएर मकै बेच्तै गर्दा अचानक प्रहरीको भ्यान हुँइकिँदै आयो र मुल सडकमा रोकियो । दुईजना प्रहरी भ्यानबाट फटाफट ओर्ले र उसको छेउमै आई तिनले डोको सहित हरिया मकै बाटोतर्फ हुत्याई दिए । हरिया मकैका घोगा मुल बाटोभरी छरिए । आइते हुर्रिएर प्रहरीमाथि जाइलाग्यो, तर प्रहरीले उसलाई केही नगरी परतिर धकेली दियो ।
यस घटनापछि आमाको गुन्युको फेर समातेर आइते बेस्सरी रोयो । आमाले उसलाई अङ्कमाल गर्दै भनी “नरो आइते, निषेधआज्ञा उल्लङ्घन गरेको अपराधमा प्रहरीले हामीलाई दण्ड दिएको हो । हाम्रो दुक्ख उसलाई के थाहा !” उसले डोको र छरिएका मकैका केही घोघाहरु सङ्कलन गरी आइतेको हात समातेर आफ्नो छाप्रोतर्फ लागी । आइते भने फर्कंदै गर्दा पनि बाटोमा रोइरहेको थियो ।