काठमाडौं ।
इच्छुक सांस्कृतिक प्रतिष्ठानले हरेक बर्ष मनाउँदै आएको बार्षिक कार्यक्रम बुधबार सम्पन्न गरेको छ ।
जेठ १३ गते गरिने ‘इच्छुक स्मृति तथा सांस्कृतिक वलिदान दिवस’ यस बर्ष कोभिड १९ का कारण देश पूर्ण रूपमा बन्दाबन्दी भएकोले स्थगित गरिएको थियो । वलिदान दिवस भने जेठ १३ गते नै झर्चुअल माध्यमबाट अन्तरक्रिया कार्यत्रम गरी सम्पन्न गरिएको थियो । यतिखेर भने पुरस्कार तथा सम्मान प्रदान गर्ने कार्यक्रम सम्पन्न गरिएको प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीले जनाएका छन् ।
यस बर्ष इच्छुक स्मृति पुरस्कारबाट प्रगतिवादी धाराका प्रखर कवि सिन्धुलीका बलराम तिमल्सिनालाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशी एक लाख नगद सहित् सम्मानपत्र र दोसल्ला रहेको छ । त्यसैगरी इच्छुक प्रतिभा पुरस्कार साहित्यतर्फको प्युठानकी सीता वि.क.‘सम्झना’लाई दिइएको छ भने कलातर्फको इच्छुक प्रतिभा पुरस्कार दोलखाका सङ्गीतकर्मी यामकुमार थामी ‘रमण’लाई प्रदान गरिएको छ । प्रतिभा पुरस्कारको राशी नगद जनही पच्चीस हजार, सम्मानपत्र र दोसल्ला रहेको छ ।
उक्त पुरस्कारहरू प्रतिष्ठानका संरक्षक एवम् बरिष्ठ मार्क्सवादी सौन्दर्य चिन्तक मोहन वैद्य‘चैतन्य’बाट प्रदान गरिएको हो ।
पुरस्कार प्रदान समारोहलाई सम्वोधन गर्दै चैतन्यले कलाको महत्वबारे भन्नुभयो–‘कला मानवीय समवेदनाको उत्कृष्ट प्रस्फुटन हो’ उहाँले जनयुद्धमा सांस्कृतिक मोर्चाको महत्वपूर्ण भुमिका रहेको जनाउनु हुँदै ‘संस्कृति, राजनीति र बन्दुक सँगसँगै गएको’ बताउनुभयो । चैतन्यले संस्कृति राजनीतिकै विचारधारात्मक मोर्चा भएकाले अग्रगामी धाराका संस्कृतिकर्मीहरू एकजुट भएर अगाडि बढ्न आवश्यक रहेको औँल्याउनु भयो ।
वर्तमान सत्ताको चरित्रबारे व्यख्या गर्दै चैतन्यले यतिवेला सङ्कटग्रस्त बन्दै गएको संसदीय व्यवस्था, संसोधनवाद र राज्यसत्ताको कुरूप चरित्र उदाङ्गो भएको र त्यसको भण्डाफोर स्वयम वर्तमान संसदवादी पार्टीहरूले गर्दै गएको बताउनु भयो । उहाँले ओली यो सङ्कटग्रस्त व्यवस्थाको कुरूप पात्र रहेको र अरू पार्टीका नेताहरूको पनि बाटो त्यही भएको धारणा राख्नु भयो ।
कार्यक्रमलाई प्रतिष्ठानका सल्लाहकार प्राध्यापक तक्मा केसीले जनयुद्धमा त्यति ठूलो बलिदानी गरेका नेताहरूले बाटो विराएर जनयुद्ध विरोधीहरूसँग घाँटी जोड्दा जनतामा निरासा पैदा भएको बताउनु भयो ।
पुरस्कार छनोट समितिका संयोजक प्रा.डा.जगदीशचन्द्र भण्डारीले पुरस्कृत स्रष्टाहरूको व्यक्तित्व र छनोट प्रकृयाका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रमलाई प्रतिष्ठानका कार्यसमिति सदस्य प्रा.डा.ताराकान्त पाण्डेयले स्वागत गर्नु भएको थियो । प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्यसचिव मित्रलाल पंज्ञानीले गर्नु भएको थियो ।