एउटा चुलो, जसले उमेर छँदा समस्याका हरेक काँचा दाउरा हुरूरू जलाई खरानी बनाएका थिए । जति नै परोस् दुःखको साउने झरी वा हिउँदे ठिही हिउँ सरी घरलाई न्यानो राख्न हर सम्भव गरे। जसले कुनै समय, घरको चारै कोठालाई दुई काँधमा बोकेर हिँड्नलाई बल र पसिनाको इन्धनले शरीर हाँकिरहे, हाँकिरहे । आफ्ना खाँचाहरू हाँसीहाँसी भातसँगै कति जिम्लाइ पठाए र कति डढाइ पठाए समस्याका मोसोहरू चिम्टे माटोले लिपेर सिनित्तै पारे खुशीहरू निर्धक्क झिटिमिटिसँगै पोलिदिए ज्यानलाई जिन्दगीको भुप्रोमा रन्काइरहे रहरहरू आधाजति कसिङ्गरसँगै बढारिपठाए र आधाउधी सपनाहरू भारभरि झुण्ड्याएर खङ्रङ्ग पारे । हो... यो त्यही चुलो हो जो अहिले आफ्नै सन्तानको चाउरिएका मानसिकताभित्र नअँटाएपछि तिरस्कार र आशक्तिको एक कुम्लो पोको बोकी वृद्धाश्रमको भान्साघरमा अन्तिम दिनको प्रतीक्षा गर्छन् जुन दिन उ सधैँका लागि खरानी बन्नेछन् । ........ एउटा वृद्ध चुलो । (दार्जिलिङ)