पंजाबका राजा रणजीतसिंह (१७८०–१८३९)लाई साम्राज्यवादी अंग्रेजको बिरुद्ध मोर्चाबन्दी गरेर उनीहरूलाई एशियाबाट नै धपाउने प्रस्ताव राख्ने नेपालका प्रधानमंत्री भीमसेन थापा ( १७७५–१८३९ ) भन्दा ३९बर्ष कान्छा भानुभक्त आचार्य (सन् १८१४–१८६८) को जन्म तनहुँ जिल्लाको चुँदी रम्घा गाउँमा भएको हो । उनको जन्म नेपाल अंग्रेज युद्ध (१८१४–१८१६) हुनुभन्दा केही महिना अघि मात्र भएको थियो । भानुभक्त कार्ल माक्र्स (सन् १८१८–१८८३ ) भन्दा चार बर्षले जेठा थिए । उनी जंगबहादुर राणा (सन् १८१६–१८७७) भन्दा दुई वर्षले जेठा थिए ।
भानुभक्त आचार्यले पहिलोपल्ट सन् १८४९ मा काठमाण्डौमा पाइला राख्नुभन्दा एक वर्ष पहिले नै कार्लमाक्र्सले कम्युनिष्ट पार्टीको घोषणापत्र (सन् १८४८) प्रकाशित गरिसकेका थिए । भानुृभक्त आचार्यको मृत्यु हुनुभन्दा एक वर्ष अघि कार्लमाक्र्सको विश्वप्रसिद्ध पुस्तक दास क्यापिटल सन् (१८६७) मा प्रकाशित भएको थियो । भानुभक्तकै समयमा जंगबहादुर राणाले बेलायतको यात्रा (सन् १८५०) गरिसकेका थिए ।
भानुभक्तको पालामा नेपालका शाह राजाहरू रहेका थिए– गिर्वाण युद्ध बिक्रम शाह (सन् १७९९–१८१६), राजेन्द्र बिक्रम शाह (सन् १८१६–१८४७) र सुरेन्द्र बिक्रम शाह (सन् १८४७–१८८१) । भानुृभक्तको पालामा नेपालका प्रधानमंत्रीहरू थिए– भीमसेन थापा (सन् १८०५–१८३७), रणजंग पाण्डे (सन् १८३७–१८३७), रंगनाथ पौड्याल (सन् १८३७–१८३८), फत्तेजंग चौतरिया (सन् १८४०–१८४३), माथवरसिंह थापा (सन् १८४३–१८४५ ), फत्तेजंग चौतरिया (सन् १८४५– १८४६), जंगबहादुर राणा (सन् १८४६–१८५६ ), बमबहादुर कुँवर राणा (सन् १८५६–१८५७ ), कृष्णबहादुर कुँवर राणा (सन् १८५७ –१८५७ ) र जंगबहादुर राणा (सन् १८५७–१८७७ ) । भानुभक्तको पालामा बेलायतको सिंहासानमा रहेका राजा र रानी थिए –जर्ज चतुर्थ (सन् १८२०–१८३० ), विलियम चतुर्थ (सन् १८३०–१८३७ ) र रानी बिक्टोरिया (सन् १८३७–१९०१ ) ।
असार महिना आउँनासाथ भानुजयन्ती मनाउने मौसम आउँछ । नेपालमा बस्ने नेपालीले मात्र होइन विदेशमा बस्ने नेपालीले पनि ठूलो उत्साहका साथमा भानु जयन्ती मनाउन थाल्दछन् । मनाउने गर्दछन् । वास्तवमा नेपालमाभन्दा पनि नेपालबाहिर भानु जयन्ती अझ बढी उत्साहपूर्वक मनाउने परम्परा नै चलेको पाइन्छ । भानुभक्तको जन्म जयन्ती मनाउने सवालमा दार्जीलिङ सबभन्दा अघि भएको कुरा निर्वविवाद सत्य हो । शायद दार्जीलिङ पछि आसाममा भानु जयन्ती भव्य रुपमा मनाइने गरिन्छ । मेघालय नागालैण्ड मिजोराम मणिपुर आदि भारतका उत्तर पूर्वांचलका राज्यहरूमा बस्ने नेपालीले पनि भानु जयन्ती बडो उत्साहपूर्वक मनाउने गरेको कुरा सर्व विदित नै छ । तर पनि आजभोलि सिक्किममा अझ बढी उत्साहका साथमा भानु जयन्ती मनाएको चाल पाइन्छ । भानु जयन्तीको बेलामा सिक्किम सरकारले विदा नै दिने गरेको देखिन्छ । हाल आएर अमेरिका बेलायत जापान कोरिया अस्ट्रेलिया रुस आदि ठाउँमा बस्ने नेपालीले पनि धुमधामसित भानु जयन्ती मनाउन थालेका छन् । यसरी हेर्दा नेपाली समाजमा जति भानुभक्त आचार्यले सम्मान प्राप्त गरेका छन् त्यति शायद नै अरुले प्राप्त गरेका होलान् ।
लक्ष्मीप्रसाद देवकोटाले भानुभक्त आचार्यलाई नेपाली समाजको सर्वश्रेष्ठ व्यक्ति नै घोषित गरेका छन् । लक्ष्मीप्रसाद देवकोटाजस्तो बिलक्षण प्रतीभा भएका व्यक्तिले भानुृभक्तलाई सर्वश्रेष्ठ व्यक्ति घोषित गर्नु कुनै चानचुने कुरा होइन । नेपाली साहित्य जगतमा भानुभक्तका प्रशंसा गर्ने मान्छेको ंसंख्या कम छैन । उनको आलोचना गर्ने व्यक्तिको संख्या चामलमा धानका वियाँ सरी होलान् । फेरि पनि भानुभक्त कुनै दूधले नुहाएको व्यक्ति भने होइनन् । उनमा यी वा ती प्रकारका अनेक कमजोरीहरू छन् ।
हाम्रो समाजमा मान्छेलाई मान्छेकै रुपमा हुर्नुभन्दा पनि उसको देवत्वकरण वा दैत्यकरण गर्ने प्रचलन रहेको हुँदा उनको सही र संतुलित मूल्याङ्कन भने हुन सकेको छैन । भानुभक्त आचार्यलाई नेपाली साहित्यका आदि कवि मानिएको हुनाले उनी स्वत नेपाली समाजमा श्रद्धेय व्यक्तित्व हुन पुगेका छन् । हामी यस्ता श्रद्धेय व्यक्तित्वमा कुनै पनि प्रकारको कमी कमजोरी भएको हेर्न देख्न भन्न र सुन्न चाहन्नौँ । हामी आँखा चिम्लेर उनको देवत्वकरण गर्न थाल्दछौँ । जब कि यथार्थ यस्तो हुन्न । भानुभक्त आचार्य सामान्य मान्छे हुन् । सामन्य मान्छेमा धेरै राम्रा गुणहरू पनि हुन्छन् र दोषहरू पनि । हामीहरूले उनका गुणहरू पनि देख्न सक्नु पर्दछ र दोषहरू पनि ।
मोतीराम भट्टले जुराइदिएको शव्दलाई प्रयोग गर्दै हामीले भानुभक्त आचार्यलाई आदिकवि भन्दछौँ । नेपाली भाषा साहित्यका आदिकवि । भानुभक्तको नामसित आदिकविको उपाधि यदि धेरै जोडिसकिएको छ अव त्यसलाई हटाउन असंभवजस्तै देखिन्छ । हुन त दुनियाँमा असंभव भन्ने कुनै कुरा पनि छैन शायद ।
आदि कविको अर्थ हो पहिलो कवि । यसको अर्थ हो नेपाली भाषा साहित्यको विकास भानुभक्त आचार्यबाट शुरु हुन्छ । भानुभक्त आचार्य जन्मेको दुई शताब्दी पुग्न थाल्यो । यसको अर्थ हो हाम्रो नेपाली भाषा साहित्यसको इतिहास दुई सय बर्ष जति पुरानो पनि छैन । तर यथार्थ यो पनि होइन । यथार्थ त के हो भने नेपाली भाषा साहित्यको इतिहास एक हजार वर्ष पुरानो नभए पनि भाषाको इतिहास त्यति पुरानो छ । यसको अर्थ यही हुन्छ नेपाली भाषामा कलम चलाउने पहिलो व्यक्ति भानुभक्त होइनन् । उसरी नेपाली भाषामा साहित्य सृजन गर्ने पहिलो व्यक्ति पनि भानुभक्त होइनन् । फेरि पनि भानुभक्तलाई आदि कवि नै मानिएको छ र नेपाली भाषा साहित्यलाई आज यो रुपमा पुराउनुमा उनकै ठूलो हात रहेको ठानिएको छ ।
भानुभक्तलाई नेपाली भाषा साहित्यका अरु कविहरूलाई भन्दा माथिल्लो स्थानमा राखिएको छ । भानुभक्तभन्दा अघिका कुनै कविलाई आदि कवि घोषित गरिएको भए शायद उनीहरूलाई पनि त्यस रुपमा नै प्रस्तुत गरिन्थ्यो होला । भानुभक्तलाई आदि कवि भनिरहँदा हामीले के कुरा भुल्न ठीक छैन भने भानुभक्तभन्दा पहिले नेपाली भाषामा कलम चलाउने कविहरू थिए– गुमानी पंत, सुवानन्द दास, शक्तिबल्लभ अर्याल, इन्दिरस, बसन्त शर्मा , बीरशाली पन्त, रघुनाथ आदि, आदि ।
जसले भानुभक्त आचार्यलाई आदि कवि मानेका छन् उनीहरूले के अर्थमा उनलाई आदि कवि मानेका छन् भने उनीभन्दा पहिलेका कविहरूकोभन्दा भानुभक्त आर्चायको लेखनी बढी प्रभावकारी थियो र त्यसले नेपाली समाजको हृदयमा ठाउँ पाउन सक्यो । उनीहरूको यस्तो मान्यता साँचो पनि हुन सक्दछ । तर यसमा ख्याल गर्ने कुरा के पनि हो भने भानुभक्तलाई भानुभक्तको रुपमा प्रस्तुत गर्नमा कवि मोतीराम भट्टको पनि ठूलो हात छ । भूमिका छ ।
अंग्रेजी साहित्यमा जसरी अंग्रेजी कविहरूलाई आम पाठकहरूकाबीचमा चिनाउने काम स्यामुयल जोन्सनले गरेका थिए त्यसरी नै नेपाली साहित्यमा भानुभक्त आचार्यलाई चिनाउने काम मोतीराम भट्टले गरेका थिए । फरक के थियो भने स्यामुयल जोन्सनले धेरै अंग्रेजी कविहरूको जीवनी लेखेर उनीहरूको साहित्यिक यात्राको झाँकी प्रस्तुत गरेका थिए । मोतीराम भट्टले एक्लो भानुभक्त आचार्यको जीवन र कृतिको बारेमा छलफल गरेर उनलाई माथि उठाउने काम गरेका थिए । उनलाई स्थापित गर्ने काम गरेका थिए । उनलाई लोकप्रिय बनाउने काम गरेका थिए । उनलाई आदिकविको रुपमा बिख्यात बनाउन खोजेका थिए । यस काममा मोतीराम भट्ट निकै सफल देखिन्छन् ।
भारतमा भानुभक्त आचार्यलाई नेपाली भाषा साहित्यका आदि कविको रुपमा मात्र होइन नेपालीका जातीय कविको रुपमा समेत सम्मानित गरिन्छ । उनको जन्म जयन्ती विविध कार्यक्रमका साथमा धुमधामसित मनाउने गरिन्छ । नेपालमा भानुभक्त आचार्यलाई जातीय कविको रुपमा होइन कि नेपाली भाषा साहित्यका आदि कविको रुपमा सम्मानित गरिन्छ । हरेक वर्ष विविध कार्यक्रमका साथमा उनको जन्म जयन्ती मनाउने गरिन्छ ।
बिगतमा सामन्तवादी वा बुर्जुवा चिन्तकहरूले जस्तै प्रगतिवादीहरूले भानुभक्त आचार्यको जन्म जयन्ती मनाउँदैनथे । बरु उनीहरूले मुख्यतः गोकुल जोशी, लू स्युन वा म्याक्सि गोर्की आदि जस्ता प्रगतिवादी साहित्यकारहरूको जन्म जयन्ती मनाएको चाल पाइन्थ्यो । प्रगतिवादी साहित्यकारहरू भानुभक्त आचार्यको जन्म जयन्तीमा उपस्थित भए पनि प्रायः उनीहरूले नै त्यसको आयोजना गर्दैनथे । भानभक्त आचार्यको बारेमा बोल्न परे पनि बुर्जुवा बुद्धिजीवनीहरूले जस्तै उनको एकोहोरो प्रशंसा गर्नुभन्दा पनि आलोचना गर्दथे । तर अहिले आएर आफूलाई प्रगतिवादी भएको दाबी गर्ने केही चर्चित साहित्यकारहरूले पनि गोकुल जोशी, पारिजात, युद्धप्रसाद मिश्र आदि जस्ता प्रगतिवादी कविहरूको जन्म जयन्ती मनाउनुको सट्टा भानुभक्त आचार्यको जन्म जयन्ती मनाएर उनीहरूले आफ्नो प्रगतिवादी साहित्यकारप्रतिको कर्तव्य पूरा भएको ठान्दछन् । यसैले यो प्रगतिादी साहित्यकारहरूबीचमा एउटा बहसको विषय बनेको छ । छलफलको विषय बनेको छ ।
प्रष्ट कुरा के हो भने सामन्तवादी वा बुर्जुवा बिचार बोकेका बुद्धिजीवी वा साहित्यकारहरूले आफ्ना बिचार मूल्य र मान्यतालाई बलियो बनाउन भानुभक्त आचार्यलाई अघि सार्दछन् । उनको महिमागान गर्दछन् । यसो गर्नु उनीहरूको धर्म नै हो । उनीहरूको आवश्यकता नै हो । प्रगतिवादी साहित्यकार वा बुद्धिजीवीहरूले आफ्ना विचार मूल्य र मान्यतालाई बलियो बनाउन भानुभक्त आचार्यको भन्दा पनि गोकुल जोशी, पारिजान, युद्धप्रसाद मिश्र, कृष्णसेन इन्छुक, केवलपुरे किसान आदिका जन्म जयन्ती मनाउनु धेरै राम्रो हुन्छ । यतातिर प्रगतिवादी साहित्यकारहरूको प्रयाप्त ध्यान गएको पाइन्न ।
भानुभक्त आचार्य नेपाली समाजमा स्थापित व्यक्तित्व भएको हुनाले प्रगतिवादीहरूले उनको धुवाँधार बिरोध गर्न त मिल्दैन । फेरि उनको धुवाँधार बिरोध गर्न आवश्यक पनि पर्दैन । तर पनि भानुभक्त आचार्यको जन्म जयन्तीमा उपस्थित हुन र बोल्न परेमा उनका सकारात्मक कुराका अतिरिक्त नकारात्मक कुरा भन्न पनि पछि पर्नु हुँदैन । भानुभक्त आचार्यको गुणहरूको चर्चा गर्दा उनका दोषहरू लुकाउनुृ हुँदैन । उनका कमी कमजोरी अंगुल्याउने मामिलामा कुनै कन्जुस्याइ गर्नु हुँदैन । हामीले भानुभक्त आचार्यलाई द्वन्द्वात्मक दृष्टिकोणले नै हेर्नु पर्दछ । हामीले उनको यथार्थपरक मूल्याँकन गर्नु पर्दछ ।
हिजो कैयौँ प्रगतिवादी साहित्यकारहरू भानुभक्त आचार्यलाई जुन आलोचनात्मक नजरले हेर्दथे आज उनीहरू त्यसरी हेर्दैनन् । आज तिनीहरू भानुभक्त आचार्यप्रति अति नै धेरै सकारात्मक बनेका छन् । वास्तवमा आज उनीहरू भानुभक्तका भक्त नै बनेका छन् । उनीहरूका लागि भानुभक्त नै सबभन्दा बढी आदर्श पुरुष बनेका छन् । सबभन्दा बढी प्रेरणाका स्रोत बनेका छन् । यतिबेला उनीहरूले बुर्जुवा बुद्धिजीवी वा साहित्यकारहरूलेभन्दा पनि बढी भानुभक्तको आराधना गर्न थालेका छन् । बुर्जुवा साहित्यकारहरू बरु भानुभक्तको आलोचना भएको सुन्न सक्दछन् । कतिपय भानुभक्त भक्त प्रगतिवादी साहित्कारहरू भानुभक्तको आलोचनामा एक शक्द पनि सुन्न चाहँदैनन् ।
प्रगतिवादी साहित्यकार वा चिन्तक भन्न थालेका छन् हामीहरूले भानुभक्तलाई आजको आँखाले हेर्न हुँदैन । उनी जनवादी युगका साहित्यकार होइनन् । कवि होइनन् । यसैले उनीबाट प्रगतिवादी वा जनवादी साहित्यको अपेक्षा गर्न मिल्दैन । यो कुरा ठीकै हो । तर पनि हामीले के पनि भन्न सक्नु पर्दछ भने भानुभक्त सामन्तवादी युगका कवि हुन् र उनले सामन्तवादकै पक्षपोषण गरेका छन् । उनी सामन्तवादका गायक हुन् । उनी सामन्तवादकै नायक हृुन् । अझ उनी हिन्दु धर्म संस्कृति र परम्पराका पृष्ठपोषक हुन् । उनी जनवादी होइन आध्यात्मवादी चिन्तक हुन् ।
समयचेतनाको कुरा गर्दा के कुरा हामीले भुल्न हुँदैन भने सामन्तवादी युगमा पनि जनवादी वा लोकवादी विचार, साहित्य, संस्कृति र चिन्तनको विकाश भएको छ । अरु विविध क्षत्रमा जस्तै साहित्य कलाको क्षेत्रमा पनि यो धारा निरन्तर अघि बढ्दै आएको छ । अविराम अघि बढ्दै आएको छ । सामन्तीवादी युगमा पनि प्रगतिशील चेतनाको विकास भएको छ । यदि हामीले सामन्तवादी समयको साहित्य कला संस्कृति वा चिन्तन पनि सामन्तवादी नै हुन्छ भन्ने हो भने त्यतिबेलाको राणाहरूको सामन्ती निरंकुश सत्तालाई लोकतान्त्रिक भएन भनेर गुनासो गर्न मिल्दैन । आलोचना गर्न मिल्दैन ।
अवश्य पनि सामन्तवाद भन्दैमा सबै कुरा खराव र पूंजीवाद वा जनवाद भन्दैमा सबै कुरा राम्रो भन्ने कुृरा पनि होइन । सामन्तवाद उदार पनि हुन सक्दछ । सामन्तवाद अनुदार पनि हुन सक्दछ । अनुदार सामन्तवादभन्दा त उदार सामन्तवाद धेरै राम्रो कुरा हो । चीजलाई यसरी हेर्दा हामीले भानुभक्त उदार सामन्तवादी विचारका कवि थिए कि अनुदार सामन्तवादी बिचारका कवि थिए भन्ने कुरामा विवेचना गर्न सक्दछौँ ।
बधु शिक्षाले भानुभक्तलाई अनुदार सामन्तवादको पृष्ठपोषकको रुपमा प्रस्तुत गर्दछ । फेरि उनको रामायणले प्रस्तुत गर्ने बिचार पनि परम्परावादी सामन्ती दर्शन र संस्कृतिकै सार हो । भानुभक्तको प्रश्नोत्तरले पनि आध्यात्यवादी विचारलाई नै प्रश्रय दिन्छ । उनको भक्तमालाले प्रतिबिम्बित गर्ने बिचार पनि आध्यात्मवादी नै हो । यसैले हामीले भानुभक्तलाई सामन्ती युगका प्रतिनिधि कविको रुपमा चिन्न बुझ्न र लिन सक्दछौँ ।
निश्चित रुपमा भानुभक्त आफ्नो युगभन्दा अघि जान सकेका थिएनन् । भानुभक्त हिन्दु सामन्ती कट्टरवादी विचार, संस्कृति र संस्कारबाट मुक्त हुन सकेका थिएनन् । यो भानुभक्तमा रहेको नकारात्मक पाटो हो । यसले उनी अनुदार सामन्तवादी विचारका पृष्ठपोषक हुन् भन्ने कुरा जाहेर गर्दछ ।
कति प्रगतिवादी बुद्धिजीवीले बुर्जुवा बुद्धिजीवीहरूका स्वरमा स्वर मिलाई के पनि भन्न थालेका छन् भने भानुभक्तले नेपाली भाषामा रामायणको अनुवाद गरेर नेपाली समाजलाई भाषिक रुपमा एक गर्न ठूलो मदत पुराए । सांस्कृतिक रुपमा एक हुन ठूलो मदत पुराए । यसमा आंशिक सत्यता होला । तर यो पूर्ण सत्य कुरा भने होइन । यदि हामीले नेपाली भाषालाई नेपाली जातिलाई एक सुत्रमा बाँध्न मदत गरेको अर्थमा बुझ्दछौं भने त्यसको श्रेय भानुभक्तलाईभन्दा पनि अझ बढी खस साम्राज्यलाई दिनु पर्दछ होला ।
खस साम्राज्यकै पालामा खस वा नेपाली भाषाले ठूलो भूगोलमा विस्तार हुने अवसर पाएको हो । यसको श्रेय पृथ्वीनारायण शाहको राज्य विस्तारलाई पनि दिनु पर्ने हुन्छ । किनकि पृथ्वीनारायण शाहले पनि गोर्खाली भाषाको नाममा खस भाषाकै प्रयोगलाई प्रश्रय दिएका थिए । त्यति मात्र होइन, खस भाषालाई लोकप्रिय बनाउने कुराको श्रेय हामीले अंग्रेज साम्राज्यवादीहरूलाई पनि दिनु पर्ने हुन्छ । अंग्रेज साम्राज्यवादीहरूले गोर्खा पल्टनमा गोरखा भाषालाई प्रश्रय दिएका थिए । उनीहरूले नेपाली भाषाको व्याकरण तथा शब्दकोष समेत तयार पारे । वास्तवमा नेपाली भाषाको पहिलो व्याकरण– ग्रामर अफ द नेपाली लंग्युएज (सन् १८२०) लेख्ने व्याकरणविद् जे एन आएटोन अंग्रेज नै थिए । त्यसरी नै नेपाली भाषाको पहिलो शव्दकोष– ए कम्पेरेटिव एण्ड इटिमोलोजिकल डिस्नरी अफ नेपाली लंग्युएज ( १९३० ) तयार पार्ने आर एल टर्नर पनि अंग्रेज नै थिए ।
अब प्रश्न उठ्छ भानुभक्त आचार्यको खास योगदान के हो त ? त्यसको उत्तरमा हामी भन्न सक्दछौँ सीताको माइती देश जनकपुरसित समेत जोडिएको संस्कृत साहित्यको विश्व प्रसिद्ध महाकाव्य बाल्मिकी रामायणको कथासित परिचित हुन नेपाली समाज पनि आतुर नै थियो । भानुभक्तले सरल नेपाली भाषामा रामायणको अनुवाद गरेर राम रावणको कथालाई नेपाली समाजमा लोकप्रिय मात्र बनाएनन् कि नेपाली भाषालाई विस्तार हुने अवसर समेत सृजना गरे । हामी यसलाई भानुभक्तबाट खेलिएको सकारात्मक भूमिका भन्न सक्दछौँ । साथै संस्कृत भाषामा महाकाव्य लेख्ने परम्पराको ठाउँमा नेपाली भाषामा महाकाव्य लेख्ने जुन काम उनले गरे यसलाई प्रगतिशील कदम मान्न सकिन्छ ।
भानुभक्तले फुटकर कविता लेखेर त्यतिबेलाको प्रशासनिक ढिलासुस्तीको जसरी विरोध गरे त्यसलाई पनि हामीले नेपाली समाजमा भानुले खेलेको सकारात्मक भूमिकाको रुपमा लिन सक्दछौं । भानुभक्तले फुटकर कविता लेखेर जेलमा उपियाँ उडुस र लामखुट्टेले बन्दीहरूलाई सताइरहेको कुराको व्यंगात्मक शैलीमा जसरी बिरोध गरे त्यसलाई हामी यथार्थवादी साहित्यको रुपमा पनि ग्रहण गर्न सक्दछौँ । मानवतावादी बिचार रुपमा पनि स्वागत गर्न सक्दछौँ ।
यो कुरा बेग्लै हो कि त्यतिबेला आजजस्तै मानव अधिकारको कुरा स्पष्ट रुपमा उठेको थिएन । भानुभक्तको सबभन्दा उत्कृष्ट कविता कांन्तिपुरी नगरीको चित्रण नै हो । यसमा उनको देशभक्ति भावना समेत झल्केको छ । यो कुरा बेग्लै हो कि अंग्रेज नेपाल युद्धले गर्दा नेपालले बेहोर्न परेको पीडा भानुभक्तको साहित्यमा प्रतिबिम्बित भएको पाइँदैन । भानुभक्तका कवितामा देशभक्तिभन्दा पनि रामभक्ति पाइन्छ । इहलोको चिन्तनभन्दा पनि बढी परलोकको चिन्तन पाइन्छ ।
कुरा जे भए पनि नेपाली समाजले भानुभक्तलाई नेपाली भाषा साहित्यको आदि कविको रुपमा ग्रहण गरेको र यस रुपमा उनको जन्म जयन्ती मनाउने परम्परा पनि बसालिसकेको छ । के नेपालमा के नेपाल बाहिर नेपालीहरू भानुभक्त जयन्ती मनाएर भानुभक्तप्रति आफ्नो भक्ति प्रकट गर्न अग्रसर देखिन्छन् । उनीहरूले भानुभक्तलाई नेपाली भाषा र साहित्यको प्रतीकको रुपमा लिएका छन् । फेरि कसैले भानृुभक्तलाई जातीय आदि कविको रुपमा पनि ग्रहण गरेकै छन् । भानुभक्तको सम्मान नेपाली भाषा साहित्यको सम्मान ठानिन थालिएको छ । यहाँसम्म कि कतिले त भानुभक्तको देवत्वकरण समेत गरिरहेका छन् । भानुभक्त जे हुन् उनलाई त्यही रुपमा बुझ्नु नै उनीप्रतिका न्याय हो । कसैको पनि अतिमूल्यांकनले उसको अवमूल्यन पनि हुन सक्दछ ।
(रुपन्देही)