"आऊ छोरी ! तिम्रो बाबा हुँ म"
दुई हातका अञ्जुली तेर्साएर
बोलाउनुभएथ्यो बाबाले
र म अकमक्क परेथेँ
देखेर नौलो अनुहार
तर पनि कता-कता सुनेथें परिचित आवाज
आशङ्कामा पुर्लुक्क हेरेथेँ आमातिर
र एकजोर रसिला आँखाले
संकेत गरेका थिए
जाऊ भनेर
अनि
काखमा गएर लुरुक्क बसेथेँ मूर्तिजस्तै,
सम्झन्छु- बाबाका स्नेही हातको स्पर्श
बिछोडको पीडा बोल्ने त्यो कसिलो अँगालो
आँखाको डिल भत्काएर छचल्किएका आँसुका थोपा
अनायास पुगेका थिए मेरा कोमल हात
बाबाका गाला पुछ्न
यसरी भएको थियो
बाबा-छोरीको पहिलो भेट !
मेरो नाम थियो माया
आमाको ममता पोखिएको
बाबाको हृदय पोखिएथ्यो उज्योलो मुहारमा
र भन्नुभएथ्यो- "मञ्जु हौ तिमी मञ्जु
यो सृष्टिकी पृय सौन्दर्य !"
यसरी जन्मिएकी थिएँ म फेरि
भएकी थिएँ पूरा जिन्दगी
र सहर्ष स्विकारेकी थिएँ
परिचयको त्यो नवीन यात्रा !
अब आमाको आँचलमा
थपिएको थियो बाबाको काँध
मुस्कुराएथें म पहिलोपटक
प्रश्न गरेथें निर्धक्क
र पाएथें एक आकाश प्रफुल्लता !
जीवनको पहिलो उपहार
गुलाफी लुगा बनेर आएथ्यो बाबाको झोलामा
त्यो मात्र आवारण मात्र थिएन
थियो हाम्रो खुसीको सर्वस्व !
त्यो साँझ मेरो जिन्दगीको रंगीन साँझ थियो
एउटा सपनाको साँझ थियो
आँखा र मन निदाएको थाहै नहुने साँझ थियो
बिहानै भालेको आवाजले बिउँझिँदा
बाबा मस्तसँग निदाइरहनु भएको थियो मेरै छेउमा
मैले हेरेँ एकटकले बाबाको मुहार
र छातीमा पल्टेर सोच्न थालेथेँ
जून र ताराहरुको संसार !
अनि आरम्भ भएथ्यो हाम्रो यात्रा
जन्मेको गाउँबाट आकांक्षाको सहरतिर
प्रकृतिबाट कोलाहलतिर
अभावबाट मिठासको भावतिर !
आज सम्झिन्छु- बाबाको त्यो अज्ञातवास
कति कठिन कठिन थियो होला
आफूबाट टाढाटाढा बसेर
आफैंभित्र पारस निर्माण गर्नु
आफूलाई निरन्तर ज्ञानको छिनोले खोपेर
ढुङ्गाबाट बहुमूल्य मणि बन्नु....
र त सधैं गर्व लाग्छ बाबा
त्यही त्यागले त चलेका रहेछन्
मेरा यी पखेटा खुल्ला आकाशमा निर्बिघ्न
त्यही तपस्याको बलमा त उडान भरेको रहेछ
जिन्दगीको यो यात्राले कोसौँ दूरीसम्म
हाम्रो त्यही भेटले त तय गरेको रहेछ
आफ्नै पाइला टेकेर उभिने यो सामर्थ्य
अनि त्यसै बेलादेखि हुर्केको रहेछ
यी आँखामा दृढ आत्मविश्वास !
(वेलायत)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।