के शासकहरू पनि कविता लेख्छन् ?
हो शासकहरू पनि कविता लेख्छन्
तर तिनीहरू कवितामा कविता लेख्दैनन्
तिनीहरू कवितामा लाजभाँड लेख्छन् ।
के शासकहरू पनि कविता मन पराउँछन ?
हो शासकहरू पनि कविता मन पराउँछन्
तर तिनीहरू कविताजस्तो कविता मन पराउँदैनन्
बरु ,
निलो फिल्मजस्तो कविता मन पराउँछन्
जहाँ कविता हुँदैन
अरु नै थोक हुन्छ भरमार
त्यस खाले कविता शासकहरू
पार्टीको वैठक रोकेर पनि सुन्छन् ।
जव शासनमा शङ्कट आउँछ
शासकहरू कवि बन्न थाल्छन्
जव नशाले झुर हुन्छन् उनीहरू
त्यसपछि ती कविता सुन्न थाल्छन् ।
के शासकहरूले मन पराउने कवि पनि हुन्छन् ?
हुन्छन् हुन्छन्
धेरै हुन्छन्
ती शासकका पैतालाको धूलोजस्तै हुन्छन्
तिनीहरूका नामको अगाडि
अनेक विशेषण झुण्डिएको हुन्छ
महाकवी
आदिकवि
राष्ट्रकवि
युवा कवि
आशु कवि आदि आदि ।
के कविताले शासकको सेवा पनि गर्छ ?
गर्छ नि किन नगर्नु
नोकरलेजस्तै सेवा गर्छ
दलाली गर्छ
चाकडी गर्छ
धूप- आरती गर्छ
भजन किर्तन गर्छ
बन्दुकले भन्दा बढी सुरक्षा दिन्छ ।
शासकलाई
मान्छेबाट भगवान बनाउने
पहिलो मान्छे कवि नै थियो
शासकलाई मान्छेबाट अलग देखाउने
पहिलो मान्छे कवि नै थियो ।
के कविहरू पनि दलाली गर्छन् ?
हैट , किन गर्दैनथे !
बेस्सरी गर्छन
ती कविताको नाममा स्तुती लेख्छन्
र शासकलाई ढोग गर्न जान्छन्
ती कविताको बस्त्रले
शासकको लाज छोपिदिन्छन्
र प्रज्ञा प्रतिष्ठानको जागिर पड्काउँछन्
ती शासकको चिरायुको मङ्गलगान लेख्छन्
र जुठोपुरोको जोरजाम गर्छन् ।
के कविता पनि दुई थरी हुन्छन् ?
अरे , थाहा छैन ?
हो त , दुई थरी कविता हुन्छन्
शासक रिझाउने कविता
र शासकलाई बिझाउने कविता ।
कविहरू पनि दुई थरी हुन्छन्
कविता पनि दुई थरी हुन्छन् ।
(भक्तपुर)