(भारतीय महाद्वीपको साहित्यिक इतिहासमा बङ्गाली साहित्यको विशिष्ट स्थान छ । करिव दुई सय वर्षको इतिहास बोकेको बङ्गाली साहित्यका उज्ज्वल त्रिमुर्ती बंकिमचन्द्र चट्टोपाध्याय, (१८३८–९४), रविन्द्रनाथ टैगोर (१८६१–१९४१) तथा शरतचन्द्र चटर्जी (१८७६–१९३८) बङ्गाली साहित्यका तीनवटा यस्ता खम्बा हुन् जसको आधारशीलामा आधुनिक बङ्गाली साहित्यको जग अडिएको छ । शरतचन्द्रलाई व्यष्टिमा बङ्गाली र समष्टिमा भारतीय यथार्थवादी साहित्यका अग्रदूतका रुपमा लिइन्छ ।
यहाँ उनको कथा सपेराकी छोरी समावेश गरिएको छ । एउटा गाउँले केटाको डायरी शैलीमा लेखिएको यो रचना प्रेमको एउटा मर्मस्पर्सी कथा हो जहाँ सामाजिक विभेदका बार बन्धनहरुलाई भत्काएर उपल्लो जातको पुरूषले तल्लो जातकी कन्यासित प्रेम–विवाह गर्छ र उसैका लागि आफ्नो कुल–बंश, जातभात, गाउँघर सबै परित्याग गर्न पुग्छ । एउटा आदर्श पे्रममा बाँधिएका तिनै दुई प्राणीको जीवनमा आइपरेको दुःखद घटनासँगै कथाको अन्त्य हुन्छ । जातीय विभेदका कारण अहिलेसम्म पनि समय समयमा अकल्पनीय घटनाहरु बेहोरिरहेको हाम्रो सामाजिक परम्पराले यस कथाबाट समेत केही पाठ सिक्न सक्छ भन्ने अपेक्षा गर्न सकिन्छ । –अनुवादक)
स्कुल जानका लागि हामीहरू पूरै चार कोस हिँड्नु पथ्र्यो । हामी दश–बाह्र जना थियौँ । हाम्रो लामो पैदल यात्रामा हामीले तीनवटा गाउँ पार गर्नु पथ्र्यो । स्कुल जाँदा बाटामा मैले सधैँ एक जना गाउँलेलाई भेट्ने गर्थेँ ।
उसको नाम मृत्युञ्जय थियो । उमेरमा ऊ हामीभन्दा जेठो थियो । ऊ माथिल्लो कक्षामा थियो । ऊ त्यहाँ कसरी पुगेको थियो भन्ने कुरा कसैलाई पनि थाहा थिएन, तर हामीले सधैँ उसलाई त्यहाँ देखेका थियौँ । उसलाई हामीले कहिल्यै पनि तल्लो कक्षामा भएको सुनेका थिएनौँ, न त ऊ कहिल्यै माथिल्लो कक्षामा चढेको नै हामीले सुनेका थियौँ ।
ऊ एक जना टुहुरो केटो थियो । उसका भाइ, बहिनी कोही पनि थिएनन् । उसको सम्पत्तिको नाममा गाउँको पुछारमा रहेको एउटा फलपूmलको बगैँचा थियो र त्यसको बिचोबिच भागमा भत्कनै लागेकोे एउटा जीर्ण झुप्रो थियो । उसको एक जना काका थियो, तथापि, त्यसको मुख्य काम उसको भतिजका विषयमा भए–नभएका कथा बुनेर उसको बद्ख्वाईँ गर्नु मात्र थियो । उसले के भन्ने गथ्र्यो भने उसको भतिजो गँजडी थियो र ऊ लागु औषधको कुलतमा फसेको शैतान हो भन्थ्यो । उसको अझ मन पर्ने कथन त त्यो बगैँचाको आधा भाग उसको आफ्नो हो र त्यसका लागि ऊ अदालत जानु पर्ने हुन्छ भन्ने थियो ।
मृत्युन्जय आफ्नो खाना आफैँ पकाउँथ्यो र उसको फफूलका रूखको आम्दानीले जिविका चलाउँथ्यो । उसले त्यसको व्यवस्थापन धेरै राम्ररी गरिरहेको थियो जस्तो लाग्थ्यो । हामीे स्कुल जाने समयमा जहिले पनि उसलाई बाटामा भेट्दा, हामी उसलाई सडकको किनारै किनार उसका पुराना च्यातिएका पुस्तकहरू काखीमुनि च्यापेर हिँडिरहेको देख्थ्यौँ । उसप्रति हाम्रो चाख हुनुको मुख्य कारण के थियो भने गाउँको पसलेसित मिठाई किन्दा मोलमोलाई गर्ने काममा ऊ बराबर अरु कोही पनि काबिल थिएन ।
एक पटक हामीले धेरै लामो समयसम्म मृत्युन्जयलाई देखेनौँ । मृत्युसैयामा भएको मृत्युन्जयलाई उसको छिमेकको एक जना बूढो सपेराले उपचार गरिरहेको छ र सपेराकी छोरी, विलासीले उसको हेरचाह गरिरहेकी छ र उसलाई जीवनको बाटोमा पुनः ल्याउने काम गरिरहेकी छ भन्ने कुरा हामीले सुन्यौँ ।
हामीले प्रायः उसको मिठाई समेत खाने गरेका थियौँ । ऊ बिरामी परेको खबर सुनेर मेरो मुटुमा चसक्क घोच्यो । एक दिन साँझको अँध्यारोमा म उसलाई भेट्न गएँ । मैले कटेराको ढोका खुलै पाएँ । भित्र बत्ती बलिरहेको थियो । मृत्युञ्जय सफा ओछ्यानमा पल्टिरहेको थियो । उसको शरीरमा हाडछाला मात्र बाँकी थियो । ओछ्यानको सिरानतिर एउटी केटी ऊतिर फर्केर बसिरहेकी थिई । एक्कासी एक जना अपरिचित मान्छेलाई देखेपछि ऊ जुरूक्क उठी । ऊ बृद्ध सपेराकी छोरी थिई । ऊ बीस वर्षकी थिई कि अठ्ठाइसकी मैले भन्न सकिनँ तर रात–दिन बिरामीको सेवा टहल गरिरहनु परेको हुनाले ऊ निकै थकित र गलेकी देखिन्थी ।
‘को हो यो ? नेरा ?’ मलाई चिनेर मृत्युञ्जयले सोध्यो ।
‘अँ,’ मैले जवाफ दिएँ ।
‘बस ।’ मृत्युञ्जयले भन्यो ।
केटी टाउको निहुराएर उभिइरही । हाम्रो बीचमा भएको सम्वादका आधारमा मृत्युञ्जय छ हप्ता अघिदेखि ओछ्यान परेको थियो र दुई हप्तासमम ऊ अचेत भएको भन्ने कुरा मैले थाहा पाएँ । केवल विगत केही दिनदेखि मात्र उसले मान्छे चिन्न थालेको रहेछ । ऊ अझै पनि ओछ्यान छोड्न सक्ने अवस्थामा थिएन तर उसको जीवन अहिले खतरामुक्त अवस्थामा रहेछ ।
म त्यहाँबाट बिदा हुँदा त्यस केटीले एउटा बत्तीको सहाराले मलाई बाटो देखाई । त्यति बेलासम्म ऊ एक शब्द पनि बोलेकी थिइन । ‘म तपाईलाई सडकसम्म पु¥याइदिऊँ ?’ उसले नम्र स्वरमा सोधी ।
उसको पछडिको अग्लो आँपको रूख अँध्यारोको एउटा ठोस थुप्रोजस्तो देखियो । मैले आफ्नो हात समेत राम्ररी देख्न सकेको थिइन । ‘अँ हँ, पर्दैन । बरू मलाई त्यो बत्ती दिन्छ्यौ कि ?’
उसले मलाई बत्ती दिनलाग्दा मैले उसको अनुहार झलक्क देखेँ, मेरो बारेमा ऊ निकै चिन्तित थिई । ‘एक्लै जान तपाईँलाई डर लाग्दैन ? अलिकति उतासम्म म आऊँ त ?’ उसले विस्तारै भनी ।
डराएको । एक जना महिलाद्वारा यस्तो प्रश्न सोधिने ! मनमा जे जस्तो सोचेको भए पनि मैले ‘लाग्दैन’, भनेँ र आफ्नो बाटो लागेँ ।
‘राम्ररी पाइला चाल्नु होला । यो झाडीमा होसियार हुनु होला ।’ उसले फेरि भनी ।
लगभग दुई महिना जति मैले मृत्युन्जयका बारे केही खबर थाहा पाइनँ । तर मैले उसको मृत्यु भयो भन्ने बारे कुनै कुरा नसुनेको हुनाले, ऊ अझै जीवित थियो भन्ने पक्का थियो ।
यति बेला मृत्युञ्जयको काका, उसको सम्पत्तिको हकदारले कस्तो हल्ला चलायो भने अब चाँडै नै संसार ध्वस्त हुँदै छ । उसको यस्तो भविष्यवाणीले गाउँलेहरू अलमलमा परिरहेका थिए । नाल्तेका मित्रा समुदायमा उसले कसरी मुख देखाउने भनेर ऊ भित्रभित्रै पिरोलिइरहेको थियो । किनभने त्यस महामूर्खको भतिजोले एक जना सपेराकी छोरीसित विवाह गरेको थियो । मित्रा परिवारको इज्जत खतरामा परेको थियो । गाउँको प्रतिष्ठा बचाउनु पर्ने भएको थियो ।
त्यति बेला हामी कसरी व्यवहार गथ्र्याँ भन्ने कुरा सम्झँदा आज पनि म लाजले टाउको निहुराउँछु । काका मित्रा परिवारको अग्रजका रुपमा हाम्रा नायकजस्ता थिए, र हामी दस–बाह्र जना गाउँको इज्जत पुन स्थापित गर्नका लागि उनका अन्धभक्त भएर पछि लागेका थियौँ ।
हामी मृत्युन्जयको घर पुग्दा घाम भर्खर अस्ताएको थियो । बरन्डाको एक कुनामा उसकी स्वास्नी गहुँको रोटी पकाइरहेकी थिई । हामीमध्ये धेरैजसोले हातमा लाठी समातेका थियौँ र हामीलाई देखेपछि त्यसको अनुहार डरले कालो–निलो भयो ।
काकाले भित्रतिर चियाएर हेरे । मृत्युञ्जय ओछ्यानमा सुतिरहेको थियो । खास कुनै औपचारिक कुराकानीबिना उनले बाहिरबाट ढोका थुनिदिए र डरले पहिले नै लल्याकलुलुक भएकी केटीलाई बोलाए ।
‘मेरा बाले यी सज्जनसित बिहे गरिदिएको कुरा तपाईँलाई थाहा छ होला नि ?’उसले आफ्ना आँखा उठाएर प्रतिवाद गरी ।
‘हँ. . ., थाहा छ, काकाले गर्जिएर उत्तर दिए । त्यसपछि हामी बहादुरी साथ चिच्याउँदै उनीमाथि जाई लाग्यौँ ।
एक पटक चिच्याएपछि केटी पूरै चुप लागी । तर जब हामीले उसलाई तानेर गाउँबाट बाहिर निकाल्न थाल्यौँ, उसले अनुनय गर्न थाली, ‘मलाई एक मिनेटका लागि जान देऊ महाशय, मैले रोटी भित्र लानुपर्छ । यहाँ चारैतिर जङ्गली जनावरहरू छन् । उहाँ बिरामी हुनुहुन्छ । रातभरि उहाँले केही पनि खान पाउनु हुने छैन ।
चार दिवारभित्र थुनिएको मृत्युञ्जय कोठाको यो छेउदेखि त्यो छेउसम्म ओहोर दोहो गरिरहेको थियो र बन्द ढोका ढक्ढक्याइरहेको थियो । हामीले उसको पटक्कै वास्ता गरेनौँ र केटीलाई घिसारेर बाहिर निकाल्यौँ ।
‘हामी’, मैले हामी किन भन्छु भने म सुरूदेखि नै त्यहाँ थिएँ । तर मभित्र कतै कमजोरी हुनुपर्छ, किनभने मैले उनलाई पाउन सकेको थिइनँ ।
एक वर्ष बित्यो । त्यसभन्दा बाहेक, लामखुट्टेको टोकाइ सहन नसकेपछि मैले मेरो वानप्रस्थ जीवनलाई भर्खरै परित्याग गरेर घर फर्केको थिएँ । एक दिन दिउसोको समयमा, सपेराको घरको बाटो जाँदै गर्दा, दुई माइलजति पर, टाउकामा पहेँलो फेटा गुतेर, गलामा माला लगाएर मृत्युञ्जय एउटा झुप्रो घरको आँगनमा टुकु्रुक्क बसिरहेको मैले देखेँ । मुत्युञ्जय कायस्थको छोरो थियो, तर उसले आफ्नो जात परित्याग गरेर एकजना सपेरामा फेरिएको थियो ।
उसले मलाई न्याँनो अभिवादन ग¥यो । बिलाशी पोखरीमा पानी लिन गएकी थिई । ऊ पनि मलाई देखेपछि दङदास परेर खुसी भई ।
‘तिनीहरूले मलाई त्यस रात मार्थे होलान् तर तपाई त्यहाँ भएको हुनाले म बाँचेँ । मेरो खाँतिर तपाईँले कति धेरै दुःख झेल्नु प¥यो होला !’ उसले घरिघरि यसो भनी ।
त्यसको भोलिपल्ट उनीहरू यस ठाउँमा आएका थिए र यहीँ आफ्नो घर बनाएर बसेका थिए । तिनीहरू खुसी थिए । मैले उनीहरुको प्रसन्नताबारे भनिरहन कुनै आवश्यकता नै थिएन । उनीहरुको अनुहारमा नै त्यो भाव देख्न सकिन्थ्यो ।
त्यस दिन तिनीहरुले सर्प समात्न जाने योजना बनाएका रहेछन् र घरबाट बाहिर निस्कन ठिक्क परेका रहेछन् । त्यो कुरा तिनीहरुले मलाई बताए । त्यो कुरा सुनेर म जुरूक्क उठेँ र म पनि उनीहरूसँगै जान्छु भनेँ । सानैदेखि मलाई दुईटा कुरामा निकै चाख थियो, पहिलो गोमन साँपलाई तह लगाउने, दोस्रो जादुको रहस्यबारे पोख्त हुने । मृत्युन्जयलाई गुरू थापना गर्न पाएकोमा त्यस रात मेरो हर्षको कुनै सीमा थिएन ।
मेरो प्रस्तावलाई ती दुवैले इन्कार गरे किनभने त्यो कुनै सजिलो काम थिएन । त्यो खतरापूर्ण काम थियो । तर मैले यति धेरै जिद्धी गरेँ कि मृत्युञ्जयले मलाई चेलो बनाउन ऊ विवस नै भयो । सर्प समात्ने सूत्र सिकेपछि र मेरो पाखुरामा एउटा बुटी बाँधेपछि म चाँडै नै पूर्ण रुपमा एउटा सपेरामा फेरिएँ ।
सूत्रबारे मलाई अन्तिमका केही पङ्क्तिहरू मात्र याद छ;
ओ गोमन, मनसाको बाहन, ओ आमा मनसा, धरतीलाई भेदन गर, धरतीलाई मथ, धोनराको विष तिमी लेऊ, तिम्रो उसलाई देऊ, ओ दूधराज, मणिराज, यो कसको आदेश हो, बिषहारीको आदेश हो ।
यसको अर्थ के हो मलाई थाहा छैन, तर यसको परीक्षण गर्ने एक दिन आयो । त्यति बेलासम्म सर्प समात्ने काममा जिल्लाभर मेरो ख्याति फैलिएको थियो ।
‘हो’, तिनीहरू सबैले सहमती जनाए, ‘नेरा एक जना सुयोग्य पात्र हो । उसले जादुको गुह्य कुरा कामाक्षामा योगी जीवन बिताउँदाको समयमा सिकेको हुनुपर्छ ।
दुई जना मान्छेले मात्र मेरो कुरा गम्भीरतापूर्वक लिएका थिएनन्; मेरा गुरूले मलाई राम्रो वा नराम्रो कहिल्यै केही भनेनन् । बिलासी पनि कहिलेकाहीँ मुसुक्क हाँसेर भन्थी, ‘घस्रेर हिँड्ने प्राणीहरू खतरनाक हुन्छन्, तिनलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा होसियार होऊ ।’ वास्तवमा तिनीहरुका विषयमा म कति धेरै असावधान थिएँ भन्ने कुरा सम्झेर म अहिलेसम्म पनि काँप्छु ।
त्यस विषयको सत्य कुरा के हो भने सर्प समात्नु कठिन छैन । एक पटक त्यसलाई केही दिनसम्म टोकरीमा राखिसकेपछि, त्यसको विषालु दाँत झिकेको भए पनि नझिकेको भए पनि त्यसले टोक्दैन ।
बुटी बेच्नु सपेराको सबैभन्दा फाइदाजनक काम हो । बुटीलाई देखेपछि सर्पहरू भाग्छन् भनिन्छ । तर तिनीहरुलाई बेच्नुभन्दा पहिले प्रदर्शनका लागि राखिएका सर्पको मुख रातो–तातो सनसोले डामिदिनु पर्छ । यसले झुक्क्याउँछ । पछिपछि त जे देखाउँदा पनि सर्प भाग्न थाल्छ ।
मैले के कुरा चाल पाएँ भने जब मृत्युञ्जयले सर्प समात्ने कार्यक्रम बनाउँथ्यो, विलासी सबै प्रकारका निष्पक्ष विचारहरू अगाडि राख्थी । जब उसको लोग्ने त्यो कुरा नसुनी हिँड्थ्यो, उसले अरु मानिसहरुलाई ऊ गएको ठाउँमा पठाउँथी । तर मृत्युञ्जय पैसा कमाउने इच्छालाई नियन्त्रणमा राख्न सक्तैनथ्यो ।
एक दिन हामी सर्प समात्न तीन–चार माइल टाढा एक जना ग्वालाको घरमा गएका थियौँ । अघिपछिझैँ नै विलासी पनि हामीसँगै जान हिँडी । घरको मझेरीमा अलिकति भुईँ खन्ने बित्तिकै हामीले एउटा दुलो देख्यौँ । हामीले त्यहाँ केही पनि देखेका थिएनौँ तर बिलासीले निहुरिएर त्यहाँ प्वालभित्रबाट अलिकति कागज टिपी ।
‘तिमीले कसरी खन्दै छौ ? अलिकति होसियारी अपनाऊ ।’ उसले भनी, ‘त्यस प्वालमा एउटाभन्दा बढि सर्प छन् । निश्चय नै एक जोडा होलान् । अझ बढी पनि हुन सक्छन् ।’
‘त्यस्तो हुन सक्तैन । उनीहरुले एउटा मात्र भित्र पसेको देखेका थिए ।’ मृत्युञ्जयले भन्यो ।
‘त्यहाँ गुँड बनाएको तिमीहरुले देखेनौ ?’ कागजका टुक्राहरुतिर देखाउँदै विलासीले भनी ।
‘यी कागजका टुक्रहरू मुसाले भित्र ल्याएका होलान् ।’ मृत्युञ्जयले भन्यो ।
‘होला, तर मैले तिमीलाइृ भनेकी छु, त्यहाँ दुईटा छन् ।’ बिलासीले जोड दिएर भनी ।
बिलासीले भनेको सही थियो । मुटु कँपाउने दुखान्तसँगै दिन ढल्यो । लगभग दस मिनेटपछि मृत्युञ्जय एउटा ठूलो गोमनसँगै घरबाट बाहिर निस्कियो र साँप मलाई हस्तान्तरण ग¥यो । मैले त्यसलाई टोकरीमा राखेर फर्कँदा मृत्युञ्जय पीडाले छट्पटाउँदै फेरि बाहिर निस्कियो । उसको हातको पछाडिको भागबाट बेस्सरी रगत बगिरहेको थियो ।
सुरूमा हामी सबैको बोली बन्द भयो । त्यसपछि विलासी चिच्याउँदै दौडिई र सारीको फुर्कोले मृत्युञ्जयको हात बाँधी । उसले सबै किसिमका जरामुरा चपाउनका लागि उसलाई दिई । मृत्युञ्जयले उसको आफ्नै जनतर लगाएको थियो । बिष शरीरको अन्य भागमा नफैलियोस् भन्ने आशमा मैले मेरो जन्तर पनि उसको हातमा बाँधीदिएँ । मैले एकदम जोडले कराएर बिषहारी सूत्र भन्न थालेँ । तत्कालै त्यहाँ एक हुल मानिस जम्मा भए र छिमेकका सपेराहरुलाई खबर गर्न दौदिए । बिलासीको बाउलाई पनि लिन पठाइयो ।
मन्त्र पाठ गर्ने काम अविच्छिन्न रुपमा चलिरहेको थियो तर त्यसको कुनै असर देखिएको थिएन । मृत्युञ्जयले बान्ता गर्न सुरू ग¥यो र नाके स्वरमा बोल्न थाल्यो । बिलासी बेहोस भई । बिषहारीको असर केही पनि नदेखिएको मलाई अनुभूति भयो ।
अरु सपेराहरूपनि आइपुगे । हामी सबैले कहिले एकल र कहिले सामुहिक रुपमा तेत्तसिकोटी देवी, देवतासित प्रार्थना गर्न थाल्यौँ । तर मृत्युञ्जयको अवस्था झन् खराब हुँदै गयो । जब राम्रा शब्दहरुले कुनै पनि परिणाम दिन असफल भए, केही मानिसहरू बिषलाई यति तुच्छ भाषामा सराप्न थाले कि बिषका कान भएका भएदेखि यसले सायद मृत्युञ्जयलाई एक्लै छाडेर निश्चित रुपमा त्यै दिनमा नै पृथ्वीबाट विलुप्त हुन्थ्यो होला ।
आधा घण्टाको सङ्घर्षपछि मुत्युको विजेता, मृत्युञ्जय म¥यो । बिलासी जसले उसको लोग्नेको टाउको काखमा राखेकी थिई, पत्थरमा परिणत भएकी हो कि जस्ती देखिई ।
ऊ उसको लोग्नेभन्दा एक हप्ता बढी बाँच्न सकिन । एक दिन उसको घरमा आउँदा बिलासीले आत्महत्या गरेको मैले जानकारी पाएँ, र धर्मग्रन्थ अनुसार ऊ नर्कमा परेको हुन सक्छ ।
(अनुवादक : हरिहर खनाल)