साँझ परेको छ । टुकी सल्केकाले मधुरो प्रकाश फैलिएको देखिन्छ । ससाना भन्टाङभुन्टुङ केटाकेटी अँगेनाको वरिपरि छन् । कसौंडीमा आटो पाके पनि अगेनामाथि कराइमा केही उम्लिदै छ । आज पनि आशाले आफ्ना यी केटाकेटीलाई उही गुन्द्रुक र आटो पस्की ।
फु फु फुक्दै केटाकेटी आटो खानमा तल्लिन बने । कसले छिटो खाने एक किसिमको प्रतिस्पर्धा । उसलाई यो दृश्य हेरिरहन मन लाग्यो । कति सन्तोषी छोराछोरी ! कति राम्रा छन् यिनीहरू तर शरीर ….!
विडम्बना, कसैको शरीरमा राम्रो सुकिलो कपडा छैन । नयाँ लुगा फेर्न नयाँ दसैं कुर्नुपर्छ । कहिले त दुई तीन दसैं त्यसै जान्छन् । आफू पनि त अरूका सामु कति पटक लज्जित हुनु परेको छ । आफ्नो दयनीयतामा ऊ चिन्ता मात्र गरेर बस्न समेत भ्याउँदैने । एकैछिन यसो सोचमा डुबी भने उसका आँखा त्यसै भरिएर छचल्किन थाल्छन् । एकैछिन हात बाँधेर बसे साँझ अँगेनोमा आगो बल्दैन…..यस्तै केके सोच्दा फेरि उसको आँखाबाट काँचजस्तै सफादाना बरर खसे । अलि तल मैलो चोलीमा ठोक्किएर फुटी कुन्नि कता बिलाए ।
कसैले ‘आमा थप्दिनु ….’ भन्यो ऊ झस्किई ।
त्यस्तै छ वर्षपछि लाहुरबाट फर्कदा दीप नचिनिने भएको थियो, उसले सम्झी । आठ कक्षा पूरा नगरे पनि उसको कुरा गराइमा पढेलेखेका मानिस पनि दङ्ग पर्थे । बास्नादार तेल दली ऊ लिरिक्क जुल्फी लर्काउँथ्यो । ऊ हिँडेको गोरेटो समेत मगमगाउँथ्यो । दीपको पछि लाग्ने र उसलाई मन पराउने ठिटी गाउँमा कति थिए कति ।
एक दिन आफू गोठालोबाट फर्कदा दीप खोलामा नुहाउँदै थियो । दुबैका आँखा जुधे । कताकता अप्ठेरो लाग्यो । दुबै केही नबोले पनि के बोलूँ के बोलूँ भयो । लाज पनि माने । गाईगोरु अलितल खल्डाखुल्डीमा जम्मा भएको पानी खाँदै थिए । उनीहरूकोे मौनता ‘आज कुन वनमा लग्यौ आशा’भन्दै दीपले तोड्यो । पारीखेत, छोटो जवाफ थियो आशाको । दीप अरू केके सोध्न चाहन्थ्यो कुन्नि ! गाई हिँडेकाले आशा पनि हिँडिहाली । एक महिना जतिमा उनीहरू ज्यादै नजिकिएको पाए । भेटघाट बाक्लियो । गर्दा गर्दै एकले अर्कोलाई नदेख्दा न्यास्रो मान्न थाले । अब उसले मायाको अर्थ बुझ्न थाली ।
आशा १५ वर्षकी छँदा दीप १९ वर्षको हुँदो हो । उनीहरूको बिहे भयो । यो बिहेलाई गाउँमा धेरैले धेरै किसिमले धेरैे चर्चा गरे । बिहेपछि उनीहरू संसार भुलेर एक अर्कोलाई माया खनाउन थाले । अली काँचै उमेर भएकाले ख्यालख्यालैमा वर्षेनी लतालत नानी पाउन थाली । जन्मिएका सन्तानलाई भगवानको प्रसाद मान्दै गए । जब आधा दर्जन नाघे तब प्रसाद पनि धेरै मानियो । परिवारको एक्लो छोरो भएकाले सुरुमा त बाबुको सम्पतिले धान्यो । तर पछि गाह्रो हुन थाल्यो । केही समय लाहुरे भएकाले खेतीकिसानी गर्न उसको जाँगर चलेन । अब ऊ फेरि लाहुर जाने कुरा गर्न थाल्यो । तर आशाmमन्जुर भइन । धेरै फकाएपछि उसले स्वास्नीलाई मनायोे ।
दीपक हिंडेपछि आशाले जसोतसो केटाकेटी हुर्काउन थाली । ऊ चाहिने धन, राम्रा लुगा र गहनाको सपना बोकी घरबाट निस्केको थियो । गएको एक दुई वर्षसम्म त उसले चिठी र केही पैसा पठायो । त्यसपछिकुनै पत्तो छैन । विगतको यो परिदृश्य आशाको आँखामा फनफनी घुम्न थाल्यो ।
आज कुपोषण र अभावमा पित्लुङ्ग भुँडी झुन्डाई हाड छालामात्र बेरिएको शरीरमा हिँड्ने उसका छोराछोरी गाईजात्रे पत्रिकाका तस्बिर जस्ता देखिन्छन् । ताक परे गुन्द्रुक आटोले भरिने ताक नपरे रित्तै पल्टने उनीहरूका यी घ्याम्पाजस्ता भुँडी अझ बढ्दै पो छन् । यी शरीरले नयाँ लुगा कुरिरहेका छन् । अनन्त कुराइमा आशाले कति यस्ता साँझ काटी । रातभर आँसुमा सिरानी भिजाई, कति सपनामा चुपिचिल्ल परेको दीपलाई भेटेर आलिङ्गन गरी । तर आहँ आजको यो आटो लुछाइको कहालीलाग्दो दृश्यको अर्को साझेदार आशाको दीप झुल्किने आश छैन ।
(दाङ)